जुनारबाबु बस्नेत
नेपाल भ्रमण वर्ष २०२० अब डेढ महिनापछि औपचारिक रूपमै सुरु हुन्छ । नेपालमा २० लाख पर्यटक ल्याउने यसको प्रमुख लक्ष्य छ । बढी पर्यटक ल्याएर मुलुकको अर्थतन्त्रमा दीर्घकालीन र सकारात्मक प्रभाव पार्ने यो लक्ष्य कम चुनौतीपूर्ण छैन । सन् २०१९ मा झन्डै १२ लाख हाराहारी पर्यटक आउने छनक देखिएको छ । अझै डेढ महिना समय छ र यो अवधिमा १० लाखभन्दा बढी पर्यटक नेपाल आइसकेका छन् । आउँदो वर्षको २० लाखको लक्ष्यभन्दा आधा अलि बढी पर्यटक आएको सन्दर्भमा पर्यटन वर्षको २० लाख पु¥याउने लक्ष्य चुनौतीपूर्ण छ । चुनौतीविहीन काम कुनै पनि हुन सक्दैन र चुनौतीको सामना गर्दैगर्दा अवसरको मैदान फेलापर्छ । सङ्ख्यात्मक लक्ष्य पु¥याउनुसँगै बढी खर्च गर्न सक्ने गुणस्तरीय पाहुना ल्याउनु पनि छ । देश र विदेशमा भइरहेका पर्यटन वर्षको तयारी अझै पर्याप्त हुन नसक्दा बढी मिहिनेत र व्यवस्थापनको खाँचो छ । यसमा विगतलाई पनि चटक्कै बिर्सन मिल्दैन ।
नेपालमा पर्यटनको इतिहास लामो छैन । एक सय चारवर्षे राणाकाल नेपाल लभगभ बन्द नै रह्यो । केही बेलायतीहरू निहित उद्देश्यले आउनुबाहेक पर्यटकीय उद्देश्यमाथि राज्य नै अनुदार थियो । राणा शासनको अन्त्यसँगै २००७ सालले नेपाललाई बाह्य मुलुकका मानिसका लागि पनि आवागमन खुला ग¥यो । त्यसअघिसम्म त निश्चित समयको अनुमतिपत्र लिएरमात्र तराईबाट मानिस काठमाडौँ आउने गर्थे । राणा शासनपछि एडमन्ड हिलारी र तेन्जिङनोर्गे शेर्पाले २०१० सालमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेपछि नेपालको हिमाल र सौन्दर्भ विश्वभर चर्चाको उचाइमा पुग्यो । त्यसले नेपालप्रति अन्तर्राष्ट्रिय चासो बढ्न थाल्यो ।
सर्वोच्च शिखर र हिमालय शृङ्खलाले बढाएको आकर्षणसँगै २०२० र ३० को दशकमा नेपालमा पदयात्रा पर्यटनको विस्तार भयो । सँगसँगै हिप्पी पर्यटकले नेपाल अन्तर्राष्ट्रिय क्षेत्रमा बदनाम पनि भयो । भियतनाम युद्धमा अमेरिकाले बेहोरेको क्षतिपछि युवामा आएको मानसिक तनावले हिप्पी संस्कृतिको विकास गरेको कतिपय समाजशास्त्रीहरूको विश्लेषण छ । तिनै हिप्पीका लागि नेपाल गन्तव्य भयो । नेपालको पर्यटकीय हब ठमेल विकास हुनुअघि झोँछे त्यसका लागि प्रख्यात थियो । यहीक्रमले अगाडि बढ्दा नेपालमा पश्चिमाहरूको आकर्षण बढ्दै गए पनि त्यसैखालको पूर्वाधार विस्तार र व्यवस्थापन भने गर्न सकिएन । लगानी र व्यवस्थापन नगरी आयमा मात्र आँखा लगाउने प्रवृत्ति सरकारी र निजीस्तरमा व्यापक हुँदै गयो । फोहोर व्यवस्थापनमा ध्यान नदिँदा ‘बाइबाइ साङ्ग्रिला’सम्मका समाचार अन्तर्राष्ट्रिय समाचारमाध्यममा आउन थाले । त्यसले विदेशी पैसा आर्जन गर्ने तथा रोजगारीको महŒवपूर्ण माध्यम पर्यटन ठप्प हुने अवस्था आयो । खासगरी सन् १९९० को दशकको आरम्भ नेपाली पर्यटन व्यापक चुनौतीको चङ्गुलमा परेको थियो ।
