logo
२०८१ मंसिर १० सोमवार



नतमस्तक सिकाइको शिक्षा

विचार/दृष्टिकोण |





चन्द्रप्रसाद लुइँटेल

कोही ठूलै पदनाम भएको व्यक्ति उपचारका लागि अस्पतालमा जानुभो भने त्यहाँ चिकित्सकले जे–जे सिफारिस ग¥यो, त्यही–त्यही दबाइ खानुहुन्छ । जुन कार्य नगर्न भनिएको छ, त्यो गर्नुहुन्न । तर, हाम्रो शिक्षा प्रणालीका चिकित्सकका रूपमा काम गर्ने शिक्षक, प्रधानाध्यापकहरू भने अविज्ञताको सनकको भरमा सिकाइको ओखती सिफारिस गर्छन् । मात्रा नमिलाई सिफारिस गर्छन् । सिकारुका परिवारले पनि सिफारिस गरिएका सिकाइ उपचार प्रणालीमा सहभागिता जनाउँदैनन् । स्रोत र साधन जति थपे पनि सिकाइ उपलब्धि गिर्दै जाने धेरैमध्ये यो प्रमुख कारण हो ।
शिक्षक सिकाइका चिकित्सक
हाम्रो शिक्षा पद्धतिले विद्यालय उमेर र पूर्वविद्यालय उमेर किटान गरेको छ । सिक्ने उमेर किटान विज्ञानसम्मत तरिकाले किटान भएको छ । शिक्षकहरू विषयवस्तुको ज्ञाता र पढ्ने, पढाउने तरिकासमेतको प्रयोगकर्ता भइसकेपछि मात्र शिक्षण पेसामा आएका हुन्छन् । नोकरी प्रवेशमा यी कुराहरूको कमी भए पनि नोकरी प्रवेशपछि उनीहरूमा यी कुराहरूले पूर्णता र निरन्तरता पाउनुपर्छ । तालिमको लगानी छ । विद्यालयमा स्रोत र साधनहरू प्रदान गरिएको छ । यी लगानीहरू सिकाइ पद्धतिको विकासका लागि भएका हुन् ।
स्कुलले विविधताको सम्मान गर्नुपर्छ नै । विद्यालयमा बहुआवश्यकता भएका बालबालिका आएका हुन्छन् । तिनको उपचार ‘पढ–पढ’ भन्दा फरक छ । ‘पढ–पढ’ उपचार त पुरानो हो । अहिले त व्यक्तिविशेष फरक–फरक उपचार हुनुपर्छ । विद्यालयमा सबैथरी उपचार हुन्छ भनेर नै बालबालिका पठाइएको हो । सामान्य सहयोगमा पढ्न सक्ने, सल्लाह चाहिने र विशेष सहयोग गर्नुपर्ने आदि । हाम्रो शैक्षिक प्रणालीले यही विषयलाई ध्यानमा राखेर शिक्षकको योग्यता तोकेको छ । शिक्षकले प्रत्येक बालबालिकालाई पढाउँदा उसको मनोविज्ञानभित्र पसेर पढाउन सक्नुपर्छ । यसो गर्न मानव विकासको विकासात्मक विशेषताहरूको ज्ञाता र प्रयोगकर्ता हुनुपर्छ । पढ्ने र उसका अभिभावकले पनि पढाउने व्यक्तिलाई आधिकारिक मान्नुपर्छ । हामीले हाम्रा बालबालिकालाई आधिकारिक प्रमाणपत्र लिनमात्रै विद्यालय पठाएको नभई, आधिकारिक सिकाइ गर्न विद्यालय पठाएका हौँ भन्ने कुरा अभिभावकले बुझ्नुपर्ने तथ्य हो ।
शिक्षकले पनि यो विश्वासलाई संस्थागत गर्नुपर्छ । अहिले यी दुवै तथ्य अलमलको स्थितिबाट गुज्रिरहेका छन् । शिक्षण सिकाइ औषधिको मात्रा र खुवाउने तरिकाजस्तै हो । विद्यालयको शिक्षण सिकाइमा चिकित्सा पद्धतिविनाको भयो । एउटा कक्षामा तल्लो कक्षा र पल्लो विद्यालयबाट आएका दुईखाले विद्यार्थी हुन्छन् । विद्यालयले पहिला ती विद्यार्थीको शैक्षिक इतिहास पहिचान गर्नुपर्छ । उसको पूर्वज्ञानको अवस्थाका आधारमा उसका सबल र दुर्बल पक्षहरू पहिचान गरेर व्यक्तिगत रेकर्ड बनाउनु विद्यालय र शिक्षकको पहिलो आवश्यकता हो । यसबाट मात्रै सिकाइको रणनीति बनाउन सकिन्छ । उसलाई कस्तो विषयको आवश्यकता पर्छ ? कुन विधिबाट शिक्षण गर्नुपर्छ ? अभिभावकको भूमिका के हुनुपर्छ ? विद्यार्थीले गर्न हुने र नहुने कार्यहरू के–के हुन् ? यी कार्यहरूको डकुमेन्ट राख्ने र त्यसैका आधारमा कार्यप्रगतिको नियमित समीक्षा गरेर हेरियोस्, हाम्रा विद्यालयको सिकाइ एक वर्षमा नै ह्वात्तै बढ्छ । यो चिकित्सा पद्धति अवलम्बित सिकाइ हो ।
