डा. नारायणबहादुर बस्नेत
नेपालमा ठूला साना गरी करिब छ हजार नदीहरू बग्दछन् । सबै नदीहरूको लम्बाइ जोड्ने हो भने करिब ४५ हजार किलोमिटर हुन्छ । यीमध्ये करिब एक हजार नदीहरू १० किमि र तीमध्ये २४ वटा नदीहरू एक सय किमिजति नेपालभित्र बग्छन् । उत्पत्तिका हिसाबले नेपालमा तीन किसिमका नदीहरू छन् । (१) हिमनदी तथा हिउँबाट बनेका नदी (जस्तै ः कोसी, गण्डकी, कर्णाली, महाकाली) (२) बीच पहाडबाट उत्पत्ति भएका नदी (जस्तै ः बागमती, कमला) (३) तल्लो शिवालिक भागबाट उत्पत्ति भएका नदी (जस्तै ः सुनसरी) ।
सभ्यता भन्नाले मानव जातिको उत्पत्तिदेखि निरन्तर बाँच्न, खानपिन गर्न, विकार वस्तु उचित स्थानमा फ्याँक्न÷राख्न÷ उपयोग गर्न, लुगा लगाउन, मनोरञ्जन गर्न, साँस्कृतिक÷सामाजिक सिर्जनशीलतालाई निरन्तर गर्दै मानव जीवनलाई उत्कृष्ट बनाई स्वास्थ्य, सफा, समृद्ध बनाई निरन्तरता दिन भावी सन्ततिहरूलाई मार्गदर्शन गर्नेखालको विद्या, बुद्धि, सिर्जना, सहकार्य वा अभिवृद्धि गर्दै जाने हो । यस्तो प्राचीन मानव सम्यता विकासमा नदीको ठूलो भूमिका भएको तथ्यहरू हाम्रोसामुन्ने विद्यमान छन् । जस्तै ः नाइल नदीद्वारा विकसित मिश्रको सभ्यता, यलो नदीले विकसित गरेको चीनको सभ्यता, युफ्रेटस र टिग्रिस नदीले बनाएको मेसोपोटासियाको सभ्यता, सिन्ध नदीले बनाएको भारतीय सभ्यता नदी । यसैगरी संसारका कैयौँ महŒवपूर्ण सहरहरू नदीकिनारामा अवस्थित छन् । जस्तै ः अस्ट्रियाको भियना (डेन्युब नदी), इराकको बग्दाद (टिग्रिस), इटालीको रोम (टिवर), रूसको मस्को (मस्कभर), जर्मनीको कोलन (राइन), इजिप्टको अलिकाइरो (नाइल), चीनको सङ्घाई (याङ्त्जी), भारतको नयाँदिल्ली (यमुना) अस्टे«लियाको सिड्नी (डारलिङ्ग) आदि ।
नेपालमा पनि ठूला साना नदीकिनारामा पहाड, भित्री मधेस र तराईका क्षेत्रहरूमा अनगिन्ती बस्ती तथा सहरहरू रहेका छन् । नदीकिनारामा रहेका केही नेपाली बस्तीहरूमा सिञ्जा नदी (सिञ्जा उपत्यका, जुम्ला), बबई (बर्दिया), रोहिणी (कपिलवस्तु÷रूपन्देही), तिनाउ (बुटवल), मादी (दमौली), त्रिशूली (देवीघाट), नारायणी÷सप्तगण्डकी (चितवन), बागमती (काठमाडौँ, ललितपुर), सुनसरी (इनरुवा) आदि ।
यस प्रसङ्गमा सुनसरी नदीको सभ्यतालाई यहाँ जोड्ने प्रयास गरिएको छ । सुनसरी नदीले आफ्नो बहाव क्षेत्रमा भौगोलिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक प्रभाव पारेको छ । यस क्षेत्रको कृषि, पशुपालन, माछापालन तथा यातायातमा सुनसरी नदीको महŒवपूर्ण भूमिका छ । यो भद्र नदीले आसपासमा कसैलाई हानि नगरीकन सुन्दर र हरियाली धर्तीलाई पोषण दिएको छ । जसको आधारमा सुनसरी नदीको सभ्यता विकसित भएको छ । सहरीकरणको वृद्धि तथा संसारकै हावापानी परिवर्तनले ‘सुनसरी नदी सभ्यता’ लाई कुअसर नपार्न सुनसरी नदी क्षेत्रवासी समयमा सजग भई नदी र यसले दिएका फाइदालाई संरक्षण गर्दै उपयोग गर्नका लागि सङ्गठित रूपमा लाग्नुपर्ने देखिन्छ ।
अब समस्त सुनसरी नदी क्षेत्रवासीले यसको उपयोग र संरक्षणबारे तत्काल सोच्नुपर्ने मात्र होइन, गरेर देखाउने बेला आएको छ । सुनसरी नदीको उत्पत्ति तथा बहाव भएको र आसपासको क्षेत्रदेखि नेपालमा बग्ने भाग र भारत भएर बग्ने भागलाई समेत ध्यान दिएर संरक्षण गर्नुपर्छ । नदीकिनारमा व्यापक वृक्षरोपण गर्ने, माटो कटान रोक्ने निश्चित योजनासिहत काम गर्नुपर्छ । यसैगरी, नदीआसपासमा कुनै पनि फोहोर (जस्तै ः दिसा, पिसाब, मृत जीव, प्लास्टिक, औषधि आदि) नफ्याँक्ने तथा नदी हिँडेको भू–भागबाट माटो, बालुवा नझिक्ने र जमिन अतिक्रमण गर्ने कार्यलाई तत्काल रोक्नुपर्छ । नदी समाप्त हुन नदिन पानीको पुनःउपयोग, कृषिमा आधुनिकीकरण, पिउने÷प्रयोग गरिने पानीमा मितव्ययिता हुन जरुरी छ ।
