कमला रेग्मी
मित्रताको विषयमा पढिरहँदा सामान्य लाग्नसक्छ । वास्तविकतालाई केलाउने हो भने मित्रताको गहनतासँग दैनिक सामाजिक व्यवहार सञ्चालित छन् । नेपाली पहिचानमा मित्रताको भावनामा सकारात्मक सोच, अतिथिको निःस्वार्थ सेवामा गएर गाँसिन्छ । निःस्वार्थी सोचमा जडित मानवतामा मौलिक नेपालीपन छ । आज मानिसले बन्धुत्व, भाइचारा, सहयोगको मर्मलाई धज्जी उडाउँदा समाजको संरचना र प्रवृत्तिमा स्वार्थ र सम्पत्ति ठूलो बन्न थालेको छ । एकातिर गरिबीको बाध्यता र अर्कोतिर धनीको रवाफिलो अनुशासनहीन बडप्पनयुक्त शैली छ । दुवैको सँघारभित्र नेपाली समाज छ । अभैm पनि गरिब बालबालिकाले कमारो बनेर धनीका बालबच्चा र कुकुरलाई स्याहार्दै, जुठा भाँडा माझ्दै जीवन चलाउनुपरेको छ ।
पूर्वीय दर्शनका कृष्ण र सुदामाको मित्रता, राम–लक्ष्मणको मातृत्व होस् या त महाभारत कथामा कृष्ण–अर्जुनको मित्रताको गहनतामा जीवनको दृश्यचित्रको सन्देश लुकेको पाइन्छ । जीवनमा असल मित्र, मार्गदर्शक र आमाबुबा स्मरणीय हुन्छन् । जुन व्यक्तिले अप्ठ्यारो अवस्थामा साथ दिन्छन् तिनै असल मित्र बन्छन् । सम्पत्ति भनेपछि महादेवका पनि तीन नेत्र भन्छन् । तर मित्रको मित्रतामा सम्पत्तिभन्दा माथिको सद्भाव लुकेको हुन्छ । मित्रताको भावनालाई व्यक्तिगत आचरण र स्वभावले प्रभावित पार्ने रहेछ ।
महाभारत कथाअनुसार बालापनमा गुरुकुलमा पढ्ने द्रुपद र द्रोणमा प्रगाढ मित्रताबाट हामीले आज शिक्षा लिनुपर्छ । दु्रपद राजकुमार भएकाले आपूm राजा भएपछि द्रोणलाई आफ्नो आधा राज्य दिने श्रद्धाभावसहितको वाचा गरे । पढाइ सकेर दुवैजना आफ्नै संसारमा भुले । समय बित्दै जाँदा द्रोण गरिबीको सङ्कटमा परेपछि बालापनका मित्र र उनले गरेको वाचालाई सम्झेर भेट्न दरबारमा पुगे । तथापि द्रुपदले आफ्नो परिचय दिँदै पुरानो वाचालाई सम्झाए । तर द्रुपदले आपूm राजा र द्रोणबीचमा मित्रताको स्तर मिल्न नसक्ने घमण्ड देखाए । त्यति मात्रै होइन, बालापनमा के के गरियो, के के भनियो ती त्यतिखेरका कुरा यो अवस्थामा हामी दुईमा मित्रताको स्तर नमिल्ने दम्भपूर्ण तर्क द्रुपदले द्रोणलाई सुनाए । समय बलवान् छ । वीर पाण्डवका गुरु बनिसकेपछि अपमानको बदलामा द्रोणले आफ्ना शिष्यलाई गुरु दक्षिणाका रूपमा द्रुपदलाई बाँधेर ल्याउन अह्राए । पाण्डवले गुरुको आज्ञा मुताबिक द्रुपदलाई बाँधेर ल्याए तर द्रोणले द्रुपदलाई जितेपछि त्यो राज्यको राजा आपूm हुन सक्ने भए पनि आपूmले मित्रतालाई नबिर्सेको पेचिलो प्रहार गरे । द्रोणले, “मलाई तिम्रो राज्यको लोभ होइन किनकि मित्रता पद, प्रतिष्ठा र सम्पत्तिभन्दा उच्च स्तरको हुन्छ ।”
