राजेन्द्र अर्याल
मूच्र्छित सपनाहरूलाई जगाउँदै देशलाई समृद्धिको दिशातर्फ अगाडि बढाउने सङ्कल्प लिनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा जनताको स्वाभाविक चासो छ । तर उहाँको स्वास्थ्यबारे डेढअक्कले टिप्पणी र अड्कलबाजी प्रचार गरिँदैछ । यो विशुद्ध उहाँको शीघ्र स्वास्थ्यलाभको निम्ति मुलुकले शुभकामना दिइरहनुपर्ने, चिकित्सकले पनि त्यहीअनुसार ख्याल गर्नुपर्ने विषय हो । उहाँको स्वास्थ्योपचारको काम नियमित रूपमा चल्दैछ । सँगसँगै सरकारको काम पनि नियमित गतिमा गइरहोस् भनेर सिङ्गो मुलुक त्यतातिर केन्द्रित हुनुपर्ने अवस्था छ ।
झापा विद्रोहसँगै लामो जेल जीवनपछि ओलीले आजसम्म आइपुग्दा मूलतः दुईवटा समस्याविरुद्ध निरन्तर सङ्घर्ष गर्दै आइरहनु भएको छ । अस्वस्थ शरीर र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा उहाँका निरन्तर सङ्घर्षसँग जोडिएका दुई अभिन्न पाटा हुन् ।
ओलीको जीवनमा असक्षम छन् भन्ने आरोप आएन तर जति पनि आयो, त्यो स्वास्थ्य समस्यासँग जोडिएर आयो । शारीरिक रूपमा देखिएको उहाँको समस्यालाई उहाँको बौद्धिकता गौण बनाउने अस्त्रका रूपमा बढी प्रयोग गर्न थालियो, त्यो पनि पार्टीभित्रैबाट समेत । उहाँको स्वास्थ्य अवस्थालाई लिएर धेरैले राजनीति गर्न खोजे । ओलीलाई नियतवश मन नपराउनेले स्वास्थ्य अवस्थालाई राजनीतिक एजेन्डा बनाउने प्रयास गरिरहेका छन् ।
२५ जेठ ०७१ सालमा नेपालगञ्जमा तत्कालीन नेकपा एमालेका एक वरिष्ठ नेताले कार्यकर्तामाझ ओलीको स्वास्थ्य स्थितिका बारेमा यसरी बोलेका थिए– ‘१४ वर्ष जेल बसेका ओलीजीप्रति मेरो सम्मानै छ तर अब उहाँ पहिलेजस्तो सक्रिय हुन सक्नुहुन्न । सङ्क्रमणको जोखिमले स्प्रे गरेको मञ्चमा सीसाभित्रबाट बोल्नुपर्छ । कार्यकर्ताले हात मिलाउनसमेत पाउँदैनन् । हाम्रोजस्तो गतिशील पार्टी त्यस्तो अध्यक्षबाट चल्न सक्दैन ।’
तर उही ओलीले बितेका पाँच वर्षमा कहिले अग्रभाग त कहिले पृष्ठभागमा रहेर आफ्नो क्षमता प्रदर्शन गर्दै आउनुभएको छ । अनेकौँ अड्कलबाजी र आरोप गलत सावित गर्दै सङ्घीय संविधान निर्माणपछिको अवस्थामा तत्कालीन नेकपा (एमाले) र (माओवादी केन्द्र) बीच चुनावी गठबन्धनसँगै पार्टी एकता गराएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्माणका साथै दुईतिहाइ बहुमतको सरकारको नेतृत्व गरिरहनुभएको छ ।
तत्कालीन एमालेको नवौँ महाधिवेशनको सरगर्मीका बेला अध्यक्षका मुख्य दाबेदार ओली मस्तिष्क ज्वरोले थलिएर अस्पतालमा दिन बिताइरहँदा उहाँको स्वास्थ्य अवस्था राजनीति गर्न अनुकूल नभएको धुवाँधार प्रचार भएकै थियो ।