शिक्षण सिकाइमा विचार आदान–प्रदान त हुन्छ नै । त्यो शैक्षिक उपयोगिताका लागि मात्र हुनुपर्छ । चिकित्सकले उपचारको क्रममा बिरामी र बिरामीका आफन्तसँग प्रशस्त सल्लाह गर्छन् । तर, उपचारको इथिक्स (इमानदारी) छोड्लान ? किमार्थ छोड्दैनन् । तर, शिक्षण सिकाइको तरिकामा विनाअनुसन्धानका विधि र विषय क्षेत्र ह्वात्तै प्रयोग गरिन्छ । यसले शिक्षकको विज्ञताको दुरुपयोग एकातिर भयो भने आमजनतामा शिक्षणप्रति विश्वास हरायो । यसको परिणामस्वरूप शिक्षालय विज्ञताको सिकाइ शैलीमा भन्दा आफूखुसी शैलीमा चल्दै आए, जुन देशको सोचाइअनुरूप तहको विकासनिम्ति राम्रो हैन । आफूखुसीको अविज्ञानको सिफारिस शैली र नतमस्तक सिकाइ शैली र सिकाइ उपलब्धिमा नकारात्मक प्रभाव पारिरहेको छ ।
हामी शिक्षा त दिइरहेका छौँ । हाम्रा शिक्षितको प्रमाणपत्रको योग्यता र वास्तविक कार्यसम्पादन लेखाजोखा भएको छैन । विनाविशेषज्ञताका पदनामका व्यक्तिबाट यस्तो पढाऊ र यसरी जाँच भन्ने प्रवृत्तिबाट बालसिकाइ शैलीमा नकारात्मक असर परिरहेको छ । अहिलेसम्म नेपालका विद्यार्थीको सुसम्पन्नता अनुसन्धान भएको छैन । २०१३ को एक विश्वव्यापी अनुगमन प्रतिवेदनले दक्षिण एसियाली देशहरूको ८० प्रतिशतसम्म देखाएको छ भने त्यसमा ३० प्रतिशत विद्यालय नआउने र छाड्नेको क्षतिलाई घटाउँदा आधारभूत तहसम्म विद्यालय गएर पढेका विद्यालय गएर समय बिताएका ७१ प्रतिशत विद्यार्थीले योग्यताअनुरूपको कार्यसम्पादन गर्न नसकेको डरलाग्दो तथ्याङ्क छ । शिक्षा पुनरावलोकन कार्यालय (२०१६) को अनुसन्धानले ८५ प्रतिशत विद्यालय पढाउन योग्य छैनन् भन्ने प्रतिवेदन सार्वजनिक गरेको छ । पढाउनै अयोग्य स्कुलबाट सतप्रतिशत कार्यसम्पादनको अपेक्षा गर्न
सकिएला ? सबैका लागि शिक्षा, माध्यमिक शिक्षा सहयोग कार्यक्रम, शिक्षक शिक्षा र विद्यालय शिक्षा सहयोगको लगानीप्रति न्याय भयो त ? अहम् सवाल छ । शिक्षण संस्थाहरूको विज्ञतालाई नमान्ने नेतृत्वकारी प्रवृत्ति, शिक्षकको तœयाकलुत्रुक प्रवृत्ति, अभिभावकको पास प्रवृत्ति र शैक्षिक प्रशासनको शून्यता प्रवृत्तिले न सिकाइ सिद्धान्तअनुरूप सिकाइ भएको छ न त अनुसन्धानमा आधारित शिक्षण विधि र मूल्याङ्कनका प्रक्रियाहरू नै अवलम्बन गरिएका छन् । पूर्वजहरूले कामचलाउ शिक्षा लिन जुन शिक्षण तरिका अपनाए आज त्यस्तै सोचको शिक्षा छ । अझ प्रतिफलको दर खस्कँदो छ ।
विद्यालय पोषण हाजिरकपी ल्याइयो । यस्तोप्रकारको हाजिरी प्रक्रियाले विद्यार्थीको आजको स्वास्थ अवस्था पत्ता लाग्थ्यो । शिक्षकबाट त्यसको प्रयोग भएन । क्यास पद्धति आयो । विद्यालयले केही महिनाको एकपटक प्रयोग गरे । कतै प्रयोगै भएन । कतै हप्ताको एकपटक प्रयोग गरियो । प्रयोगको आनाकानीले विनाविज्ञता कतिपय विद्यालयले क्यासलाई पूरै परीक्षा प्रणालीले विस्तापित गर्ने काम हचुवाको काम गरेको तथ्य पाइन्छ । सही प्रयोग नगरेर परीक्षित, सर्वस्वीकार्य र उपयोगी पद्धति छाडिनु सिकाइको गुणस्तरका लागि अदूरदर्शी भइरहेको छ ।
