logo
२०८१ मंसिर १० सोमवार



सेवामा उमेरहद औचित्य

विचार/दृष्टिकोण |





बेनीबहादुर कार्की

सम्पूर्णमा हेर्ने हो भने नेपालको सार्वजनिक सेवा वृद्ध र सेवानिवृत्त भइसकेका कर्मचारीबाट सञ्चालन भइरहेको छ । सचिव हुने हाराहारी ६० वर्ष उमेर भएका र संवैधानिक अङ्गमा सतप्रतिशत नै अवसर पाएका सोभन्दा धेरै उमेर पुगेका नै छन् । यस्तो किन भइरहेको छ ? के नेतृत्व गर्नेहरूले मनोविज्ञान पढेका छैनन् ? मानिसको शारीरिक अवस्था र बुद्धि के हो भन्ने विषयमा उनीहरू जिरो नै छन् त ? होइन भने किन बस्छन् नेतृत्वमा । अनि यस्तैको नेतृत्व भइरहने हो भने कसरी होला, अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तो समृद्धि र विकास ? यो गम्भीर प्रश्नमा एकपटक सबै नेपाली गम्भीर हुनैपर्छ । नत्र यो मुलुक अर्काकै आसमा बाँच्न बाध्य हुन्छ, जो अहिलेसम्म भइरहेको छ ।
मनोविज्ञानका अनुसार मानिसको बुद्धि (आईक्यू) जन्मजात गुण हो । यो पढेर वा अनुभव गरेर परिष्कृत हुनेमात्र हो । बढ्ने हुँदै होइन । यदि यसो नहुने हो भने ६० वर्ष वा धेरैभन्दा धेरै उमेरका मानिसको बुद्धि सबैभन्दा कम उमेरका मानिसको भन्दा धेरै हुनुपर्ने हो । तर, त्यस्तो कदापि हुँदैन । व्यवहारमा भएको पाइएको पनि छैन । झन् ९० वा १०० वर्ष बाँचेका मानिसको आईक्यू स्व. जवाहरलाल नेहरूको जस्तै १३० भन्दा धेरै हुने थियो, जसले एकपटकमा तीनवटा काम गर्थे । बाँकी सामान्य मानिसको बुद्धि ७० देखिमाथि र १०० सम्म हुन्छ । यसरी उमेरले मात्र बुद्धि बढ्ने होइन ।
यो पङ्तिकारले एमएडसम्मको मनोविज्ञानको पढाइबाट सिकेका आधारमा निश्चित भएर यो तथ्य यहाँ उल्लेख गरेको हो । यस आधारमा धेरै उमेर भएका मानिसले राम्रो काम गर्छन् भनेर संवैधानिक आयोगसमेतको जिम्मेवारी दिनु गलत हो । नेपालमा कुलमानजस्ता इमानदार मानिस धेरै छन् । अवसर दिए यसरी नै राष्ट्रको हितमा काम गर्न सक्छन् । केवल खोज्ने इच्छाशतिm सरकारमा हुनुपर्छ ।
नेपालको प्रशासन क्षेत्रलाई सिंहावलोकन गर्ने हो भने अधिकांश कर्मचारी बढुवाबाटै ठूलो पदमा पुगेका छन् । खरिदारमा भर्ना भएका सचिवसम्म भएर सेवानिवृत्त भएका छन् । अनि सोपछि संवैधानिक अङ्गको प्रमुख वा सदस्य बनाइने गरेको छ । यसरी नै असई, सई वा प्रहरी निरीक्षकमा भर्ना भएकामध्ये नै आईजीपी भएका छन् । यसरी नै पियनमा भर्ना भएका पनि केहीले न्यायाधीश भएर न्याय दिएका छन् । यसैको सेरोफेरोमा हाम्रो प्रशासन चल्दै आएको छ । यस्ता पृष्ठभूमिबाट आएकाहरू कति योग्य र इमानदार होलान् ? हाम्रो प्रशासन कति स्वस्थ छ ? हाम्रो तलबमान कति प्रभावकारी छ ? जीवनको लामो समय गलत गरेर बाँचेका मानिसबाट स्वच्छ र राम्रो कामको अपेक्षा कति
गर्ने ? यो भनाइ कुनै कल्पनामा डुबेर भनेको हुँदै होइन ।
विगत ५० वर्षसम्मको अनुभवका आधारमा भनिएको हो । तीक्ष्ण बुद्धि भएका र नयाँलाई त नेपालमा अवसर दिने प्रणाली सुरु भएकै छैन । अवसर नै दिइँदैन । विभिन्न बहानामा ढोका बन्द गरिन्छ । अनि कसरी हुन्छ, नेपालको प्रशासन
स्वच्छ ? यही भएर दिनानुदिन प्रशासन विकृत भइरहेको छ । भ्रष्टाचार संस्थागत भइसकेको छ । सुधारका लागि सबैले नयाँ सोच र शैलीबाट काम गर्न जरुरी छ ।
