logo
२०८१ मंसिर १० सोमवार



गुह्येश्वरीको जात्रा

विचार/दृष्टिकोण |




प्रेममान डङ्गोल ‘कल्याणमित्र’

हरेक वर्ष मार्गकृष्ण दशमीका दिन काठमाडौँ उपत्यकाका शक्तिपीठमध्ये एक गुह्येश्वरीमा जात्रा गरिन्छ । बौद्ध र हिन्दूहरूले समान रूपमा गृह्येश्वरीदेवीलाई मान्दै आएका छन् । बौद्धमार्गीले गुह्येश्वरीलाई नैरात्मा देवी र हिन्दूहरूले निरञ्जन निराकारका रूपमा पुज्दै आएका छन् । बौद्धमार्गीले मान्दै आएका चार योगिनीमध्ये एक योगिनी हुन्– गुह्येश्वरी देवी ।
कुनै समय नेपाल मण्डलमा तेल बेच्दै आइरहेको एकजना साल्मीले जङ्गलको बाटोमा गुह्येश्वरी देवी भेटेछन् । यही भेटका कारण गुह्येश्वरी देवीलाई साल्मी मानन्धरहरूले आदरसाथ मान्ने गरेका हुन् । साल्मीहरू त्यसमा पनि झोछें र वसन्तपुरका माक परिवारका साल्मीहरूले गुह्येश्वरी देवीलाई विभिन्न किसिमका आभूषण चढाइराखेका रहेछन् । त्यसैले अहिलेसम्म पनि मार्गकृष्ण दशमीका दिन गुह्येश्वरी देवीस्थानमा गहना विचार गर्न जाने भन्दै पूजा गर्न जाने र भोज खाने चलन छ । यही दिन नै नौवटा टोलका न्हयसः सायमी अर्थात् सात सय साल्मीहरूले धाः बाजा बजाउँदै गुह्येश्वरी देवीको दशमी पूजा पनि गर्छन् ।
बागमती नदी नजिकै गुहेश्वरीको मन्दिर छ । मन्दिरको चारैतिर कलश कुँदिएका चाँदीका ढोका छन् भने दायाँबायाँ शिलाका सिंह पनि राखिएका छन् । यी देवीको मन्दिरमा गजुर छैन तर मन्दिरको चारैतिरको माथिल्लो कुनाबाट सुन लेपन गरिएका नागले ओढाइएको छ । मन्दिरभित्र गर्भगृहमा गोलाकार पातोमा आठवटा पात भएको सुनको कमलको फूल देखिन्छ भने बीचमा सुनको कलश राखिएको छ । यही कलशलाई गुह्येश्वरी देवीको रूपमा पुज्दै कलशमुनि रहेको कुण्डको पानीमा उसिनेको अण्डा सगुनसहित माछा र रक्सी, जाँड पनि चढाउने गरिन्छ । त्यस कुण्डबाट जल लिने क्रममा कुण्डमा चढाइराखेका अण्डा र माछा हातमा पर्न आयो भने भाग्यमानी भइन्छ, धनसम्पत्ति, ऐश्वर्य प्राप्त हुन्छ भन्ने जनविश्वास रही आएको छ । यस कुण्डमा पानी सुक्दै गयो भने देशमा अनिकाल हुन्छ भन्ने मान्यता छ ।
गुह्येश्वरी मन्दिर बाहिर कछुवासहितको शिलास्तम्भमा कुँदिराखेको शिलापत्रमा राजा प्रताप मल्लले ने.सं. ७७४ वैशाख शुक्ल एकादशीका दिन गुह्येश्वरीको मन्दिर निर्माण गरी गणेश र भैरवको मूर्ति पनि स्थापना गरिराखेको उल्लेख छ । त्यस्तै इतिहासमा उल्लेख भए अनुसार काठमाडौँका पछिल्ला मल्ल राजा जयप्रकाश मल्ललाई रानी दयावतीले षड्यन्त्र गरी निकालिदिएको समयमा केही दिन गुह्येश्वरी देवीको मन्दिरमा बास बसेका रहेछन् । राजा जयप्रकाश मल्ल अति नै दुःखी भई भक्तिभावले गुह्येश्वरी देवीको सेवा गरिरहे । गुह्येश्वरी देवीले राजा जयप्रकाशको भक्तिभावबाट प्रसन्न भई खड्गसिद्धि दिनुभई राजालाई शक्तिशाली बनाइदिनुभयो । अनि राजा जयप्रकाशले आफूलाई पक्रन आएका सैनिकहरूलाई हातमा लिई आफ्नो देशमा पुनः राज्य गर्न सफल भएका हुन् भनिन्छ ।
