logo
२०८१ मंसिर १० सोमवार



नेपाल–बङ्गलादेश सम्बन्धमा नयाँ आयाम

विचार/दृष्टिकोण |




हरिकुमार श्रेष्ठ

नेपाल र बङ्गलादेशबीचको सम्बन्धमा केही महत्त्वपूर्ण पक्ष छन् । पहिलो, दुवै मुलुक घनिष्ठ छिमेकी हुन् । भौगोलिक हिसाबले भारत र चीनपछि नेपालको सबभन्दा नजिकको छिमेकी देश बङ्गलादेश हो । दोस्रो, दुवै विकासशील मुलुक हुन् । आर्थिक र सामाजिक विकासमा आपसी अनुभवले दुवै देशलाई फाइदाजनक हुनसक्छ । यसैगरी अर्को महìवपूर्ण पक्ष भनेको दुवै देश अल्प विकसित मुलुकको वर्तमान स्थितिबाट झण्डै उही समयमा मध्यम विकसित देशको रूपमा रूपान्तरित हुने दिशामा अग्रसर छन् । तेस्रो महìवपूर्ण पक्ष, द्विपक्षीय, क्षेत्रीय र कतिपय अन्तर्राष्ट्रिय मामिलामा नेपाल र बङ्गलादेशको समान धारणा छ ।
यस परिप्रेक्ष्यमा, बङ्गलादेशका राष्ट्रपति
मोहम्मद अब्दुल हमिदको आसन्न नेपाल भ्रमणले द्विपक्षीय सम्बन्ध सृदृढ गर्न महìवपूर्ण दिशानिर्देश गर्ने अपेक्षा गर्न सकिन्छ । भ्रमणको महìव यस अर्थमा पनि बुझ्न सकिन्छ कि यसप्रकारको उच्चस्तरीय राजनीतिक भ्रमण धेरै वर्षपछि हुन लागेको छ । त्यसो त सार्क, बिम्स्टेक, असंलग्न शिखर सम्मेलन र संयुक्त राष्ट्रसङ्घका बैठकहरूमा दुई देशका राजनीतिक नेतृत्वबीच नियमित भेटघाट तथा विचार विमर्शले निरन्तरता पाइरहेको छ । तथापि उच्च राजनीतिक स्तरमा द्विपक्षीय भ्रमण नभएको धेरै वर्ष भइसकेको छ । त्यो अभावलाई यस भ्रमणले धेरै हदसम्म पूर्ति गर्न सक्ने आशा गर्न सकिन्छ ।
यसबीचमा नेपालले आमूल राजनीतिक परिवर्तनपश्चात् राजनीतिक सङ्क्रमणको दिशा पार गरी राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको दिशामा प्रवेश गरेको छ । त्यस्तै बङ्गलादेशले पनि तुलनात्मक रूपमा राजनीतिक स्थायित्व हासिल गर्दै आर्थिक र सामाजिक विकासमा फड्को मार्न सफल भएको छ । यस स्थितिको लाभ दुवै देश र जनताले उठाउन सक्ने प्रचुर सम्भावना हाम्रासामु छन् । विगतमा बङ्गलादेशले गरिबी न्यूनीकरणकोक्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको छ । प्रसिद्ध अर्थशास्त्री अमत्र्य सेन र उहाँका सहयोगीले केही वर्षअघि गरेको एक अध्ययनले महिला प्रजनन, साक्षरता, प्राथमिक स्वास्थ्य तथा महिला सशक्तिकरणजस्ता क्षेत्रमा बङ्गलादेश दक्षिण एसियामा अग्रणी स्थान रहेको देखाएको छ । त्यसो हुनुमा बङ्गलादेशले कृषिक्षेत्रमा प्राप्त गरेको आत्मनिर्भरता र गार्मेन्ट उद्योगले प्रदान गरेको रोजगारीले ठूलो भूमिका खेलेका छन् । बङ्गलादेशमा अहिले धानको दुई फसल मात्र नभई तीन फसल लाग्ने गरेका छन् । ‘सोनार बङ्गला’बाट हामीले सिक्ने पाठ भनेको यिनै हुन् ।
प्राकृतिक विपत्, नियन्त्रण र व्यवस्थापनमा बङ्गलादेशको अनुभव हाम्रा लागि उपयोगी हुन सक्छ । बर्सेनि हुने मनसुनी बाढी, डुबान एवं सामुन्द्रिक आँधीको चपेटामा यो क्षेत्र भुक्तभोगी छ । तथापि विगतका वर्षमा सरकारी, निजी क्षेत्र तथा सामाजिक सङ्घसंस्थाको सहकार्यमा सञ्चालित विपत् नियन्त्रण तथा व्यवस्थापन कार्यक्रमले बङ्गलादेशमा ठूलो धनजन जोगाउने कार्यमा उल्लेख्य सफलता प्राप्त भएको छ । जलवायु परिवर्तनका कारणले दक्षिण एसियाली मुलुकहरूले भोग्नुपरेको ज्वलन्त समस्याको निराकरणमा नेपाल र बङ्गलादेशले साझा मञ्च बनाउन सक्छन् । यी त भए हामीले एक अर्काबाट के सिक्ने भन्ने कुरा ।
