नेपालले पछिल्लो समय सामाजिक सुरक्षाको अवधारणालाई विभिन्न कोणबाट लागू गर्दै छ । यसै सिलसिलामा बालबालिकालाई बाध्यात्मक अवस्थामा सडकमा आएर सहयोगको याचना गर्नुपर्ने कारणको खोजी, निदान तथा उपचारमा ध्यान दिइएको छ । घर नै मानिसको भर हो । त्यहाँ नै मानिसले माया र सुरक्षा पाउने गर्छ । स्नेह र सुरक्षाकै कारण मानिसले यायावर जीवन परित्याग गर्दै स्थायी बसोबास गर्नेक्रममा घर बनाएका थिए । घरभित्र प्राप्त हुने ‘हामी’ को भावनाले पनि परिवार बनाएको हो तर त्यही घर र परिवार छाडेर किन बालबालिकालगायत जुनसुकै उमेरका व्यक्ति सडकमा आउने गर्छन् । यसको उत्तर सोझो छ– घर–घरजस्तो भएन, परिवार परिवारजस्तो भएन तर किन घर घरजस्तो भएन र परिवार परिवारजस्तो भएन भन्ने प्रश्नको उत्तर त्यति सहज छैन । भाग्यवादले यसलाई भाग्य वा अभाग्यसँग जोडेर व्याख्या गर्छ तर सामाजिक विज्ञानले यस्ता समस्याको सामाजिक कारण र परिणाम हुन्छ भन्दै समाधान खोज्छ । ‘बालबालिका सडकमा बस्नुपर्दैन, सडकमा बस्नुहुँदैन’ भन्ने अभियानका साथ सञ्चालन गरिएको उद्धारबाट कतिपय त्यस्ता बालबालिका परिवारमा पुनस्र्थापित भएका छन् भने एक हजार ११ जना सडक बालबालिकाले सुरक्षित आश्रय पाएका छन् । ‘सडक बालबालिका उद्धार, संरक्षण तथा व्यवस्थापन मार्गदर्शन–२०७२ अनुसार २०७३÷०७४ देखि काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लाका सडक बालबालिकालाई उद्धार गर्न थालिएपछि अहिले सडकमा सहयोगको याचना गर्ने बालबालिकाको सङ्ख्यामा व्यापक कमी आएको छ । यस्तो अभियान र पहलको निरन्तरताबाट नेपालका बालबालिका सडकमा माग्न आउने छैनन् । सुन्दर र समृद्ध नेपालका लागि यसो हुनु आवश्यक पनि छ ।
नेपालको संविधानले असहाय, अनाथ, अपाङ्गता भएका, द्वन्द्वपीडित, विस्थापित एवम् जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक प्रदान गरेको छ । यसैगरी, प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक पनि संविधानले दिएको छ । नेपालभित्र फेलापरेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमा फेलानपरेसम्म वंशजका आधारमा नेपालको नागरिक ठहर्ने संवैधानिक व्यवस्थाका कारण नेपालले यस्ता बालबालिकाको उद्धार तथा संरक्षणमा विशेष ध्यान दिनुपर्ने हुन्छ । नेपालले यस दिशामा पहल प्रारम्म गरिसकेको छ तर यस्तो बहुआयामी समस्याको समाधान एउटै पहल र उपचारबाट सम्भव नहुने भएकाले पहलको निरन्तरता अपेक्षित हुनेछ ।
सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा व्यापक गरिबी रहेको तथ्याङ्कले पुष्टि गर्दछन् तर माग्ने अवसरको खोजी गर्दै सहर पस्ने प्रवृत्तिका कारण सडक बालबालिकाको समस्या तुलनात्मक रूपमा सहरमा बढी फैलिएको पाइन्छ । सडक बालबालिका बन्नुपर्ने मुख्य कारण ग्रामीण विपन्नता भए पनि सहरमा त्यसको प्रभाव परिरहेको छ । अर्कोतिर सडकमा माग्न बस्नु बाध्यतामात्र नभएर प्रवृत्तिगत तथा मनोगत समस्या पनि हो । अल्पविकसित वा विकासोन्मुख मुलुकका मात्र नभएर धनी मुलुक वा परिवारका सदस्य पनि सडकमा आउने गरेको पाइन्छ । यसो हुनुमा खानबस्नको मात्र नभएर उनीहरूले चाहने अनियन्त्रित र स्वच्छन्द जीवन अर्को कारण हुन सक्ने भएकाले यस्ता समस्या समाधानमा बहुपक्षको समन्वयात्मक पहल जरुरी देखिन्छ । हाल सडक बालबालिकाको व्यवस्थापनमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बालअधिकार परिषद्, नेपाल प्रहरी र विभिन्न सङ्घ संस्था सक्रिय छन् तर परिवार र समाजका सदस्यलाई छुट्टै राखेर यस्तो समस्या समाधान गर्न सम्भव छैन । बालबालिका वा ज्येष्ठ नागरिक घरबाट परित्यक्त हुनुको पहिलो कारण परिवार नै भएकाले उपचार त्यहाँ पनि खोज्नुपर्छ । जसका लागि कानुुनी र नैतिकताजन्य प्रावधानले परिवारलाई समस्या समाधानमा जिम्मेवार बनाउन सकिन्छ भने राज्यले सामाजिक सुरक्षाको छाता अझ बढी फराकिलो बनाउनुपर्छ ।
हाल राजधानीकेन्द्रित रहेको सडक बालबालिका उद्धार कार्यक्रम विस्तार गरी देशभर बनाउनुपर्ने आवश्यकता प्रारम्भिक सफलताले पुष्टि गरेको छ । बालबालिकासम्बन्धी ऐन–२०७५ अनुसार जोखिममा परेका वा सडक बालबालिकालाई विशेष संरक्षण प्रदान गर्नु एउटा चुनौती छ भने उनीहरूलाई सडकमा आउनै नपर्ने अवस्था सिर्जना गर्नु अर्को चुनौती भएकाले उद्धार र पुनःस्थापनासँगै समस्याका कारण र परिणामको दीर्घकालीन समाधानमा बहुपक्षको ध्यान खिचिनु आवश्यक हुन्छ ।á