डा. रामहरि ढकाल
त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहमा सेमेस्टर प्रणालीबाट पठनपाठन वि.सं. २०३० को दशकको अन्त्यदेखि केही वर्ष लागू गरेर व्यावहारिक कठिनाइ देखाउँदै फेरि वार्षिक प्रणालीतिर फर्कियो । प्रशस्त गृहकार्य नगरी एकाएक प्रणालीमा परिवर्तन गर्दा त्यसबाट हुन आउने सकारात्मक नकारात्मक प्रभावबारे स्वयं योजनाकारहरू नै अनभिज्ञ भएका कारण यो प्रणाली लामो समय टिक्न सकेन ।
सेमेस्टर प्रणाली भनेको मात्र बोर्ड परीक्षा ६।६ महिनामा लिने भन्ने अधुरो बुझाइ, तत्कालीन अवस्थाको विद्यार्थीको सङ्ख्यात्मक चाप, सेमेस्टर चलाउन पुग्ने जनशक्तिको अभाव, प्रणालीको विभिन्न पक्षको बहस विशलेषणको अभाव, आन्तरिक मूल्याङ्कन पद्धतिमा विद्यार्थीको हस्तक्षेप आदिका कारण त्रि.वि. सेमेस्टर प्रणालीबाट पुनः वार्षिक प्रणालीमै फर्केको थियो ।
लामो समयको पैरवीपछि त्रिविले पुनः सेमेस्टर प्रणालीको आवश्यकता महसुस ग¥यो र सुरुमा केन्द्रीय क्याम्पस कीर्तिपुरबाट सेमेस्टर प्रणाली पुनः सुरु ग¥यो । अर्को वर्ष उपत्यकाका क्याम्पसहरू र गतवर्षबाट नेपालभरिका सबै स्नातकोत्तर तहमा यस प्रणालीबाट पठनपाठन हुँदै आइरहेको छ । यस प्रणालीमा प्राध्यापक र विद्यार्थी दुवै पक्षले गहिरो अध्ययन र मेहनत गर्नुपर्ने हुन्छ । प्राध्यापक विद्यार्थी दुवै पक्ष यस प्रणालीमा अभ्यस्त भइनसकेको सन्दर्भमा यसप्रति दुवै पक्षमा एक प्रकारको सन्त्रास थियो । त्यसैले केन्द्रीय क्याम्पसमा यो प्रणाली सुरुमा लागू गर्दा त्यहाँ विद्यार्थी भर्ना कम भयो । अर्को साल उपत्यकाभरि सेमेस्टर प्रणाली लागू गर्दा उपत्यका नजिकका स्नातकोत्तर चलेका कलेजहरूमा विद्यार्थीको चाप थामी नसक्नु भएको थियो । अहिले पनि राजनीतिशास्त्र लगायत केही विषय वार्षिक प्रणाली अनुरूप नै सञ्चालित छन् । यसले सेमेस्टरबाट भाग्न चाहने विद्यार्थीहरूलाई सजिलो त भएको छ तर अझै दोहोरो प्रणाली एउटै विश्वविद्यालयभित्र लागू भइरहँदा व्यावहारिक झन्झट त छँदैछ, अध्ययनपछि प्राप्त प्रमाणपत्रको विश्वसनीयतामा समेत (मूलतः विदेशमा) शङ्का गर्ने अवस्था छ ।
सेमेस्टर प्रणालीमा विद्यार्थीको कम्तीमा ८० प्रतिशत हाजिर हुनुपर्ने, प्रेसी लेख्नैपर्ने, सहभागीमूलक कक्षा हुनुपर्ने, अनुसन्धानात्मक लेख लेख्नुपर्ने जस्ता बाध्यताले येनकेन पढ्छु भन्नेहरू र जागिरदार विद्यार्थीहरूलाई अत्यन्त असहज बनाएको छ । अर्कोतिर स्नातकोत्तर तह सबै विद्यार्थीको लक्ष्य हुन सक्दैन भन्ने कुरा पनि दर्शाएको छ । तर यसले शैक्षिक गुणस्तर उकास्नमा विशेष महŒव राखेको छ । मुस्किलले १०–१५ प्रतिशत नतिजा दिनसक्ने त्रि.वि.मा सेमेस्टरको नतिजामा उल्लेख्य सुधार भएको छ । मूलतः यसले प्राध्यापक विद्यार्थी दुवैमा पढ्ने बानीको विकास गरेको छ ।
तर त्रि.वि सेमेस्टर प्रणाली अन्तर्गत व्यावहारिक समस्या देखिन्छन् ।
पाठ्यक्रम, पाठ्यपुस्तक
वार्षिक प्रणाली अन्तर्गत चलिरहेको अवस्थाबाट सेमेस्टर प्रणालीमा परिवर्तन गर्दा थुपै विषयमा त्यही वार्षिक अन्तर्गतको पाठ्यक्रमलाई आधा गरिएको छ । समय सापेक्षित पाठ्यक्रम छैन । केही विषयमा ज्यादै भद्दा पाठ्यक्रम छ । समयमा पढाएर सक्न हम्मेहम्मे पर्छ । नेपाली भाषामा लेखिएको पुस्तकको सारांश पढेर स्नातक पास भएको विद्यार्थीलाई अङ्ग्रेजी माध्यमको वास्तविक पुस्तक पढ्न सजिलो छैन, त्यसमा पनि लामा लामा आलेखहरू । नेपाली भाषामा लेखिएको पाठ्यपुस्तकको अभाव छ । कतिपय विषयमा विभागहरूले विद्यार्थीको पठन सामग्रीबारे स्पष्ट पारेका छैनन् । मूलतः विद्यार्थीहरू र प्राध्यापकसमेत कुहिरोको काग झैँ बन्नुपरेको छ ।
