चेतकुमारी गुरुङ
खोटाङ जिल्लामा भएका साबिकका ७६ वटा गाविस हाल आठवटा गाउँपालिका र दुई नगरपालिकामा विभाजन गरिएका छन् । भौगोलिक हिसाबले अत्यन्तै विविधता भएको यो जिल्ला मुख्य गरेर दक्षिणी क्षेत्र, उत्तरी र पश्चिमी क्षेत्र गरी तीन क्षेत्रमा विभाजित छ । तीमध्ये उत्तरी क्षेत्रमा पर्ने साबिक डुम्रे धारापानी गाविस हाल लामिडाँडा गाउँपालिका वडा नं. ४ अन्य छिमेकी जिल्लाहरू सोलुखुम्बु र ओखलढुङ्गाको सिमानामा पर्छ । यस वडाकोे पश्चिममा दूधकोसी र पूर्वमा रावाखोला छन् । समुद्र सतहदेखि करिब १३०० मिटर उचाइमा रहेको यस वडाको जनसङ्ख्या लगभग तीन हजार पाँच सय छ भने घर धुरी सङ्ख्या ५५० छ । यस वडामा तामाङ, गुरुङ, राई, मगर, दलित, क्षेत्री, बाहुन, भुजेल आदि जातिहरूको बसोबास छ । मानिसको मुख्य पेसा कृषि भए पनि विगत केही वर्षदेखि वैदेशिक रोजगार अर्काे मुख्य आम्दानीको माध्यम भएको छ ।
धेरै जाडो र अति गर्मी पनि नहुने भएकाले गर्मी मौसममा हुने फलफूलहरू आँप, लिची, अम्बा प्रशस्त मात्रामा पाइन्छ । तर, उचित बजारको अभाव र मानिसको बिक्री वितरण गरी आयआर्जन गर्ने बानी नभएका कारण त्यत्तिकै खेर गइरहेको छ । अर्काेतिर विगत केही वर्षदेखि फलफूलहरूमा पनि कीरा लाग्ने र कम फल्न थाल्यो । परम्परागत रूपमा गरिँदै आएको निर्वाहमुखी खेतीप्रणाली धान, गहँु, मकै, कोदो उत्पादनका लागि जनशक्ति अभाव, समयमा पानी नपर्ने, पानीको मुहान सुक्ने, खडेरीले जमिन सुख्खा हुनेजस्ता जलवायु परिवर्तनको असरका कारण मानिसले परम्परागत खेती र पशुपालनबाट प्रशस्त आम्दानी गर्न सकिरहेका थिएनन्, छैनन् ।
युवा वैदेशिक रोजगारमा जानेक्रम बढेसँगै स्थानीय बासिन्दा गाउँ छाडी सहरकेन्द्रित हुन थाले आन्तरिक तथा बाह्य बसाइँ–सराइले गाउँघर रित्तिँदै जान थाले । यस्तो अवस्थामा गाउँमै बस्ने महिलाले ‘परिश्रमी महिला कृषक समूह’ गठन गरी स्थानीयस्तरमा नै नयाँ रचनात्मक विकल्पको खोजी गरे । नयाँ किसिमका उच्च महŒवका फलफूलहरू जस्तै एभोकाडो, म्याकाडेमियानट, कफीजस्ता धेरै मूल्यमा बिक्री गर्न सकिने र सहरकेन्द्रित बजारलाई लक्षित गरी व्यावसायिक तवरले खेती गर्ने उद्देश्य उनीहरूले राखे । फलफूल खेतीबाट उत्पादन दिन थालेपछि महिलाहरू उत्साही भएका छन् ।
२०६७ सालमा रोपेको एभोकाडो फल्न थालेपछि स्थानीयस्तरमै दुई सय रुपियाँ केजीमा बिक्री हुने गरेको छ भने एक बोटबराबर लगभग ५०÷६० केजीसम्म फल्ने गरेको पाइन्छ । सुरु–सुरुमा खान नरुचाइए पनि अहिले सबैजनाले मन पराएको बताउँछन् । अहिले एभोकाडोको माग बढिरहेको छ भने आफ्नै उत्पादन कफी बढी मन पराउन थालेका छन् । महिलाले फलफूल उत्पादनमा रुचि राख्न थालेको देखेपछि उनीहरूको समूहलाई संस्थागत बनाउन राष्ट्रिय चिया तथा कफी विकास बोर्डमा दर्ता गराउन पहल गरिएको छ ।
