logo
२०८१ मंसिर १० सोमवार



स्याउले आर्थिक मुहार फेर्दै

विचार/दृष्टिकोण |




नेत्र शाही

चार दशकअगाडि जुम्लाका किसान पदमबहादुर महत तत्कालीन समयमा कृषिमा उच्च शिक्षा हासिल गरेर सरकारी नोकरीमा लाग्नुभयो । भूमिसुधार अधिकृतसमेत हुनुभएका महतले कृषि क्षेत्रको उत्पादनले नै जुम्लाको भविष्य राम्रो हुने लागेर सरकारी नोकरी छाडेर आफ्नो घर तत्कालीन महत गाउँको माथि रहेको नाङ्गो डाँडामा चार हजार स्याउका बिरुवा रोपेर स्याउको नमुना फारम बनाउनुभयो । एसियाकै चौथो ठूलो सूचीकृत बगैँचामा तत्कालीन राजा वीरेन्द्रदेखि देशका ठूला कार्यकारी व्यक्तिले भिजिटसमेत गर्ने गरेका थिए । उहाँको स्याउ खेती फस्टाएपछि धेरै किसान जुर्मुराएर स्याउ खेती गर्न थाल्नुभयो ।
स्वर्गीय महतको बगैँचामा तत्कालीन समयमा जुम्लाको उत्पादित स्याउको १० प्रतिशत हिस्सा राख्थ्यो । त्यतिबेला सडक सञ्जालसँग जुम्ला नजोडिएकाले जहाजबाट बाहिर लिएर स्याउ बिक्री गरिन्थ्यो । महतको सपना जुम्लामा गाडी कहिले पुग्ला भन्ने थियो । जहाजबाटै स्याउ निर्यात गरेर उहाँ लखपति हुनुभयो । विक्रम संवत् २०२२ सालमा तत्कालीन रानी ऐश्वर्यको जुम्ला भ्रमणपछि जुम्लाको कार्तिकस्वामी गैरागाउँमा स्याउ उत्पादनका लागि वागबानी फाराम सुरु भयो । जुन फारामले अहिले जिल्लाभरि स्याउका बिरुवा वितरण गर्छ । अहिले दर्जनौँ स्याउका बिरुवा उत्पादन गर्ने नर्सरी पनि छ । नर्सरीबाट जुम्लाका किसानले मनग्य आम्दानी गरेका छन् । चन्दननाथ नगरपालिका–९ का अमर रोकाया र रतन रोकायाले स्याउ नर्सरीबाटै अब्बल व्यवसाय थालेका छन् ।
पातारासी गाउँपालिका उर्थुका मुनबहादुर विष्टले एक दशकअघि आफ्नो बारीमा लगाएका दुई÷चार बिरुवा स्याउ बिक्री गर्न बोरामा हालेर दिनभरिको समय लगाएर जुम्ला विमानस्थलमा बिक्री गर्ने गरेको स्याउ व्यवसाय अहिले बगैँचामै गाडी रिजर्भ गरेर लाखौँको स्याउ निर्यात गर्ने गरेको बताउनुहुन्छ । उहाँका अनुसार बर्सेनि १० देखि १२ लाख रुपियाँ स्याउबाटै आम्दानी हुने गरेको उहाँको भनाइ छ । चन्दननाथ नगरपालिका १० कार्तिस्वामिका किसान सङ्खु खत्रीले पनि स्याउबाटै अब्बल किसान बन्नुभएको छ । उहाँ राष्ट्रियस्तरको पुरस्कृत किसान पनि हुनुहुन्छ । बगैँचामा लगाइएका स्याउ अहिले बर्सेनि पाँच लाख बढी रुपियाँको फल्ने गर्छ । स्याउबाटै ओखरको उत्पादनसमेत गरेर उहाँले बगैँचा तयार गर्नुभएको छ ।
सिञ्जा शनिगाउँका मनबहादुर रावलले यो वर्ष आफ्नै बगैँचामा फलेको जुम्लाको स्याउ काठमाडौँ पु¥याउनुभयो । जुम्लाको अर्गानिक स्याउबाटै उहाँले करिब १२ लाख बढी रुपियाँ आम्दानी गरेको बताउनुहुन्छ । स्याउ व्यवसाय फस्टाएपछि मनबहादुर रावलले छोरा रामसिंह रावलको साथ लिएर काठमाडौँमा व्यापार सुरु गर्नुभयो । राष्ट्रिय मिडियामा उहाँ चर्चित पनि हुनुभयो । चन्दननाथ नगरपालिका–८ का स्याउ किसान धर्मसिंह कठायतले पनि यस वर्ष दुई टन बगैँचाको स्याउ सुर्खेत लिएर बिक्री गर्नुभयो । करिब पाँच लाख रुपियाँ आम्दानी भएको उहाँ बताउनुहुन्छ ।
किसान पदमबहादुर महत, सङ्खु खत्री, मुनबहादुर विष्ट, मन रावल नमुना किसानमात्रै हुन् । अहिले स्याउ उत्पादनमा होडबाजी छ । करिब २० हजारदेखि माथि १२ लाखसम्म आम्दानी गर्ने जुम्लाका सवै घरधुरीमध्ये ८० प्रतिशत किसानको आम्दानी सुरु हुन थालेको छ । जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार यस वर्ष जुम्लामा १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको छ । स्याउ उत्पादनको तथ्याङ्क अहिलेसम्मकै बढी भएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख बालकराम देवकोटा बताउनुहुन्छ ।
