प्रा.डा. प्रेम शर्मा
बेनी–जोमसोम र सुर्खेत–जुम्ला कर्णाली लोकमार्गले उधारे÷खोलेको मुक्तिनाथ तीर्थस्थल र सिंजा उपत्यका÷राराताल गन्तव्यहरू हाल आन्तरिक पर्यटकका लागि निकै चर्चामा छन् । भारतीय स्कर्पियो र बोलेरो जिप एवं १५० सीसीमाथिका मोटरसाइकल नेपाली आन्तरिक पर्यटक र साहसी युवा यी गन्तव्यमा पुग्ने साधन बनेका छन् । कर्णाली र मु्स्ताङ क्षेत्रमा फलेका स्याउ, सिमी, मार्सी चामल, बोका÷खसी र भेडा÷च्याङ्ग्राको मासुले उपयुक्त बजार, उपभोक्ता पाएका छन् । तर स्थानीय सेवा प्रदायक र पर्यटक दुवै पार्टी– त्यहाँ उपलब्ध खानपानका वस्तु र अवलोकनका गन्तव्यहरूको प्रचार–प्रसार, बजारीकरण र उपभोग उपयुक्त तरिकाले गर्न सकिएको बताउँदैछन् । त्यसैकारण यो सानो यात्रा ऐइटीनरी (भ्रमण तालिका) सेवा प्रदायक र पर्यटक, दुवैलाई उपयोगी हुनसक्छ ।
आज यात्रा रारातालको गरौँ । प्रस्थानबिन्दु बाँकेको कोहलपुर बनाउँ । नेपालको जुनसुकै ठाउँबाट आउनुहोस्, गाडीबाट यात्रा सुरु गर्नु छ भने कोहलपुर प्रस्थानबिन्दु हुनेछ । हुन त हवाई मार्गबाट सिधै जुम्ला खलङ्गा, ताल्चा एयरपोर्ट गमगढी वा सुर्खेत झरेर रारा यात्रा गर्न पनि सकिन्छ तर कर्णालीको यात्रा, खासगरी रारा÷सिंजा उपत्यकाको महìवका दृष्टिकोणले गाडीको यात्रा नै रमाइलो हुन्छ । समय र अवस्था मिले कोहलपुर वरिपरि भेटिने नयाँगाउँ (धकेरी) र गाभर भ्याली सामुदायिक घरबास, सत्खल्वा वा मड होमस्टेमा सत्यवल्व वा मडमा नास्ता, दिवा, रात्रि गाँसबास गर्ने योजना बनाउनुहोस् ।
त्यसैगरी सुर्खेत उक्लने बाटोमा भेटिने बबई खोलाको माछा, खसी वा लोकल कुखुराको स्वाद लिनुहोस् ।
छिन्चु ‘जक्सन’ मा (जाजरकोट–डोल्पा लोकमार्ग) केही क्षण रोकिई लोकल (स्थानीय) फलपूmल किन्नुहोस् । सुर्खेत वीरेन्द्रनगरमा रहँदा नगरका ठूला होटल रोज्ने कि मझौला होटल, तपाईंको गच्छे र चाहना । काँक्रेविहार, देउतीबज्यै र बुलबुले तालको भ्रमणका लागि करिब एक घण्टाको समय छुट्याउनुहोस् । सुर्खेत यरीचोकको आचार्य चिया नास्ता पसल नछुटाउनुहोस् । मौका मिले यरीचोकदेखि अलि तल इटौरमा रहेको ‘फिस कटेज’ गएर आफैँ माछा मारेर स्वाद लिन नभुल्नुहोस् ।