त्यसैबेला उहाँ उपचारका लागि बैङ्ककसम्म पनि पुग्नुभएको थियो । उपचार सफल भयो । उहाँ फर्किएपछि ‘सरकार, पार्टी र शुभेच्छुकले लगाएको ऋण राम्रो काम गरेर चुक्ता गर्ने’ वाचा गर्नुभयो । अध्यक्ष भइसकेपछि आयोजित पहिलो बैठकमा ओलीले ओजपूर्ण सन्देश दिनुभएको थियो– ‘सम्भवतः तपाईंहरूको जत्तिको लामो जीवन मेरासामु छैन, त्यसैले मलाई कुनै पनि काम बिस्तारै गर्दै जाऔँला नि त भन्ने सुविधा छैन भन्ने तथ्यप्रति सजग छु ।’
यसपछि ओली एमाले संसदीय दलका नेतामा पनि निर्वाचित भई पहिलोपटक प्रधानमन्त्री बन्न पुग्नुभयो । २०७२ सालको भूकम्पले निम्त्याएको विपत्ति, त्यसमाथि भारतीय नाकाबन्दी, मधेशीको प्रायोजित आन्दोलन आदिविरुद्ध खरो उत्रिनुभएका तत्कालीन प्रम ओलीलाई जनताले एक वर्षसम्म दुःख सहेर पनि साथ दिए । देश र जनताप्रतिको उहाँको अडानको देशभरका जनताले प्रशंसा गरे ।
हाल एकातिर बलियो पार्टी नेकपा बनिसकेको र अर्कोतिर दुईतिहाइको सरकार रहेको अवस्थामा पनि प्रम ओली तिनै दुई अस्वस्थ राजनीतिक प्रतिस्पर्धा र अस्वस्थ शरीरविरुद्ध निरन्तर लडिरहनुभएको छ र विजयी बनिरहनु भएको छ । आफ्नो स्वास्थ्यस्थिति बारेमा अनेकौँ अड्कलबाजी तथा कामना भइरहेका बेला उहाँ भन्नुहुन्छ ः ‘मान्छेको स्वास्थ्यको के अनुमान हुन्छ र ? आज ठीक छ, भोलि के हुन्छ । त्यसैले नेताको स्वास्थ्य र राजनीतिलाई जोड्नु बेठीक मात्र होइन, अमानवीय पनि हो ।’
१२ वर्षअघि २०६४ साउनमा दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्नुभएका ओली नेपालका नर्भिक, ग्राण्डी र त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहनुभएको छ । गत साउन र भदौ महिनामा सिङ्गापुर नेशनल युनिभर्सिटी अस्पतालमा प्लाज्मा फेरोसिस प्रक्रियामार्फत रगतमा भएको ‘एन्टीबडी’ सफा गरिएपछि हालसम्म निरन्तर काममा व्यस्त हुनुहुन्छ उहाँ । चिकित्सकको सल्लाहअनुसार उहाँले एक सातामा तीनपटकसम्म डायलाइसिस गर्नुपर्ने भएको छ । आफ्नो स्वास्थ्य अवस्थाका बारेमा पार्टीका शीर्ष नेतालाई जानकारी दिँदै उहाँले भन्नुभएको छ ः ‘नियमित डायलाइसिस गर्ने कि त यसको विकल्पमा मिर्गौला प्रत्यारोपण गर्ने ।’ तर हाल उहाँ नियमित डायलाइसिस गरेर हुने स्वास्थ्य सुधारसँगै मिर्गौला प्रत्यारोपणको मुडमा पनि देखिनुभएको छ ।
ओलीको स्वास्थ्य राम्रो नभएको कुरा नौलो होइन । उहाँका लागि उपचार नियमित प्रक्रिया हो । मुख्य कुरा जिम्मेवारी वहन क्षमताको हो जुन उहाँले आजसम्मका हरेक अवस्थामा पूरा गरिरहनुभएको छ । संविधानसभाको दोस्रो निर्वाचनसँगै दोस्रो ठूलो पार्टी बनेको एमालेको नेतृत्वमा ओलीको आगमन र काम कार्यले उहाँको नेतृत्व क्षमता सबैले बुझ्नेगरी प्रकट हुँदै आएको छ । संविधान निर्माणमा पनि उहाँको नेतृत्वदायी भूमिका रहँदै आयो । भारतीय संस्थापनले