logo
२०८१ मंसिर १० सोमवार



स्थानीय पाठ्यक्रम र प्रयोग

विचार/दृष्टिकोण |




डा. हरिप्रसाद पोखरेल

निर्दिष्ट सिकाइ उपलब्धि हासिल गर्न बनाइएको व्यवस्थित र योजनाबद्ध शैक्षिक कार्यक्रमलाई पाठ्यक्रम भन्ने गरिन्छ । रैथाने ज्ञान, सीप र अभिवृत्तिको विकासका लागि स्थानीय सरोकारवालाहरूको संलग्नतामा तयार गरिने पाठ्यक्रम स्थानीय पाठ्यक्रम हो । स्थानीय वस्तुस्थिति एवम् परिवेशको जगमा टेकेर स्थानीय स्रोत–साधन र सम्भावनासमेतलाई आधार बनाएर निर्माण गर्न सकेमात्र स्थानीय पाठ्यक्रमले स्थानीय आवश्यकतालाई सम्बोधन गर्न सक्छ ।
नेपाल भौगोलिक, सामाजिक, आर्थिक, जैविक, साँस्कृतिक र धार्मिक रूपले विविधतायुक्त देश हो । यस मेसोमा केन्द्रीय तहबाट निर्माण गरिने पाठ्यक्रमले स्थानीय आवश्यकतालाई पूर्ण रूपमा सम्बोधन गर्न सक्ने सम्भावना नै रहँदैन । देश विकासका विभिन्न पक्षमा सबै नागरिकको समान स्वामित्व र सहभागिता आवश्यक हुन्छ भन्ने स्थापित मान्यतालाई पनि स्थानीय पाठ्यक्रमले सम्बोधन गर्न सक्नुपर्छ । शिक्षा क्षेत्रको सन्तुलित र समुचित विकासका लागि स्थानीय रुचि, माग, विज्ञता र आवश्यकतालाई सम्बोधन गर्न स्थानीय सरोकारवालाको प्रत्यक्ष सहभागिता आवश्यक हुन्छ । स्थानीय पाठ्यक्रम निर्माणमा पनि स्थानीय सरोकारवालाहरूको सार्थक सहभागिता आवश्यक ठानिन्छ ।
सार्वजनिक शिक्षाको विकास र विस्तारका लागि विभिन्न अभ्यास र अभियानहरू प्रयोगमा आएसँगै धेरैजसो स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माणलाई पनि उच्च प्राथमिकता दिएको देखिन्छ । कतिपय पालिकाहरूमा स्थानीय पाठ्यक्रम निर्माण भई प्रयोगमा समेत आइसकेको छ भने केहीमा बन्दै गरेको देखिन्छ । तर, कतिपय स्थानीय तहले भने अन्यत्रै बनेको÷बनाइएको स्थानीय पाठ्यक्रमलाई हुबहु नक्कल गरी प्रयोगमा ल्याएको पनि देखिएको छ । यस्तो अवस्थामा स्थानीय आवश्यकता र स्थानीय परिवेशलाई स्थानीय पाठ्यक्रममा प्रतिविम्बन गर्न सकिँदैन । यस्तो “कपि पेस्ट” पाठ्यक्रमले न त स्थानीय पहिचान स्थापित गर्न सभ्भव हुन्छ न त स्थानीय सरोकरावालाहरूले अपनत्व नै महसुस गर्न सक्छन् । यस अर्थमा पनि स्थानीय सरोकारवालाहरूसँग अर्थपूर्ण छलफल गरेर आवश्यकता पहिचानका आधारमा स्थानीय पाठ्यक्रम निर्माणमा स्थानीय सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्न आवश्यक हुन्छ । स्थानीय, स्रोत, सामग्री तथा लक्षित वर्ग र समुदायको आवश्यकता सम्बोधन गर्नका लागि भने स्थानीय सरोकारवाला, स्थानीय स्रोत–साधन र विज्ञतालाई सही ढङ्गले उपयोग गर्नुपर्ने हुन्छ । पाठ्यक्रम कार्यान्वयन गर्ने निकाय तथा व्यक्तिको संलग्नता र सहभागितामा पाठ्यक्रम विकास गरिनुपर्छ भन्ने सैद्धान्तिक मान्यतालाई पनि स्थानीय पाठ्यक्रम निर्माणमा आत्मसात् गर्न वाञ्छनीय हुन्छ ।