नेपाली पर्यटनले भोगेको त्यही चुनौतीलाई सामना गर्न नेपाल भ्रमण वर्ष १९९८ को आयोजना गरियो । यसले सुस्ताउँदै गरेको नेपालको पर्यटनमा नयाँ उत्साह छाउन थाल्यो । फोहोरका थुप्रोमा परिरहने राजधानी काठमाडौँमा फोहोरको व्यवस्थानमा अलि बढी क्रियाशीलता अवलम्बन गरिए पनि अझै पूर्णता पाउन सकेको छैन । नेपालमा हवाई सेवाको विस्तार हुन थाल्यो । खासगरी पर्यटकीय पूर्वाधारमा विस्तार हुन थाल्यो । बढी होटल बन्न थाले । पर्यटनले पुनर्जीवन पाउन थाल्यो । त्यसयता बाह्य पर्यटकमात्र होइन, आन्तरिक पर्यटन गतिविधिमा पनि व्यापक विस्तार हुन थाल्यो । पर्यटन तथा व्यापार महोत्सवहरूको व्यापक विस्तारले आन्तरिक पर्यटनमा महŒवपूर्ण हिस्सा विकास हुन थाल्यो । पर्यटनका पूर्वाधार र उत्साह विस्तार हुन थाल्यो ।
तर, पर्यटनमा आउन थालेको नयाँ लहर सोही गतिमा अगाडि बढ्न सकेन । देशभित्र अशान्त वातावरण बढ्न थाल्यो । सरकार– माओवादी द्वन्द्व बढ्दै जाँदा त्यसले सबैभन्दा बढी प्रतिकूल प्रभाव पर्यटन क्षेत्रमा पर्न थाल्यो । पर्यटकहरू अशान्तिको मारमा पर्न थाले । देशभित्रका तारेहोटलहरू लगभग खालीजस्तै हुन थाले । त्यसैक्रममा २०६२÷६३को आन्दोलनले नेपाल राजनीतिक परिवर्तनको नयाँ परिवेशमा पुग्यो । नेपाल राजतन्त्रबाट गणतान्त्रिक युगमा पुग्यो । तर, सङ्क्रमणकालीन राजनीतिका बाछिटाबाट देश मुक्त हुन सकेन । बन्द र हडतालका घटना व्यापक हुन थाले । राजनीतिक परिवर्तनपछि पनि पर्यटन व्यवसायले पुनर्जीवन पाउन सकेन । सोही सिलसिलामा नेपाल पर्यटन वर्ष २०११ को घोषणा गरियो । नेपालमा १० लाख पर्यटक ल्याउने महŒवाकाङ्क्षी लक्ष्यका साथ घोषणा गरिएको पर्यटन वर्षको कार्यक्रमले सात लाख पर्यटक ल्याउन सक्यो । त्यस पर्यटन वर्षले नेपालको पर्यटन क्षेत्रमा नयाँ उत्साह भने पक्कै ल्यायो । थप होटलहरू विस्तार हुन थाले । काठमाडौँसँगै पोखरा, चितवन, अन्नपूर्ण, खुम्बु उपत्यकालगायत मुलुकका पर्यटकीय गन्तव्यको विस्तार हुन थाल्यो । हरेक जिल्लामा पर्यटकीय गन्तव्य विकास गर्ने लहर चल्यो । पश्चिमा पर्यटकभन्दा छिमेकी भारत र चीनका पर्यटकका लागि नेपाल अझ सहज हुन थाल्यो ।
