वासुदेव अधिकारी
आरम्भिक परिदृश्य
काठमाडौँ उपत्यकामा लिच्छवि एवं मल्लकालदेखि नै उद्योग वाणिज्य फस्टाएको मात्र थिएन, यसको व्यापार भोट चीनसम्म फैलिएको थियो । लिच्छविकालमा गुप्तलिपिमा टङ्कण भई आएको मुद्रा, तत्पश्चात् राजा मानदेवको पालामा मानाङ्क टङ्कण गरिएपछि नेपालको वाणिज्य क्षेत्रमा विनिमयको सहजता भएको मानिन्छ । काठमाडौँ उपत्यकामा मानदेवपछि अरू राजाले पनि आफ्नो नाममा मुद्रा छपाइ गरी प्रचलनमा ल्याउँदै गए । जनस्तरमा मुद्रा प्रचलनमा आएपछि उपत्यकाको उद्योग वाणिज्य क्षेत्रको कारोबार उत्कर्षमा पुग्न थाल्यो । शंंङ्खधर साख्वाले ऋणमोचन गरेको सन्दर्भले त्यतिबेलाको मुद्रा तथा बैंकिङ कारोबार सुरु भएकोतर्फ सङ्केत गर्दछ । मल्लकालमा महिन्द्रमल्ली लगायतका मुद्रा प्रचलनमा आई मुद्राको प्रचलन व्यापक भयो । उपत्यका बाहेकका राज्यमा अन्यत्रका मुद्रा प्रचलनमा भेटिए पनि आफैँले टकमारी गरेको प्रमाण भेटिएको देखिँदैन ।
एकीकरणपछि नेपाली मुद्राको प्रचलन अरू व्यापक हुँदै गयो । काठमाडौँ उपत्यकामा नेपाल बैङ्क स्थापनापूर्व असन, इन्द्रचोक आदि स्थानमा शराफहरूले डालामा सिक्का कम्पनी, पाउण्ड र मोरु सटही गर्दथे । सरकारले सं. १९३३ मा तेजारथ अड्डा स्थापना गरी सरकारी कर्मचारीलाई ऋण दिन प्रारम्भ ग¥यो । वि.सं. १९९० को भुइँचालोपछि बेलायतबाट लिइएको ऋण रकम जनतालाई ऋणका रूपमा दिएपछि अनौपचारिक रूपमा बैङ्कको काम सुरु भयो ।
बैंकिङको सुरुवात र नेपाल बैङ्कको स्थापना
राणाकालमा पहिलो दौत्य तथा कूटनीतिक सम्बन्ध भारतमा शासन गर्ने इष्ट इण्डिया कम्पनीसित भयो भने बेलायतसित सं. १९३३ मा कायम भई लण्डनमा लिगेशन शाखा खडा भयो । त्यसमा मिनिष्टरको रूपमा बहादुरशम्शेर र प्रथम सचिवको रूपमा गुञ्जमान सिंहलाई जिम्मेबारी प्रदान गरियो । बहादुरशम्शेर जबरा तथा गुञ्जमान सिंह बेलायतबाट फर्किएपछि सं. १९३६ मा कम्पनी कानुनको तर्जुमा, विराटनगरमा जुट मिल स्थापना तथा उद्योग परिषद् स्थापना गर्ने जस्ता ऐतिहासिक कार्य भयो । उद्योग परिषद्को सचिवको हैसियतले गुञ्जमानले बेलायतमा आर्जेको अनुभवका आधारमा प्रधानमन्त्री श्री ३ जुद्ध शम्शेरलाई बैङ्कको आवश्यकता बुझाई नेपाल बैङ्क लिमिटेड स्थापना गर्न मनाए ।