विश्वव्यापी यान्त्रिक जीवनका कारण हिजोको जिउँदा जन्ती मर्दाको मलामी बन्ने असल व्यक्तित्वको खडेरी हुँदा मानवता नै धराशयी बन्छ । आज त मलामी नै किन्नुपर्ने हो कि भन्ने भय उत्पन्न भएको छ । मित्रता एककाँधे बन्दा त्यहाँ पनि स्वार्थको दुर्गन्ध आउँछ । केही पाउने आशा बोकेर कसैलाई सहयोग गर्दासमेत साँचो मित्रता रहन सक्दैन । मित्रता उदाहरणमा प्राचीन कथामा भक्त र भगवान्को सम्बन्ध देखिन्छ । रामायणका राम र हनुमानमा ओहदागत सम्मान थियो । मानिसभन्दा पशुपन्छी, ससाना कमिलासम्ममा असल र महान् मित्रता देखिरहँदा आज मानिस मानवता बिर्सेर किन प्राचीन बर्बरता पोख्दैछ ?
मित्रताको गुण मानिसमा मात्र होइन, पशुप्राणीमा उत्तिकै दर्बिलो हुन्छ । कुकुरले त मालिकलाई गर्ने व्यवहार र त्यही घरको सानो बच्चालाई गर्ने व्यवहारमा अन्तर राख्छ । मालिकप्रति आदरभाव व्यक्त गर्छ । निःस्वार्थ प्रेममा असल मित्रताको पहिचान झल्किन्छ । नेपाली संस्कृतिमा पनि मित्रताको बलियो परम्परा छ । बालकदेखि बच्चालाई सिकाइएका व्यवहार र उसले पाएका सङ्गतमा मित्रताको चरित्र निर्वाह गर्ने बीउ रोपिन्छ । स्कुले बच्चाले साटासाट गर्ने खुसी, साथीलाई सहयोग गर्नेदेखि घरपरिवारले सिकाएको वातावरणले असल र खराबको दायरालाई प्रभावित पार्छ । हुन पनि हो– मानवता र सद्भावको निःस्वार्थतामा आनन्द र शान्ति हुन्छ । वासनात्मक होइन, नैतिक र भावनात्मक
तादात्म्य हुन्छ ।
के हो मित्रता
भक्तलाई भगवान् असल मित्र, दुःखीलाई जसले मद्दत गर्छ ऊ असल मित्र, विद्यार्थीलाई मन मिल्ने दौँतरी असल मित्र, गृहिणीलाई आफ्ना कुरा मिल्ने सखी असल मित्र । बच्चालाई आफ्नै उमेरका माया गर्ने साथी असल मित्र । तपस्वीले ज्ञानको चुरो बुझ्न चाहनेले आफैँभित्रका शक्तिलाई, ब्रह्मलाई असल मित्र हो भनी परिभाषित गर्छन् । असल मित्र सबैको हृदयमा हुने करालाई बुझ्नुसँग आत्मिक ज्ञानको सार छ । सजिलोमा मुस्कुराउनलाई मात्र होइन जटिलतामा सहयोगको हात बढाउने र हरपल सहयोगी हृदय बोक्ने प्राणी नै असल मित्र हो । चोरको मित्र, जुवाडे, डकैती गर्नेको मित्रले एक न एक दिन मित्रलाई नै गलहत्याएर स्वार्थपूर्ति गर्छ । तसर्थ मित्रता विसङ्गत समाजको भद्रगोल चरित्रमा होइन, निःस्वार्थ भावनाको मानवीय आचरणमा निहित हुन्छ । प्रेम, सद्भाव, मानवता, करुणा पनि पैसामा तौलिन थालेपछि समाजको ‘वसुधैव कुटुम्बकम्’ मा खिया लाग्छ । दीनदुःखीले भोकभोकै मर्नुपर्छ । आज कतै समाजमा बेथिति, भ्रष्ट चरित्रको असहज जटिलतामा मानवको प्रविधि विकाससँगै ढुङ्गेयुगको चरित्र देखापर्दै त छैन ? अनि असल मानिस कहाँ खोज्ने ? निःस्वार्थ सहयोगी मित्रताको स्वच्छता कहाँ हुन्छ ?
