logo
२०८१ मंसिर १० सोमवार



अर्थतन्त्रमा प्रविधिको प्रभाव

विचार/दृष्टिकोण |





देवेश झा

विश्व अर्थतन्त्रमा मन्दीको प्रभाव आउँदै गरेको व्याख्या धेरैजसो अर्थशास्त्री र विश्लेषकहरूले गर्न थालेका छन् । भारतीय कार बजारमा देखिएको मन्दीबारे टिप्पणी गर्दै अर्थमन्त्री निर्मला सीतारमणले सोका लागि ओला र उबर नामको ट्याक्सी सञ्चालन गर्ने कम्पनीहरूलाई जिम्मेवार बताउनुभएको थियो । अहिले दिल्ली मुम्बईजस्तो सहरमा दुई, तीनवटासम्म कार राख्ने घरहरूमा पनि बिस्तारै गाडीको सङ्ख्या घट्दोक्रममा छ ।
स्टानफोर्ड युनिभर्सिटीका व्याख्याता टोनी सेवाका अनुसार भविष्यमा पेट्रोलियम पदार्थको मूल्य आधासम्म घट्नेछ । उहाँले आफ्नो किताब ‘क्लीन डिसरप्सन वा इनर्जी एन्ड ट्रास्पोरेसन’का बारेमा व्याख्यानको सुरुमै एउटा फोटो देखाउनुहुन्छ, जसमा सन् १९०० मा न्युयोर्क सहरको फिफ्थ एभेन्यु सडकमा घोडागाडीमात्रै देखिन्छ । पछि त्यही सडकमाथि सन् १९१३ मा कारहरूमात्रै देखिन्छ । अर्थात् १३ वर्षभित्रमा कारले घोडागाडीलाई बजारबाट विस्थापित ग¥यो । त्यसबखत सरकारले घोडागाडीको विरुद्ध अथवा कार निर्माताको पक्षमा कुनै नीतिगत निर्णय गरेको थिएन बरु घोडागाडीलाई प्रविधिले हरायो ।
सन् २००० कोडाक कम्पनीका लागि सबैभन्दा उपलब्धिमूलक वर्ष थियो । त्यस वर्ष कम्पनीले १.४ अर्ब डलरको रेकर्ड मुनाफा ग¥यो । तर, चार वर्षपछि सन् २००४ मा कम्पनी टाट पल्टिएको घोषणा गरियो । मात्रै चार वर्षभित्र डिजिटल फोटोग्राफीको प्रविधिले कम्पनीलाई बजारबाट बाहिर पठाइदिएको थियो । व्यापार र वाणिज्यको भाषामा यसलाई विघटन भनिन्छ । बीसौँ शताब्दीमा कुनै नयाँ आविष्कार अथवा प्रोजेक्टलाई बजारमा आफ्नो आधिपत्य कायम गर्न १०÷२० वर्ष लाग्ने गरेकोमा अहिले एक्काइसौँ शताब्दीमा सो कार्य दुई÷चार वर्षमा नै सम्भव हुने गरेको छ । विश्व ट्याक्सी बजारलाई कब्जा गर्न लागेको ट्याक्सी सञ्चालक सफ्टवेयर कम्पनी उबर सन् २००९ सम्ममा जन्मिएको पनि थिएन तर मात्रै दस वर्षभित्रमा दुनियाँको ट्याक्सी बजार यसको कब्जामा छन् । पछिल्लो दस वर्षमा उबरले वार्षिक १०० प्रतिशतभन्दा बढीको विस्तार गर्न भ्याएको छ । संसारभरको सबै कम्पनीभन्दा बढी ट्याक्सीका लागि गरिने अर्डर एक्लै उबरको हुने गरेको छ ।
