विदेशमा काम गरी उच्च प्राविधिक तथा प्राज्ञिक दक्षता हासिल गरेका नेपालीलाई स्वदेश फर्काउने लक्ष्यका साथ परराष्ट्र मन्त्रालयमा स्थापना गरिएको ‘ब्रेन गेन’ सेन्टरमा सम्पर्क गर्ने नेपालीको सङ्ख्या बढ्दै गएको छ । यही वर्षको वैशाखमा स्थापना गरिएको केन्द्रमार्फत विदेशमा अनुभव सँगालेका नेपालीलाई सूचीकृत हुन परराष्ट्र मन्त्रालयले गरेको आह्वानअनुसार हालसम्म ६४६ जनाले कृषि, विकासका परियोजना, स्वास्थ्य, सरसफाइ, अटोमोबाइल, शान्ति सुव्यवस्था, नीति निर्माण, हाइड्रोपावर, सूचना प्रविधि, अनुसन्धान र अन्वेषणका क्षेत्रमा काम गर्नसक्ने क्षमताको स्वघोषणा गर्दै आवेदन गरेका छन् । यसरी दर्ता हुन आउनुलाई सकारात्मक कदम भन्न सकिन्छ, जसलाई दक्षता प्रदर्शनको अपेक्षाका साथै राष्ट्रप्रेमको भावना उजागर भएको भनी बुझ्न सकिन्छ । बौद्धिक व्यक्ति, वैज्ञानिक, साहित्यकार, कलाकारलाई समय समयमा मातृभूमिमा फर्कन विभिन्न प्रकारका सुविधासहित आह्वान गर्ने गरिएको विश्व अनुभव छ । वर्ड सिस्टम थ्योरीले पनि पेरिफेरियल र सेमिपेरिफेरियल मुलुकका प्राकृतिक र मानव स्रोतसाधन कोरकन्ट्रीले दोहन गर्छन् भनेर व्याख्या गर्दै आएको छ । नेपालमा पनि पछिल्ला दशक यस प्रकारका अनुभव गरिन थालिएकाले दक्ष नागरिकलाई स्वदेशमा राखिरहन हामी जस्ता कम विकसित मुलुकलाई चुनौती हुँदै आएको छ । नेपाली लगानीमा शिक्षा आर्जन गरेका अधिकांश नर्स तथा चिकित्सक बाहिरी मुलुकमा जान उद्यत देखिनुलाई पनि बे्रन ड्रेन र ब्रेन गेनका सन्दर्भमा एकीकृत गरेर हेर्नु आवश्यक देखिन्छ ।
विदेशमा काम गरी उच्च प्रविधि तथा प्राज्ञिक दक्षता हासिल गरेका नेपालीलाई स्वदेश फर्काउन वर्तमान सरकारले अति सान्दर्भिक योजना ल्याएको छ तर यसमा धेरै गृहकार्य गर्नुपर्ने देखिएको छ । पहिलो कुरा त यसरी सम्पर्कमा आएका नेपालीले कुन सेवा शर्तमा काम गर्छन् । कामका लागि कस्तो वातावरण पाउनेछन् भनेर हेर्नुपर्छ । यो भावनात्मक र संवेगात्मक कुरा मात्र होइन । कतिपय मुलुकका वैज्ञानिकले विकास गरेका प्रविधि र विकासका मोडलअनुसार सरकारले लगानी गर्न नसक्दा त्यस्ता प्रविधि अन्य मुुलुकलाई बेच्ने गरिएका अवस्थालाई यहाँ बिर्सनु हुँदैन । नेपालमा मानव विकास क्षमताका आधारमा नभएर मूलतः स्रोतको कमी, स्रोतको दुरुपयोग, प्रक्रियामुखी कार्यविधि तथा अस्थिर राजनीतिजस्ता कारणले विकासको गति सुस्त भएको पुष्टि भइसकेको अवस्थामा विदेशमा अनुभव सँगालेका नेपाली यहाँ आउँदैमा विकासले तीव्र गति लिने होइन । नेपालको भूराजनीतिक बाध्यता, भौगोलिक विशेषता, सामाजिक सांस्कृतिक मूल्य मान्यताबाट मुक्त भएर एकैपटक विश्वस्तरको विकास सपना हामीले देख्नुहुँदैन । राजनीतिक स्थिरता कायम गर्न सक्दा मात्र पनि विकासलाई तीव्र गतिमा अगाडि बढाउन सकिने रहेछ भन्ने वर्तमान सरकार गठनपछिको अवधिको मूल्याङ्कनबाट पुष्टि हुनेछ । साथै सरकारले देखाएको इच्छाशक्तिमा नेपालले हालैका दिन आर्थिक वृद्धिदर, भौतिक तथा पूर्वाधार विकास र समग्र मानव विकास सूचकाङ्कमा बढोत्तरी ल्याउन सकेको छ । विश्व बैङ्कजस्ता निकायले नेपालले यो अवधिमा गरेको आर्थिक प्रगतिको उच्च प्रशंसा गरेबाट विकास हामीबाटै सम्भव छ भन्ने देखिएको छ । हामीबाटै भन्नुको अर्थ विदेशमा रहेका सबै नेपालीहरू पनि समेटिनु हुन्छ । उहाँहरूले आफूलाई टाढा देख्नुपर्दैन । तर सत्य कुरा के हो भने फुटबलका एक विश्वविख्यात खेलाडीलाई नेपाली टिमबाट खेलाउँदैमा हामीले विश्वकप जित्न सक्दैनौँ । त्यसका लागि त्यस्तै दक्ष समूह र सामूहिक भावनाले मात्र बाजी मार्न सकिन्छ ।
सरकारले ल्याएको यो अवधारणालाई सफलीभूत बनाउन प्रशस्त गृहकार्यको आवश्यकता छ । नेपालले थिङ्क ट्याङ्क (बौद्धिक समूह) को आवश्यकता यसअघि नै महसुस गरेर त्यसअनुसारका काम पनि गरेको छ । यसका साथै निजामती, सेना, प्रहरीलगायतका सङ्गठनबाट सेवानिवृत्त कतिपय व्यक्तिलाई विश्व बैङ्क र एसियाली विकास बैङ्कजस्ता अन्तर्राष्ट्रिय संस्थाले ससम्मान काम गर्ने अवसर दिने गरेका छन् । नेपालीहरू दक्षतामा कमजोर छैनन् । नेपालभित्र र बाहिर उनीहरूले प्रशस्त दक्षता प्रदर्शन गरेका छन् । अबको आवश्यकता जो जहाँ रहेको नेपाली भए पनि उचित वातावरण दिएर उनीहरूको ज्ञान, सीप, दक्षता मातृभूमिको विकासमा अर्पण गर्ने, गराउने अवस्था सिर्जनाको जुन अवधारणा आएको छ यो सुन्दर छ ।