logo
२०८१ मंसिर १० सोमवार



पर्यटन वर्षमा पूर्वाधार

विचार/दृष्टिकोण |





डा. सुरेश आचार्य

मुलुक सन् २०२० को सङ्घारमा छ । नेपाल सरकारले यो वर्षलाई फेरि एकपटक पर्यटन वर्ष मनाउने घोषणा गरिसकेको छ । युवा पर्यटनमन्त्री अहिले पनि धेरै नेपालीको आशाको केन्द्रमा हुनुहुन्छ । अन्तर्राष्ट्रिय रूपमा कति देशका पर्यटनप्रेमी नागरिकले नेपालको यो सन्देश पाएका होलान्, थाहा छैन । तर, आमनेपाली नागरिकले पर्यटन वर्षमा घुम्नैपर्ने र छुटाउनै नहुने गन्तव्यका बारेमा कति थाहा पाएका छन् ? यो नै हाम्रा लागि चुनौतीको प्रश्न बनेको छ । मुलुकको नक्सा हेरेर केही धार्मिक, केही हिमशृङ्खला, केही पर्यावरणीय क्षेत्र वा केही ऐतिहासिक क्षेत्र निश्चय गर्न नसकिने होइन । केही समयपूर्व कतिपय पर्यटकीय गन्तव्य क्षेत्रको सूचीमा विभिन्न ठाउँ पारिएकोमा सामाजिक सञ्जालमा खुसी साटिएको देखिएको थियो पनि । तर, फेरि पनि अर्को अहम् प्रश्न बाँकी नै छ– के ती ठाउँमा पुग्न सहज छ ? के ती क्षेत्रमा पर्यटनका लागि सामान्य पूर्वाधार तय भएको छ ?
हामीले २०२० लाई पर्यटन वर्ष मनाउने घोषणा गर्दै गर्दा यी प्रश्नहरूका उत्तर नागरिकले पाइसक्नुपथ्र्यो । किनकि नयाँ आएका पर्यटनमन्त्रीले जादुको छडी घुमाएर यी पूर्वाधार तयार गर्न सम्भव छैन । जति तयार भएका पूर्वाधार छन्, तिनको अवस्थामा सुधार ल्याएर पर्यटकलाई तनावमुक्त र आनन्दमय बनाउन कोसिस गर्नुको यतिबेला अर्को विकल्प छैन । कम्तीमा यो बाटोमा अगाडि बढ्न सकियो भने पर्यटन वर्षले थोरै भए पनि सार्थकता पाउने अपेक्षा गर्न सकिन्छ ।
नेपालको विकासका दुई आधार पर्यटन र जलस्रोत मानिँदै आएको छ । गएको हप्ता नेपालमा ऊर्जा सम्मेलन भएको छ र बङ्गलादेशले नेपालको बिजुली किन्न सक्ने सम्भावना बताएर नेपाललाई केही उत्साही बनाएको छ । यसका लागि आवश्यक पर्ने पूर्वाधार तयारीमा भारतसँग सहकार्य प्रारम्भ भइसकेको जानकारी पनि उसले दिएको छ । यो एउटा पाटो भयो । पर्यटन विकासका लागि सन् २००० को दशकदेखि नै पर्याप्त प्रयास हँुदै आएको छ । केही वर्ष बिराएर पर्यटन वर्ष मनाउने र स्थानीय तहमा समेत बाह्य र आन्तरिक पर्यटन प्रवद्र्धनका लागि प्रयास हँुदै आएका छन् । यसकै निरन्तरतास्वरूप २०२० नेपाल भ्रमण वर्ष घोषणा भएको हो ।