दुई देशबीचको सम्बन्धको मुख्य पाटो आर्थिक तथा व्यापारिक सम्बन्धको सबलीकरण नै हो । त्यस दिशामा ठोस कार्य गर्ने अहिले उपयुक्त वातावरण बनेको छ । त्यसका लागि द्विपक्षीय एवं त्रिपक्षीय माध्यमबाट खासगरी निम्न विषयमा पहलकदमी बढाउन जरुरी छ । पहिलो, कनेक्टिभिटी नै हो । नेपालको पूर्वीद्वार काँकडभित्ताबाट बङ्गलादेशको सुदूर उत्तरी नाका बङ्गलादेशको हवाई दूरी २२ माइलभन्दा पनि कम छ । भारत हुँदै पुग्ने स्थलमार्गको दूरी पनि ५३ किलोमिटर मात्रै हो । तर त्यही दूरीबाट आवतजावत गर्न र सामान ढुवानी ओसारपसार गर्न त्यति सहज छैन । स्पष्ट छ, नेपाल र बङ्गलादेशबीचको कनेक्टिभिटी प्रकारान्तरमा त्रिपक्षीय हो । त्यसलाई सहज गर्न भारतको साथ र विश्वास आवश्यक छ । बङ्गलादेश, भुटान, भारत र नेपाल सम्मिलित बीबीआईएनको अवधारणा यही उद्देश्यले प्रेरित छ । सो अवधारणाले मूर्तरूप लिन सकेमा उपक्षेत्रीय सहयोगका प्रमुख विषय कनेक्टिभिटी, व्यापार, पारवहन जस्ता आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने तत्वहरूले गति लिन सक्नेमा विश्वास गर्न सकिन्छ ।
कनेक्टिभिटीको चर्चा गर्दा म एउटा कुरा स्मरण गर्न चाहन्छु । २०७२ सलामा नेपालमा गएको भूकम्पको बेला पीडितको राहतका लागि अन्य धेरै देशले जस्तै छिमेकी मित्रराष्ट्र बङ्गलादेशले पनि सहयोगको हात बढाएको थियो । तत्काल राहतका लागि बङ्गलादेश सरकारले एक लाख क्विन्टल चामल उपलब्ध गराएको थियो । त्यो राहत सामग्री एवं बङ्गलादेशका विभिन्न सङ्घसंस्था तथा व्यक्तिविशेषबाट प्राप्त लत्ताकपडा, कम्बल, त्रिपाल, औषधि, खाद्यान्नजस्ता दूतावासमा सङ्कलन भएका राहत सामग्रीको ‘कन्भ्वाई’को अगुवाइ गर्दै म बङ्गलादेशको उत्तरी नाका बङ्गलादेश– भारतको फूलबारी पानीट्याङ्की हुँदै नेपालको काँकडभित्ता र दमकसम्म पुगेको थिएँ । बङ्लादेशबाट राहत सामग्री बोकेर भारतको स्थलमार्ग हुँदै नेपाल प्रवेश गरेको झण्डै पाँच सय ट्रकको कन्भ्वाइले कनेक्टिभिटीको राम्रो सन्देश दिएको थियो । भारतको सहयोगले त्यो सम्भव भएको थियो ।
तर त्यसको केही महिनापछि जब भारतले नेपालमाथि नाकाबन्दी ग¥यो, काँकडभित्ता– फूलबारी– बङ्गलाबन्धको स्थलमार्ग पूर्णतया अवरुद्ध बन्न पुग्यो । त्यसैले जगजाहेर छ, कनेक्टिभिटी शब्दमा फलाकेर मात्र पुग्दैन, त्यसका लागि भारतको राजनीतिक प्रतिबद्धता आवश्यक छ । यही तथ्यलाई मनन गरेर बङ्गलादेशी मित्रहरू प्रायः भन्ने गर्छन्, बङ्गलादेश र नेपाल घनिष्ठ छिमेकी देश हुन् तर बीचमा भारत छ । दुवै देशको छिमेकी हुनुको नाताले भारतले यस तथ्यलाई मनन गर्नैपर्छ । दुवै देशका नेताहरूले पनि भारतसँग सहकार्य गर्ने दिशामा अग्रसर हुनैपर्छ ।