हाम्रा हरेक चाडपर्वले मित्रताको गाँठोमा बाँधिन सिकाएका छन् । समाज एउटा मित्रताको बन्धन हो । हाम्रा पुर्खाले निर्माण गरेर आदर्शताको भाव झल्काउने समाजवादी दर्शन र व्यवहार हो । आपूmलाई अप्ठ्यारो पर्दा मागेर काम चलाएको पैसालाई तिर्ने कुरै नगरी तर्कने निर्लज्जताले समाजमा मित्रता ढल्छ । मित्रताको विश्वासमै घात भएपछि, पैसाका लागि कर्तव्यलाई बिर्सेपछि मानवतालाई धुल्याहाले खान्छ । मानिसले पैसालाई नै भगवान् ठान्छ । अनि स्वार्थी चरित्रको विकास हुन्छ । सामाजिक प्राणी मानिसले पैसासँग मात्रै आत्मीयता, सहकार्यलाई जोड्ने हो भने मानवता कहाँ रहला ? यसर्थ मानिस लालचको पासोमा फसेपछि मित्रताको भावना नै विलीन बन्छ ।
आजको विश्वव्यापीकृत, वैज्ञानिक यान्त्रिक सोचलाई नियाल्दा सक्कली मित्रता ग्रामीण समाजमा पनि पाइनै छोड्यो । सामूहिक सद्भाव, संस्कृति, परम्पराका कुरा, सहयोगमुखी भाइचाराका विषय एकादेशका कथा बन्दैछन् । आदर्शलाई बिर्संदै यान्त्रिक पैसाप्रेमी मानिसका कारण समाजमा न्यायको मैदान प्रदूषित छ । मानिस हरेक स्थितिमा घुस, भ्रष्टाचार, कालो नजर लगाएर हात बढाउँछ । फलतः बलात्कार, हत्या, चोरी, डकैती, ठगीजन्य हिंसात्मक कुबुद्धिले डेरा गर्छ । आजको परिवेशलाई हेर्दा मानिस एक्लो र स्वार्थी बन्दै गएको छ । मानिस तनावग्रस्त, अभावग्रस्त बनिरहेको छ । तर प्रविधिले मानिसलाई बनाएको होइन, प्रविधिलाई मानिसले बनाएको हो ।
परिवर्तन होस्, परिस्थिति, समाज बदलियोस् तर भावनामा मित्रता जीवन्त हुनुपर्छ । आज मुलुकले परिवर्तन गर्ने हो भने सत्तापक्ष र प्रतिपक्षले सकारात्मक प्रतिस्पर्धाको मित्रतालाई बोध गर्न जान्नुपर्छ । व्यावहारिक गुणबाट हेर्दा काम र सहयोगसँग मित्रताको सद्भावलाई जोड्न सके त्यो स्वार्थको लालसामय अस्थिर सम्बन्ध बन्छ । मित्रताका कुरासँग व्यक्तिको आदत र संस्कार जोडिन्छ । हिजो नैतिक शिक्षा थियो । आज नैतिकता समाप्त भएको छ । नारी र पुरुषको मर्यादालाई समाजले नै सिकाउँथ्यो । समाजसँगै डर हुन्थ्यो । आज कानुन छ तर हिजोजस्तो समाजमा नैतिक शिक्षाको वातावरण छैन । स्वतन्त्रता छ तर समाज अनुकूल नहुँदा छाडापन छ । समाज सुधारका लागि सबै जिम्मेवार हुनुपर्छ ।
(लेखक त्रि.वि.मा एम्.फिल्. तहमा अध्ययनरत हुनुहुन्छ ।)