विश्वासको वातावरण पहिलो सर्त
डाक्टरले सिफारिस गरेको दबाइ जसले पनि खान्छ, चाहे त्यो बिरामी जतिसुकै उच्चपदस्थ किन नहोस् । हाम्रा विद्यालयले किन त्यस्तो विश्वासिलो सिकाइको दबाइ सिफारिस गर्न सकेनन् ? के सिकाइको उपचार गर्नचाहिँ सबै सक्षम सिकाइ भएका चिकित्सक छन् ? देखिएजस्तो सबै सिकाइ चिकित्सक भएको मुलुकमा २०६५ सालमा प्रतिविद्यार्थी लागत दुई हजार नौ सय हुँदा करिब ५७५ भएको सिकाइ उपलब्धि आज प्रतिविद्यार्थी लागत करिब २५ हजारभन्दा बढी हुँदा सिकाइ उपलब्धि करिब ४८ प्रतिशत किन झ¥यो ? यसभित्र पनि विद्यार्थीको सिकाइ सङ्कटको अनुसन्धान भएको छैन । यसो भए झन् डरलाग्दो तस्बिर आउन सक्छ । व्यवस्थापकलाई यस्तो अनुसन्धान गराउने बजेट राख्न कसले छेक्यो ? कि हप्तैपिच्छे फरक–फरक नीति भाषणले हाम्रो स्कुल विज्ञताको केन्द्र बन्ला ?
विद्यालय सिकाइको उपचार गर्ने विज्ञताको केन्द्र हुन् । शिक्षकले विज्ञताका आधारबाट उपचार गर्नेभन्दा पाठ पढाइतिर ढल्कने कामले विद्यालय झन्–झन् खस्कँदै गयो । सिकाइका चरणहरू हुन्छन् । सिक्नेले ती सबै चरण र उपायहरू पार गर्नुपर्छ । सिकारुका आफन्तले शिक्षकको सल्लाह मान्नुपर्छ । आवश्यकता पूरा गराउन सहयोगी बन्नुपर्छ । जसरी निमोनियाको रोगबाट ग्रसित बालक कि आमाले उनको बालकलाई दबाइ खुवाउने तरिका, रेखदेखको तरिका र गर्न हुने र नहुने सबै तौरतरिकाहरूसम्बन्धी सजग र सचेत हुन्छिन् । सिकाइको वातावरण बनाउन पनि शिक्षक र आमाको भूमिका पनि त्यस्तै हुनुप¥यो । अनि सिकाइ मात्रा पुग्छ । यो तरिका पास पद्धतिको नभई, सफल सिकारु बनाउने तरिका हो ।
शिक्षकले भन्ने तरिका सिकाइको सिद्धान्तअनुरूप हुनुपर्छ । प्राविधिक पेसा मुखले भन्ने र सुनेर विश्वास गर्ने होइन । हचुवाको भरमा आज लादेको शिक्षणको तरिकाले २० वर्षपछि जुन नकारात्मकता देखिन्छ, त्यसको पहिचान आजै हुनुपर्छ । यो हाम्रा विद्यालयले त्यत्तिकै अपनाएको विधिले सुनिश्चित गर्न सक्दैन । अनि अहिलेको चालाजस्तै हुन्छ । अहिलेको मन्त्रीले पहिलेको मन्त्रीलार्ई, अहिलेको हाकिमले पहिलेको हाकिमलाई गाली गर्ने र प्रशासनको हाकिम शिक्षाको विज्ञ हुने, भाषणैपिच्छे शिक्षाको तरिका भएन भनेर होइन, शिक्षकले सिकाइका सिद्धान्तअनुरूप विषयगत ज्ञानलाई ढाल्ने काम गर्नुपर्छ । विज्ञताको केन्द्र विद्यालय हो भन्ने विश्वास दिलाउन विद्यालय ज्ञान र पद्धतिले लाग्ने र अभिभावकले आफ्ना कुरा भन्ने सिकाइ पद्धतिको सल्लाह मान्ने परिपाटीले हाम्रा विद्यालय सिकाइको केन्द्र बन्न सक्छन् । नमुना विद्यालय बनाउने तरिका पनि यही हो ।

(लेखक शिक्षा विकास निर्देशनालय हेटौँडाका कामु निर्देशक हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?