नेपालमा पर्यटनको प्रचुर सम्भावना यसको भौगोलिक बनोट, नदीनाला, तालतलैया, वन–जङ्गल, ऐतिहासिक धार्मिक स्थलका कारण पनि देखिएको हो । विभिन्न अध्येताहरूले नेपालको पर्यटनलाई यसबाहेक धार्मिक तथा साँस्कृतिक पर्यटन, फुर्सदमा मनलाई आनन्दित बनाउने सुन्दर दृश्यावलोकन र व्यापारिक पर्यटनका रूपमा पनि वर्गीकरण गर्ने गरेका छन् । मूलतः साहसिक र रोमाञ्चक पर्यटनमा नै विदेशी पर्यटकको रुचि देखिने गरेको छ । त्यसबाहेक छिमेकी मुलुक भारत र चीनका नागरिक भने धार्मिक तथा साँस्कृतिक पर्यटनमा आउने गरेको पाइन्छ । सन् २००० मा साढे चार लाखभन्दा केही बढी सङ्ख्यामा नेपालमा पर्यटक भित्रिएकोमा २०१५ वर्षसम्म पनि त्यो सङ्ख्या दोब्बर हुन सकेको छैन ।
सन् २०१२ मा आठ लाखभन्दा केही बढी पर्यटकले नेपालको विचरण गरे पनि त्यो सङ्ख्या कुनै वर्ष हाराहारी त कहिले घट्दोक्रममा देखापर्ने गरेको छ । उनीहरूको नेपाल बसाइको अवधि बढाउन हामीले या प्रयास नै गरेनौँ, या त यो प्रयास निरर्थक रहेको छ । किनकि १५ वर्षको अवधिमा विदेशी पर्यटकको नेपाल बसाइ १२ दिनकै हाराहारीमा छ । यी आँकडा हेर्दा सन् २०२० मा २० लाख नै पर्यटक भिœयाउने लक्ष्य सहज देखिँदैन ।
यहाँ चर्चा गर्न खोजिएकोचाहिँ आन्तरिक पर्यटनको सन्दर्भ हो । नेपालको यो प्रयासमा नेपाली नागरिकले भने निकै साथ दिँदै आएका देखिन्छन् । नेपालीको जीवनस्तरमा उल्लेख्य सुधार भएको देखिँदैन । तापनि आन्तरिक पर्यटनमा निस्कने नेपालीको सङ्ख्या हरेक वर्ष बढ्दो छ । फुर्सद निकालेर आन्तरिक पर्यटनमा निस्किएका नेपालीका लागि आन्तरिक पर्यटन सहज र सुलभ भने छैन । गाडीको यात्रा सबैभन्दा कष्टकर छ । सार्वजनिक गाडीमा यात्रा गरेर कुनै पनि पर्यटकीय क्षेत्रमा पुग्न सहज छैन । गाडी रिजर्भ गरेर गरिने यात्रा खर्चिलो भए पनि केही सहज भने हुन्छ । तर, सानो सडक र खाल्डाखुल्डीका कारण पर्यटन प्रवद्र्धनमा निस्किएको कुनै पनि नेपाली सकुशल घर फर्कने छ भनेर विश्वास गर्ने आधार छैन । कुनै बेला सडक भएर पनि गाडी सञ्चालकको दादागिरीले मुस्ताङ र मुक्तिनाथको यात्रा त्यति नै कष्टकर थियो, आज सडक पुगेर पनि मुगुको रारा यात्रा सडकको अवस्था त्यति नै जटिल रहेछ ।
कर्णालीको तीरैतीर गएको सडकमा पर्यटकले जुन आनन्द लिन सक्नुपर्ने हो, साँघुरो र खराब सडकका कारण कहालिनेहरू धेरै हुने गर्छन् । साँघुरो सडकमा चलेका भयङ्कर मालवाहक गाडी देखेपछि पालो कुरेर गर्नुपर्ने यात्राले निर्धारित स्थानमा पुग्ने कुराकै चिन्ता भइरहन्छ । आफ्नो मुलुकभित्र विनागाइड यात्रा गर्न सक्ने सामान्य सूचना पनि सडकमा पाइँदैनन् । कुन ठाउँपछि कुन ठाउँ पुगिने हो वा आफूले पुग्न चाहेको ठाउँ पुग्न अब कति टाढा छ भन्ने सामान्य सूचना पनि कतै कहीँ भेटिँदैन । अरू त अरू, रारा पुगिसकेपछि तालबारेमा सामान्य सूचना पाउन पनि कसलाई कहाँ सोध्ने भन्ने समस्या छ । गुगल सर्च गरेरमात्र सबै स्थानीय सूचना पाउन सम्भव छैन भन्ने सामान्य हेक्का राज्य पक्षले राखिदिने हो भने यो कुनै ठूलो कसरतको विषय नै होइन ।
