भउचप्रसाद यादव
बाराको महागढीमाई नगरपालिका बरियार गाउँमा पर्ने गढीमाई भगवतीको मन्दिर नेपालको ऐतिहासिक, साँस्कृतिक र पुराताŒिवक दृष्टिकोणले महŒवपूर्ण मानिन्छ । यहाँ हरेक पाँच वर्षको अन्तरालमा मेला लाग्ने गर्छ । मेलाको समयमा गढीमाई भगवतीको स्थानलाई केन्द्रबिन्दु मानी चारैतिर गढीमाई सिमाना निर्धारण गरिन्छ । निर्धारित गरिएको सीमाभित्र कुनै पनि ठाउँमा बलि दिन पाइने प्रावधान रहेको हुनाले मेलाको समयमा कति बलि दिइयो तथ्याङ्क सङ्लन सम्भव छैन । सम्भवतः सबैभन्दा बढी बलि यसै मेलामा दिने गरिन्छ । कति बलि दिइन्छ, त्यसको एकिन लेखाजोखा छैन । हाँस, कुखुरा, परेवा, बोकाको कुनै तथ्याङ्क हुँदैन ।
सदरमुकाम कलैयादेखि आठ किलोमिटरको दूरीमा गढीमाईको मन्दिर छ । गढीमाई भगवतीको स्थापनाबारे विभिन्न किंवदन्ती छन् । करिब आठ सय वर्षअघि अहिलेको बरियारपुर गाउँका भगवान चौधरीले गढीमाईको स्थापना गरेका थिए ।
किंवदन्तीअनुसार एक रात भगवान चौधरीको घरमा चोरी हुँदा गाउँलेहरूले चोरलाई समात्न सफल भए । चोरलाई समातेपछि जम्मा भएको भीडले चोरलाई कुटेर मारेछ । यसको सम्पूर्ण दोष भगवान चौधरीमाथि लाग्दछ । कर्तव्य ज्यानको मुद्दामा भगवान चौधरी काठमाडौँ उपत्यकाको जेलमा परे । सोझो र ईश्वरभक्त चौधरी जेल परे पनि उनको भगवान्प्रतिको आस्था र विश्वासमा कमी आएन । एक रात जेलमा भगवान चौधरीको सपनामा गढीमाई आएर भनिछन्, “कुनै पापीले तिमीलाई जेलमा ल्याएर थुनेको छ ?” यत्तिकैमा “तपार्इं को हो ?” भनेर भगवान चौधरीले प्रश्न गर्छन् । तपार्इं जो भए पनि मेरो अगाडि आएर दर्शन दिनुप¥यो । त्यसपछि गढीमाईले साक्षात् रूपमा दर्शन दिँदै भनिन्, “तिमी मलाई आफ्नो गाउँ लग्न सक्छौ ?”
“म जेलमा थुनिएको मानिस हजुरलाई कसरी गाउँमा लान सक्छु ?” भगवान चौधरीले जवाफ दिए । गढीमाईले भनिन्, “पहिला तिमी प्रतिज्ञा गर, त्यसपछि म तिमीलाई जेलबाट मुक्त गरिदिनेछु ।’’ भगवतीको सर्त चौधरीले सहर्ष स्वीकार गरे । त्यसपछि भगवतीको चमत्कारस्वरूप जेलका सुरक्षार्थ खटेका सिपाही निदाए । जेलका ढोका आफैँ खुले अनि भगवान चौधरी जेलमुक्त भए ।
त्यसपछि चौधरीले “म हजुरलाई कसरी लैजाऊँ” प्रश्न गरे । भगवती गढीले भनिन्, “तिमी मेरो पाउको धूलो आफ्नो पगरीमा बाँधी निधारमा राख र मन्दिरको त्रिशूल हातमा राखेर हिँड, आफैँ बाटो पाउने छौँ ।” भगवान चौधरी माताको आज्ञाबमोजिम त्यस्तै गरे । बाटोमा भगवान चौधरी र भगवतीबीच भएको विभिन्न कुराकानीको क्रममा माताले आफ्नो पूजामा नरबलिको व्यवस्था हुनुपर्ने, प्रत्येक वर्ष मेला लाग्नुपर्ने प्रस्ताव चौधरीसमक्ष राखे । तर, चौधरीले प्रत्येक वर्ष मेलाको प्रस्ताव अस्वीकार गरी पाँच वर्षमा मेला लगाउने, दैनिक पूजाआजा गर्ने, पूजामा पञ्चबलिका रूपमा बोका, राँगा, जङ्गली मुसा, सुँगुर र कुखुरा दिने कुरामा भगवती र चौधरीबीच सहमति बन्यो । यसरी भगवती र चौधरीबीच कुराकानी हँुदै पासाहा नदीकिनार हुँदै बरियारपुर गाउँनजिक रहेको वरको रूखमुनि आएर बसेको र सोही स्थानमा आजको गढीमाईको स्थापना भएको विश्वास गरिन्छ । त्यसैबेलादेखि सोही स्थानमा पाँच वर्षपछि मेला लाग्ने गरेको जनविश्वास छ ।