पवित्रताका लागि पवित्र मानिस चाहिन्छ । पवित्र हरेक क्षेत्रमा आवश्यक छ । घुस नखानेमात्र भएर पुग्दैन । नैतिक चरित्र पनि आवश्यक हुन्छ । आज कृष्णबहादुर महरालाई के भन्ने ? यो पङ्तिकारले उच्चपदस्थ व्यक्तिका यस्ता हर्कत सुन्दै आएको छ, जो भन्न लाज लाग्छ । कतिको नाम भन्ने ? नेपालमा यसरी समाधानहीन रूपमा काण्डैकाण्ड किन भइरहेको छ ? यसको निदान के हो ? कसरी गर्न सकिन्छ ? सोच्नुपर्ने यो हो । यहाँ त गहिरिएर डुबुल्की मार्ने हो भने पोखरीमा दूध हालेको कथा दोहोरिने अवस्था आउँछ । यो जालो नतोडेसम्म नेपालको प्रशासनसमेतका क्षेत्रमा सुधार ल्याउन सम्भव छैन । यसका लागि आमसुधारको खाँचो छ । यो सुधार शिक्षासहितको नयाँ सोचका साथ गरिनुपर्छ ।
भ्रष्टाचारको जालो चिर्ने उपाय
लोकमानसिंह कार्की, दीप बस्नेतसमेत अपवादबाहेक सबै सचिवबाटै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख बन्नुभएको थियो । अहिले अख्तियार कहाँ पुगेको छ ? बालुवाटार जग्गा प्रकरणमा को–को संलग्न छन् ? यहाँ काण्ड नगर्न होइन, गर्नकै लागि बढुवा गर्ने गरियो । सचिवपछि अधिकांश संवैधानिक निकायमा नियुक्त हुने मूलकारण यही हो । नभए त कुनै एउटा पदबाट सेवानिवृत्त भइसकेपछि त्योभन्दा पनि महŒवपूर्ण पदमा कसरी उपयुक्त हुन्छ ? यो कुनै विज्ञानले पनि मिल्दैन ।
नेपाली राजनीतिको विकृत विज्ञानका आधारमा मात्र यस्तो सम्भव भएको हो । यही भएर नेपालमा बन्नेभन्दा दिनानुदिन बिग्रँदै गएको हो । सक्षम भए उही पदमा सकुञ्जेल काम गर्न दिए भइगो । नभए सेवानिवृत्त भएपछि सेवानिवृत्त नै हो नि । सोपछि किन दिने झन् महŒवपूर्ण जिम्मेवारी ? यस्तै नियुक्तिभित्र भ्रष्टाचारको जालो जेलिएको हुन्छ । यही भएर नेपालमा भ्रष्टाचार बढेको हो । यो जालो तोड्न जोश र जाँगरले भरिएका योग्य र इमानदार नेपाली युवालाई खोजीखोजी अवसर दिनुपर्छ । यसो गर्न राजनीतिक इच्छाशक्ति चाहिन्छ । शीर्षनेतृत्व नै स्वार्थ र परिवारवादमा जेलिएसम्म यस्तै भइरहने हो । बन्ने होइन, मुलुक झन् बर्बाद हुनेछ ।
अब के गर्ने
नेपालले धेरै राजनीतिक उतारचढाव भोगिसक्यो । राणा शासनबाट गणतन्त्र पनि आइसक्यो । तर, नेपाली जनता भने उस्ताको उस्तै छन् । गरिबी र भोकमरीमा पिल्सिएकै छन् ।
अन्याय र अत्याचार भोगिरहेका छन् । यो समस्या समाधानका लागि नेपाली जनता जागरुक भएर भ्रष्ट, अनैतिक र माफियालाई समाप्त गर्न चौतर्फी दबाब सिर्जना गर्न सक्नुपर्छ । निर्वाचनमा छानीछानी हराउन सक्नुपर्छ । आखिर नेपाली जनताले थाहा नपाएको के छ र ? नचिनेको को छ र ? केवल कमी भनेको गलतलाई गलत र सहीलाई सही भन्ने आँटको हो ।
चाहे राजनीतिक नेतृत्वमा होस् वा जुनसुकै क्षेत्रमा गलत गर्नेलाई पानी पिउन दिनुहुँदैन । जनता जागरुक भएर यसो गर्न सकेमा गलत गर्ने मानिस त्यतिबेला नै छाँटिन्छ । माथि जाने अवसर नै पाउँदैन । यहाँ त गलत गर्नेसँग सरकार खोजीखोजी मित लगाउने, अनि समाज पनि गलत गर्नेकै पछाडि लाग्ने भएकाले यो दुर्गति आएको हो । समाजले यो यथार्थ बुझेर दूधको दूध, पानीको पानी छुट्याउने हो भने सेवानिवृत्तलाई यसरी दोहोरोतेहोरो पद दिने हिम्मत सरकारले गर्नै सक्तैन । यसरी पद नदिने हो भने स्वच्छ छवि भएका योग्य र इमानदार नयाँ युवाले अवसर पाउनेछन् ।
भ्रष्टाचारको जालो पनि मौलाउन पाउँदैन । ‘कालेकाले मिलेर खाउँ भाले’ भन्नेको साँठगाँठ चलेसम्म भइरहने विकृति हो– भ्रष्टाचार । यो समस्या समाधानको अन्तिम उपाय भनेको हरेक नेपालीले मातृभूमि नेपालको कसम खाएर म कुनै गलत गर्दिनँ भनेर प्रतिज्ञा गर्नुपर्छ । अनि गलत गरेकालाई पानीमुनि गए पनि छोड्नुहुँदैन । यसो गर्न सकेमा नेपालमा अहिले सेवानिवृत्तलाई बढुवा गरेकासमेत सबैखाले विकृति हटेर जानेछ ।
(लेखक वरिष्ठ अधिवक्ता हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?