सन् १९५० देखि १९६५ सम्म रङ्गीन टेलिभिजनको हिस्सेदारी बजारमा मात्र दुई प्रतिशत रहेकोमा १९६५ देखि १९८० सम्ममा ८० प्रतिशत पुगेको थियो । सन् १९८४ सम्ममा ब्ल्याक एन्ड ह्वाइट टीभी पूर्णतः विस्थापित हुन पुग्यो । सन् १९६५ रङ्गीन टीभीका लागि टिपिङ प्वाइन्ट अर्थात् फर्काउन नसक्ने बिन्दु थियो । सेवाका अनुसार सन् २०२० मा आउने अर्को टिपिङ प्वाइन्टले बजारमा रहेको परम्परागत गाडीको व्यापार र प्रयोगलाई विद्युतीय सवारीसाधन, ड्राइभरविहीन सवारीसाधन, उबर, गुगल र टेस्लाजस्ता प्राविधिक माध्यमबाट विस्थापित गर्नेछन् ।
यी सबैका कारण आउने पाँच वर्षभित्र सवारीसाधनसम्बन्धी सम्पूर्ण परिदृश्यमा परिवर्तन आउनेछन् । यस परिस्थितिको सामना गर्न आफूलाई तयार गर्न नसक्नेहरू समाप्त हुनेछन् । कतिपय कम्पनीले यसका लागि आवश्यक गृहकार्य गरिसकेका छन् । मोबाइल फोन कम्पनीहरूले अपनाएको मर्जर नीति जस्तै भविष्यमा सवारीसाधन निर्माण गर्ने कम्पनीहरूले सोही बाटो अङ्गीकार गर्नुपर्ने हुन्छ ।
अहिले विश्वको १२ वटा ठूला फ्याक्ट्रीमा लिथियम÷आयन ब्याट्रीको उत्पादन भइरहेको छ । सिङ्गापुरमा चालकविहीन कार प्रयोगमा आइसकेको छ । एउटा अनुमानबमोजिम सन् २०३० सम्ममा बजारमाथि चालकविहीन कारले कब्जा गरिसक्नेछन् र सम्भवतः सरकारले मानवचालित कारको प्रयोगमा प्रतिबन्ध लगाउनुपर्ने हुन्छ । चालकविहीन कारको सञ्चालन कम्प्युटर प्रविधिबाट हुने भएकाले मानवले चलाउने कारहरू सुरक्षाका लागि खतरा हुनेछन् । सेवाले गरेको तर्कअनुसार सन् २०३० सम्ममा कारहरूको व्यक्तिगत स्वामित्व रहने छैन र सडकमा मागबमोजिम टेस्ला, गुगल र ओबरजस्ता कम्पनीहरूको गाडीमात्रै हुनेछन् । यसले गर्दा सडकमा ८० प्रतिशत कारहरू कम भएर पेट्रोल र डिजलको खपतमा ३० प्रतिशतसम्म कमी आउनेछ । यस सम्भावित परिस्थितिको पूर्वानुमान गरेर खाडीका तेल उत्पादक राष्ट्रहरूले आफ्नो अर्थतन्त्र व्यवस्थापन गर्न पर्यटन र रियल स्टेटजस्ता वैकल्पिक व्यवस्थामा ध्यानकेन्द्रित गर्न लागेको देखिन्छ ।
चालकविहीन कारमाथि एउटा उपकरण राडार जडान गरिएको हुन्छ, जसले कारका लागि आँखा र दिमागको काम गर्दछ । सन् २०१२ मा ७० हजार डलर पर्ने सो राडार अहिलेमात्र २५० डलरमा पाइन्छ । यसरी हेर्दा सन् २०२० सम्ममा यसको मूल्य अझ धेरै तल झर्ने देखिन्छ । विद्युतीय सवारीसाधनको मूल्य पेट्रोलियम पदार्थबाट हुने सवारीसाधनभन्दा आधा हुनेछ भने त्यसको सञ्चालन हुन सक्ने अवधि दोब्बर हुनेछ । आउने दस वर्षभित्रमा कारहरूमा टायरबाहेकको खर्च न्यून भई सवारीसाधनको पार्टपुर्जासम्बन्धी कारोबार समाप्त हुनेछन् । टेस्ला र गुगलद्वारा जारी रहेको अनुसन्धानले विद्युतीय कारको वारेन्टी १५ लाख किलोमिटरसम्मको हुनेछ । त्यसैले प्रविधिका कारण पेट्रोलियमबाट सञ्चालित सवारीसाधनहरू विद्युतीय सवारीसाधनबाट विस्थापित हुने र त्यसले गर्दा पेट्रोलियमको खपत कम भई नेपालको समग्र अर्थतन्त्र पनि सकारात्मक दिशातर्फ उन्मुख हुनेछ ।
