भीमलाल गौतम
लामो विवाद र रस्साकस्सीपछि समृद्धि यात्रामा अघि बढेको वर्तमान नेकपा सरकारले नेपालको सबैभन्दा ठूलो र पुरानो विश्वविद्यालयमा पूर्णकालीन नयाँ उपकुलपति नियुक्ति गरेको छ । केही महिना अघिमात्र सरकारले त्रि.वि. सेवा आयोगलाई पुरानो संयन्त्रमा सुधार गरी लोकसेवा आयोगजस्तै विश्वसनीय बनाउने अपेक्षासहित पूर्णता दिने काम सम्पन्न गरेको छ । नेपालको प्राज्ञिक जगत्, मिडिया र आम नागरिकले आशा गरेजस्तै त्रिविका रिक्त पदमा निर्विवाद र अनुभवी प्राध्यापक नियुक्ति हुनु नै सकारात्मक हो । सधैँ शङ्का र नकारात्मक कुराले विक्षिप्त नेपाली समाजमा यस किसिमका नियुक्तिले सरकारको समृद्धि यात्रा अघि बढ्दैछ भन्ने कुराको सङ्केत दिन्छ ।
त्रिवि सेवा आयोग त्रिभुवन विश्वविद्यालयको लगभग साठी वर्षे इतिहासमा पहिलो पटक विवादरहित पदाधिकारी नियुक्त भएका छन् । हुन त सेवा आयोग त्रिविभित्रको स्वायत्त संस्था हो तर पनि यसले बनाउने नीति नियमको मुख्य निर्णय भनेको त्रिवि कार्यकारी परिषद्मा हुने भएकोले यसले गर्ने प्रयासमा त्रिवि नेतृत्व सकारात्मक हुन सकेन भने सेवा आयोग आफैँले केही गर्न सक्दैन । त्रिवि सेवा आयोगभित्र हाल भइरहेका काम र नयाँ पदाधिकारीको सक्रियताले गर्न खोजेका प्रयासलाई त्रिवि नेतृत्वले बुझ्न सक्यो भने सेवा आयोगको गुमेको साख फर्किन सक्छ । डिन कार्यालय र सम्बन्धित विभाग एवं विषय समितिमार्फत विषय विशेषज्ञको स्थायी रोष्टर तयार गर्ने, अनुसन्धान, कृति एवं लेख–रचनालाई नियमित र वास्तविक मूल्याङ्कन गर्ने, सेवा आयोगलाई पूर्णतया डिजिटल बनाएर आवेदन फर्महरू अनलाइन भर्ने व्यवस्था गर्ने र लोकसेवा आयोगजस्तै भरपर्दो र व्यवस्थित आयोगको निर्माण गरी त्रिवि शिक्षक कर्मचारीको नियमित विज्ञापन गर्नुपर्छ ।
त्रिवि कार्यकारी परिषद् त्रिविको सबैभन्दा महìवपूर्ण र शक्तिशाली निकाय भनेको कार्यकारी परिषद् हो । मिलेर काम गर्न सक्यो भने दुईतिहाइ सरकारभन्दा पनि यो कार्यकारी परिषद् बढी शक्तिशाली र जवाफदेही हुन्छ । हालसम्म त्रिविमा कार्यकारीका तीन महìवपूर्ण पदहरू भीसी, रेक्टर र रजिस्टार तीनतिर उभिने गरेका थिए । आफूले खुट्टा नटेक्ने बरु अरूको खुट्टा तान्ने अभियानले गाँजेको थियो । त्यसैले यो कार्यकारी परिषद्मा अनुभवी र निर्णय क्षमता राख्न सक्ने पदाधिकारी हुन सकेमा लगभग सात हजार शिक्षक प्राध्यापक र त्यति नै कर्मचारीको सेवा सुविधा तथा काम, कर्तव्य अधिकारको बारेमा विश्वविद्यालयले आवश्यक नीतिनियम र निर्देशन गर्नसक्छ । भर्खरै नवनियुक्त उपकुलपतिको पदस्थापनाको बेला गरेको मन्तव्य र त्यही दिन नेपाल टेलिभिजनमा दिएको अन्तर्वार्ताले उहाँमा यी कुराको जानकारी छ र तिनको समाधान हुनुपर्छ भन्ने कुराको अपेक्षा गर्न सकिन्छ ।
