logo
२०८१ मंसिर १० सोमवार



करदातामैत्री कर प्रशासन

विचार/दृष्टिकोण |





इन्द्र पौड्याल

आमसर्वसाधारण कुनै काम विशेषले कुनै सरकारी कार्यालय जानुपर्दा उनीहरूले सहज महसुस गर्न सक्दैनन् । अझ यातायात व्यवस्था कार्यालय, मालपोत, भन्सार, कर कार्यालय, श्रम कार्यालय आदि सरकारी निकायको त नामै सुन्न चाहँदैनन् । तर, सरकारी निकायहरूबीच आन्तरिक राजस्व विभाग र सोअन्तर्गतका कर कार्यालयमात्र यस्तो सरकारी निकाय देखिएका छन् जसले सेवाग्राहीको उच्च मूल्याङ्कन गर्दै दैनिक सेवा प्रवाह गरिरहेको महसुस हुन्छ ।
विगतमा घुस नखुवाइ कामै गर्न नसकिने र बिचौलियाको बिगबिगी हुने  रूपमा परिचित राजस्व कार्यालय हिजोआज निकै परिवर्तन भएका छन् । भरतपुर र विशेषगरी काठमाडौँ उपत्यकाभित्रका कर कार्यालयमा काम विशेषले आउने करदातालाई सम्मानजनक व्यवहार गरिन्छ । करदाताको चासो, गुनासो र समस्याहरूलाई ध्यानपूर्वक सुनी ती समस्याहरूलाई यथासक्य छिटो सम्बोधन गर्न सम्बन्धित कर्मचारीले तत्काल पहल गर्ने गर्छन् । हरेक कर्मचारीमा आपूmबाट कुनै काम नहुने भएमा तत्काल उपल्लो तहका कर्मचारीसँग छलफल गरी सकेसम्म सेवाग्राहीलाई दुःख नदिउँ भन्ने ध्येय रहेको पाइन्छ ।
सरकारी निकायको कुनै काम गराइको शैली, व्यवहार, आचरण र सेवा प्रवाहमा चित्त नबुझेमा हामी जो कसैले भन्ने एउटै शब्द हुन्छ कुनै काम निजी क्षेत्रले गर्नसक्छ भने त्यही काम सरकारी निकायले किन गर्न सक्दैन ? हो, मध्यमस्तरीय करदाता सेवा कार्यालय, बबरमहल सकारात्मक अर्थमा त्यस्तै निजी क्षेत्रको कुनै एउटा कार्यालयभन्दा केही कम छैन । त्यहाँ सेवाग्राहीका लागि बस्ने सफा कुर्ची÷सोफासेट र छेउमा चिया÷कफीको व्यवस्था गरिएको छ । मोबाइल चार्ज गर्नका लागि ‘मल्टी चार्जर’को व्यवस्था छ । कुनै कागजातको प्रतिछायाँ उतार्न बाहिर जानु पर्दैन, कार्यालयभित्र निःशुल्क ‘फोटोकपी’ गर्न पाउने व्यवस्था गरिएको छ । हरेक शाखाका कर्मचारीसँग सेवाग्राहीको सहज पहुँच छ । कुनै काम लिएर जुनसुकै शाखा प्रमुखको कार्यकक्षभित्र पस्दा सबैभन्दा पहिले मिजासिलो स्वरमा बस्नुस् भन्दै सोफातिर सङ्केत गर्छन् र सेवाग्राहीको समस्या र गुनासो चासोपूर्वक सुन्ने र समाधानका प्रक्रियाहरू बताउने गर्छन् । आवश्यक परे तत्काल मातहतका कर्मचारीलाई सुझावसहित निर्देशन दिने गर्छन् ।
मध्यमस्तरीय करदातासेवा कार्यालय बबरमहलमात्र होइन, ठूला करदाता कार्यालय हरिहर भवन, ललितपुर करदाता कार्यालय पुल्चोकलगायत सबैजसो कर कार्यालय हिजोआज करदातामैत्री वातावरणमा सञ्चालन भइरहेका छन् । केही कार्यालयमा भौतिक पूर्वाधारको कारणले गर्दा सेवाग्राहीलाई केही समस्या होला तर सेवाग्राहीप्रति कर्मचारीले गर्ने व्यवहार सराहनीय देखिन्छ । यद्यपि कुनै पनि काम अन्तिम समयमा आएर मात्र गर्ने आम प्रचलनका कारण कार्यालयमा एकैपटक लाग्ने भीडलाई व्यवस्थापन गर्न कठिन हुने र इन्टरनेट ‘सर्बर’लेसमेत काम नगर्ने अवस्थामा करदातामा पर्ने असुविधालाई सामान्य रूपमा लिनु पर्दछ ।
