logo
२०८१ मंसिर १० सोमवार



नयाँ उपकुलपतिका अवसर

विचार/दृष्टिकोण |




प्रा.डा. ऋषिराम शर्मा

देशको सबैभन्दा ठूलो र जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले नयाँ उपकुलपतिका रूपमा नयाँ अनुहार प्राप्त गरेपछि आज दसैँको नयाँ लुगा लगाएर फुरुङ परेको केटाकेटीभैmँ दङ्ग परेको छ । सकारात्मक ऊर्जाका साथ यो विश्वविद्यालय निकै आशावादी बनेको पनि छ ।
विश्वविद्यालयको भौतिक एवम् प्राज्ञिक संरचना, सङ्गठन र जीवनमाथि खेलवाड गर्नेहरूका चङ्गुलमा त्रिविलाई फस्न नदिने चुनौती नयाँ उपकुलपतिसमक्ष छँदै छ । रोगको पहिचान (डायग्नोसिस) गरेरमात्र चक्कु र कैँची चलाउन अभ्यस्त हुनुभएका वरिष्ठ सर्जनले अहिले त्रिविको सुगर, किड्नी र प्रेसरजस्ता विकृत रोगको प्रारम्भिक जाँचबुझ गरिरहेको; त्यसअन्तर्गतका विभिन्न सङ्काय र निर्देशनालयका नाडी छामिरहेको र त्यसपछि मात्र त्रिविलाई सुधारको शल्यक्रिया कक्ष (अप्रेसन थिएटर) मा लान खोज्नुभएको सन्दर्भले पनि केही विश्वाससमेत जगाएको छ ।
नयाँ उपकुलपति नियुक्त भएपछि एउटा शङ्काको अवशान भएको छ तर अब अनेकौँ शङ्का र त्यसबाट अङ्कुरित हुने अनेकौँ चुनौतीहरू भने उहाँका कार्यकालभरि रहिरहनेछन् । यद्यपि, ती चुनौतीहरूलाई चिर्ने अठोट र दूरदृष्टि साथ उहाँ आउनुभएको छ भन्ने अभिलक्षण पदभार ग्रहण र तत्पश्चात् अभिव्यक्त उहाँका विचार र जारी क्रियाकलापले पूर्वसङ्केत गरेकै छन् । विश्वविद्यालयभित्र अनेकौँ ग्रहहरू छन्; विश्वविद्यालयभित्र शुभ स्थानमा रही शुभकार्य गरिरहेका वृहस्पति (देव गुरु) मात्र हैन, त्यहाँ सोझा ‘बुध’, कल्याणकारी ‘मङ्गल’, नयाँ ऊर्जा र उज्यालो छर्ने ‘सूर्य’, शीतलता र सौम्यका स्रोत ‘चन्द्र’हरू पनि छन्, जसले नित्य निरन्तर इमानदार एवम् कर्तव्यनिष्ठ प्राध्यापक र कर्मचारीका रूपमा काम गरिरहेका छन् । यसभित्र केही शुक्र (दैत्य गुरु) र विभिन्नप्रकारले दुःख, कष्ट र पीडा दिइरहने राहु, केतु, शनि र तिनका वामाङ्गी उल्का, सङ्कटा, भ्रामरीजस्ता प्रतिकूल ग्रहहरू पनि छन्, जसले विश्वविद्यालयको जीवनलाई निरन्तर कष्ट र पीडा दिइरहेका छन् ।
नयाँ उपकुलपतिसमक्ष प्रतिकूल ग्रहदशालाई आफ्नो मिसनअनुकूल प्रयोग गराउन र बेलाबेलामा कालो कपडा, फलामको टुक्रा, कालो तिल र दियोसहितको टपरी चौबाटामा राखेर तिनलाई मन्साउने र थान्को लगाउने चुनौती एकातिर छ । अर्कातिर, विश्वविद्यालयका अनुकूल ग्रहको पहिचान गरी तिनको क्षमता, प्राज्ञिकताको सकारात्मक ऊर्जालाई अधिकतम परिचालन गर्दै संस्थाको प्राज्ञिक गतिलाई तीव्रता दिने चुनौती पनि त्यत्तिकै छ । भनिन्छ, भाग्य स्थानमा आएर नीच ग्रह बसिदियो भने त्यसले निम्त्याउने दुर्दशा र त्योभन्दा ठूलो दुर्भाग्य केही हुँदैन । तसर्थ, विश्वविद्यालयको भाग्य निर्माण गर्ने भाग्यस्थानका रेक्टर र रजिष्ट्रारजस्ता पदमा नियुक्तिका लागि ¥याल काढ्ने लोभीपापी ग्रहहरूलाई रोकेर गतिशील टिम निर्माण गरी विश्वविद्यालयको प्रगतिलाई गति दिनुका साथै प्वाल पार्ने मुसाहरूबाट विश्वविद्यालय उद्धारको जहाजलाई जोगाउँदै हाँकिरहने चुनौती पनि झनै टड्कारो छ ।