त्रिवि संरचनाको व्यवस्थापन त्रिभुवन विश्वविद्यालय हाल देशको सबै भूभाग र जिल्लामा फैलिएको हुनाले यसको व्यवस्थापनको आवश्यकता देखिन्छ । देश सङ्घीय संरचनामा गइसकेकाले अब त्रिविलाई पनि सङ्घीय स्वरूपमा व्यवस्थित गर्न सकिएन भने केन्द्रमा जतिसुकै ठूला र राम्रा काम भए पनि स्थानीय रूपमा त्यसले प्रभाव पार्न सक्दैन । अमेरिका, अस्ट्रेलिया, फ्रान्सजस्ता विकसित मुलुकमा प्रयोग र प्रमाणित भइसकेको त्रिविलाई गण्डकी, कोशी, कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, जनकपुरजस्ता क्षेत्रीय विश्वविद्यालयमा विभाजन गरी हालको कीर्तिपुर परिसरलाई त्रिवि केन्द्रीय विश्वविद्यालयको रूपमा विकास गर्न सकिन्छ । जसले गर्दा हाल त्रिवि शिक्षक कर्मचारीमा देखिएको जागिर र पहिचानको मनोवैज्ञानिक त्रास पनि हटेर जान्छ । अर्कोतिर त्रिवि प्रादेशिक विश्वविद्यालयबीचमा गुणस्तरको प्रतिस्पर्धा बढ्न पुग्छ । फ्रान्सको पेरिस विश्वविद्यालय, लियोन विश्वविद्यालय, अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालय यसका सफल उदाहरण हुन् ।
त्रिविको राजनीति र यसको समन्वय त्रिभुवन विश्वविद्यालयको सबैभन्दा जटिल पक्ष भनेको यसभित्रको राजनीति र त्यसमा गर्नुपर्ने समन्वय महìवपूर्ण कुरा हो । नेपालको राजनैतिक आन्दोलनमा त्रिभुवन विश्वविद्यालयको योगदान महìवपूर्ण मानिन्छ । पञ्चायतीकालमा पनि विश्वविद्यालयभित्र प्राध्यापक सङ्घ, कर्मचारी सङ्गठन र स्ववियूमार्फत नेपालको राजनैतिक परिवर्तनमा विभिन्न समयमा भएको योगदानलाई नजरअन्दाज गर्न सकिन्न । चाहे २०३६ सालको आन्दोलन होस्, चाहे २०४६ सालको प्रजातन्त्रको आन्दोलन वा २०६२÷६३ को गणतन्त्र उन्मुख आन्दोलन होस् सबै मोर्चामा त्रिविका प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको योगदान नेपालका राजनैतिक पार्र्टी र नेताभन्दा कम छैन । त्यसैले यसभित्रको राजनैतिक पाटोलाई नजरअन्दाज गरियो बने जतिसुकै सक्षम र इमानदार नेतृत्व आए पनि त्रिविमा सुधार हुँदैन । यसका लागि त्रिविको राजनैतिक र प्रशासनिक अवस्थाको जानकारी भएको समन्वयकारी नेतृत्व हुनु आवश्यक छ ।
अनुसन्धान र अन्तर्राष्ट्रिय सम्बन्ध विगतमा त्रिवि आमजनमानसको सेवा गर्नेगरी जनताको विश्वविद्यालयको रूपमा स्थापित भयो तर अबको जमानामा यसलाई अन्तर्राष्ट्रियकरण गर्नु आवश्यक छ । त्रिविले २१औँ शताब्दीमा स्थापित मान्यताको अनुसरण गर्नुपर्ने देखिन्छ । यसका लागि सबैभन्दा पहिला त्रिविभित्रका अनुसन्धान केन्द्रलाई पुनः संरचना गरी क्रियाशील बनाउनुपर्ने देखिन्छ । संसारका धेरै प्रसिद्ध र स्थापित विश्वविद्यालय विद्यार्थी सङ्ख्याभन्दा पनि अनुसन्धान र ज्ञान निर्माणको बाटोतिर