logo
२०८१ मंसिर १० सोमवार



विश्वविद्यालय नेतृत्वका चुनौती

विचार/दृष्टिकोण |




डा. लक्ष्मणसिंह कुँवर

वि.सं. २०१६ मा स्थापित त्रिभुवन विश्वविद्यालय नेपालको पहिलो उच्च शिक्षाको धरोहर हो । यसका मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन, शिक्षा र कानुन गरी चार सङ्काय तथा मेडिसिन, इन्जिनियरिङ, वन, कृषि तथा पशुविज्ञान, विज्ञान र प्रविधि गरी पाँच प्राविधिक संस्थानले जनशक्ति उत्पादनमा महìवपूर्ण भूमिका खेल्दै आएका छन् । विश्वविद्यालयको बनावट, विद्यार्थी सङ्ख्या र कार्यरत जनशक्तिको आधारमा यस विश्वविद्यालयसँग तुलना गर्न सकिने विश्वविद्यालयहरू विश्वमा छैनन् । त्यसैले यस विश्वविद्यालयको बनावट र छवि राष्ट्रियस्तरमा मात्र नभई क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा समेत विशिष्ट प्रकारको देखिन्छ ।
छ लाखभन्दा बढी विद्यार्थी, ६३ वटा आङ्गिक क्याम्पस र यिनमा कार्यरत १५ हजारभन्दा बढी शिक्षक तथा कर्मचारी, झण्डै एघार सय सम्बन्धनप्राप्त क्याम्पस, अधिकांश परम्परागत भौतिक संरचनामा हुने अध्ययन–अध्यापन, राजनीति भागबण्डा र प्राज्ञिकतालाई दलगत र गुटगत राजनीतिले थिलथिलो पारेको अवस्था, विकट भौगोलिक क्षेत्रमा समेत उपस्थिति देखाउँदै उच्च शिक्षामा ८० प्रतिशतभन्दा बढी विद्यार्थीको बोझ थेग्दै आउनु त्रि.वि.का पहिचान हुन् । यही पहिचानको जगमा रहेर त्रिभुवन विश्वविद्यालय नेतृत्वले भावी कार्यदिशा कोर्नुपर्ने अवस्था छ ।
लामो अनुभवका आधारमा अध्ययन, अध्यापन र अनुसन्धानमा गुणस्तरीयता अभिवृद्धि गर्दै जानुपर्ने त्रिभुवन विश्वविद्यालयले छवि क्रमशः गुमाउँदो छ । यसको जिम्मेवारी त्रि.वि सम्बद्ध सबै सरोकारवालाले लिनैपर्छ र आ–आफ्नो क्षेत्रबाट सकारात्मक पहल गरी विश्वविद्यालयको छविमा सुधार ल्याउनु छ । आज विश्वविद्यालयहरू मात्र होइनन्, देशको समग्र शैक्षिक जगत् चौबाटोमा उभिएर सही गन्तव्यको खोजीमा रहेको यात्री जस्तो भएको छ ।
यस अवस्थामा दुई महिनाभन्दा बढी समयको अन्तरालमा त्रि.विले उपकुलपतिको रूपमा प्रा.डा. धर्मकान्त बाँस्कोटालाई पाएको छ । बाँकी विश्वविद्यालय हालसम्म कामचलाउ नेतृत्ववाट नै चल्दैछन् । नियुक्तिका लागि यति बढी समय लाग्नुमा विश्वविद्यालयमा थुप्रिएका विविध समस्याको हल गर्दै राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा विश्वविद्यालयको छवि उकास्न सक्ने व्यक्तित्वको खोजीको कारण नै हुन सक्छ । त्यसैले वर्तमान त्रि.वि उपकुलपतिबाट विश्वविद्यालयको सुधारको अपेक्षा धेरैले गर्नु स्वाभाविक छ । त्रि.वि.का विद्यमान चुनौतीलाई सहीरूपले अवसरमा बदल्न सकेमा मात्र वर्तमान नेतृत्वको सफलता मानिनेमा दुईमत छ्रैन ।