पहिलो कुरा त स्थानीय पाठ्यक्रमले स्थानीय परिवेश र स्थानीय आवश्यकताका मूलभूत पक्षलाई आत्मसात् गर्न सक्नुपर्छ । त्यसका लागि स्थानीय सरोकारवालाहरूको सार्थक सहभागिता चाहिन्छ । स्थानीय पाठ्यक्रम निर्माण गर्न कार्य कुनै कोठामा बसेर विज्ञता ओकेल्ने प्रक्रियाजस्तो मात्र होइन न त अमूर्त सिद्धान्तको व्याख्या, विश्लेषण गर्ने प्रक्रिया हो । यो त स्थानीय सरोकारवालाहरूको चाहना, आवश्यकता र रुचिका आधारमा स्थानीय विषयवस्तु समेटेर तयार गरिने प्रयोगात्मक शैक्षिक योजना हो ।
स्थानीय पाठ्यक्रमको अर्काे आधारभूत पक्ष भनेको स्थानीयस्तरको विषयवस्तु हो । स्थानीय विषयवस्तुको पाठ्यक्रम स्थानीय परिवेश सापेक्ष हुन्छ, हुनुपर्छ । स्थानीय समुदायमा आधारित, स्थानीय परिवेशमा आधारित ज्ञान, सीप, प्रविधि, अवधारणा, मूल्य–मान्यता र स्थानीय स्रोत–साधन तथा भौगोलिक, साँस्कृतिक, प्राकृतिक, जातिगत, भाषिक, कला, कौशलजस्ता विषयवस्तुहरू नै स्थानीय पाठ्यक्रमका विषयवस्तुहरू हुन् । यस्ता विषयवस्तुहरू कहीँ कतैको नक्कलभन्दा पनि स्थानीय परिवेशमा विद्यमान रहेको हुन आवश्यक हुन्छ ।
स्थानीय पाठ्यक्रमको अर्काे महŒवपूर्ण आधारभूत पक्ष स्थानीय सहभागिता र विज्ञता पनि हो । स्थानीय परिवेशलाई स्थानीय सरोकारवालाहरूले नै सही ढङ्गले बुझ्न सक्छन् । यसमा स्थानीय विज्ञताको समुचित कदर गरिन्छ । किन पनि भने स्थानीय विज्ञताले स्थानीय परिवेशलाई समुचित ढङ्गले आत्मसात् गर्न सक्छ । पाठ्यक्रम निर्माण र लेखन गर्ने काम एक प्राविधिक काम भएकाले पनि स्थानीय विज्ञहरूलाई समेट्न आवश्यक हुन्छ । पाठ्यक्रमका लागि चाहिने स्रोत–साधन, सूचना र सन्दर्भग्रन्थहरूको सङ्कलन, विश्लेषण र ती पक्षहरूलाई पाठ्यक्रममा समेट्ने दक्षताको कमी भयो भने स्थानीय पाठ्यक्रमले सही विषयवस्तु समावेश गर्न सक्दैन । यस अर्थमा पनि स्थानीय सहभागिता र विज्ञतालाई स्थानीय पाठ्यक्रमको आधारभूत पक्ष मानिएको हो ।
अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको बदलिएको राजनीतिक मान्यता र प्रशासनिक संरचनामा माध्यमिक तहसम्मको शिक्षाको अधिकार संविधानतः स्थानीय तहको भएकाले स्थानीय तहले आफ्नो स्थानीय परिवेश र स्थानीय आवश्यकताको जगमा स्थानीय पाठ्यक्रम निर्माण गर्न सक्ने प्रावधान छ । यस प्रक्रियामा अभिभावक, स्थानीय समुदायमा रहेका विभिन्न पेसामा संलग्न व्यक्ति, विभिन्न सामाजिक सङ्घ–संस्थामा संलग्न व्यक्ति सबैको भूमिका महŒवपूर्ण हुन्छ नै । गैरसरकारी सङ्घ–संस्थाको सहयोग लिएर स्थानीय पाठ्यक्रम निर्माण गर्न सकिने भएकाले पनि सबैको साथ, सहयोग र विज्ञताको समुचित कदर गर्दै स्थानीय आवश्यकताका आधारमा स्थानीय तहमा स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने परिपाटीको विकास हुन थालेको सुखद अवस्था सिर्जना भएको छ यतिखेर । विविधताको सम्मान गर्दै स्थानीय ज्ञान, सीप र प्रविधिको समान पहुँच र विस्तारमा टेवा पु¥याउन स्थानीय सरोकारवालाको सहभागिता, विज्ञता र स्रोत–साधन जरुरी हुन्छ ।