लम्किरहेका छन् । त्रिविले पनि अब अनुसन्धानलाई सबैभन्दा बढी महìव दिनु जरुरी छ । अनुसन्धानका लागि आवश्यक जनशक्तिको अभाव छैन । यसका लागि आवश्यक पर्ने कुरा भनेको त्रिवि नेतृत्वको तत्परता हो । त्रिविभित्रका सक्षम र अनुभवी प्राध्यापक जसले यो क्षेत्रमा रुची देखाउँछन् । उनीहरूसित सहयोग, सल्लाह र सहकार्य गरेर नेपाल सरकारको अनुसन्धान गर्ने मुख्य प्रयोगशालाका रूपमा विकास गर्न सकिन्छ । जव विश्वविद्यालयमा अनुसन्धानलाई बढी महìव दिइन्छ स्वतः यसको अन्तर्राष्ट्रिय सम्बन्ध बढ्न जान्छ । जसले गर्दा सहयोगी संस्था र निकाय पनि थपिन्छन् । त्रिविमा रहेको अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्र र सोसँग सम्बन्धित विभागमार्फत नेपाली अनुसन्धानलाई सभा सम्मेलन र गोष्ठीको आयोजना गरी बाहिरी विश्वविद्यालय एवं संस्थासित सम्बन्ध बढाउन सकिन्छ ।
भौतिक संरचना र व्यवस्थापन त्रिविको विशाल संरचना र फैलावटभित्र यसको अव्यव्स्थित भौतिक संरचना र त्यसको व्यवस्थापन गर्ने कुरा पनि महìवपूर्ण देखिन्छ । विश्वविद्यालय भनेका ज्ञान र अध्ययनका लागि खुला हुनुपर्छ । तर व्यवस्थापन र संरचनामा खुला राख्ने परम्पराले त्रिविलाई धेरै अप्ठ्यारो परेको छ । त्यसैले त्रिविमा नयाँ भौतिक संरचनाको निर्माण मात्र होइन, पुराना संरचनालाई व्यवस्थित र युगसुहाउँदो बनाउनुपर्नेछ । अन्तर्राष्ट्रिय विश्वविद्यालयमा हुने न्यूनतम कुराहरू जस्तै बाटोघाटो, सुरक्षित कम्पाउण्ड, शौचालय, क्यान्टिन, सेमिनार हल तथा पाहुना घरको निर्माण हुनु आवश्यक छ । त्रिवि केन्द्रीय क्याम्पस परिसरमा वर्षभरि देखिने गाईवस्तु, बेलगाम कुदेका ट्रक र ट्याङ्कर, युवायुवतीको क्रीडास्थल बनेको खुला चउर र जङ्गल हेर्दा वर्तमान त्रिविको वास्तविक अवस्थाको बारेमा बुझ्न सकिन्छ । त्यसैले सबैभन्दा पहिला त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कार्यालय परिसरलाई भौतिक रूपमा व्यवस्थित गर्नु आवश्यक छ । नयाँ नेतृत्वले यी कुरामा ध्यान दिनेछ भन्ने आशा गरौँ ।
दार्शनिक क्यारोल सिमले भनेझैँ हामीले सुधारका नाममा हजारौँ विश्वविद्यालय र सयौँ प्राध्यापकहरू बनाउन सक्दैनौँ तर प्रविधि र इन्टरनेटको प्रयोग गरेर धेरै विश्वविद्यालयमा भएका राम्रा र महìवपूर्ण विषय र पाठ्यक्रम समावेश गरेर व्यवस्थापन गर्न सक्छौँ । त्यसैले ठूलाभन्दा सानातिना तर महìवपूर्ण कुरामा ध्यान दिन सकियो भने दुई चार वर्षमै त्रिविको कायापलट गर्न सकिन्छ । त्रिवि उपकुलपतिसँगै अब केही समयमा हुने नयाँ रेक्टर र रजिष्ट्रार भाषण र गफ गर्नेभन्दा पनि काम गर्ने र इमानदारी प्रकट गर्ने समन्वयकारी होउन् ।
(लेखक त्रि.वि.केन्द्रीय भाषाविज्ञान विभागमा प्राध्यापन गर्नुहुन्छ ।)