विद्यमान समस्याको सही पहिचान गरी अवलम्बन गरिने समाधानका विधिहरूले मात्र क्रमशः त्रि.वि.लगायत देशको शैक्षिक क्षेत्रको उन्नयन हुने हो । हाम्रो सन्दर्भमा राजनीति र शिक्षा क्षेत्रबीच हुनुपर्ने सम्बन्ध र दूरीको सही आँकलन गर्न सकिएको छैन । नियमित अध्ययन र अनुसन्धानका साथ उत्पन्न भएका समस्याको पहिचान र तिनको समाधानका उपाय दिनुपर्ने मात्र नभएर सबै विधामा नयाँ–नयाँ तथ्यसहितको निष्कर्ष निकाल्ने ज्ञानको स्रोत विश्वविद्यालयहरू नै हुन् । तर आवश्यकताभन्दा अत्यधिक दलीय राजनीति र भागबण्डाको शिकार हुँदै आए । जसले प्राज्ञिकतालाई तुलनात्मकरूपमा ओझेलमा र राजनीतिक क्रियाशीलताका आधारमा जिम्मेवारी दिने तथा लिने काम भए । त्रि.वि लगायत सबै विश्वविद्यालयको वर्तमान अवस्था सिर्जना हुनुको मूल कारक यही नै हो ।
विश्वविद्यालयको आवश्यकताभन्दा राजनीतिक दलका कार्यकर्ताको आवश्यताअनुरूप दरबन्दी तथा विभिन्न पद सिर्जित हँुदै आएका छन् । पटक–पटक हुने गरेका तालाबन्दी र हडताल मूलतः यसैका परिणाम हुन् । जसले विश्वविद्यालयको आवश्यकता अनुरूप क्षमतावान मानव स्रोतको व्यवस्थापन र परिचालनमा प्रतिकूल प्रभाव पार्दै आएको छ । यसको समयमै उचित समाधान नहुने हो भने संस्थाले गति लिन सक्नेछैन । विषयगत र प्रशासनिक आवश्यकताका आधारमा कुशलतापूर्वक गरिने मानवस्रोत व्यवस्थापन र परिचालनले मात्र विश्वविद्यालयको उन्नयन सम्भव हुने हो । कुन वर्ष कुन–कुन विषयमा कति जनशक्ति अवकाश हुँदैछन् ? तिनको क्षमता र बौद्धिकता के कस्तो अवस्थामा छन् वा थिए ? ती अनुभव, बौद्धिकता र क्षमतालाई क्रमशः नयाँ पुस्तालाई सिकाउन वा हस्तान्तरण गर्ने संस्कार, संस्कृति र संयन्त्रको विकास हालसम्म भएको छैन । यसले गर्दा संस्थागत ज्ञान र अनुभवले निरन्तरता पाएको छैन ।
विश्वविद्यालयहरूमा नेपालको मौलिक पहिचान दिने विषय इतिहास, भूगोल र संस्कृतिलगायतका विषय ओझेलमा परेका छन् । यी विषयमा अझ बढी अध्ययन र अनुसन्धान गरी विषयहरूको उत्थान नगर्ने हो भने नेपाल र नेपालीको मौलिकतामा क्रमशः ह्रास आउनेमा दुईमत छैन । यी विषयको उत्थान गर्ने दायित्व त्रि.वि.लगायतका विश्वविद्यालयको नै हो । त्रि.वि.मा सूचना प्रविधिको प्रयोग अध्ययन–अध्यापनमा ज्यादै न्यून देखिन्छ । विद्यमान परम्परागत भौतिक संरचना मात्र नभई शिक्षक तथा कर्मचारीमा सूचना प्रविधि ज्ञानको अभाव नहुनाले यसो भएको हो । जसले गर्दा अध्ययन अध्यापनमा समय अनुकूल गुणस्तरीयता वृद्धि गर्न समस्या भएको छ ।
