नारायणप्रसाद पौडेल
आफ्ना घर नजिकका तीर्थ हेलाँ गरेर टाढाका धाममा धाउँदा ठगिन नपरोस् भनेर ख्याल गर्नुपर्ने भएको छ अब नेपालीले । पहिलेजस्तो इमान र जवानमा कमान कायम राखेका सन्त पाइँदैनन् अचेल भारतवर्षमा । धर्मका नाममा ठग्नेहरूको धुइरो छ जताततै । उताको रोग सरेको छ अचेल यतै पनि । घाट–घाटमा ब्यहोर्नपर्ने अप्रिय घटना जति पनि छन् । मूर्तिचोरबाट आफ्नै सुरक्षा गर्न असमर्थ भगवान्ले भक्तको उद्धार गर्नसक्ने अवस्था छैन । कलियुग हुनाले छली काम हुन्छ सबैतिर । जति ठूला धाममा धायो, उति सुरक्षित भइँदैन, रहिँदैन । अपमानित नभैकन, दुःख नपाइकन दर्शन गरेर घर फर्कन सकिँदैन ।
डेढ दशकअघिको कुरा हो । जब हामी हरिद्वारको भ्रमण सकेर ऋषिकेश पुगेका थियौँ, तब त्यहीँका पथप्रदर्शकले सुझाएका थिए – धर्मका नाममा व्यापार हुन्छ यहाँ, तपाईंहरूका सबै सम्पत्ति दान गरे पनि यहाँका पण्डाको झोली भरिँदैन । भोक मेटिँदैन । भो भन्दैनन् । सतर्क रहनुहोला । आफूसक्दो दान र दर्शन गर्नुहोला । पण्डाका कुरा सुनेर नबहकिनु होला ।’ ऋषिकेशमा पीत भेषमा जति पण्डा देखिन्छन्, हाम्रा खल्तीका पैसा झार्ने हथकण्डा तीभन्दा धेरै हुँदारहेछन् । हरिद्वारका रिक्सा, ट्याम्पो, ट्याक्सी, टाँगावाला, कुल्ली र दलालका कुरा पत्याएर पछाडि लाग्ने हो भने दिउँसै तारा देखाइदिन्छन् । धर्मशालाका नाममा पापशालाभित्र छिराइदिन्छन् । श्रद्धालु भक्तजन, दर्शनार्थी वा तीर्थयात्रीका लागि जति पवित्र भूमि हो त्यो, उति अपवित्र क्रियाकलाप ब्यहोर्न परेपछि लेख्नपरेको थियो– हरिका द्वारमा राक्षस रक्षक’ भनेर । साँझको गङ्गा आरती र दिउँसोको हरकी पौडीले भोगेका पीडा बिर्साउन सक्दैनन् । पछि पछुताउनुभन्दा पहिलै विचार पु¥याउन र सतर्क हुन सिक्नुपर्छ त्यस्ता धाममा धाउँदा । गायत्री परिवारको शान्तिकुञ्ज र पतञ्जलिको योग, आयुर्वेद एवं प्राकृतिक चिकित्सापद्धतिद्वारा गरिने उपचार र अनुसन्धानले आधुनिक विज्ञानलाई चुनौती दिएको मान्न सकिन्छ ।
उस्तै पण्डामय छ काशी(वाराणसी) । पूर्वीय दर्शन र ज्ञानको त्यो अजस्र स्रोतमा, भागीरथी नदीका किनारमा जति घाट छन्, तपाईं हामीलाई रित्याउने पण्डा र प्रदर्शकका प्रयास पनि उत्तिकै छन् । सबै किसिमका अनाथले बाबा विश्वनाथको दर्शन गरेर मुक्ति पाउने युक्तिजति पण्डा, पकेटमार र पुलिसका धन्दाका घेराभित्र परेपछि आफैँलाई थक्कथक्क लाग्छ किन आएँछु भनेर । एकपटक गैसकेको मान्छेले अर्कोपटक पनि आउन पाए हुन्थ्यो भनेर फर्केको कमै भेटिन्छ । दशाश्वमेधघाटबाट मणिकर्णिका घाटसम्म पुग्न नपाउँदै बनारसको तीर्खा मेटिन्छ । शिक्षा र ज्ञानको त्यो ऐतिहासिक एवं प्राचीन मुहान पहिलेजस्तो पवित्र छैन । त्यो विशाल गङ्गामा निर्मल जल पनि बग्दैन । काशीबाट १३ किलोमिटर उत्तरतिर लाग्ने हो भने बरु सारनाथमा पुगेपछि मन भरिन्छ । गौतमबुद्धले बुद्धत्व प्राप्त गरेपछि पहिलोपल्ट प्रवचन गरेको त्यो नमनीय स्थल शान्त, सौम्य र शालीन देखिन्छ । सारनाथ वरिपरिका बस्तीमा लगेर बनारसी साडी बुन्ने तान देखाएर किन्न लगाएर सताउन छाड्दैनन् त्यहाँका पथप्रदर्शकले पनि ।