रारा जाने चर्चामात्रै कतै चल्यो भने त्यसका लागि उत्साही नहुने को होला ? तर, सडक मार्गबाट रारा पुगेर फर्केको नागरिक को चाहिँ फेरि राराको यात्रा गर्न उत्साही होला ? पर्यटन वर्ष बनाइरहँदा यो प्रश्नको सकारात्मक जवाफका लागि राज्यले प्रयत्न गर्नुपर्ने देखिन्छ । २०७५ को नयाँ वर्ष प्रचण्ड बहुमतको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओली जुन उत्साहसाथ रारा पुगेर कर्णाली महोत्सवको उद्घाटन गर्नुभयो, उहाँको त्यो उत्साहमा साथ दिन जति नेपाली त्यहाँ पुग्ने अनुमान गरिएको थियो, उनीहरू किन पुगेनन् भनेर जवाफ खोजिएको भए आज यो प्रश्न उठ्ने थिएन होला । पूर्वाधारविना पर्यटन सम्भव छैन । र, अहिलेका लागि खाने र बस्नेभन्दा पनि सडकको अवस्थामा सुधार ल्याउने हो भने विदेशी त कति रारा पुग्लान्, थाहा छैन । किनकि पृथ्वीमै स्वर्गको अनुभूत गर्ने यो रमणीय स्थलका बारेमा उनीहरूमा कति खबर पुगेको होला तर नेपालीको सङ्ख्या कम्तीमा दोब्बर हुनेछ ।
सङ्घीयताले विकासमा गर्नुपर्ने सहजताको अनुभव प्रदेश सरकारले नगरिरहँदा वा स्थानीय तहले स्रोत–साधन जुटाउने चुनौतीका कारण अनाहक करहरू लगाउने बाध्यता सिर्जना हँुदै जाने हो भने विकासको गति र रूप के होला ? अहिले अनुमानमात्र गर्न सकिन्छ । तर, जहाँसम्म कर्णालीको सुन्दरतालाई चिहाउन पुग्नैपर्ने राराको कुरा हो, भत्किएका सडक टाल्न सङ्घीय सरकारको आदेश पर्खनुपर्ने वा आफ्नो अधिकार क्षेत्रमा रहेको धूलेसडकलाई ग्राभेल गर्न सङ्घीय सरकार अर्को वर्षको योजना पर्खेर बस्ने हो भने पर्यटन वर्ष कति सफल होला भनेर अनुमान गर्न कठिन छैन ।
रारा एउटा उदाहरणमात्रै हो । नेपालका पर्यटकीय क्षेत्र भनेर पहिचान भएका हरेक ठाउँमा सडक र यातायातको सुगमतालाई ध्यान दिन नसक्ने हो भने पूर्वको माइपोखरी पुग्ने जाँगर पनि मर्न सक्छ । इलामका चिया बगानप्रतिको सम्मोहन कम हुँदै जान सक्छ । सुन्दर मुलुकका सुन्दरतालाई नजिकबाट चिहाउन सुगम र सरल पूर्वाधार तयार गर्न धेरै ढिलो भइसकेको अनुभूत भएरमात्र पुग्दैन, तदनुरूपको कार्यकुशलता अपेक्षित छ ।

(लेखक नेपाल पत्रकार महासङ्घका पूर्वसभापति हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?