श्री स्वस्थानीको कथामा उल्लेख भएअनुसार दक्ष प्रजापतिले गरेको अश्वमेध यज्ञमा छोरी सतीदेवी र ज्वाइँ महादेवलाई नबोलाइएको रहेछ । सतीदेवीले आफू र महादेवलाई मात्र नबोलाई सबै देवीदेवता बोलाइएको कुरा नारदबाट थाहा पाई महादेवले रोक्दारोक्दै पनि सतीदेवी माइतीमा यज्ञ गरिरहेको स्थानमा जान्छिन् । सतीदेवीले हामीलाई मात्र किन नबोलाउनु भएको भनी सोध्दा पिता दक्ष प्रजापतिले महादेवको अपमान गर्ने क्रममा हेर्दै बौलाहा जस्ता, भूत, प्रेत, पिशाच, नन्दी, भृङ्गी अघि पछि लगाएर हिँड्ने, गाँजाभाङ खाएर हिँड्ने घीनलाग्दो भएकाले नबोलाएको हो भनी घोर अपमान गरेको सहन नसकी सतीदेवी यज्ञकुण्डमा फाल हालेर मर्छिन् । सतीदेवी मरेपछि महादेव बहुलाजस्तै भएर सतीदेवीको मृत शरीरलाई बोकेर जताततै हिँडिरहँदा सतीदेवीको गुह्य अङ्ग पतन भएको स्थानमा गुह्येश्वरीको पीठ उत्पन्न भएको हो ।
श्रीस्वयम्भू महापुराणको शान्ततीर्थ माहात्म्यका अनुसार पार्वतीसँग विवाह गरिसकेपछि पनि महादेवले जहिले पनि गाँजा, भाङ खाएर जथाभावी गर्दै हिँड्ने गाँजाको सुरमा नाच्दै हिँड्ने गरेर हैरान पारेकाले एकदिन पार्वतीले महादेवलाई यस्तो गर्नुभएन भनी बिन्तीभाउ गरी सम्झाइबुझाइ गर्दा उल्टै महादेव रिसाएर घरबाट निस्किदिन्छन् । पार्वतीले पनि के गरुँ के गरुँ भई दिक्क भएर शान्त तीर्थमा गई बालुवाको चैत्य बनाएर अमोघ पाश लोकेश्वरको व्रत बसी गुह्येश्वरी देवीको सेवा गरेर बसिदिन्छन् । केही दिनपछि गुह्येश्वरी देवी प्रसन्न भई पार्वतीलाई कसैले नदेख्ने गरी रक्षा गरी राख्छिन् । अनि पार्वती कहाँ छिन् भन्ने कुरा कसैलाई थाहा हुन सकेन । उता, महादेव गणेश र महादेवका गणहरूले पार्वतीलाई खोज्न थाल्छन् । कतै पनि नभेटिएपछि महादेव पनि शङ्खमूलमा गई तपस्या गर्न थाल्छन् । गुह्येश्वरीले ६ वर्षपछि महादेवका एकजना गणलाई दर्शन दिन्छिन् । यो कुरा थाहा पाई महादेवले शान्ततीर्थमा गई पार्वतीलाई खोज्न थाल्छन् । जति खोजे पनि पार्वतीलाई फेला पार्न नसकेपछि अन्त्यमा गुह्येश्वरी देवीलाई नै स्तुति गर्दै बिन्ती गर्छन् ।
गुह्येश्वरी देवी प्रसन्न भई दाहिने हाततर्फ एक हजार महादेव र देब्रे हाततर्फ एक हजार पार्वती राखी शिव रूपको दर्शन दिँदै भन्नुहुन्छ “हे महादेव ! तिम्री पार्वती कुन हुन् लैजानु ।” महादेवले आफ्नी पार्वती कुन हुन् चिन्न सक्दैनन् । अनि महादेवले तपाईंले कुन दिनुहुन्छ त्यही लान्छु भन्छन् । गुह्येश्वरीले पनि आइन्दा पार्वतीलाई हेलाँ गर्दिनँ भनी सत्यवाचा गर्न लगाई महादेवलाई पार्वती सुम्पिदिन्छिन् । महादेव र पार्वतीले पनि गुह्येश्वरी देवीलाई वन्दना गरी कैलाशमा फर्केर जान्छन् । महादेव पार्वती यसरी गुह्येवरी देवीका सामु भेटघाट भएकाले उमा महेश्वरका नामले प्रसिद्ध भएका हुन् भनिन्छ ।
गुह्येश्वरी देवीको पूजा गर्दा समयबजीका साथै उसिनेको अण्डाको सगुन र जाँडरक्सी नभई हुन्न । गुह्येश्वरी देवीलाई जाँड रक्सीले पूजा गरी नेवार भक्तजनले भोज खाइरहेको देखेपछि राणा प्रधानमन्त्री चन्द्रशम्शेरले जाँड रक्सीमा प्रतिबन्ध लगाइदिए ।