ऐतिहासिक रूपमा केही उठ्दै गरेको नेपालको पर्यटन अर्को झड्कामा प¥यो । चार वर्षअघिको गोरखा भूकम्पले नेपालको आर्थिक तथा सामाजिक जीवन तहसनहस बनायो । पर्यटकीय संरचनाहरूमा व्यापक क्षति भयो । राजधानी उपत्यकालगायतका मठमन्दिर, विश्व सम्पदाका धरोहरहरू भूकम्पको मारमा परे । भूकम्पको उच्च जोखिम क्षेत्रमा रहेको नेपालको प्रसार अलि नकारात्मक पनि हुन थाल्यो । नेपाल सुरक्षित गन्तव्य छैन भन्नेखालका मिडिया सामग्रीले नेपाली पर्यटन धराशयी हुन थाल्यो । यो अवस्थामा नेपालको पर्यटनलाई दिगो र प्रभावकारी बनाउन कुनै न कुनै महŒवाकाङ्क्षी कार्यक्रम ल्याउनैपर्ने थियो । सोही सन्दर्भमा नेपाल भ्रमण वर्ष २०२० दुई वर्षअघि प्रस्ताव गरी व्यापक तयारी अगाडि बढाउन थालिएको छ ।
पर्यटन वर्षमा २० लाख पर्यटक ल्याउने लक्ष्य आफैँमा महŒवपूर्ण छ । यो राष्ट्रिय कार्यक्रम हो । सरकारको कार्यक्रम हो तर केवल सरकार र पर्यटन क्षेत्रमा लागेको व्यवसायीको मात्र कार्यक्रम होइन । यो पूरै नेपाल र नेपालीको कार्यक्रम हो । नेपालको समृद्धिका आधार पर्यटन, कृषि र जलस्रोत हो । सगरमाथाको देश नेपाल, गौतम बुद्धको देश नेपाल, साँस्कृतिक र प्राकृतिक सौन्दर्भको देश नेपाल अझै पनि गरिबीको रेखामुनि छ । आफ्नै देशमा सम्भावनाहरूको सागर हुँदाहुँदै लगभग ५० लाख युवा देशबाहिर रोजगारीका लागि पुगेका छन् । सस्तो श्रम गरिरहेका छन् । देश आन्तरिक उत्पादनमा भन्दा विप्रेषणमा निर्भर पर्नुपरेको छ । यो अवस्थामा देशभित्र रोजगारी र स्वरोजगारीका लागि पर्यटनको विकास नै महŒवपूर्ण आधार हो ।
तर, नेपालका पाँचतारे होटलमा विदेशी पाहुना आएर बस्दैमा पर्यटन विकास हुन सक्दैन । पर्यटकीय लाभ गाउँसम्म विस्तार गर्न सोहीअनुरूपको नीति, योजना र कार्यान्वयनमा जानु वाञ्छनीय छ । नेपाल सङ्घीयतामा गइसकेपछि सबैभन्दा विशाल राष्ट्रिय कार्यक्रमका रूपमा भ्रमण वर्ष २०२० आएको छ । यो केवल सङ्घीय सरकारको मात्र कार्यक्रम हुनुहुन्न । सातै प्रदेश र ७५३ स्थानीय तहले पर्यटनलाई आर्थिक विकासका आधारका रूपमा अगाडि बढाउनु जरुरी छ । कृषि उपजलाई पर्यटनसँग जोड्नु वाञ्छनीय छ भने देशभित्रको श्रम र उत्पादनलाई प्रभावकारी परिचालनको दीर्घकालीन आधार बन्न सक्छ भ्रमण वर्ष २०२० । यसमा सरकार र जनस्तरको असल संयोजनले बढी प्रतिफल दिन सक्ने विश्वास
गर्न सकिन्छ ।
(लेखक गोरखापत्रका कार्यकारी सम्पादक हुनुहुन्छ ।)