यसैगरी, नदीको दायाँबायाँ भागमा उत्पत्ति थलोबाट सिमानासम्म साइकल मार्ग÷पैदलयात्री मार्ग विकसित गर्ने, वृक्षरोपण तथा फलफूल रोप्ने, विश्रामस्थल निर्माण गर्ने, पानी पिउनयोग्य बनाउने, पिकनिक थलोहरूको विकास गर्ने, डुङ्गा चलाएर मनोरञ्जन गर्ने र नेपाल तथा भारतको ‘मनमोहक सुन्दर पर्यटकीय नदी’ को नमुनाका रूपमा विकसित गर्न पहल गर्नुपर्छ । यी सबै कार्यहरूका साथ अन्य सिर्जनशील कार्यहरूका लागि यो नदी हिँडेका सम्पूर्ण गाउँ÷नगरपालिकाले अनिवार्य रूपमा सङ्गठित भई आर्थिक तथा भावनात्मक सहकार्य गरी ‘सुनसरी नदी सभ्यता’ लाई जीवन्त, उपयोगी र विकसित बनाई भावी सन्ततिहरू समेतलाई सुमार्गतर्फ लगाउनुपर्छ । यही नै सुनसरी नदी सभ्यताको दर्शन हो, जसबाट अनेकन यस्तै नदीहरूको सभ्यता विकास गर्न सम्भव छ ।
नेपालमा बग्ने कैयौँ नदीहरूले नदी सभ्यताको दर्शनमा आधारित भएर ती क्षेत्रहरूको उत्पादन तथा उपयोगिता वृृद्धि गर्दै सम्पन्नताको मागतर्फ लाग्न निर्देशित गर्छ । हाम्रा नदीहरूको उचित उपयोग र व्यवस्था गर्न नसकेमा छिट्टै नै नदीबाट प्राप्त हुने सुविधाहरू समाप्तमात्र हुने होइन कि यिनीहरू नदीको विश्रामस्थल (समुद्र) सम्म नपुग्दै कुलषित÷दूषित हुँदै समाप्त पनि हुन सक्छन् ।
कुनै बेला स्वच्छ, सफा भएर कलकल बग्ने बागमती बढ्दो जनसङ्ख्या वृद्धिसँगै प्रदूषित हुन पुग्यो । कुनै बेला खानेपानीको स्रोत बनेको बागमतीमा अहिले मानिस फोहोरका कारण डुबुल्की लगाउन गाह्रो मान्छन् । बागमतीमात्र होइन, देशका विभिन्न भागमा रहेका नदीहरूको उचित संरक्षण गर्न नसक्दा त्यसबाट लिने फाइदाबाट हामी वञ्चित भएका छौँ । नदीलाई दूषित बनाएको हामीले नै हो र यसलाई सफा बनाएर त्यसबाट भरपूर फाइदा हामीले नै लिन सक्छौँ । यसका लागि विभिन्न तह–तप्काबाट अभियान नै सुरु गर्नुपर्छ । विक्रम संवत् २०७० जेठमा काठमाडौँबाट बागमती सफाई महाअभियान सुरु भएपछि उपत्यकालगायत देशभर सफाइमा जागरण फैलिएको छ । हाल देशभर १०५ भन्दा बढी स्थानमा स्वस्फूर्त रूपमा सफाइ भइरहेको छ । देश सङ्घीयतामा गइसकेको अवस्थामा तीनै तहको सरकारले यस अभियानमा सक्रिय भएर लाग्नुपर्छ र सर्वसाधारणलाई यसमा लाग्न प्रोत्साहित गर्नुपर्छ ।
वास्तवमा नदी जीवहरूको जीवन धान्ने र निरन्तता दिने प्राकृतिक सिर्जना हो । सुनसरी नदीले पनि यस क्षेत्रमा कृषि, सिँचाइ, जीवजन्तु आश्रम, यातायात, मनोरञ्जन, उद्योगधन्दाको विकासमा योगदान पु¥याएको छ । यसैगरी, विकार वस्तु घुलनशील बनाई कम विषालु बनाउने, भौगोलिक सिमाना आदिका रूपमा प्रहस्त योगदान दिएको छ । यसलाई विशिष्टीकरण गरी अझ उपयोगी तथा सभ्यता टिकाउ बनाउन सम्पूर्ण नदी क्षेत्रवासी लाग्न जरुरी छ । ‘नदी सभ्यता’ एक अविच्छिन्न, स्वफूर्त सर्वसहभागितामा आधारित निरन्तर चलिरहने सिर्जनात्मक नदी उपयोग र संरक्षण अभियान हो, जसले नदी सभ्यतालाई पनि मार्गदर्शन प्रदान गर्छ ।
(लेखक बाल तथा बाल मुटुरोग विशेषज्ञ तथा सामाजिक अभियन्ता हुनुहुन्छ ।)