चन्द्र शम्शेरले जनताको स्वास्थ्यमा नराम्रो असर पार्छ भनी जाँडरक्सीमा प्रतिबन्ध लगाएकाले देशभर जति पनि देवीदेवता छन् सबै देवतालाई जाँडरक्सी चढाउन पाइएन । नेवारी चाडपर्व र जात्रामा पनि नेवारहरूले खाँदै आएको जाँडरक्सी खान पाएनन् । यस्तो अवस्थामा गुह्येश्वरी देवीलाई पठाइएको दरबारी पूजामा पनि १०८ वटा अण्डाको सगुन मात्र दिई पूजा गर्दा गुह्येश्वरी कुण्डमा एउटा पनि अण्डा तल गएन । यसरी अण्डा कुण्डभित्र नगएकाले त्यहाँ सबैले आश्चर्य माने । यही समयमा त्यहाँ देवीलाई पूजा गर्न आएकी एउटी बूढी नेवार्नीले पटुकामा घुसाई ल्याएको रक्सी अलिकति खन्याइदिने बित्तिकै सबै १०८ वटा अण्डा कुण्डमा तल गए । यसरी एक किसिमले चमत्कार जस्तै भएको कुरा थाहा पाएर चन्द्रशम्शेरले देवताको पूजामा र नेवारहरूको भोजमा प्रयोग गर्दै आएको जाँडरक्सीको प्रतिबन्ध फिर्ता लिएका थिए भनिन्छ ।
गुह्येश्वरी देवीको जात्रा गर्नुअघि मार्गकृष्ण अष्टमीका दिन ३२ हाते लिङ्गो ठड्याई पूजा
गरिन्छ । लिङ्गो ठड्याउन साइत हेर्नुपर्छ । लिङ्गो ठड्याउन चाहिने काठ समरजङ्ग कम्पनीका सिपाहीहरूले ल्याउँछन् । लिङ्गो ठड्याइसकेपछि मात्र गुह्येश्वरीको जात्रा सुरु गरिन्छ । नवमीका दिन जात्रा गर्ने क्रममा गुह्येश्वरीको खट जात्रा गरी हनुमानढोका दरबारको तलेजु भवानीलाई लिन
गइन्छ । तलेजु भवानीको मूर्ति छैन । मूर्तिको स्थानमा त्रिखुटी जस्तै र गोलाकार धातुको पातामा आठ पाता आकारको कमलको फूलमा भएको कलश नै तलेजु भवानी हुन् । यसरी हेर्दा गुह्येश्वरी र तलेजु भवानीको मू्र्ति एकै खालको देखिन्छ । त्यसैले गुह्येश्वरी देवी पनि तलेजु भवानीको रूप हो पनि
भनिन्छ । तलेजु भवानीलाई पनि खटमा राखी परम्परागत बाजा बजाई राजकीय सम्मानका साथ गुरुजुको पल्टनले तोप पड्काएर गुह्येश्वरी र तलेजु भवानीको खट जात्रा गरी देवपतन गुह्येश्वरीको मन्दिरमा पु¥याइन्छ । गुह्येश्वरी मन्दिरमा पुगेपछि मन्दिरभित्र तलेजु भवानीलाई राखिन्छ । राति तान्त्रिक विधिपूर्वक गुप्तीपूजा गरिन्छ । बोका बलि दिइन्छ । बोका बलि दिँदा गुह्येश्वरी र तलेजु भवानीलाई नदिई मन्दिरभित्रै रहेका भैरवलाई दिइन्छ । अनि त्यही बलि दिएको बोकाको प्रसाद गुह्येश्वरी र तलेजु भवानीलाई चढाइन्छ ।
मार्गकृष्ण दशमीका दिन गुह्येश्वरी देवीको मुख्य जात्रा गरिन्छ । गुह्येश्वरी देवी र तलेजु भवानीलाई दिउँसो गुठीको तर्फबाट विधिपूर्वक पूजा गरी हनुमानढोका दरबारमा लगिन्छ । देवीहरूको खट जात्रा गरेर लाने क्रममा गुरुजुको पल्टनले तोप पड्काउँछन् । गुह्येश्वरी र तलेजु भवानीको खट लानुअघि लिङ्गो ढालिन्छ । जात्रा गरेर लगेका खट हनुमानढोका दरबारमा पुगेपछि तलेजु भवानीलाई भिœयाइन्छ भने गुह्येश्वरीको खट जगन्नाथ देवल मन्दिरको पाटीमा राखिन्छ । भोलिपल्ट एकादशीका दिन बिहानै चसान टोलका साल्मीहरूले दाफा बाजा बजाई गुह्येश्वरी देवीको भजन गाइरहन्छन् । दिउँसो १२ बजेको समयमा देवीलाई माथि सवारी गराउने भनी गुह्येश्वरी देवीलाई तलेजु भवानीको मन्दिरमा स्वागत गरी भिœयाएपछि गुुह्येश्वरी देवीको जात्रा सकिन्छ ।

(लेखक स्वतन्त्र पत्रकार हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?