वसुन्धरा शर्मा
पाँच हजार वर्षभन्दा पनि पुरानो रोग हो– क्षयरोग । यसलाई विभिन्न नाम जस्तै ः टीबी, ट्युबरक्लोसिस, खपटे आदिबाट चिनिन्छ । यो रोग विश्वमा प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहँदै आएको छ । त्यसैले विश्व स्वास्थ्य सङ्गठनले सन् १९९३ मा क्षयरोग विश्व जनस्वास्थ्य आपतकालका रूपमा घोषणा गरेको थियोे । समाजमा व्याप्त गरिबी, अशिक्षा, चेतनाको कमी, बसाइँ–सराइ, कुपोषण, खुला सिमानाजस्ता विविध कारणहरूले क्षयरोग लाग्ने सम्भावना बढिरहेको छ ।
क्षयरोग श्वास–प्रश्वासको माध्यमबाट हावाद्वारा सजिलै सर्ने सङ्क्रामक रोग हो । यो रोग आँखाले देख्न नसकिने माइकोब्याक्टेरियम ट्युबरक्लोसिस भनिने सूक्ष्म जीवाणुबाट हुन्छ । क्षयरोग दुईप्रकारको हुन्छन् ः फोक्सोमा लाग्ने र फोक्सोभन्दाबाहेकका अन्य अङ्गमा लाग्ने । क्षयरोग लागेका व्यक्तिमा दुई हप्ता वा सोभन्दा बढी समय लगातार खोकी लागिरहनु, साँझपख हल्का ज्वरोे आउनु, खकारमा रगत देखिनु, शरीरको तौल घट्दै जानु, खाना खान नरुच्नुजस्ता लक्षणहरू देखापर्छन् । यस्ता लक्षणहरू देखिएका व्यक्तिहरूले नेपाल सरकारअन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट निःशुल्क खकार जाँचका साथै रोग देखिएमा औषधिसमेत निःशुल्क प्राप्त गर्न सक्छन् ।
विश्व स्वास्थ्य सङ्गठनको सन् २०१८ को प्रतिवेदनअनुसार विश्वमा मानिसको मृत्यु गराउने दस कारणहरूमध्ये एक प्रमुख कारण क्षयरोग रहेको देखाएको छ । विश्वभर बर्सेनि करिब एक करोड मानिस क्षयरोगबाट सङ्क्रमित भएको अनुमान छ । करिब १३ लाख मानिसको मृत्यु भएको अनुमान छ भने पाँच लाख ५० हजार मानिसमा औषधि प्रतिरोधी क्षयरोग देखापरेको छ, जुन जनस्वास्थ्य सङ्कट हो । यसैगरी, विश्वमा करिब २३ प्रतिशत मानिसमा सुषूप्त क्षयरोग रहेको अनुमान गरिएको छ । सुषूप्त क्षयरोग भएका मानिसमध्ये पाँचदेखि १५ प्रतिशत मानिसलाई जीवनभर क्षयरोग हुने सम्भावना रहेको हुन्छ । शरीरमा प्रतिरक्षात्मक शक्ति कमजोर भएको अवस्थामा क्षयरोग लाग्छ । विशेषगरी एचआईभी सङ्क्रमित व्यक्तिहरू, पाँच वर्षमुनिका बालबालिका, चिनीको रोग भएका व्यक्तिहरू, कुपोषित व्यक्तिहरूमा, घना बस्तीमा बसोवास गर्ने व्यक्ति, गरिब तथा पिछडिएका व्यक्तिहरूमा झन् बढी रोग लाग्ने सम्भावना हुन्छ ।
नेपालमा पनि क्षयरोग जनस्वास्थ्यको प्रमुख समस्याका रूपमा रहेको छ । बर्सेनि करिब ४५ हजार क्षयरोगका नयाँ बिरामी थपिने अनुमान गरिएको छ । महिलाभन्दा पुरुष बढी जोखिममा रहेको देखिन्छ । नेपालको आर्थिक वर्ष २०७४÷०७५ को तथ्याङ्कअनुसार जम्मा ३२ हजार ४७४ बिरामीहरूमध्ये ६४ प्रतिशत पुरुष बिरामीहरू थिए । विशेष १५ देखि ५४ वर्ष उमेर समूहका व्यक्तिहरूमा सबैभन्दा बढी सङ्क्रमण रहेको देखिएको छ ।