विश्वविद्यालयको प्राज्ञिक जीवनको ढुकढुकीलाई गति दिने चुनौती उहाँकासमक्ष यक्ष प्रश्न बनेर खडा भएको छ । विश्वविद्यालयमा रहेका विद्यार्थीविनाका विभागहरू, विद्यार्थीविनाका रुटिनहरू तथा तलब–भत्ता प्राप्त गरेबापत पढाउन, अनुसन्धान गर्न र सिर्जनात्मक काम गर्न नपाएर छटपटाएको प्रबुद्ध एवम् पढाउन नपरेबापत रमाएको छट्टुहरूको जुन–जुन वर्ग छ, त्यसलाई पठनपाठनसँग, अध्ययन अनुसन्धानसँग र कामसँग जोड्ने चुनौती पनि त्यत्तिकै टड्कारो छ । विश्वविद्यालयका प्राध्यापकलाई अध्ययन अनुसन्धानमा अधिकतम रूपमा संलग्न हुन अनुकूल हुनेखालको कार्यकक्ष र कम्प्युटरको व्यवस्था गरिदिनुपर्नेछ । पाठ्यक्रम निर्माण, विषय समिति गठन, सम्बन्धन, पठनपाठन र अनुगमनजस्ता विश्वविद्यालयको प्राज्ञिक जीवन र गरिमालाई गति दिने कतिपय निकायहरू निकम्मा हुँदा विगतमा विश्वविद्यालयले सहनुपरेको निकै ठूलो अबगालबाट जोगाउने चुनौती पनि उस्तै छ । विभिन्न निकायमा विशुद्ध प्राज्ञिक एवम् क्षमतावान व्यक्तिको नियुक्तिका लागि रातो किताबका साथै निश्चित निर्देशिका एवम् मापदण्ड बनाई व्यवस्थापन गर्नुपर्ने चुनौती पनि रहेकै छ । यसरी निर्देशिका र मापदण्ड बनाई नियुक्तिको कार्यविधि बनाउँदा विश्वविद्यालयको सुरम्य फूलबारीमा मगमगाएका हरेक विचार समूहमा आबद्ध सक्षम, योग्य एवम् वरिष्ठहरूले समेत स्वतः जिम्मेवारी पाउने अवस्था सिर्जना हुने र हरेकले विश्वविद्यालयभित्र आफू सुरक्षित महसुस गर्ने तथा त्यसले समग्रमा विश्वविद्यालयभित्र प्रचलित नियुक्तिको गुठीप्रथा अन्त्य भई प्राज्ञिक पर्यावरण पैदा हुने आँकलन गर्न सकिन्छ ।
कतिपय सङ्कायका कतिपय विषयमा रोजगारमूलक र स्वरोजगारमूलक शिक्षा प्रदान गर्नेखालको पाठ्यक्रमको प्रयोग र पठनपाठन सञ्चालन गर्नुपर्ने, प्रत्येक वर्ष दीक्षित भइरहेर पनि बेरोजगारीको लाममा पङ्तिबद्ध जुलुसलाई न्यूनीकरण र नियन्त्रण गर्न राज्य र विभिन्न रोजगारदाता संस्था (लोकसेवा, शिक्षक सेवा, बैङ्क एवम् वित्तीय सेवालगायत) का पाठ्यक्रम र विश्वविद्यालयका पाठ्यक्रमका बीच सामन्जस्य मिलाउने वातावरण बनाउनु छ । अर्थात्, रोजगारसँग शिक्षालाई जोड्न सकिने परिस्थिति निर्माण गर्ने चुनौती त्यत्तिकै छ । विश्वविद्यालयको ट्रेडमार्कको आडमा शिक्षाका सपिङ मल खोल्ने र ती सपिङ मलमार्पmत आर्जित अकूत सम्पत्तिको दुरूपयोग गरी विश्वविद्यालयका पदाधिकारीहरूलाई नै अनुचित प्रभावमा पार्ने प्रवृत्तिलाई निस्तेज पार्ने चुनौती छ । अभैm निजी सपिङ मलमा सेल्समेन बन्न जाने कतिपयले नै विश्वविद्यालय बिग्य्रो भनेर आरोप लगाई सामाजिक सञ्जालका भित्ता फोहो¥याउने गरेका छन् । त्यस्तो गर्नेहरूलाई समेत विश्वविद्यालयको प्राज्ञिक फूलबारीको हेरचाह गर्ने गरी खटाउने र कज्याउने चुनौती पनि त्यत्तिकै रहेको छ ।