पठनपाठन
धेरैजसो कलेज सेमेस्टर प्रणालीमा पनि उही पुरानै पठनपाठनको शैलीमा सञ्चालित छन् । व्याख्यान विधि, शिक्षक केन्द्रित पद्धति, वर्षौं पुरानो डायरीको प्रयोग गरी मौखिक रूपमा भन्दै नोट लेखाउने चलन अझै पनि छँदैछ । प्रेसी लेखाउने, विद्यार्थीलाई पठनपाठन पद्धतिमा जिम्मेवारपूर्वक सहभागी गराउने, प्रस्तुत गर्ने मौका दिने, अनुसन्धानमूलक लेख लेख्न लगाउने जस्ता प्रक्रिया सुरुवातीकै क्रममा छन् । सेमेस्टर प्रणाली अन्तर्गत गर्नैपर्ने अनिवार्य कार्यसमेत नगरी विद्यार्थीहरू पनि श्रोताको रूपमा कक्षामा बसेर फर्कन पाउँदा खुसी देखिन्छन् । तर यसले विद्यार्थीहरू स्वयंलाई उनीहरूको प्राज्ञिक उन्नयनमा घात गरेको कुरा महसुस गर्दैनन् ।
परीक्षा/मूल्याङ्कन
विद्यार्थीहरूको आन्तरिक मूल्याङ्कन यथार्थभन्दा पर छ । कक्षा क्रियाकलाप, प्रेसी अनुसन्धानमूलक लेख आदि नाम मात्रका छन् तैपनि आन्तरिक अङ्क प्रशस्त दिएर पठाइन्छ । त्यो अङ्क बोर्ड परीक्षाको नतिजामा जोडिएर आउँछ जसले गर्दा गोलमटोलको अवस्था सिर्जना भएको छ । राम्रा विद्यार्थीहरूलाई उत्साह दिन सकेको छैन । बोर्ड परीक्षा प्रश्नपत्र निर्माण गर्दा विशिष्टीकरणको अभाव कायमै छ । ठोस उत्तर दिने खालको भन्दा पनि पाना भर्नुपर्ने खालका प्रश्नहरू आइराखेका छन् । जसले गर्दा औसत अङ्क ल्याउने विद्यार्थीहरू बढी छन् । राम्रा विद्यार्थीहरू राम्रो देखिन सकेका छैनन् । अर्कोतर्फ बोर्ड परीक्षा अगाडि केही विषयहरूमा विद्यार्थीलाई नमुना प्रश्नका रूपमा दिइएका प्रश्नहरू नै बोर्ड परीक्षामा दोहोरिएका घटना छन् ।
यस प्रकारको अप्रत्यक्ष पूर्वाग्रहको लाभ प्रायः केन्द्रका विद्यार्थीहरूले मात्र पाउने कारणले केन्द्र र अन्य स्थानको परीक्षा नतिजामा फरक देखिएको छ । यसले विश्वविद्यालयको भविष्य निश्चय नै अन्धकारतर्फ लैजाँदै छ । आफैँले पढाएका विद्यार्थीहरूको पुस्तिका परीक्षण गर्न पाउने हुँदा परीक्षण पूर्वाग्रही ढङ्गबाट भएको नतिजाहरूले पुस्टयाएको छ । सबै प्राध्यापक र विषयहरूमा यो अवस्था पक्कै हैन तर थोरै पूर्वाग्रही प्राध्यापकहरूको हर्कतका कारण यो अवस्था आएको छ । यसको तत्काल छानबिन र कारबाही हुनुपर्दछ ।
परीक्षा डीन कार्यालयले लिन थालेपछि परीक्षासम्बन्धी अनुभवी कर्मचारीको अभावले गर्दा प्रशस्त मानवीय गल्ती भेटिएका छन्, नतिजा प्रकाशनमा ढिलाइ जस्ता कमजोरी टड्कारो रूपमा देखिएका छन् । यी पक्षहरू क्रमशः सुधार हँुदै जाने अपेक्षा छ ।
वास्तवमा सेमेस्टर प्रणाली वार्षिक प्रणालीको तुलनामा गुणस्तरीय शिक्षा प्रदान गर्ने क्रममा धेरै हदसम्म राम्रो छ । यसले पढ्ने र नपढ्ने विद्यार्थीका बीच कित्ता छुट्याएको छ । विद्यार्थी र स्वयं प्राध्यापकहरूलाई समेत पढ्ने बानीको विकास गराएको छ । जसले आधुनिक ज्ञानको नवीकरण मात्र गरेको छैन, पठन पाठनमा प्रोजेक्टरको प्रयोग र विद्यार्थीको सहभागिता समेत बढाएको छ । प्राध्यापक र विद्यार्थीहरूबीच सम्बन्ध थप प्रगाढ बनाएको छ । एमफिल र विद्यावारिधि गर्ने विद्यार्थीहरूको लागि प्रशस्त आधार खडा गरेको छ । यद्यपि विद्यमान कमीकमजोरीहरू प्रशस्तै छन् र तत्काल सुधारको खाँचो छ ।
(लेखक रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाडौंँमा प्राध्यापन गर्नुहुन्छ ।)