आर्थिक वर्ष २०७५÷०७६ मा छ हजार पाँचसय मेट्रिक टन स्याउ उत्पादन भएको र आर्थिक वर्ष २०७४÷०७५ मा पाँच हजार पाँच सय मेट्रिक टन स्याउ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्क छ । यसैगरी, स्याउ उत्पादन वृद्धिसँगै निर्यातसमेत यस वर्ष दोब्बर छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार उत्पादन भएको स्याउमध्ये छ हजार पाँच सय मेट्रिक टन निर्यात भएको छ । यस वर्ष स्याउ निर्यातबाट ३४ करोड रुपियाँ आम्दानी भएको कृषि विकास कार्यालयले जनाएको छ ।
जुम्लाको खेतीयोग्य जमिनको ३९ हजार चार सय ३५ हेक्टरमध्ये तीन हजार सात सय हेक्टर जमिनमा गरिएको स्याउ खेतीमध्ये एक हजार चार सय ४७ हेक्टरमा मात्रै स्याउ फलेको प्राविधिक खेमराज शाही बताउनुहुन्छ । उहाँकाअनुसार यस वर्ष सरदर प्रतिकिसानले ८.२५ मेट्रिक टन स्याउ उत्पादन गरेका छन् ।
राजमार्गले निर्यात बढ्यो
सुर्खेत–जुम्ला–कर्णाली राजमार्गले जोडिएपछि यहाँका किसान स्याउ खेतीतर्फ आकर्षित भएका छन् । पछिल्लो समय राजमार्ग कालोपत्रे भएपछि जिल्लाबाहिर सजिलै निर्यात हुने भएकाले पनि जुम्ली किसानको आकर्षण स्याउ खेतीमा भएको हो । आफूले फलाएको स्याउ सजिलै बजार पाउने र निर्यात हुने भएपछि किसानहरू उत्साहित भएका हुन् । स्याउबाटै जुम्लाको समृद्धि निश्चित भएको शाहीको भनाई छ । कृषि कार्यालयको तथ्याङ्कअनुसार यस वर्ष ३४ करोड १८ लाख ८० हजार रुपियाँबराबरको स्याउ निर्यात भएको छ । जुम्लामा आर्थिक वर्ष २०७४÷०७५ मा १६ करोड रुपियाँ र आर्थिक वर्ष २०७५÷०७६ मा १७ करोड रुपियाँबराबरको स्याउ जिल्लाबाहिर निर्यात भएको थियो । यो वर्ष गत आवको तुलनामा दोब्बर हुँदा जिल्लाकै आर्थिक स्थिति बढेको छ । सो कार्यालयकाअनुसार अहिले जुम्लामा साढे १६ हजार घरधुरी स्याउखेतीमा संलग्न छन् ।
स्याउको भविष्य राम्रो भएपछि अब्बल व्यावसायिकतालाई बढाउन प्रदेश सरकारले नीति लिएको भूमि व्यवस्था कृषि सहकारीमन्त्री बिमला केसीले बताउनुभयो । २०७६ भदौ १४ गते दोस्रो स्याउ महोत्सव उद्घाटन गर्न जुम्ला पुग्नुभएका मन्त्री केसीले अब जुम्लामा दुई÷तीन किलोमिटरदेखि पाँच÷छ किलोमिटरसम्मका ठूला स्याउ बगैँचा निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । स्याउ बगैँचाको अवलोकन गर्दै गुठीचौर पुग्नुभएका मन्त्री केसीले किसानलाई सफ्ट लोन दिनसमेत सरकार तयार रहेको बताउनुभएको थियो ।
स्याउ इतिहास
विसं २०२२ मा जुम्लामा केही व्यक्तिले मात्र भारतबाट स्याउ ल्याएर रोपेका थिए । स्याउ विस्तार गर्न तत्कालीन श्री ५ को सरकारको योगदान थियो । विसं २०३२ सालमा रानी ऐश्वर्यको जुम्ला भ्रमण भएपछि यहाँको चन्दननाथ नगरपालिका तत्कालिक कार्तिकस्वामी गैरागाउँँमा स्याउको वागबानी केन्द्र स्थापना भएको कृषि प्राविधिक तथा स्थानीय खेमराज शाहीको भनाइ छ । वागबानी केन्द्रमा रानीको आगमनपछि विसं २०३४ सालमा स्याउ बिरुवा उत्पादन गर्दै जिल्लाका केही स्थानमा किसानले नमुनाका रूपान स्याउखेती सुरु गरेको उहाँले स्मरण गर्नुभयो । तर, महतगाउँका किसान पदमबहादुुर महतको बगैँचा भने पुरानो बगैँचाका रूपान थियो ।
जिल्ला कृषि विकास कार्यालयले ‘एक घर एक बगैँचा कार्यक्रम’ अगाडि सारेपछि अगाडिदेखि बिरुवा वितरण, काँटछाँट र प्राविधिक सहयोग भएपछि स्याउ खेतीको विकासले छलाङ मा¥यो । विसं २०६४ सालमा जुम्ला अर्गानिक जिल्लाको रूपान घोषित भयो । अहिले जुम्लामा १२ जातका स्याउ फल्ने गरेको कृषि विज्ञहरूको भनाई छ । कृषि प्राविधिक शाहीकाअनुसार जुम्लामा हाल रोपिएका फल्ने स्याउ गोेल्डेन डेलिसेस, रेड डेलिसेस, रोयल डेलिसेस, जोनाथान, कक्स ओरेन्ज टिपिन, म्याकन्ज, पछिल्लो समयमा ईटालिएन फुजी र गाला छन् । जुम्लाको स्याउले काठमाडौं, नेपालगञ्ज लगायत देशका ठूलो शहरमा बजार लिएको छ ।

(लेखक गोरखापत्रका जुम्ला समाचारदाता हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?