आउने दिनमा पेट्रोल पम्पको ठाउँ विद्युत् रिचार्ज स्टेसनहरूले लिनेछन् । विकसित राष्ट्रहरूमा यसको सुरुवात भइसकेको छ । यसैगरी, वैकल्पिक ऊर्जा प्रवद्र्धनका लागि घरको छतमा सोलार प्यानलबाट विद्युत् उत्पादन गरेर राष्ट्रिय प्रसारणमा जोडिनेछन् र त्यसको प्रयोग जनसाधारणका लागि अतिरिक्त आम्दानीको स्रोत बन्नेछन् । कृषि विकासका अधिकांश कार्यहरू कम्प्युटरको मद्दतले गरिनेछ । कतिपय देशमा अहिले नै ड्रोनमार्फत आफ्नो कृषि फार्मको सुरक्षा र स्वचालित सेन्सरबाट सिञ्चाइ व्यवस्थापन तथा कीटनाशक औषधि छर्ने काम भइरहेको छ । इन्टरनेट सुविधाका कारण टेलिफोनको स्थान ह्वाट्स एप, भाइबर, मेसेन्जरजस्ता मोबाइलमा प्रयोग हुने सफ्टवेयरले ओगटनेछन् ।
आउँदो दस वर्षभित्रमा कम्प्युटर प्रविधि र सफ्टवेयरको प्रयोगबाट सम्पूर्ण विश्वको अर्थतन्त्र प्रभावित हुनेछन् । एउटा पनि गाडी नभएको उबर आज दुनियाँको सबैभन्दा बढी ट्याक्सी भएको कम्पनी बनेको छ । कृत्रिम बुद्धिबाट सञ्चालित कम्प्युटरहरूको बुझाइ बढी सटीक हुन लागेका छन् । अमेरिकामा नयाँ अधिवक्ताका लागि रोजगार पाउनु जटिल बन्दै गएको छ । त्यहाँ आईबीएम वाट्सन सफ्टवेयरले मोबाइल फोनबाट कानुनी सल्लाह उपलब्ध गराइरहेका छन् । जसको शुद्धता ९० प्रतिशतसम्म हुने गर्दछ । जब कि मानवीय कानुनी सल्लाहको शुद्धता ७० प्रतिशतसम्म सीमित छ । वाट्सनको सफ्टवेयरले क्यान्सरजस्तो खतरनाक रोगको पहिचान गर्नमा सहजता प्रदान गरेको छ ।
नेपालमा वार्षिक सात अर्ब रुपियाँभन्दा बढीको पेट्रोलियम पदार्थको खपत हुने गरेको छ । यो खर्च घटाउने एकमात्र विकल्प विद्युतीय निर्भरताको वृद्धि गर्ने हो । हालै लोडसेडिङ मुक्त भई विद्युत् खपत बढाउन आग्रहसहित नेपाल विद्युत् प्राधिकरणले जनतालाई प्रोत्साहित गर्न खोजेको भए पनि विद्युत्को उपभोग घटेको तथ्याङ्कले देखाउँछ । विद्युत् खपत बढाउनका लागि सबैभन्दा सहज उपाय जनताको दैनिकीमा रहेको विद्युतीय उपकरणहरूको न्यून भन्सारमा उपलब्धता र विद्युत्को दररेटमा कमी आवश्यक छ । यसबाट जनताको दैनिकीमा पर्ने ग्यास चुल्हो तथा जाडोयाममा ग्यास गिजर र ग्यास हिटरको उच्च प्रयोगलाई इन्डकसन चुल्हो, ओभन, विद्युतीय हिटर र पानी तताउने गिजरबाट विस्थापित गर्न सकिन्छ ।