तत्कालीन राणा सरकारले नेपाल बैङ्क कानुन, १९९४ जारी गरी वि.सं. १९९४ कात्तिक ३० गते लक्ष्मीपूजाका दिन नेपाल बैैङ्क लिमिटेडको स्थापना ग¥यो । बैङ्कको उद्घाटन श्री ५ त्रिभुवनबाट भयो । बैङ्कको समुद्घाटन कार्यक्रममा तत्कालीन प्रधानमन्त्री श्री ३ जुद्ध शम्शेरले आफैँ उपस्थित भई सम्बोधन गरेका थिए । बैङ्कको उद्देश्य नेपाली जनताको सेवा गर्नु तथा मुलुकको विकासमा सहयोग गर्नु थियो । उद्घाटन समारोहमा प्रधानमन्त्री जुद्ध शम्शेरले नेपाल बैङ्कको सुरुवातको कार्यलाई राज्यको विशेष भलाइको निम्ति उठान भएको कामको ज्यादै ठूलो उत्सव बताउनुका साथै बैङ्कलाई मुलुकको आर्थिक उन्नतिको सहायकको रूपमा परिभाषित गरेका थिए । उनले सो बैङ्कले गरिब धनी सबैलाई सुबिस्ता र फाइदा दिलाउने र मुलुकको बढोत्तरी गर्ने ब्यहोरा सार्वजनिक गरेका थिए ।
कुल २५ लाखको जारी तथा ८ लाख ४२ हजार चुक्ता पुँजीबाट थालनी गरिएको यस बैङ्कको आरम्भिक शेयर अनुपात सरकारी तथा निजीक्षेत्रको क्रमशः ४० तथा ६० प्रतिशत थियो । प्रधानमन्त्री स्वयंले बैङ्कको सबैभन्दा ठूलो शेयर अर्थात् एक हजार कित्ता शेयर धारण गरेका थिए । पहिलो चरणमा १० जनालाई शेयर बाँडफाँट गरिएको थियो । बैङ्कको सञ्चालक समितिको माइन्युटमा पहिलो बैठकको अध्यक्षता केशरशम्शेर जबराले गरेको देखिएको छ । तथापि पहिलो सञ्चालक समितिमा अध्यक्ष अर्थात् डाइरेक्टर जनरल बहादुरशम्शेर जबरा र सदस्यहरू सोमशम्शेर जबरा, मृगेन्द्रशम्शेर जबरा, भक्तलाल राजभण्डारी र गुञ्जमान सिंह रहेको उल्लेख हुँदै आएको छ ।
स्थापनाको लगत्तै बैङ्कले नेपाली मुद्रा प्रचलनमा ल्याउने, कम्पनी तथा भोटको कालो मुद्रा सटही गर्ने, निक्षेप तथा कर्जा सुविधा प्रदान गर्ने कार्यलाई अघि बढायो । सो बैङ्कमा मिञा जहरूद्दीनले र भाजु रतनले घ्यु व्यापारका लागि कर्जा माग गरेको रेकर्डबाट देखिएको छ भने ठूला कर्जाको सन्दर्भमा विराटनगर जुट मिललाई प्रदान गरेको मानिन्छ । बैङ्कले आरम्भदेखि नै एजेन्सी कारोबार गरी अन्य बैङ्कका चेक ड्राफ्ट स्वीकार गर्ने र आफ्नो तर्फबाट जारी गर्ने कार्य गरी निकासी पैठारी व्यवसायलाई सहजीकरण ग¥यो । नेपाल बैङ्कले २०१३ सालमा नेपाल राष्ट्र बैङ्क सञ्चालनमा नआएसम्म केन्द्रीय बैङ्कसमेतको कार्यसम्पादन गरिआएको जगजाहेर छ । बैङ्कको लोगो प्रसिद्ध साहित्यकार बालकृष्ण समले बनाउनुभएको र कुशल कार्यसम्पादन गरे बापत बैङ्कलाई सरकारबाट जग्गा प्राप्त भएको इतिहास स्मरणीय छ । त्यसैगरी २००१÷०२ तिरको बैङ्कको तरलता सङ्कट टार्न तथा जग्गा प्राप्त गर्न विजयशम्शेर जबराको ऐतिहासिक भूमिका त्यत्तिकै स्मरणीय छ ।
