logo
२०८१ मंसिर १० सोमवार



बीआरआई र इन्डो प्यासिफिक रणनीति

विचार/दृष्टिकोण |





श्याम मैनाली

विश्वमा उदीयमान शक्तिका रूपमा देखिएको छिमेकी चीनका राष्ट्रपति सी चिनफिङले हालै गर्नुभएको नेपालको एक दिवसीय राजकीय भ्रमणमा नेपाललाई विभिन्न आयोजनामा उल्लेखनीय अनुदान रकम दिने गरी सम्झौता भयो । नेपाललाई भूपरिवेष्टित देशबाट भूजडित देशमा रूपान्तरण गर्न सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता राष्ट्रपति सीबाट आएकाले नेपाली पक्ष उत्साही बनेको छ । नेपाललाई ठूलो धनराशि सहयोग गर्ने सौहार्दता चिनियाँ पक्षले गरिरहँदा नेपालबाट चीनले प्राप्त गर्ने फाइदाका सम्बन्धमा समेत चिन्तन गर्नुपर्ने हुन्छ । व्यापार व्यवसायमा विश्वभर सर्वोच्च स्थान हासिल गर्न सफल चीनले प्राचीन सिल्क रुट हुँदै बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत विश्वभर सञ्जाल निर्माण गरेर प्रभाव विस्तार गर्ने र यसमा संलग्न रहेका सबै राष्ट्रलाई सहयोग गर्ने मार्गचित्रका साथ अघि बढेको छ ।
सोभियत सङ्घको विघटनपश्चात् विश्वमा अत्यन्त शक्तिशाली राष्ट्रका रूपमा पहिचान बनाएको देश संयुक्त राज्य अमेरिकाले चिनियाँ प्रभावलाई नियन्त्रण र सन्तुलन गर्न प्रारम्भमा सन् २००७ मा एसिया प्यासिफिक स्ट्राटेजी हालका दिनमा इन्डो प्यासिफिक स्ट्राटेजी (रणनीति) मार्फत एसिया लगायतका देशमा सबल सञ्जाल विस्तार गर्दैछ । आउँदा दिनमा यी सबै देशसँग सुसम्बन्ध विस्तार गरी कूटनीतिक सफलताको प्रदर्शन गर्नुपर्ने स्थिति छ । अन्यथा कुनै एक पक्षसँग मात्र सौहार्दता कायम गरी अघि बढ्दा नेपालको परराष्ट्र नीति र समग्र देशको हितमा गम्भीर प्रभाव पर्न सक्छ । यो स्थिति नेपालका लागि प्रत्युत्पादक हुनसक्छ । तसर्थ नेपालको कूटनीतिको परीक्षण गर्ने उपयुक्त समय यही भएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रथम कार्यकालको मध्य समयमा वैदेशिक नीतिमा ठूलो चुनौतीको सामना गर्नुपर्ने अवस्था देखियो । चीनले वान बेल्ट वान रोड इनिसिएटिभको नामबाट विश्वबजारमा आफ्नो व्यापारलगायत कूटनीतिक अवस्था थप बलियो बनाउँदै अघि बढ्ने दृढताका साथ कार्य प्रारम्भ गरेको छ । यसले पुरातन शैलीको व्यापार व्यवसाय गर्दै आएको सिल्क रुटलाई विश्वबजारमा सम्पर्क कायम गर्ने प्रभावकारी माध्यमका रूपमा लिई आधुनिक तरिकाले जल, स्थल र हवाईमार्ग लगायतका बहुआयामिक रूपमा विकास गर्ने बृहत् आयोजनाको प्रारम्भ गर्ने लक्ष्य लिएको थियो । यसमा अर्बौं डलर खर्च भई युरोप, मध्यपूर्व, अफ्रिका र एसियामा विस्तारित हुने लक्ष्य लिएको दीर्घकालीन आयोजनाका रूपमा कार्यान्वयन गर्दै संलग्न राष्ट्रहरूको बहुआयामिक विकास गर्ने गरी चीनले यसलाई जीवन्तता दिने उपाय गरेको छ । यसले हालसम्म १५२ देशमा आधारशीलाको विकास गर्ने अभिप्रायले लगानी गर्ने निर्णय गरेको छ । यसमा रुस, पाकिस्तान, श्रीलङ्का, नेपाललगायतका देशले संलग्नता जनाइसकेका छन् । बाँकी अन्य देशलाई पनि समावेश गराउन चीनले यथासम्भव प्रयास गरिराखेको छ । तर भारतले यसको एउटा महìवपूर्ण आयोजना चीन पाकिस्तान आर्थिक मार्गको कार्यान्वयन गर्दा विवादित क्षेत्र काश्मिरको प्रयोग गरिने भएकाले यसबाट भारतको सार्वभौमसत्तामा नै अतिक्रमण हुने तर्क गर्दै यसमा सहभागी नहुने निर्णय लिएको छ । तत्पश्चात् इन्डिया–चिनियाँ रणनीतिलाई नियन्त्रण गर्न एसिया प्यासिफिक स्ट्राटेजीको महìवपूर्ण र निर्णायक साझेदार बन्दै चीनसँग प्रतिरोध गर्ने रणनीतिकारका रूपमा अमेरिकासँग यसमा हात मिलाई गठबन्धनको नाम इन्डो एसिया प्यासिफिक स्ट्राटेजी बनाइएको छ ।
अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व बैङ्क र विश्व व्यापार सङ्गठनले बीआरआईको सम्भाव्यताको आँकलन गर्दै यसलाई समर्थन र सहयोग गर्ने निर्णय लिएका छन् । जहाँसम्म भारतको कुरा छ सन् २०१६ मा मात्रै करिब ७१ मिलियन अमेरिकी डलर बराबरको व्यापार चीनसँग गर्दै क्रमशः यो द्विपक्षीय व्यापारको आकार वृद्धि गर्दै लगेको छ । चीनलाई महìवपूर्ण व्यापारिक साझेदारका रूपमा स्वीकार गर्दै अघि बढ्दा हालको यस परिस्थितिले अप्ठेरो अवस्था सिर्जना गरेको छ । भारत यो ठूलो सञ्जालका रूपमा रहेको गठबन्धनबाट पृथक् रहनुपर्ने आशङ्का गरिएको छ । यो अवस्था रहँदा विश्वबजारमा सहजता प्राप्त गर्न सकिँदैन । यो चीनसँग सुधारिँदै गएको सम्बन्ध र व्यापारलगायतका क्षेत्रमा गरिराखेको प्रगतिका लागि ठूलो चुनौतीको विषय हो ।
भुटानबाहेकका दक्षिण एसियाका देशले बीआरआईलाई समर्थन गरिसकेकाले पनि भारतलाई एक प्रकारको दबाब छ । चीन बङ्गलादेश, अफगानिस्तान, पाकिस्तान, श्रीलङ्का र नेपाललाई समेत बीआरआईमा संलग्न गराई यस बृहत् अभियानको कार्यान्वयनमा जुटिसकेको छ । यसको उद्घाटन हुने एक दिनअघि अर्थात् सन् २०१७ मे १२ मा नै नेपालले आफ्नो संलग्नता र समर्थन दिई सम्झौता गरिसकेको छ । यसबाट नेपालले विभिन्न आधारशीलाको निर्माणका साथै ऊर्जा, सञ्चार, रेलमार्ग, सडक, हवाईमार्गको शीघ्र विकासमा योगदान पुग्ने भई देश समृद्धिको दिशामा अभिमुख हुने उत्साहजनक अभिव्यक्ति पटकपटक दिएको छ । यसबाट लामो समयदेखिको अत्यन्त निकट सम्बन्ध रहेको छिमेकी देश भारत स्वभावतः आश्चर्यमा परेको छ । धेरै कारणले गर्दा भारतलाई नेपालको बीआरआई प्रवेश सहज देखिएको छैन । खुला सिमानाका कारण पनि यी दुई देशबीचको सम्बन्ध सुमधुर हुनु जरुरी छ । भूपरिवेष्टित देश नेपालले समुद्रसम्मको पहुँच पनि भारतबाटै प्राप्त गरिराखेको छ । भारत–चीनको सन् १९६२ को युद्धको समयदेखि नै नेपाललाई भारतले आफ्नो सुरक्षा कवच मान्दै आएको छ ।
लामो समयदेखि नेपालले भारतबाट धेरै प्रकारका राजनीतिक सहयोग प्राप्त गर्दै आएको छ तर भारतले नेपालको संविधानलाई समर्थन मात्र नगरेको होइन संविधान घोषणाको काम केही समय नगर्नका लागि दबाब सिर्जना गरेको थियो । यो दबाबलाई स्वीकार नगरी नेपालले आफ्नो संविधान जारी गरेको थियो । यस परिघटनाले दुई देशबीचको कूटनीतिक सम्बन्धमा गम्भीर रूपमा नकारात्मक प्रभाव परेको थियो, जसबाट प्रधानमन्त्री मोदीले सन् २०१४ मा नेपाल भ्रमण गरी बनाएको सौहार्दपूर्ण सम्बन्ध धराशायी बन्यो ।
भारतले आर्थिक नाकाबन्दी गर्दा नेपाली नागरिकको मनोविज्ञान भारतविरोधी हुन पुगेको थियो । आर्थिक नाकाबन्दीको विरोध गर्दै राष्ट्रियताको नारा दिएका दल अहिले सरकारमा छन् । बीआरआईमार्फत देशले गर्ने प्रगतिभन्दा पनि लामो समयदेखि भारतको नेपालमा परिराखेको एकछत्र प्रभावलाई चीनले रोक्दै आफ्नो प्रभाव विस्तार गर्ने नीति अवलम्बन गर्दै गएको प्रतीत हुन्छ । यस परिस्थितिमा भारतले नेपालसँगको वैदेशिक नीति र कूटनीतिका सम्बन्धमा पुनरवलोकन गर्नुपर्ने अवस्था छ । नेपालसँगको विदेश नीतिको बारेमा भारतले निर्णय लिँदा चीनले नेपालसँग कूटनीतिक सफलता हासिल गर्दै गएको, भारतको कडा विरोधका बाबजुद चीन सार्कको पर्यवेक्षक सदस्य बन्न सफल भएकोजस्ता कूटनीतिक महìवका विषयलाई मध्यनजर राख्नुपर्छ । चीन, नेपाल र भारत तीनै पक्षबीच सन्तुलित, सौहार्दता र सुमधुर सम्बन्धले मात्र बहुपक्षीय विकास र प्रगतिको प्रत्याभूति गर्न सकिन्छ ।
(लेखक नेपाल सरकारका पूर्वसचिव हुनुहुन्छ ।)  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?