विषयगत रूपमा अन्तर्राष्ट्रिय स्तरमा शैक्षिक श्रेष्ठता कायम राख्नु जुनसुकै विश्वविद्यालयको पनि पहिलो लक्ष्य हो । जसका लागि समय अनुकूलका पाठ्य सामग्री तथा शिक्षण तथा सिकाइ प्रक्रिया, उत्पन्न समस्या समाधानार्ध गहन अध्ययन–अनुसन्धान आवश्यक छ । देश सञ्चालन र समृद्धि प्राप्तिका लागि तर्जुमा गर्नुपर्ने, ऐन, कानुन नीति, नियमका लागि आवश्यक पर्ने अध्ययन र अनुसन्धानको केन्द्र पनि विश्वविद्यालय नै हुनुपर्छ । जसका लागि सरकार र विश्वविद्यालयबीच कार्ययोजनाका आधारमा सहयोग आदानप्रदानको समझदारीसमेत हुन आवश्यक छ । विश्वविद्यालयका यिनै क्रियाकलापले नै तिनको शैक्षिक श्रेष्ठताको तह निर्धारण हुने हो । तर विडम्बना, हामीकहाँ आजसम्म यो वातावरण सिर्जना गर्न कसैको पहल भएको पाइँदैन । बरु उल्टै त्रि.वि.मा स्थापना भएका अनुसन्धान केन्द्रहरू (सेडा, सिनास, रिकाष्ट र सेरिड) क्रमशः धराशायी बनाइए ।
आज त्रि.वि.लगायत सबै विश्वविद्यालयको अवस्था र छवि बिग्रँदो छ । तथापि शैक्षिक श्रेष्ठता हासिल गर्न भरपर्दा कार्ययोजनाका साथ त्रि.वि..लगायत सबै विश्वविद्यालयका नेतृत्व लागिपर्नु आवश्यक छ । नेपाल सरकार र राजनीतिक दलहरूले पनि सही अर्थमा विश्वविद्यालयलाई शैक्षिक केन्द्रित भूमिकाका लागि आवश्यक वातावरण तयार गरी सहयोग गर्नु आवश्यक छ । प्राध्यापक, कर्मचारी र विद्यार्थी सबैले शिक्षाको महìव बुझी सही अर्थमा विश्वविद्यालयको उद्देश्य र सो प्राप्तिका लागि गर्नुपर्ने क्रियाकलाप र यसको भूमिकालाई अभिवृद्धि गर्न प्राथमिकतासाथ लाग्नुपर्ने अवस्था छ । विश्वविद्यालयहरूको शैक्षिक श्रेष्ठता उन्मुख हुन चाहिने यो नै पहिलो शर्त हो । किनकि विश्वविद्यालयको आन्तरिक वातावरणले नै ती संस्थाको बाह्य छवि निर्धारण हुने हो । कुनै पनि देशले सरकार र विश्वविद्यालयको सघन सहकार्य विना विकास र समृद्धि हासिल गरेको उदाहरण छैन ।
त्रि.वि.लगायत देशका सबै विश्वविद्यालयले शैक्षिक श्रेष्ठता हासिल गर्न माथि उल्लेख गरिएका र अन्य समस्या यथासक्य पहिचान गरी प्राथमिकताका आधारमा क्रमशः समाधान गर्नुपर्छ । नत्र ओरालोतर्फको गति झनै बढ्ने निश्चित छ । तसर्थ त्रि.वि.का नयाँ उपकुलपति (नेतृत्व) ले विश्वविद्यालयको शैक्षिक श्रेष्ठताका लागि देखापरेका समस्याको गहन अध्ययन र विश्लेषण गरी प्राथमिकताका साथ न्यूनीकरण गरेमा मात्र त्रि.वि.को बिग्रँदो छविमा सुधार आई शैक्षिक श्रेष्ठता प्राप्तिको आधार सिर्जना हुनसक्छ ।
त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले पदबहालीको क्रममा विश्वविद्यालयको छवि उकास्ने प्रतिबद्धता गर्नुभएको छ । यो प्रतिबद्धतामा सबैको साथ आवश्यक छ । विगतमा देशको प्रशासन र विकास निर्माणका लागि त्रि.वि.ले उत्पादन गरेको जनशक्तिको भूमिका कम महìवको छैन । थुप्रै सकारात्मक योगदान हुँदाहुदै विश्वविद्यालयमा प्राज्ञिक क्रियाकलाप ओझेलमा परे । आगामी दिनमा त्रि.वि.लगायतका सबै विश्वविद्यालयमा देखिएका विकृतिको अन्त्य गर्दै छवि उकास्नुको विकल्प छैन ।

(लेखक त्रि.वि., पाटन संयुक्त क्याम्पसका सहप्राध्यापक हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?