सुखदुःखका ८२ वर्ष
नेपाल बैङ्क लिमिटेडले आफ्नो गौरवशाली ८२ वर्ष पार गरी ८३ औँ वर्षमा प्रवेश गरेको छ । २०२२ सालसम्म यो एक मात्र वाणिज्य बैङ्कको रूपमा रह्यो । बैङ्कले मुलुकभर शाखा विस्तार गर्दै गयो । धेरैजसो शाखा आफ्नै भवनमा सञ्चालित भयो । सरकारले प्रति तीस हजार जनसङ्ख्यामा एउटा बैङ्क शाखा खोल्ने नीति अख्तियार गरेपछि बैङ्कका शाखा विस्तार अरू तीव्र भयो । बैङ्कको कारोबार तथा शाखा सञ्जाल बढिरह्यो । वि.सं २०४४ सम्म बैङ्कको शाखा सञ्जाल २१९ तथा कर्मचारी सङ्ख्या सात हजार ९८४ पुग्यो । बैङ्कले प्राथमिकता क्षेत्र कर्जालगायतका कार्यक्रममार्फत लाखौँ किसान तथा साना उद्यमीलाई कर्जा प्रवाह गरी वित्तीय समावेशिताको वातावरण सिर्जना ग¥यो ।
बैङ्क बृहत् भए पनि पचासको दशकमा आइपुग्दा आन्तरिक नियन्त्रण गर्ने प्रभावकारी नीति, कार्यप्रणाली तथा संयन्त्र विकसित हुन नसक्दा बैङ्क कमजोर बन्दै गयो । बैङ्कले लगानी गरेका कतिपय कर्जा असुली हुनसकेन र निष्क्रिय कर्जा चुलिई ६० प्रतिशत पुग्यो । २०४६ सालपछिको खुला अवस्थामा बैङ्क सबल र प्रतिस्पर्धी हुनुको साटो अनेक कारणले कमजोर हुन गयो । फलतः बैङ्कमा कहालीलाग्दो अवस्था सिर्जना भयो । यही अवधिमा राष्ट्रिय वाणिज्य बैङ्कको समेत अवस्था नाजुक हुँदै गएको तथ्य प्रकाशमा आएपछि सरकारले दुवै बैङ्क सुधार गर्ने उद्देश्यसहित विश्व बैङ्कको सहयोगमा वित्तीय क्षेत्र सुधार कार्यक्रम लागू ग¥यो । त्यतिबेला बैङ्कको पुँजीकोष ऋणात्मक हुनुका साथै बैङ्कको सञ्चित नोक्सानी निकै बढेको थियो ।
वि.सं. २०५८ चैत १ मा राष्ट्र बैङ्कले नेपाल बैङ्कको व्यवस्थापन हस्तक्षेप गरी आफ्नो हातमा लियो र सञ्चालनका लागि विदेशी व्यवस्थापन (आइसीसीएमटी)लाई जिम्मा लगायो । सो व्यवस्थापनले बैङ्क सञ्चालनमा अन्तर्राष्ट्रिय असल अभ्यास अवलम्बन गर्नुका साथै ऋण असुलीमा विशेष जोड दिई घाटामा सञ्चालित शाखालाई बन्द गर्ने वा गाभ्ने रणनीति अख्तियार ग¥यो । सो अवधिमा व्यवस्थापनले कर्जा, लगानी, असुलीलगायतका विषयमा महìवपूर्ण नीति तर्जुमा गरी बैङ्क सञ्चालनलाई सहज बनायो ।