उक्त समूहका सदस्य गाउँ विकासका लागि दसवर्षे दीर्घकालीन योजनासमेत बनाएर काममा जुटेका छन् । स्वस्थ जीवन बाँच्न हरेक मानवका लागि अनिवार्य भएकाले पोषणयुक्त फलफूलहरूको उपभोग गरी उत्पादक किसानहरू आफैँ पनि स्वस्थ रहनु समूहको पहिलो उद्देश्य हो । त्यसपछि स्वस्थ उत्पादन बिक्री गरी आयआर्जन गर्नु र रोजगार सिर्जना गर्ने उद्देश्य छ । उक्त समूहले केही मुख्य कार्यक्रमहरू पनि राखेको छ ।
मुख्य कार्यक्रम
१. अर्गानिक फलफूल नर्सरी सञ्चालन गरिनेछ । (स्थानीय तथा उच्च पौष्टिकता प्राप्त गर्न सकिने फलफूलहरू), २. फलफूल भण्डारण केन्द्र स्थापना गरिनेछ, ३. ‘नेचुरल लर्निङ फार्मिङ सेन्टर’ स्थापना गरी किसानको अनुभव तथा ज्ञान, सीपलाई आदान–प्रदान गर्दै सिक्ने सिकाउने वातावरणको सिर्जना गरिनेछ, ४. जलवायुमैत्री कृषि उत्पादन कार्यक्रमअन्तर्गत सुख्खा जमिनमा वा कम सिञ्चाइमा गर्न सकिने कृषि उत्पादनलाई प्राथमिकता दिइनेछ । जस्तै ः घैया, मास, भटमास, गहत, कागुनो, जुनेलो आदि, ५. सार्वजनिक ठाँउमा भइरहेको बिरुवालाई जोगाउने साथै वृक्षरोपण कार्यक्रम सञ्चालन गरी वातावरण संरक्षणमा टेवा पुग्ने किसिमका कार्यक्रम सञ्चालन गरिनेछ । साथसाथै कृषिसम्बन्धी सूचना प्रसारणका लागि कृषि पत्रिका, पुस्तकालय सञ्चालन गर्ने । स्थानीय उत्पादनको उपभोग, पौष्टिक आहार तथा सन्तुलित भोजन ग्रहणका लागि कृषकहरूलाई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने । हाल भइरहेको फलफूलहरूको संरक्षण, प्रशोधन तथा व्यवस्थापन गर्ने । रोग, कीरा लाग्नबाट बचाउन सचेतना तालिम आदि ।
कार्यक्रम सञ्चालन क्षेत्र
खोटाङ जिल्ला, लामिडाँडा गाउँपालिका वडा नं. ४ डुम्रेधारापानीमा पहिलो पाँच वर्षसम्म ९० जना युवा तथा वयस्क किसानको सहभागिता गराई परियोजनाका लागि अगुवा कृषक अभियन्ताका रूपमा प्रशिक्षित गराइनेछ । त्यसपछि १० वर्षभित्रमा पालिकाका करिब २० हजार जनसङ्ख्यालाई लक्षित गरी उत्पादन एवम् बिक्री वितरण गरिनेछ ।
भविष्यमा समेट््ने क्षेत्र
दुबेकोल, ज्यामिरे, हौँचुर, कुभिन्डे, खार्पा र लामिडाँडा (६ वटा वडाहरू) लाभान्वित लक्षित जनसङ्ख्या लगभग २० हजार हुनेछ । प्रत्येक वडाबाट कम्तीमा पनि १० जनाको सहभागिता गर्दा जम्मा ६० जनामध्ये ४५ प्रतिशत महिला सहभागी गराइनेछ ।
दसवर्षे सपनाको खाका
पूर्वमा रावाखोला ः लामिडाँडा विमानस्थलदेखि एक घन्टा ३० मिनेट (अनुमानित) मा रावाखोला असला गेस्टहाउस पुगिन्छ । रावाखोला असला गेस्टहाउसमा रावाखोलाको असला माछाको परिकारको साथै फिसिङ गर्न, चिसो र सफा पानीमा पौडी खेल्न पाइनेछ र इच्छुकहरूले कल्लेरीको ट्राउट माछा पालन, रावा क्षेत्रको प्रख्यात धान उत्पादन हुने कटहरे बेँसीको दृश्य अवलोकन गर्न एकरात रावाखोला असला गेस्टहाउसमा बिताउन सकिनेछ ।
पश्चिममा दूधकोसी ः ओखलढुङ्गा र सोलुखुम्बुका केही गाविसबाट जलयात्रा गरी आएका जलयात्रीहरू दूधकोसी सिलौरीघाटमा केहीबेर आराम गर्न सक्नेछन् । मारुनी र हुर्रा नाच हेर्दै आनन्द लिनेछन् । कोसीकिनारको विश्राम रेष्टुरेन्टमा सोलु नेचाको गान्टेमुला, दूधकोसीको ताजा माछाको स्वाद लिन पाउनेछन् ।