संविधान निर्माणमा विलम्ब गर्न दबाब दिँदा त्यसलाई प्रतिवाद गर्ने नेतृत्व पनि उहाँबाटै भयो । संविधान जारी गरेकोमा त्यसअघि नै भारतले असहमति जनाउँदै लगाएको नाकाबन्दीविरुद्ध मुलुकलाई एकजुट पार्ने आँट र क्षमताले उहाँलाई राष्ट्र नायकको जिम्मेवारीमा पु¥यायो । भारतको नाकाबन्दीलाई चिर्न उत्तरतर्फको छिमेकी चीनसँग पारवहनलगायत अनेक सम्झौता गर्दै साङ्केतिकरूपमा भए पनि केरुङ नाकाबाट पेट्रोलियम भिœयाइयो ।
चीनतर्फ मुलुकको पहुँच बढाउन उहाँले गरेको आँटले भारत गल्यो र पाँच महिनापछि हल्लाखल्लाबिनै नाकाबन्दी फिर्ता लियो । यसले राष्ट्रको आत्मविश्वास उँचो बनाएको अधिकांश नेपालीले महसुस गरे । स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा शारीरिक रूपले अस्वस्थ ओली नेतृत्वको पार्टीले अरूभन्दा बढी मत पाउनुको महìवपूर्ण कारण यही हो । प्रधानमन्त्री ओलीको नेतृत्वमा देश सकारात्मक दिशामा अघि बढ्दै गएको छ । निराशा होइन, आशा गर्ने ठाउँमा पुगिएको छ । नेपाली समाजमा चरम निराशा र वितृष्णा फैलिरहेका बेला देशको बागडोर सम्हाल्ने अवसर पाउनुभएका ओलीले राष्ट्रियताको भाव उच्च बनाइदिनुभयो । दोस्रोपटक प्रधानमन्त्री भएपछि देशलाई स्थिर ढङ्गले समृद्धिको यात्रातर्फ डो¥याइरहनुभएको छ । ओलीको नेतृत्वपछि देशले आर्थिक वृद्धिदर ७ प्रतिशतभन्दा माथि जान थालेको छ । पूर्वाधार निर्माणमा सरकारले ठूलो लगानी गरेको छ र त्यसका परिणाम क्रमशः देखिन थालेका पनि छन् । आयात र निर्यातबीचको खाडल कम हुँदै गएको छ । जलविद्युत्मा देश करिब आत्मनिर्भर बनेको छ र यस क्षेत्रमा वैदेशिक लगानी धमाधम भित्रिरहेका पनि छन् । धेरै देशसँग जलविद्युत् व्यापार सम्झौता भएका सुखद समाचार पनि आइरहेका छन् ।
संसारको दोस्रो ठूलो देश चीनका राष्ट्रपतिसँग भएको सम्झौताले विस्तारै परिणाम देखिने गरी गति लिँदैछ । देशले लिने गति र प्रगतिमा नेतृत्वका रूपमा प्रधानमन्त्रीको अगुवाइ, सरकारको क्रियाशीलता र त्यसै गतिमा जनताको रचनात्मक सहभागिताले महìवपूर्ण भूमिका खेल्छन् । शारीरिक रूपमा अस्वस्थ रहेका प्रम ओली हामी कैयौँभन्दा बढी क्रियाशील, एकाग्र र समर्पित हुने गरेकाले उहाँको अब्बल नेतृत्व क्षमताको पुष्टि गर्छन् । नेपाल र नेपालीको शान र स्वाभिमानलाई सगरमाथा जत्तिकै उचाइमा पु¥याउन सक्ने कुशल नेतृत्व पाएको छ देशले । विगतदेखिका मूच्र्छित सपनाहरूलाई ब्युँझाउन सक्ने, समृद्धिको पहरेदार बनेर उभिन सक्ने नेतृत्व पाएको छ देशले । सुखी जनता र समृद्ध नेपाल निर्माणको परिकल्पनाकार एवं स्वप्नद्रष्टा प्रधानमन्त्री ओलीको सपना साकार पार्न अझ धेरै वर्ष उहाँकै नेतृत्वको आवश्यकता देखिन्छ ।
(लेखक पत्रकार हुनुहुन्छ ।)