बनारसबाट प्रयाग जाँदा पनि पण्डाको सञ्जालबाट मुक्त हुन सकिँदैन । इलाहावाद नजिकैको त्यो त्रिवेणी धाममा पुगेर स्नान गर्दा सबै पापको प्रायश्चित हुने जुन किंवदन्ती छ, हरिद्वार, ऋषिकेश, बनारस, गया, अयोध्याका तटमा नुहाउँदा पनि हुने त उही हो । महाकुम्भ लाग्ने ठाउँको महìव अलि बढी हुने विश्वासमा त्यता पुग्ने चलन छ । बाबाधाम, विन्ध्याचल, चित्रकूटका पण्डाको झुट पनि उस्तै सुनिनसक्नुका हुन्छन् । वन्दनीय स्थलमा पुगेर निन्दनीय व्यवहार ब्यहोर्न परेपछि मनै भरङ्ग हुन्छ धेरैको । अयोध्याको त्यो पवित्र राम जन्मभूमिमा पुग्दा जुन सुरक्षा घेराको सुरुङमा जानुपर्छ दर्शनका लागि, त्यो देखेपछि भगवान्लाई पनि यसरी कैद गर्न किन परेको होला भनेको सुन्न पाइन्छ धेरै भक्तबाट । मथुरा, वृन्दावन र नैमिषारण्यको महक लिएर फर्कनेहरूले भौतिक विकासले आध्यात्मिक सन्तपनमा खिया लगाएको, आस्थाका धरोहरलाई अर्थोपार्जनको माध्यम बनाएको टिप्पणी गरेर थाक्दैनन् ।
फल्गुनदीको किनारमा रहेको पवित्र तीर्थस्थल गयामा पुगेर पितृतर्पण अर्पण गर्ने जति सबैलाई लैनो गाई ठान्छन् त्यहाँका पण्डाले । पितृभक्त सज्जनको हुर्मत यसरी लिन्छन् कि आपूm कङ्गाल भएको पत्तै पाउँदैन कर्ताले । पण्डासँग पहिलै बोलकबोल गरेर तय गरेको दक्षिणा दिएर उम्कन सकिँदैन । लालमोहरिया पण्डा पनि यमराजका दूत बनेका छन् अचेल । पितृ तार्ने नाममा यजमानले लगाएका कपडासमेत उतारेर नाङ्गै बनाएर पठाउन लाज मान्दैनन् । सचेत हुनुपर्छ समयमै । गयाबाट १७ किलोमिटरको दूरीमा बोधगया पर्छ, गौतमबुद्धले पाँच वर्षसम्म कठोर तपस्या गरेर बुद्धत्व प्राप्त गरेको पवित्रस्थल । त्यहाँ पुग्नेबित्तिकै शान्त हुन्छ मन । चीवर धारण गरेका भिक्षु पनि भेटिन्छन् उत्तिकै सज्जन । जता गयो उतै रमणीय, दर्शनीय र भ्रमणीय स्थल छन् । हिन्दू र बुद्धधर्मका तीर्थस्थलको त्यो अन्तर आफँै छुट्याउन सकिन्छ । त्यसैले त बढ्दैछ बुद्धधर्म र घट्दैछ हिन्दूहरूको सङ्ख्या । कति गर्नु व्याख्या । नागबेली ब्रह्मपुत्र नदीले बेरेको असम गुहाटीको शिर त्यो कामरूप कामख्यामा पनि पण्डाका व्यवहार सही नसक्नुका हुन्छन् । कामरूप कामख्याको महाप्रसादको वर्णन गरेर नेपालमा विद्यमान छाउपडी प्रथालाई अन्त्य गराउन सकिन्छ चाहेमा ।
जन्मने, हुर्कने, बढ्ने, पढ्ने, जीविका गर्ने, बस्ने, खाने र सारा जीवन बिताउने नेपालमा । अन्तिम अवस्थामा पुगेपछि चारधाम धाउन जाने भारतमा । जगन्नाथ, रामेश्वरम्, द्वारका र बद्रीनाथलाई हाम्रा पुराण र पुर्खाले जसरी व्याख्या र वर्णन गरे, उसैगरी धाए नेपाली श्रद्धालु भक्तजन आजसम्म । अबको पुस्ता जाँदैन त्यसरी । त्यो कुरा बुझेका छन् ती शक्तिपीठका मठाधीशले पनि । त्यसैले परिवर्तन गराउँदैछन् शैली ।