विदेशी व्यवस्थापन बहिर्गमनपश्चात ०६४ साउन २५ देखि २०७१ चैत ११ सम्म नेपाल राष्ट्र बैङ्कका वरिष्ठ अधिकृत÷समूहबाट बैङ्क सञ्चालन गरियो । सशस्त्र द्वन्द्वको समयमा बैङ्कहरू त्यसको शिकार बने । नेपाल बैङ्क पनि त्यसबाट अछुतो रहेन । बैङ्कका दुर्गम भेगका शाखा तथा फण्ड लुटिए । तथापि बैङ्कले निक्षेपकर्तालाई त्यसको नोक्सानी ब्यहोर्न लगाएन । लुटिएका सुनचाँदी तथा जलाइएका तमसुकबाट बैङ्कलाई हिसाब फरफारक गर्न केही कठिनाइ भए पनि सो परिस्थितिलाई बैङ्कले सहजै पार लगायो । अहिले बैङ्कको काम कारबाही व्यावसायिक तवरबाट अघि बढिरहेको छ ।
बैङ्कले पुँजीकरणका सन्दर्भमा सरकार तथा निजी लगानीकर्ता दुवैबाट सहयोग प्राप्त भयो । यसको अलावा बैङ्कले कारोबार विस्तार, अचल सम्पत्ति बिक्री तथा शेयर बिक्रीमार्फत पनि सञ्चित नोक्सानी घटाई आफूलाई सबल बनाउँदै लग्यो । हाल पुँजी तथा जगेडा कोषमा नेपाल बैङ्क नेपालकै अग्रणी बैङ्क हुन पुगेको छ । सं. १९२३ मा एसियाको ठूला दुई सय बैङ्कमध्ये १८३ औँ नम्बरको यो बैङ्क एक समय निकै रोगी र जीर्ण भई अहिले पुनः तङ्ग्रिएको र सबल भएको छ । यसले विगत ८२ वर्षमा भोगेको कथाव्यथा बैङ्कका लागि गहनतम शिक्षा हुन पुगेको छ ।
वर्तमान परिदृश्य
बैङ्कले अहिले आफ्नो व्यवसायलाई आवश्यक पर्ने करिब तीन दर्जन नीति, कार्यविधि तथा मार्गदर्शन तर्जुमा गरी तथा २०७५–८० का लागि पाँचवर्षे रणनीति तर्जुमा गरी सोही आधारमा सञ्चालन भइरहेको छ । यसबाट बैङ्कको नीतिगत आधार बलियो र स्पष्ट हुन पुगेको छ । बैङ्कको सञ्चालक समिति र व्यवस्थापनले आआफ्नो जिम्मेबारी निर्वाह गरिरहेका छन् । बैङ्क सुशासन कार्यान्वयन गर्न अग्रसर छ । व्यवस्थापनले बैङ्कको अनुशासन नमान्ने र अनैतिक कार्य गर्ने कर्मचारीलाई कर्मचारी विनियमावली अनुरूप कारबाही गर्ने परम्परा प्रारम्भ गरेको छ । बैङ्कले व्यवसाय वृद्धि, सेवाको गुणस्तरमा बढोत्तरी एवं कर्मचारीको दक्षता अभिवृद्धिलाई प्राथमिकता दिई काम गरिरहेको छ ।
बैङ्कले सातै प्रदेश, ६३ जिल्लामा रहेका आफ्ना १६७ शाखा, २३ एक्सटेन्सन काउण्टर, १०२ एटीएम आउटलेटमार्फत करिब १७ लाख ग्राहकलाई प्रत्यक्ष रूपमा बैंकिङ सेवा प्रवाह गरिरहेको छ । बैङ्कले ग्राहकका आवश्यकता र चाहना अनुरूपका अत्याधुनिक बैंकिङ सेवा÷सुविधा उपलब्ध गराउँदै आएको छ । यस आ.व.को प्रथम त्रैमासको अन्त्यसम्ममा बैङ्कमा निक्षेप रु. एक खर्ब १७ अर्ब तथा कर्जा रु. ९८ अर्ब ४६ करोड छ । उक्त अवधिमा बैङ्कले रु. ५८ करोड १८ लाख खुद मुनाफा आर्जन गरेको छ भने अधिकांश वित्तीय परिसूचक सकारात्मक छन् । प्रतिस्पर्धात्मक बैंकिङ सेवाको सन्दर्भमा बैङ्कले विगत वर्षदेखि ब्याजदरमा पुनरवलोकन, ग्राहक पहिचान तथा शङ्कास्पद कारोबार पहिचान तथा रिपोर्टिङको कार्यलाई तीव्रता दिएको छ भने कार्डमार्फत हुने कारोबारलाई उल्लेखनीय रूपमा बढाएको छ ।
