logo
२०८१ मंसिर १० सोमवार



टुँडिखेलको संरक्षण (सम्पादकीय)

विचार/दृष्टिकोण |





सार्वजनिक महìवको ऐतिहासिक टुँडिखेलको अनधिकृत अतिक्रमण रोकी सर्वसाधारणका लागि खुला हुनुपर्ने माग गर्दै कात्तिकको तेस्रो हप्ताबाट अकुपाइ टुँडिखेल अभियान सुरु गरिएको छ । पुरानो बसपार्कमा भ्यू टावर निर्माण गरिने भएपछि त्यहाँको बस बिसौनी अस्थायी रूपमा टुँडिखेलमा राख्न दिइएकामा क्रमशः त्यहाँ अस्थायी र स्थायी संरचना बनाइने, सर्वसाधारणको प्रवेश रोक्ने, सरकारी निकायलाई हुने आम्दानीमा व्यक्तिगत हालिमुहाली गरिनेजस्ता काम हुन थालेपछि सो अभियान थालिएको छ । काठमाडौँ उपत्यकाका अधिकांश सार्वजनिक जग्गा अतिक्रमित भएकाले सहरको शोभा मात्र हराएको छैन, प्राकृतिक प्रकोप भएका खण्डमा उद्धार गरेर अस्थायीरूपमा बसोबास गराउने जग्गाको अभाव पनि देखिएको छ ।
राजनीतिक आरोहअवरोहको साक्षी टुँडिखेलको संरक्षणका लागि लामो समयदेखि स्थानीय नागरिक, राजनीतिक नेता, बुद्धिजीवी, संरक्षणविद्लगायतले माग गर्दै आएका भए पनि सम्बन्धित निकाय खासगरी महानगरपालिकाले ध्यान नदिएको भन्दै अकुपाइ टँुडिखेल अभियान सञ्चालन गरिएको हो । व्यक्तिगतरूपमा महानगरपालिकाका उपप्रमुख, केही वडाध्यक्ष र सदस्यहरूले अभियानलाई सहयोग गरेका भए पनि संस्थागत रूपमा महानगरपालिकाले निर्वाह गर्नुपर्ने भूमिकामा उदासीन रहेको गुनासा अभियानकर्ताले गरेका छन् । महानगरपालिकाले बसपार्क निर्माण गर्ने ठेकेदारलाई नै टँुडिखेलमा पसल–कबल राख्न पाउने गरी अनुमति दिएको तर सम्झौता विपरीत अनियन्त्रित तरिकाले संरचना बनाइएकाले अहिले टुँडिखेल नै नदेखिने अवस्थामा पुगेको छ । टुँडिखेलको संरक्षणमा विभिन्न निकायको ध्यानाकर्षण गर्न सुरु गरिएको अकुपाइ टुँडिखेल अभियान जनस्तरमा लोकप्रिय भए पनि अपेक्षित परिणाम देखिएको छैन ।
रत्नपार्कको विस्तार, वीर अस्पतालका संरचना तथा सडक विस्तारजस्ता कारण क्रमशः टुँडिखेल साँघुरिँदै गएको छ । यस्ता सार्वजनिक जग्गा, सम्पत्ति तथा सम्पदाको संरक्षण गर्न देशका विभिन्न निकायलाई दायित्व दिइएको हुन्छ । सधैँ जनताले खबरदारी गरेर यस्ता सम्पत्तिको संरक्षण हुन सक्दैन । सम्बन्धित निकायले आफ्नो दायित्व निर्वाह गरेनन् भने सर्वसाधारणले निगरानी गर्नुपर्छ । अहिलेको अवस्थालाई त्यसरी नै बुझ्न सकिन्छ तर यसरी सर्वसाधारणले नै निगरानी गर्नुपर्ने अवस्थामा कहिलेकाहीँ कानुन हातमा लिइएको जस्तो अवस्था पनि देखिन्छ । यस्तो प्रवृत्ति हरेक क्षेत्रमा देखिँदा सरकार र सरकारी निकायप्रति अविश्वास बढेको स्पष्ट गर्छ । टुँडिखेलमा संरचना बनाइनु एउटा समस्या हो भने त्यहाँ बचेखुचेको जग्गामा हुने गरेको फोहोर÷दुर्गन्ध अर्को समस्या हुने गरेको छ । टुँडिखेल बचाइराख्नुको अर्थ त्यहाँ फोहोर गर्न पाइन्छ भन्ने होइन । सुन्दर टुँडिखेलका लागि सबै पक्षको सहयोग र सक्रियता आवश्यक हुने भएकाले टँुडिखेलबाट अहिले बनाइएका संरचना हटाउनु एउटा अभियान र लक्ष्य हुन सक्छ भने त्यसपछि टँुडिखेलको प्रयोजन तथा संरक्षणका बारेमा पनि अहिले नै ध्यान दिनु आवश्यक छ । टुँडिखेल, रत्नपार्क वरिपरि हुने गरेका अवाञ्छित रात्रि जीवनका कारण त्यस क्षेत्रमा साँझ परेपछि सर्वसाधारण जानै नसक्ने अवस्था चिन्ताजनक छ । त्यसैले अकुपाइ टुँडिखेल अभियानसँगै त्यहाँका अनधिकृत संरचना हटाउनु र टँुडिखेलको वाञ्छनीय प्रयोजनका लागि नयाँ योजना बनाउनुपर्ने देखिन्छ ।
टँुडिखेलमात्र होइन, राजधानी उपत्यकाका अधिकांश सरकारी जग्गा अतिक्रमणमा परेका समाचार आइरहेका छन् । उपत्यका बाहिर पनि सहरभित्रका सार्वजनिक पाटीपौवा, सत्तल, मन्दिर अतिक्रमणमा परेका छन् । यस्तो प्रवृत्तिले एकातिर सार्वजनिक सम्पत्तिको दुरुपयोग भइरहेको छ भने अर्कोतिर अतिक्रमणसँगै ती क्षेत्रका रुखबिरुवा काटिने, पानीका धारा मासिने गरिएबाट वातावरणीय समस्या निम्त्याएको छ । समस्या समाधानका लागि अकुपाइ टँुडिखेलका अभियानकर्ताले टँुडिखेल क्षेत्रमा खरीका बिरुवा लगाउने पनि जनाएका छन् । यो प्रशंसनीय कार्य हो तर अभियानहरू अस्थायी पहलमात्र हुने भएकाले निरन्तरताको आवश्यकता पर्दछ र एक क्षेत्रमा मात्र नभएर मुलुकैभरि सरकारी जग्गाको संरक्षणमा तत्तत् क्षेत्रका बासिन्दाको सरोकार महìवपूर्ण हुनेगर्छ । यस्ता अभियानलाई विशुद्ध सामाजिक दायित्वसँग जोडेर हेर्नुपर्छ । यसलाई कसैका विरुद्ध कसैको अभियानभन्दा पनि सबैको हितका लागि सबैको दायित्व भनेर बुझ्नुपर्छ । बढ्दो बसोवास र निर्माणले सहरलाई प्रदूषित तथा असुरक्षित बनाउँदै लगेकाले खुला स्थान, परम्परागत पानीका स्रोत, सांस्कृतिक–धार्मिक महìवका क्षेत्रको सुरक्षा गर्दै सुन्दर सहरको विश्व अभियानमा नेपालले पनि योगदान दिनसक्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?