क्षयरोग कार्यक्रम व्यवस्थापन गर्न केन्द्रीय तहमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमातहतमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र रहेको छ । राष्ट्रिय क्षयरोग कार्यक्रम नेपाल सरकारको प्राथमिकता प्राप्त (पी १) कार्यक्रम हो । नेपाल सरकारले प्रतिवर्ष क्षयरोगको नयाँ बिरामी पत्ता लाग्ने दर सन् २०१५ मा एक लाख जनसङ्ख्यामा १५६ जनाबाट सन् २०३५ सम्ममा २० जना प्रतिलाख जनसङ्ख्यामा घटाई क्षयरोगको महामारी अवस्थाको अन्त्य तथा सन् २०५० सम्ममा निवारण (प्रति १० लाख जनसङ्ख्यामा एकजनाभन्दा पनि कम बिरामी) गर्ने लक्ष्य लिएको छ । राष्ट्रिय क्षयरोग कार्यक्रमको लक्ष्य प्राप्तिका लागि पञ्च–वर्षीय रणनीति (२०१६–२०२१) ले मार्गनिर्देशन गरेको छ ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले उच्च जोखिममा भएका व्यक्ति वा समुदायसम्म गुणस्तरीय निदान तथा उपचार सेवाको पहुँचमा वृद्धि गरी राष्ट्रिय लक्ष्य प्राप्त गर्न प्रभावकारी रूपमा विभिन्न कार्यहरू गरिरहेको छ । जस्तै ः देशैभरि क्षयरोगका बिरामीहरूको रोग निदान र औषधि उपचार गरी तिनीहरूको उचित व्यवस्थापन गर्ने, जसका लागि छ सयभन्दा बढी माइक्रोस्कोपी केन्द्रहरू, करिब ६० स्थानमा जिन एक्सपर्ट मसिन (अत्याधुनिक प्रविधि) सेवा, चार हजारभन्दा बढी डट्स केन्द्रहरू, सात स्थानमा औषधि प्रतिरोधी क्षयरोगका (डीआर) बिरामीहरूका लागि होस्टेल तथा होम सञ्चालन आदि । यसैगरी, क्षयरोगसम्बन्धी नीति, रणनीति, प्रोटोकल तथा निर्देशिका निर्माण, कार्यक्रमको योजना तर्जुमा, कार्यक्रम कार्यान्वयनका लागि विभिन्न तहहरूसँग समन्वय, सर्वेक्षण तथा अनुसन्धान, पृष्ठपोषण प्रदान, क्षमता अभिवृद्धिका लागि सहजीकरण, औषधि तथा अन्य सामग्रीहरूको अनुमान, खरिद तथा वितरणको व्यवस्थापन गर्नेजस्ता महŒवपूर्ण कार्यहरू सञ्चालन गर्दै आइरहेको छ ।
क्षयरोग कार्यक्रम सञ्चालनका सिलसिलामा विभिन्न चुनौतीहरू छन् । जस्तै ः विश्व स्वास्थ्य सङ्गठनले अनुमान गरेका करिब ४५ हजार क्षयरोगका बिरामीहरूमध्ये करिब ३२ हजार ४७४ मात्रै बिरामीहरू पत्ता लगाउन सकिएको, दिनानुदिन औषधि प्रतिरोधी क्षयरोगको वृद्धि भइरहेको, बिरामीमैत्री सेवा प्रदान गर्न नसकिरहेको, विभिन्न तहहरूमा समन्वय तथा सहजीकरण गर्न, विभिन्न तहका कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न, नीति तथा रणनीति निर्माण गर्नका लागि सक्षम मानव स्रोतको कमी हुनु, प्रभावकारी अनुगमन, मूल्याङ्कन तथा समन्वय नहुन, सङ्घीयता कार्यान्वयन गर्नेक्रममा नयाँ संरचनाबमोजिम कर्मचारी समायोजन गर्न ढिलाइ हुनु आदि राष्ट्रिय क्षयरोग कार्यक्रमका चुनौतीहरू छन् ।
क्षयरोग अन्त्य गर्ने लक्ष्य प्राप्त गर्न सिफारिस गरिएका अन्तर्राष्ट्रिय अभ्यासहरूको प्रभावकारी कार्यान्वयन तथा नवीनतम प्रविधिहरूको प्रयोगद्वारा केन्द्रदेखि स्थानीय तहसम्म छिटो, छरितो तथा प्रभावकारी क्षयरोग निदान तथा उपचार गर्न सबल र सक्षम कर्मचारीबाट मात्रै सम्भव हुने भएकाले विभिन्न तहका कर्मचारीहरूको क्षमता विकास गर्न अत्यावश्यक देखिन्छ । साथै, क्षयरोग कार्यक्रमको प्रभावकारी अनुगमन तथा मूल्याङ्कन गर्न उत्तिकै जरुरी छ । घरपरिवार, समुदाय तथा स्वास्थ्य संस्था वा सेवाप्रदायकले क्षयरोगका बिरामीप्रति सकारात्मक तथा सहयोगी व्यवहार देखाउन अति आवश्यक छ किनकि यो रोग लाग्नबाट बच्न सकिन्छ र रोग लागिहाल्यो भने पनि नियमित औषधि सेवनबाट निको हुन्छ ।
(लेखक राष्ट्रिय क्षयरोग केन्द्र, भक्तपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत हुनुहुन्छ ।)