चुनौती तथा सम्भावना
नेपालको सबभन्दा पुरानो बैङ्क नेपाल लिमिटेड अहिले बजारको प्रतिस्पर्धामा छ । आफ्ना ग्राहकको साथ सहयोग पाएर यो बैङ्क प्रगतिपथमा लम्किरहेको छ । यसका परिसूचक क्रमिक रूपमा सुधार भइरहेको छ । तथापि यसका सामु सञ्चालन लागत घटाई कर्मचारीको उत्पादकत्व वृद्धि गर्ने, बजार विस्तार गर्ने, ग्राहकलाई के कस्ता नवीनतम सेवासुविधा प्रदान गर्न सकिन्छ भन्ने पहिचान गरी ग्राहक मैत्री बन्नुपर्नेछ । यस्तै सूचना प्रविधिको प्रयोग तथा डिजिटाइजेशन एवं शाखारहित सेवा विस्तार गर्ने, प्रभावकारी जोखिम व्यवस्थापन गर्ने, सुशासन, स्वअनुशासनसहितको नैतिक बैंकिङ गर्ने, मौजुदा सम्पत्तिको प्रतिफलयुक्त व्यवस्थापन गर्ने, नियमन पालना गरी मुनाफा वृद्धि गर्ने, कर्मचारीको सीप विकास गरी योग्य र इमानदार कर्मचारीलाई संस्थामा थमौती गर्ने, भनसुन संस्कृतिको प्रभावबाट मुक्त गर्ने, समुदायसँग सहकार्य गर्ने मनोवृत्ति विकास गर्ने, युवापुस्तालाई आकर्षित गर्नेलगायतका चुनौत देखिन्छन् । ती चुनौतीलाई दूरदृष्टि, सही उद्देश्य तथा स्पष्ट लक्ष्य किटानीसहित सञ्चालक समिति, उच्च व्यवस्थापन, कर्मचारी, कर्मचारी युनियन, आम ग्राहकवर्गको विशिष्ट सहकार्यमार्फत पार लगाउन र बैङ्कलाई पुनः अग्रणी बैङ्कका रूपमा स्थापित गराउन पहलकदमी भइरहेको छ ।
नेपाल बैङ्क लिमिटेको आगामी भविष्य उज्ज्वल छ । बैङ्कले मुलुकको पन्ध्रौँ योजनाले लक्ष्य गरेको वित्तीय पहुँच अभिवृद्धि गरी प्राथमिकताप्राप्त क्षेत्रमा वित्तीय साधनको उपलब्धता बढाउने उद्देश्य तथा बैङ्कको आफ्नै रणनीति बमोजिम प्रतिस्पर्धात्मक क्षमता बढाई प्रभावकारी बैंकिङ सेवा प्रदान गरी अर्थतन्त्रलाई टेवा दिनका साथै आम जनताको प्रिय बैङ्कको रूपमा पुनः स्थापित हुने लक्ष्य लिई अघि बढेको छ । लगानीकर्तालाई दुई दशकभन्दा बढी अवधि प्रतिफल दिन नसकेको यस बैङ्कको अबको कार्यभार लगानीकर्तालाई निरन्तर उचित प्रतिफल दिने पनि हो । त्यसका लागि आफ्नो जिम्मेबारी पूरा गर्न बैङ्क परिवार तत्पर हुनुको विकल्प छैन ।
(लेखक नेपाल बैङ्क लिमिटेड, सञ्चालक समितिका अध्यक्ष हुनुहुन्छ ।)