नेपालमा राष्ट्रियस्तरको पाठ्यक्रम निर्माण गर्नेक्रममा सरल र सहज तरिकाले स्थानीय तहको प्रतिनिधित्व हुन नसकेको परिवेश विद्यमान छ । फलस्वरूप शैक्षिक गुणस्तर विकासमा स्थानीय सरोकारवालाको उत्तरदायित्व र जिम्मेवारीबोध पर्याप्त मात्रामा भएको पनि छैन । स्थानीय आवश्यकतामा आधारित पाठ्यक्रम तथा नीति निर्माणका क्रममा स्थानीय तहका सरोकारवालाको अर्थपूर्ण सहभागिता हुने वातावरण तयार गरी लोकतान्त्रिक अभ्यासको एक असल नमुनाका रूपमा स्थानीय पाठ्यक्रमलाई विकास गर्न सके यसबाट अपेक्षित उपलब्धि हासिल हुन सक्छ ।
स्थानीय मठमन्दिर, साँस्कृतिक सम्पदा, रहनसहन, स्थानीय माटो, बाटो, पाटीपौवा तथा हावापानी, चालचलन आदिका बारेमा यथोचित जानकारी गराई आफ्नो जन्मभूमि तथा स्थानीय स्थानप्रति सिकारुलाई “केही गरौँ” भन्ने भावनाको विकास गराउन पनि स्थानीयस्तरमा पाठ्यक्रम निर्माण गर्न आवश्यक छ । स्थानीय पाठ्यक्रम स्थानीय आवश्यकताका कुराहरू समेटी आफ्नो स्थानीय परिवेशअनुकूल मौलिक कला, संस्कृति र पेसाप्रति चासो बढाउन सरोकारवालाहरूको नै क्षमता अभिवृद्धि गर्दै स्थानीय तहमै निर्माण गरी कार्यान्वयन गरिने लचिलो प्रकृतिको पाठ्यक्रम हो ।
कतिपय स्थानीय तहमा निर्माण गरिएका स्थानीय पाठ्यक्रमहरूको प्रभावकारी कार्यान्वयन भई त्यसले स्थानीय परिवेशको विकास र प्रचार–प्रसारमा सकारात्मक भूमिका निर्वाहसमेत गरेको देखिन्छ । स्थानीय पाठ्यक्रम निर्माणपश्चात् त्यसको प्रभावकारी कार्यान्वयनमा स्थानीय तहले आवश्यक अनुगमन गर्ने र आवश्यकताका आधारमा यसलाई समयानुकूल बनाउँदै लैजाने हो भने यसको प्रभावकारिता अझै बढ्ने पक्का छ । स्थानीय जात, जाति, भाषा, संस्कार, सभ्यता, मूल्य–मान्यता, परम्परा, चाडपर्व, हाटबजार, गीत, सङ्गीत आदिका बारेमा आवश्यक जानकारी गराई आफ्नो परिवेश, सामाजिक, भौगोलिक, आर्थिक, साँस्कृतिक अवस्थाका बारेमा सुसूचित गराउनु स्थानीय पाठ्यक्रमको एक प्रमुख उद्देश्य हो, हुनुपर्छ । समावेशी तथा सबैको अपनत्व महसुस हुनेखालका स्थानीय विषयवस्तुको जगमा निर्मित पाठ्यक्रमबाट आपसी सद्भाव, मेलमिलाप, सामूहिक कार्य, सहिष्णुता तथा राष्ट्रिय एकताको भावनाको विकासमा पनि सहयोग पुग्ने अपेक्षा राख्न सकिन्छ ।

(लेखक सामाजिक रूपान्तरणका लागि नागरिक अभियान, नेपालमा कार्यरत हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?