विगत केही वर्षमा मुलुकको राष्ट्रिय राजनीतिमा देखापरेका अवाञ्छित र फोहोरी सत्ता समीकरणको दुर्गन्ध जुन रूपमा विश्वविद्यालयभित्र प्रवेश ग¥यो र त्यसले यसको प्राज्ञिक वरिष्ठता र सक्षमताको सुवासमाथि हमला ग¥यो । त्यस्तो प्राज्ञिक पर्यावरणीय प्रदूषण हट्नैपर्ने परिस्थिति थियो तर मुलुकले स्थिर र दुईतिहाइ हाराहारीको सरकार प्राप्त गरेको एकतिहाइ समय बितिसक्दा पनि विश्वविद्यालयमा भागबन्डाका नाममा पहिल्यैदेखि नियुक्तहरूले सत्ता सन्निकट वैचारिक सङ्गठनका सीमित नेताका टाउकामा टेकेर विश्वविद्यालयको प्राज्ञिक मर्ममा प्रहार गर्ने अनौठो प्रवृत्तिलाई बुझेर कदम अघि बढाउने चुनौती पनि उहाँसमक्ष छ नै । लुटिएको सम्पत्ति फिर्ता गर्न नसके पनि अब लुट्न नदिने, दसौँ वर्षदेखि करार सेवामा कार्यरत कर्मचारी प्राध्यापकहरूको व्यवस्थापन गर्ने चुनौती र आंशिक शिक्षक कर्मचारीका लागि समय समयमा विज्ञापनमार्पmत निकास दिने चुनौती पनि उहाँसँग छ । भागबन्डामा नियुक्तहरूले प्राज्ञिकतामा प्रहार गरिरहँदा र राज्यको मूल नेतृत्वलाई बदनाम गरिरहन पाउँदा गर्व गरिरहेको स्थिति एकातिर छ । अर्कातिर तुष्टीकरणको सिद्धान्तअनुरूप सोही वर्गसँग अवैध सम्बन्ध राखेर विश्वविद्यालयको भौतिक संरचना र प्राज्ञिकतालाई थप धराशयी तुल्याउने कालीदासहरूको दास मनोवृत्तिले नवनियुक्त उपकुलपतिसमक्ष तेस्र्याउने र लगाउने असमाधेय तगारा र तालाहरू छलफल र आवश्यक परे बलपूर्वक उघार्दै अघि बढ्ने चुनौतीसमेत वर्तमान उपकुलपतिसमक्ष रहेकै छ ।
नयाँ उपकुलपतिले प्राज्ञिकताको लिकबाट ओर्लेको रेलगाडीलाई लिकमा फर्काउन अहिले जुन वातावरण प्राप्त गर्नुभएको छ, त्यसलाई एउटा अभुतपूर्व अवसर मान्नैपर्दछ । उहाँको पूर्वकार्यको विवरण (ट्रयाक रेकर्ड) ले, उहाँभित्र रहेको दृढइच्छाशक्तिले र विश्वविद्यालयलाई सुधारेरै छाड्ने अठोटले यस्तो चुनौतीलाई अवसरमा अनुवाद गर्न सक्ने क्षमता देखाएकै छ । उहाँको यस्तो सत्कार्यलाई पूर्ण सहयोग गर्ने पृष्ठशक्ति (ब्याकफोर्स) मा विश्वविद्यालयभित्रका इमानदार प्राध्यापक, कर्मचारी र अध्ययनशील विद्यार्थी एवम् तमाम शुभचिन्तकहरूको हृदयदेखिकै शुभेच्छाका साथै सिङ्गो स्थिर र शक्तिशाली सरकारको आडभरोसासमेत प्राप्त छ । उहाँले यस अवधिमा विश्वविद्यालयको सुधारका लागि यसको संरचना, सङ्गठन र पद्धतिलाई नै परिवर्तन गर्न खोज्नुभयो भने पनि उहाँका लागि अत्यन्त अनुकूल परिवेश छ । स्मरण रहोस् विश्वविद्यालयमा यस चार वर्षभित्र जे–जति काम हुन्छन्, ती सबैको जस÷अपजसको सम्पूर्ण भारी उपकुलपतिले नै थाम्नुपर्ने हुँदा सर्वपक्षीय सल्लाह र स्वनिर्णय गर्नेगरी आफ्नो अर्जुनदृष्टिसँग मिल्ने समूह (टिम) निर्माण गर्दै विश्वविद्यालयको छवि सुधार्न सक्नुभयो भने उहाँका लागि यो अत्यन्त सफल कार्यकालका रूपमा इतिहासमा अङ्कित हुनेछ ।
विश्वविद्यालयमा पदाधिकारी नियुक्तिमा विगतमा विष्ट्याएको कुसंस्कारलाई निर्देशिका र नियमपूर्वक वरिष्ठता, जवाफदेहिता, क्षमता र पारदर्शिताका आधारमा नियुक्त गर्नेगरी पद्धति निर्माण गर्ने गुरुत्तर अभिभारासमेत उपकुलपतिको काँधमा छ । कुरूप भागबन्डाको क्रूर पञ्जाले विगतमा पटक–पटक अठ्याउँदा सुनिएको विश्वविद्यालयको घाँटी र गर्धनका नसाहरूको उपचार गर्न सक्षम सर्जन नै उपकुलपतिमा नियुक्त हुनुभएकाले विश्वविद्यालयको प्राज्ञिकताको श्वासप्रश्वास र धड्कनले स्वाभाविक र नियमित गति लिने अपेक्षा गर्न सकिन्छ ।

(लेखक राजनीतिक विश्लेषक हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?