बङ्गलादेशको विकास दर आठ प्रतिशतको छ । कुनै जमानामा पूर्णतः कर्जा र अनुदानमाथि निर्भर बङ्गलादेशको बजेट आज आत्मनिर्भर भएको छ । सन् १९७४ मा अकालको विभीषिका भोगेको बङ्गलादेश आज खाद्यान्नमा आत्मनिर्भर बनेको छ । ह्युमन डेभलपमेन्ट इन्डेक्समा दक्षिण एसियामा धेरै अगाडि गइरहेको बङ्गलादेशको वर्तमान अर्थव्यवस्था १८० अर्ब डलर पुगेको छ, जुन सन् २०२१ सम्ममा ३२२ अर्ब डलरसम्म पुग्ने अनुमान गरिएको छ । बङ्गलादेशको प्रतिव्यक्ति वार्षिक आय दुई हजार डलर पुगिसकेको छ । त्यहाँको प्रतिव्यक्ति औसत उमेर ७२ वर्ष रहेको छ । यहाँका ३४५ जनताले डिजिटल कारोबारमा लेनदेन गरेर धेरै एसियाली देशहरूलाई पछाडि पारेका छन् । वार्षिक कपडा निर्यात ५० अर्ब डलरसम्म पुग्न लागेको बङ्गलादेश रेडिमेड गार्मेन्टको निर्यातक देशहरूमा विश्वको दोस्रो स्थानमा उक्लिएको छ । विदेशमा कार्यरत २५ लाख बङ्गलादेशीले राष्ट्रको विकास निर्माणमा महŒवपूर्ण भूमिका निर्वाह गर्दै वार्षिक १५ अर्ब डलरको विप्रेषण पठाउने गरेका छन् ।
आधुनिक प्रविधिको प्रयोगबाट अर्थतन्त्रमा क्रान्तिकारी फड्को मार्न सफल बङ्गलादेश दक्षिण एसियामा उदाहरणीय बन्न पुगेको छ । नेपालका लागि पनि प्रविधिको विकासका कारण भविष्यमा सम्भावित अर्थतन्त्रको उतारचढावबाट उत्पन्न हुने अवसरको सदुपयोग गर्ने मार्गचित्र निर्माण आजको प्राथमिकतामा हुनुपर्दछ । भारतीय कार बजारमा मन्दीको चर्चा भइरहँदा मारुती कम्पनीबाट प्रस्तुत गरिएको नयाँ मोडेलको एसभीयुले व्यापक डिमान्ड देखाउँदै छ । टाटा मोटर्सले पनि विद्युतीय गाडी निर्माणलाई अगाडि बढाएको छ ।
नेपालको वार्षिक व्यापार घाटा सबैभन्दा बढी भारतसँगको पेट्रोलियम पदार्थको खरिदका कारण भएको तथ्याङ्कले देखाएको छ । भन्सारको विभिन्न बिन्दुमा ७५० वटाभन्दा बढी सवारीसाधन क्लियरेन्सविना थन्किएको खबर छ, अर्थात् अब नयाँ गाडी खरिदकर्ताको प्राथमिकतामा विद्युतीय सवारीसाधनको प्रयोग बढ्ने निश्चित छ । आउने दिनमा देशको विद्युत् उत्पादनमा सम्भावित उच्च वृद्धिलाई ध्यानमा राखेर अहिलेदेखि आवश्यक पूर्वाधार निर्माण कार्य गर्नुपर्दछ । सरसर्ती हेर्दा प्रविधिको क्रान्तिकारी विकास भएर टेलिफोन, कृषि क्षेत्र र पेट्रोलियम पदार्थको खपतमा आउने कमीका कारण उत्पन्न हुने अवसरको पहिचान आजको आवश्यकता हो ।

(लेखक राजनीतिक/कूटनीतिक विश्लेषक हुनुहुन्छ  )
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?