दोस्रो, कनेक्टिभिटीसँग प्रत्यक्षसँग जोडिएको विषय व्यापार र पारवहन पनि हो । नेपाल–बङ्गलादेशबीचको द्विपक्षीय व्यापार विगत वर्षहरूमा क्रमिक वृद्धि भए पनि अपेक्षित गति लिन सकेको छैन । त्यसअघि नेपालको बङ्गलादेशसँगको निर्यात व्यापार केही वर्षदेखि ह्रासोन्मुख अवस्थामा छ । काँकडभित्ताबाट भारतको बाटो हुँदै स्थलमार्गबाट हुने व्यापार सहज नहुनु र नेपालको निर्यात योग्य वस्तुमा विस्तार र विविधीकरण हुन नसक्दा निर्यात व्यापार बढ्न नसकेको हो । नेपालले परम्परागत रूपमा बङ्गलादेशमा निर्यात गर्दै आएको पहेलो मुसुरोको दाल र केही वनस्पतिजन्य कच्चा पदार्थले हाम्रो व्यापार सन्तुलन धान्न सक्दैन । बङ्गलादेशमा फलफूल, तरकारी र दुग्धजन्य पदार्थको निर्यातको प्रशस्त सम्भावना छ । त्यसका लागि निर्यातदरका लागि संयुक्त सरकारी संयन्त्रले कार्य गरिरहेको छ तर अझै ठोस निर्णय हुन बाँकी नै छ । आशा गरौँ, राष्ट्रपति हमिदको यस भ्रमणबाट केही नतिजा निस्कनेछ ।
हाल चर्चामा रहेको अर्को विषय हो, अन्तर्देशीय प्रसारणको माध्यमबाट नेपालले बङ्गलादेशलाई बिजुली बेच्ने । तीव्र औद्योगीकरण र बढ्दो सहरीकरणका कारण बङ्गलादेशमा विद्युत्को ठूलो माग छ तर माग र आपूर्तिका बीच ठूलो अन्तर छ । आगामी दशकसम्म त्यहाँको विद्युत्को माग २५÷३० हजार मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण छ । तसर्थ बङ्गलादेश नेपालको लागि विद्युत्को ठूलो बजार हुन सक्छ । त्यतिमात्र होइन नेपालका ठूला जलविद्युत् आयोजनामा बङ्गलादेशले लगानी गर्न अभिरुचिसमेत देखाएको छ । यस सन्दर्भमा अन्तर्देशीय प्रसारणका माध्यमबाट विद्युत् व्यापार सुनिश्चित गर्ने दिशामा नेपाल, भारत र बङ्गलादेश तीनवटै देशबाट राजनीतिक रूपमा नै पहल हुन आवश्यक देखिन्छ । नेपाल र बङ्गलादेशबीच अर्को सम्भावनाको क्षेत्र भनेको पर्यटन प्रवद्र्धन पनि हो । समथल बङ्गलादेशका जनता नेपालको उच्च हिमाली शृङ्खला र उपत्यका, पहाडको दृश्य हेर्न लालायित हुन्छन् भने नेपाली पनि बङ्गालको खाडीमा अवस्थित कक्स बञ्जारको संसारको सबैभन्दा लामो समुद्री तट (बीच) मा घुम्न रमाउँछन् ।
‘सगरदेखि सागरसम्म’ भन्ने पर्यटकीय प्रवद्र्धनको अवधारणा अघि बढाउन सकेमा बर्सेनि हजारौँ पर्यटक एक अर्काको देशमा घुम्न जाने प्रचुर सम्भावना छ । बङ्गलादेशमा प्रतिव्यक्ति आय बढेको मध्यमवर्गीय जनसङ्ख्या पनि ठूलो मात्रामा बढ्दैछ, जसको ठूलो सङ्ख्या छिमेकी मुलुकमा परिवारसहित बिदा मनाउन रुचाउँछन् । नेपाल भ्रमण वर्ष २०२० ले त्यसतर्फ यथोचित ध्यान दिई पर्यटन प्रवद्र्धनात्मक कार्य अघि बढाउन जरुरी देखिन्छ । अन्त्यमा बङ्गलादेशका राष्ट्रपतिको भ्रमण मूलतः राजनीतिक हो भन्ने कुरामा सन्देह छैन । यस्ता राजनीतिक भ्रमणले सम्बन्धको मार्ग फराकिलो पार्ने कार्य गर्ने हो । साथै द्विपक्षीय सम्बन्ध घनीभूत गर्न नयाँ दिशा पनि दिन्छ । त्यस उद्देश्यमा भ्रमण सफल हुन्छ भन्नेमा विश्वस्त हुन सकिन्छ ।

(लेखक बङ्गलादेशका लागि नेपालका  पूर्वराजदूत हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?