उत्तरमा ज्यामिरे र महेश्वरी, दुबेकोल गाविसको सिरान थामडाँडा ः थामडाँडाँ कफी क्याफेमा चिसो हावाको साथमा चिया तथा कफी पिउँदै सोलुमाथिको हिमालको दृश्य अवलोकन गर्न सकिनेछ । अनि ऐँसेलुखर्क, देसारेडाँडाको तेर्साे थामडाँडासम्म दायाँबायाँ लगाइएको चिया तथा कफी खेतीको अवलोकन भ्रमण गर्नेछन् । उक्त ठाउँबाट दायाँ र बायाँ दूधकोसी र रावाखोला साल्पाडाँडा मनोरम दृश्य पनि देख्न सकिनेछ ।
दक्षिणमा ओखलढुङ्गा र खोटाङको सिमाना रावाखोला र दूधकोसीको दोभान रभुवाबजार ः रावाखोलाकिनारको लहरै रोपिएका एभोकाडो र लिचीका बोटहरू वडा नं ५ देखि क्रमशः ९ भोर्लेनीसम्म देख्न पाइनेछ । कटहरे बेँसीको प्रसिद्ध उखु खान पाइनेछ । इच्छुकहरूले टिकट लिई एक घन्टा भ्रमण पनि गर्न सकिनेछ । अग्रिम बुकिङ गरिएमा डुम्रे एकीकृत विकास सेवा समितिको गाडीले सम्पूर्ण बगैँचाको अवलोकन गराउनेछ ।
गाविसमा फलफूल संकलन केन्द्र, भण्डारण केन्द्र, आँप, अम्बाको जाम जेली निर्माण केन्द्र, दूध सङ्कलन केन्द्र, चिया कफी प्रशोधन केन्द्र, कृषि उत्पादन तथा सागसब्जी बिक्री वितरण केन्द्र, सौर्य ऊर्जा उत्पादन केन्द्र, वर्षात्को पानी सङ्कलन केन्द्र, बाल सरोकार केन्द्र, ज्येष्ठ नागरिक सम्मान केन्द्र, महिला जागरण केन्द्र, स्वास्थ्य तथा अनुसन्धान केन्द्र, ग्रामीण पर्यटन सेवा विस्तार केन्द्र स्थापना गरिनेछ ।
प्रत्येक घरले आफ्नो घरवरिपरि कम्तीमा पनि १० वटा रूख रोप्ने । गाविसभित्रका हरेक वडामा बाटो जोड्ने, बाटोको दायाँबायाँ निलकाँडा लगाउने, देउराली उच्च माविलाई अझ विस्तार गर्ने । समाचार प्रसारणका लागि स्थानीय एफएम स्थापना गर्ने । रोटेपिङ, लिङ्गेपिङ स्थापना गर्ने । धारा, कुवा, पँधेरोको संरक्षण गर्ने । चौतारा, देवीको मन्दिर, गुम्बा आदिको संरक्षण गर्ने । कम्तीमा महिनामा दुई दिन प्रत्येक परिवारले गाउँघर सफा गर्न समय छुट्याउने ।
आर्थिक आयस्रोतका लागि गाउँले सहकारी, एम्बुलेन्स, लामिडाँडासम्म स्थानीय गाडी सञ्चालन गर्ने । विनिमय प्रणालीअन्तर्गत व्यावसायिक उत्पादन गर्ने । जैविक मलको प्रयोग, वातावरणमैत्री उत्पादन, सीपयुक्त जनशक्ति प्लम्बर, सिकर्मी, ब्युटिसियन, सैलुन, इलेक्ट्रिसियन उत्पादन गर्ने । गाईपालन, बाख्रापालन, भैँसीपालन, कुखुरापालन गर्न लगाउने । साहित्यिक प्रतिभा साँझ, (चित्रकला, कविता आदिको प्याकेज बनाउने) स्थानीय उत्पादनको विभिन्न परिकारका खाना बनाउने, गाविस भरिमा उत्पादित अर्गानिक खाद्यबालीको प्रदर्शनी गर्ने । बढीमा पाँच दिनमा लामिडाँडा हँुदै डुम्रेधारापानी एकीकृत ग्रामीण विकास नमुना गाउँको भ्रमण गरी पुनः हलेसी महादेव दर्शन गरी काठमाडौँ फर्कन सकिनेछ ।
(लेखक नियात्राकार हुनुहुन्छ ।)