नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रले उल्लेख्य योगदान दिनेमा विवाद छैन । पछिल्ला वर्ष नेपालले पर्यटन विकासमा अपनाएको विविधताले ग्रामीण पर्यटनको थप सम्भावना देखिएको छ । आन्तरिक रूपमा पनि नेपालीमा भ्रमण–रुचि बढ्दैछ । साथै आर्थिक रूपमा पनि नेपालीहरू भ्रमणका लागि सक्षम हुँदैछन् । नेपालको पर्यटन विकासका लागि थप पहलस्वरूप सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरी त्यसअनुसारका भौतिक तथा प्रशासनिक प्रक्रिया करिब पूरा गरेको छ । अबको करिब दुई महिनामा प्रचारप्रसार तथा बाँकी व्यवस्थापनमा केन्द्रित रहेर नेपालले सन् २०२० को पहिलो दिन विशेष कार्यक्रमसहित दोस्रो पर्यटन वर्ष २०२० आरम्भ गर्नेछ । साथै यो वर्ष नै विशेष पर्यटकीय अवधिका रूपमा समापन गरिनेछ । भ्रमणवर्ष, २०२० सफल बनाउन सरकारले निजीक्षेत्र, अन्तर्राष्ट्रिय निकाय र शुुभेच्छुकहरूको परिचालन र सद्भावलाई उच्च प्राथमिकता दिएको छ । हालै काठमाडौँमा सम्पन्न गैरआवासीय नेपाल सङ्घ(एनआरएनए) को विश्व अधिवेशनले यस अवधिमा विश्वभरबाट एक नेपालीले एक विदेशी साथी नेपाल पठाउने अभियान सञ्चालन गर्ने जनाएको थियो । यसै हप्ता भ्रमणवर्ष २०२० को सचिवालय र सङ्घबीच सम्पन्न १७ बुँदे समझदारीमा उच्च महìवका साथ उक्त अभियान सञ्चालन गरिने उल्लेख गरिएपछि विदेशमा रहेका नेपालीको जिम्मेवारी थपिएको छ भने सरकारले उहाँहरूलाई नेपालको प्रतिनिधिको सम्मान दिएको अनुभव गर्न सकिन्छ ।
समझदारीमा सङ्घले सन् २०२० मा विश्वभर गर्ने आफ्ना औपचारिक सम्मेलन नेपालमै गरिने र गैरआवासीय नेपालीलाई ‘परिवार तथा साथीसँग नेपालमा बिदा मनाऊँ’ अभियान सञ्चालन गरिने उल्लेख छ । यसबाट पर्यटक आगमनमा विशेष योगदान पुग्नेछ । विदेशस्थित गैरआवासीय नेपालीका व्यावसायिक फर्म तथा होटल रेष्टुरेन्टमा नेपालसम्बन्धी प्रचारसामग्री राखिने, विश्वका कम्तीमा ५० देशमा मिस एनआरएन इन्टरनेशनल आयोजना गरी त्यसको समापन आगामी जुनभित्र नेपालमा गरिनेजस्ता कार्यक्रमले भ्रमणवर्षको सफलतामा सहयोग गर्नेछन् ।
सरकारले भ्रमणवर्ष लक्षित नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएका र नियोग रहेका देशमा सद्भावना दूत नियुक्ति गर्नेलगायतका पहल गर्ने भएको छ । यसैगरी निजीक्षेत्रका पर्यटन व्यवसायीको पहलमा पनि प्रचारप्रसारका काम भएका छन् । भ्रमणवर्ष सफल बनाउन विभिन्न देशका राजदूतहरूले पनि सद्भाव चासो व्यक्त गर्नुभएको छ । करिब दुई महिनाअघि चीनका राजदूत होउ यान्छीले राजधानी उपत्यकाका विभिन्न सांस्कृतिक र पर्यटकीय स्थानमा पुगेर तस्बिरसहित लेख्नुभएको शुभेच्छा ‘मेरो मनमा नेपाल ! नेपाल भ्रमणवर्ष २०२० सफलताको शुभकामना !’ ले पनि पर्यटन वर्षको सफलतामा महìव राख्ने देखिन्छ । नेपालका लागि अस्टे«लियाका राजदूत पिटर बडले हालै गोक्यो ताल, चोला पास हुँदै सगरमाथा आधार शिविरसम्म गर्नुभएको पदयात्रा र सन्देशले पनि ती देशका नागरिकलाई नेपाल भ्रमणमा प्रेरित गर्नेछ । नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ¥यान्डी बेरीले हालै पोखरा र त्यसअघि ल्हो मान्थाङ्सम्मको टे«किङ्, उपत्यकाभित्रका विभिन्न स्थान घुमघामका अनुभवसहितका तस्बिर सार्वजनिक गर्नुभएकाले यो मौसम नेपाल भ्रमणका लागि उपयुक्त भएको सन्देश फैलिएको देखिन्छ । नेपालका लागि भारतका राजदूत मञ्जिव सिंह पुरीले सगरमाथा आधारक्षेत्रमा आयोजित अन्तर्राष्ट्रिय योग दिवसका तस्बिरसहित आफ्नो ट्विट गर्नु र उहाँको उक्त ट्विटलाई प्रधानमन्त्री नरेन्द्र मोदीले रिट्विट गर्नुले नेपालका सुन्दरतम क्षेत्रले पर्यटकलाई मन्त्रमुग्ध गर्न सक्ने विश्वास गर्न सकिन्छ । नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रिचार्ड मोरिसले दशैँ बिदामा अन्नपूर्ण संरक्षण क्षेत्रको टे«किङ् गरी नेपाल भ्रमणका लागि बेलायतका नागरिकलाई प्रेरित गर्नुभएको थियो ।
नेपालको पर्यटन प्रवद्र्धनमा राजदूतहरूको भ्रमण, अनुभव आदाप्रदान र सुझाव उपयोगी हुने भएकाले नेपालस्थित अन्य कूटनीतिक नियोग तथा कार्यालयमा कार्यरत विदेशीलाई पनि भ्रमण निम्ति उत्साही पार्न पर्यटन बोर्ड तथा भ्रमणवर्ष सचिवालयले पहल गर्न सक्छन् । उहाँहरूद्वारा गरिने भ्रमण आग्रहले सम्बन्धित देशका नागरिकलाई नेपाल घुम्न उत्पे्ररणा दिनसक्ने भएकाले यस्ता अवसरलाई उपलब्धिमा परिणत गर्न सक्नुपर्छ । भ्रमणवर्षभरि २० लाख पर्यटक नेपाल भिœयाउने लक्ष्य राखिएको सन्दर्भमा विभिन्न क्षेत्रको सहयोग र सद्भावले राष्ट्रिय अभियान सफल हुनेछ । यसले ल्याउने आर्थिक समृद्धि सम्पूर्ण नेपाल र नेपालीको हितमा हुनेछ ।