आधुनिक सञ्चारको प्रयोग गरेर टेलिभिजनबाट प्रचार एवं प्रसारण गरिने सामग्री सोही अनुसारका हुने गरेका छन् । जगन्नाथपुरी उडिसाको राजधानी भुवनेश्वर भएर जानुपर्छ । त्यहाँ पुगेर दर्शन गरेपछि कोणार्कको सूर्यमन्दिर हेर्न जान्छन् अधिकांश भक्तजन । कोणार्क पुगेपछि ओशो (रजनीश)लाई नसम्झने कोही नहोला । त्यहाँको कला नै त्यस्तै छ र तानेको हो त्यसैले पनि । तत्पश्चात् कोलकाता भएर फर्कदा त्यहाँको कालीमन्दिर दर्शन गर्न जानु स्वाभाविकै हो । कालीमन्दिरका पण्डा, पुलिस र पकेटमारको पेशागत साझेदारी सुनेपछि को जाओस् भन्नैपर्ने हुन्छ । आन्ध्रप्रदेशको तिरूपति बालाजीमा त झन् अधिक धनले मातेका पण्डा र पुलिसले नेपाली मात्र हैन, हिन्दीभाषीलाई गरेको अपमान सही र कहिनसक्नुको हुन्छ । सुन, चाँदी र धन चढाउने प्रतिस्पर्धा देख्दा दङ्ग पर्छ दुनियाँ । तमिलनाडुको रामेश्वरम्मा तुलनात्मक रूपमा उत्तरतिरका धाममा भन्दा अलि कमै कपट हुन्छ । धेरै राम्रो व्यवस्थापन छ गुजरातको द्वारका र सोमनाथमा । जति दक्षिण गयो उति कम छलकपट भएका, सज्जन र सेवामुखी मान्छे भेटिन्छन् भारतमा तर भाषागत समस्याले चाहिँ पिरोल्छ धेरैलाई ।
धामका बारेमा चर्चा गर्दा आन्ध्रप्रदेशकै पुट्टपर्ती र कर्नाटकको राजधानी बैङ्गलोरका किनारको ह्वाइटफिल्डमा सत्य साईबाबाको आश्रम छ । त्यहाँको सेवाले जितेको छ धेरैको मन । तानेको छ जन र धन । त्यस्तै हो राजस्थानको माउन्ट आबु पर्वतमा रहेको ओम शान्तिको मुख्यालय र तलको शान्तिवन । हिन्दूधर्म मान्ने, आफूलाई मात्र धर्मको ठेकेदार ठान्ने भारतीय पण्डाका धार्मिक डण्डाबाट मुक्त गरेर मान्छे तान्ने तिनीहरूको प्रतिभा प्रशंसनीय छ । मरेपछि स्वर्ग जाने सपनामा विपनालाई विद्रूप बनाउनेहरूलाई विकल्प दिएको छ ओम शान्तिले र आफ्ना अनुयायीलाई देवावतारमा पुगेको अनुभूति दिलाएको छ । मान्नु नमान्नु मान्छेको अधिकारको विषय हो । मनै परिवर्तन गराएर आजीवन समर्पण गराउनु सामान्य मान्न सकिन्न, असामान्य काम गरेको देख्न पाइन्छ त्यहाँ पुगेपछि । ओम शान्ति र ओशो (रजनीश)का विचार ठीक विपरीत लाग्छन् अध्ययन गर्दा । दुवैको प्रभाव विस्तार हुँदैछ विश्वभर उत्तिकै । पतञ्जलिको योग र आयुर्वेद उपचार विधाले संयुक्त राष्ट्रसङ्घको पनि ध्यान तानिसकेको छ । ती सबैको जननी मानिने नेपालका धामलाई प्रचारमा लैजाने काम पछि पर्नु वा पारिनुमा नजिकको तीर्थ हेलाँ गरिने चलनले हो ।
आफ्ना धामको नाम र मानमा गर्व गर्ने हो भने भारत धाउनुपर्दैन नेपालीहरू, बरु भारतीयहरू नेपाल आउने चलन चल्नेछ, क्रम बढ्नेछ । लुम्बिनी, कपिलवस्तु, मुक्तिनाथ, पशुपतिनाथ, जनकपुर, स्वर्गद्वारी, खप्तड, त्रिवेणी, देवघाट, पाथिभरा, पिण्डेश्वर, दन्तकाली, वराहक्षेत्र, रुरु, हलेसी, उत्तरगया, गोकर्ण, मनकामना, सैपाल आदि धामले भारतका सबै धामलाई माथ गर्न सक्छन् । प्राकृतिक हुन् यहाँका सबै धाम र कृत्रिम एवं मानवनिर्मित हुन् भारतका । त्यो कुरा देख्नेले आफैँ जान्न र भन्न सक्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ र पशुपतिनाथको प्रशंसा मुक्तकण्ठले गरेकै हुन् र चिनियाँ राष्ट्रपति सी चिन फिङले लुम्बिनी र गौतमबुद्धको गरे । अरू काम त हामीले पनि गर्नुप¥यो नि ! हैन र ? धर्मराज र यमराज छुट्याउने दिन अझै आइसकेको छैन र ?
(लेखक स्वतन्त्र पत्रकार हुनुहुन्छ ।)