यसरी भगवान चौधरीले गढी भगवतीको स्थापना गरी पाँच वर्षमा पञ्चबलिसहित विधिपूर्वक मेला लगाउने कार्यको थालनी गरे पनि सो क्षेत्रमा विनाकारण ठूलो सङ्ख्यामा मानिसको अकालमा मृत्यु हुन थाल्यो । त्यसपछि चौधरीले भगवतीसँग माता यस्तो अनिष्ट किन भइरहेको छ ? सोध्दा माताले “पञ्चबलिको साथै नरबलि दिनुपर्छ, त्यसपछि सबै कुरा आफैँ ठीक हुन्छ” भनिन् ।
देवीको आदेशबमोजिम नरबलिका लागि चौधरी गाउँ घुम्न थाले । तर, नरबलिका लागि कोही तयार नभएपछि चौधरी निराश भएर फर्के । सो कुरा देवीलाई सुनाए । त्यसपछि देवीले भनिन्, “सेमरी भन्ने गाउँमा जाऊ, त्यहाँँ तिमी नरबलिका लागि मानिस पाउनेछौ ।” सेमरी भन्ने गाउँ अहिलेको रौतहट जिल्लामा पर्छ । चौधरी सेमरी गाउँमा पुगे । त्यहाँ एकजनाले माताको सवारी आफ्नो घरमा भएपछि आफू नरबलिका लागि तयार रहेको सर्त राखे । सर्तबमोजिम देवीको सवारी ती व्यक्तिको घरमा भयो । ती व्यक्ति नरबलिका रूपमा पाँच थोपा रगत दिन मञ्जुर भए । त्यसै बेलादेखि नरबलिका रूपमा पाँच थोपा रगत चढाएपछि बोका, राँगा, जङ्गली मुसा, सुँगुर र कुखुरालाई पञ्चबलिका रूपमा दिइने चलन बस्यो । आजसम्म कायम छ । पहिलो नरबलिका रूपमा पाँच थोपा रगत दिने व्यक्तिका सन्तान आज पनि गढीमाईको पुजारी छन् । आज पनि ती पुजारीले आफ्नो पाँच थोपा रगत चढाएरमात्र गढीमाई क्षेत्र प्रवेश गर्नुपर्दछ ।
गढीमाईको मेला मङ्सिर शुुक्लपक्षमा लाग्छ । मेला लाग्ने सालको असार महिनाको सोही तिथिमा पुजारीले लक्ष्मणरेखा लगाई गढीमाईको सीमा निर्धारण गर्छन् । सीमा निर्धारणपछि यस क्षेत्रका चेलीबेटी सो सिमानाभन्दा बाहिर जान पाउँदैनन् । बाहिरका चेलीबेटी पनि सोे सिमानाभित्र प्रवेश गर्न पाउँदैनन् । मेलापछिको पूर्णिमाको दिन गढीस्थान नजिकै रहेको संसारीमाईको मन्दिरमा बोकाको बलि दिएर पुजारीले सिमाना फुकाउँछन् । त्यसपछि मात्र सो क्षेत्रमा चेलीबेटीको आउने जानेक्रम सुरु हुन्छ ।
मङ्सिरको शुुक्लपक्षको पञ्चमीदेखि अष्टमीसम्म गढी भगवतीको मन्दिरमा पाँचवर्षे मेलाको विशेष पूजाआजा गरिन्छ । पञ्चमीका दिन खप्पर पूजा गरिन्छ भने सप्तमी र अष्टमीका दिन ब्रह्म स्थानमा नरबलिस्वरूप पुजारीले पाँच थोपा रगत चढाउँछन् । रगत चढाएपछि सो ठाउँमा बत्ती प्रज्ज्वलित हुन्छ । त्यसपछि भगवतीको मन्दिरमा पञ्चवलीस्वरूप क्रमशः बोका, बाख्री, जङ्गली मुसा, कुखुरा र सुँगुरको बलि दिएपछि बलिपूजा सुरु भएको मानिन्छ । बलिपूजा सुरु भएपछि सर्वप्रथम वनारसका डोम राजा हरिश्चन्द्रका सन्तानले वनारसबाट ल्याएका राँगाको बलि दिइन्छ । त्यसपछि आमभक्तजनबाट आएका जीव, जनावर र पशुपक्षीको निर्धारित क्षेत्रभित्र बलि दिइन्छ ।
पञ्चबलिस्वरूप बलि दिइने दुर्लभ मानिएका सेतो जङ्गली मुसा बलिका दिन सो क्षेत्रमा सहजै उपलब्ध हुनु, मेलाको समयमा बत्ती स्वप्रज्वलित हुनु, बलिको रगत र मासुमा झिँगा नबस्नु, बलिको मासु खाँदा कुनै किसिमको रोग नलाग्नु, मेलामा कसैलाई चोटपटक नलाग्नु यस मेलाको मुख्य विशेषता हो । मेलाको समयमा कसैको घरमा जुठो परेको अवस्थामा भाकल गरिएको पञ्चबलि दिइँदैन ।
त्यसपछि सोही वर्षको माघेसङ्क्रान्ति वा फागुपूर्णिमा (होली) का दिनसम्म भाकल गरिएको बलि दिने गरिन्छ । अनि पाँच वर्षसम्म गढी भगवतीको नाममा कुनै किसिमको बलि दिइँदैन । यो पञ्चवर्षे मेला मुख्यतः मङ्सिर महिनामा लागे पनि असारबाटै सुरु हुने र विभिन्न कारणवश छुटेका बलि फागुपूर्णिमा (होली) का दिनसम्म दिइन्छ । यसरी यो मेला असारदेखि फागुनसम्म चल्छ ।
(लेखक गोरखापत्रका समाचारदाता हुनुहुन्छ ।)