आन्तरिक राजस्व कार्यालय करदातामैत्री बन्दै जानुमा आन्तरिक राजस्व विभाग आफैँमा प्रविधियुक्त बन्दै जानु पनि हो । यसरी आन्तरिक राजस्व विभागले आफूलाई वर्तमान सूचना प्रविधिसँग अध्यावधिक गर्दै लगेको छ अर्थात् राजस्व विभाग सूचना प्रविधिको प्रयोग र व्यवस्थापनमा अन्य विभागको तुलनामा निकै अग्रणी रहँदै आएको छ । राजस्वसँग सम्बन्धित हरेक सूचना र जानकारीहरू वेभसाइटमा हेर्न र पढ्न सकिन्छ भने करसँग सम्बन्धित हरेकजसो कामहरू घर या कार्यालयमै बसेर गर्न सकिन्छ । जसले गर्दा करदाताको कर लागत र समय स्वाट्टै घटेको छ । प्रारम्भिक दर्ता, आयकर विवरण, मूल्य अभिवृद्धि कर विवरण, अन्तःशुल्क, अग्रीम करकट्टी विवरण, कर दाखिला तथा बाँकी वक्यौताको विवरण म्याद थप, कर चुक्तालगायतका सम्पूर्ण कार्यहरू अनलाइनबाटै गर्न सकिन्छ ।
करदाताको सुविधाका लागि उपत्यका र उपत्यकाबाहिरका हरेकजसो कर कार्यालयमा इन्टरनेटसहितको छुट्टै कम्प्युटर कक्ष सञ्चालनमा छन् । करदाताले पेस गरेका हरेक विवरणहरू करदाता स्वयंले कम्प्युटरको माध्यमबाट हेर्न सक्छन् । प्रत्येक कार्यालयमा बैङ्क काउन्टरहरू छन् । राजस्व भुक्तान गर्नका लागि कार्यालय वा बैङ्कसम्म जान सकिएन भने घर या अफिसमा बसेर कम्प्युटरबाटै भौचर भरी इन्टरनेटमार्फत आईपीएस प्रणालीबाट सोझै जुनसुकै शीर्षकमा पैसा बुझाउन सकिने व्यवस्था भएकोले पनि करदाताको कर सहभागिता लागत र कार्य सञ्चालन लागतमा न्यूनीकरण भई स्वेच्छिक कर सहभागितामा समेत वृद्धि भएको विभिन्न तथ्याङ्कहरूबाट पुष्टि हुन्छ ।
पछिल्लो समय कर प्रशासन र करदाताबीचको सम्बन्ध सुमधुर हुनुमा प्रत्येक वर्ष मनाइने कर दिवसको मुख्य भूमिका रहेको छ । आन्तरिक राजस्व विभागले प्रत्येक वर्ष मङ्सिर १ गतेलाई राष्ट्रिय कर दिवसको रूपमा मनाउँदै आइरहेको छ । २०६९ साल मङ्सिर १ गते पहिलो राष्ट्रिय कर दिवस मनाएको विभागले २०७६ मङ्सिर १ गते आठौँ राष्ट्रिय कर दिवस मनाउँदै छ ।
राष्ट्रिय कर दिवसको माध्यमबाट करसम्बन्धी सचेतना र शिक्षामूलक विविध कार्यक्रमहरू आयोजना गर्ने, करदाता शिक्षा, घुम्ती शिविर, अन्तरक्रिया कार्यक्रम गर्दै उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी र राजस्व सङ्कलनमा उल्लेखनीय योगदान पु¥याउने व्यक्ति, सङ्घ संस्था करदाताहरूलाई सम्मान तथा पुरस्कार वितरण गर्ने परिपाटी रहिआएको छ । यस्तो कार्यको निरन्तरताले करदाता र कर प्रशासनबीचको सम्बन्धलाई अझ धेरै प्रगाढ बनाउँदै सङ्घीय शासन प्रणालीमा बढ्दो वित्तीय भारको व्यवस्थापन गर्ने महìवपूर्ण जिम्मेवारी बोकेको राजस्व विभागले यसलाई महìवपूर्ण अवसरका रूपमा लिनुपर्छ ।

(लेखक लेखा व्यवसायमा संलग्न हुनुहुन्छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?