सुर्खेत राराका लागि दुईवटा बाटा– बाङ्गेसिमल (कर्णाली लोकमार्ग एक घण्टा फेरो) र छोटो बाटो दैलेख गुराँसे लाग्दा गुराँसेको लोकल कुखुरा, कुराउनी र आलुका परिकारको स्वाद लिन नभुल्नुहोस् । रारा यात्रा गर्दा एक दिन दैलेखका ऐतिहासिक, पुरातात्विक एवं सांस्कृतिक सम्पदाहरू– ज्वालामाई, श्रीस्थान, नाभिस्थान, धुलेश्वर, पञ्चदेवल, बेलासपुर र पादुका, नेपालको प्रथम शिलालेख कृतिस्तम्भ, दुल्लु दरबार, नौमुले, जलेश्वर, बेलासपुर, पञ्चकोशी, कोटगढीलगायत ३२ वटा नेपालका थरहरूको नामकरण गर्ने गाउँहरू घुम्न र आफ्ना पुर्खाको उद्गम थलोसँग नाता जोड्न नभुल्नुहोस् । दैलेखको भ्रमण अर्थपूर्ण र महìवपूर्ण हुनेछ ।
कर्णाली लोकमार्ग लाग्दा माथिल्लो डुङ्गेश्वरको चुप्रा होमस्टे, तल्लो डुङ्गेश्वरस्थित कर्णाली नदी र लोहोरे खोलाका असला माछा, लोकल कुखुरा साथै खसीको मासुको परिकार खान पाइन्छ । पादुका, स्याला खोला वा टुनिबगरको खसीको मासु र कर्णालीको माछा, राकम कर्णाली– आठबिस नगरपालिकाको बजारको फलफूल– केरा, सुन्तला, माछा, गाईभैँसीको घिउ राखेको खानाको स्वाद लिन नचुकौँ । त्यसैगरी जितेगढ (हुल्म बजार हुम्ला कर्णाली र तिला (जुम्ला) कर्णाली सङ्गम) को असला माछा र मान्मा कालिकोटको सदरमुकाममा बास वा नास्ता, चिया वा कफी र प्राकृतिक दृश्यलाई आफ्नो क्यामेरामा कैद गर्न नभुलौँ ।
तीन घण्टाको ऐतिहासिक पिली भीर हँुदै तिला नदीको रमणीय भंगाला÷बहाब हँुदै नाग्म÷कालिकोट र जुम्लाको सिमाना पुग्नुहोस् । दिवा खाना वा रात्रि खानाका लागि नाग्मको मुगेली लामादाइको भट्टी÷होटल नभुल्नुहोला ।
अब यसअघि बढ्दा दायाँतर्फ पिच बाटोबाट जुम्लाको सदरमुकाम खलङ्गातर्फ एक घण्टा तातोपानी कुण्ड हुँदै जाने बाटो छोडेर पुनः फर्कंदा जुम्ला भ्रमण गर्ने गरी बायाँ सिंजा खोला हुँदै सिंजा उपत्यकातर्फ लाग्नुहोस् । २० मिनेटमा भेटिने चिउडी खोलाको परम्परागत प्रविधिबाट बनेको काठको पुल जसमा राजा वीरेन्द्र, रानी ऐश्वर्य तथा वीर नेपाली सपुतहरूको आकृति कँुदेको पुल र रमणीय दृश्य क्यामेरामा कैद गर्न नभुल्नुहोस् । त्यसपछि गोठीज्युला÷सिंजा बजारसम्मको झण्डै दुई तीन घण्टाको सवारी यात्रालाई ठाउँठाउँमा मनमोहक गाउँ बस्ती, डाँडाखोला र मार्सी चामल, राज्मा, गहुँ, जौ, फापर खेतीबाली उत्पादन हुने सुन्दर फाँटलगायत उच्च ठाउँबस्तीको सुन्दरता, सुन्दर उपत्यकाको फोटो खिच्दै अगाडि बढ्नुहोस् । आफ्नो यात्राको चौथो सङ्गम अर्थात् जुम्ला डाँफेको धुरी, न्युरिगाड हुँदै भुलभुले आउने बाटो पुग्न आङ सिरिङ–सिरिङ हुने भीरपाखा पार गर्नुपर्छ । भुलभुले बस्ती÷होटल हुँदै नेपाली सेनाको राष्ट्रिय निकुञ्ज प्रवेश गर्नुस् । त्यसबाट अगाडि बढ्दै गर्दा घुच्चीको लेकलाई बायाँ (पैदलबाटो) छोडी रमणीय चौरतिर बढ्नुहोस् जहाँ घोडा, गाईवस्तु र भेडा, च्याङ्ग्रा, चौँरी चरिरहेका हुन्छन् । त्यहाँ केहीबेर रोकिएर फोटो खिच्नुहोस् । यो चौर जीवनको यात्रामा उच्च पहाडी भेगमा भेटिने सुन्दर स्वर्गसरी सावित हुनसक्छ र यहाँको प्राकृतिक दृश्य अविस्मरणीय हुनसक्छ । यहाँको धुपीको जङ्गल र काला रङका धुपीसहितको पहाड, त्यसको तल खर्क राख्नेको काठका गोठहरू र पशु चरनले हाम्रा पुर्खाको जीवन इतिहास कस्तो थियो भन्ने स्मरण गराउँछ । केही क्षण आफ्नो पुर्खाको इतिहास सम्झनुहोस् । १५÷२० मिनेटको हरियो चौर दृश्यावलोकनपछि छुच्ची लेकको जङ्गल हुँदै ओरालोे लाग्नुहोस् ।
ओरालो लाग्दा केही पर देखिने मुगु गाउँमाथिको हिमाल कान्जिरोवा, तिब्बत सीमामाथिका हिमाल शृङ्खला र अझ पर हुम्ला जिल्लाको उत्तरी सीमा लिमी गाउँमाथिको हिमशृङ्खला, विगतमा (पञ्चायतकाल) रु. १ को नोटमा अङ्कित हिमडाँडा, तल गमगडी– मुगुको सदरमुकाम हेर्दै पिनागाउँको शिर भएर ताल्चा विमानस्थल पुगिन्छ । त्यसपछि बाटो बायाँ मोडिएपछि १५÷२० मिनेटमा रारा राष्ट्रिय निकुञ्ज प्रवेशद्वारमा आफ्नो सवारीसाधन राखेर प्रतिव्यक्ति रु. १०० को प्रवेश शुल्क तिरी धुपीको घना जङ्गल हिँडेर रारातालमा प्रवेश गर्नुहोस् । रारा उपत्यका राम्ररी अवलोकन गरी डेढ घण्टाको समथल यात्रा खुट्टा घाइते नपारी हिँड्नुहोस् होटलबासका लागि ।
राराताल देखिने बित्तिकै राजा महेन्द्रले क्याम्प साइड (शिविर) खडा गरी कविता लेखेको खुला चौरमा पुगिन्छ । त्यसपछि पारिपट्टिको रारा राष्ट्रिय निकुञ्जको कार्यालय, डाँफे गेष्ट हाउस र भिलेज रिसोर्ट अनि नेपाली सेनाको गुल्म हेर्दै तालतर्फ बढिन्छ । पारिपट्टिका ती बस्तीभन्दा माथि मुर्माटप (डाँडा) मुर्मा गाउँको होमस्टे हेर्दै बायाँतर्फको तालको छेउछेउ पैदल यात्रा साढे एक घण्टा गर्नुहोस् । वा ताल छेउमा राखिएको ¥याफ्टिङ डुङ्गामा पाँच सय रुपियाँ तिरेर झण्डै एक घण्टाको डुङ्गा सयरपछि होटल बास गर्नुहोस् । डुङ्गा बिहान ८ देखि १२ बजेसम्म मात्र सञ्चालन हुन्छ ।
राराताल भ्रमण, अवलोकनमा भुल्नै नहुने कुरा– समय मिलाएर तीन घण्टा जतिको मुर्माटप पैदल यात्रा गर्नुहोस् । हिँड्न कठिन भए घोडाको सुविधा छ । पन्ध्र सय रुपियाँ तिरेर घोडाको अविस्मरणीय यात्रा रोचक हुनसक्छ । जो व्यक्ति मुर्माटपको भ्रमण÷अवलोकन गर्दैन उसले रारा तालको भ्रमण गरेन भन्ने बुझ्नुहोस् । झण्डै तीन सय पाहुनालाई गाँस र बासको व्यवस्था यहाँका दुई होटलमा हुन्छ । जसका कोठाभित्र ८०–१०० जनालाई पुग्छ भने खुला आकासमा टेन्ट हालेर पालभित्र सुत्ने अर्को अनुभव पनि हो । होटलमा प्राप्त हुने सुविधा– क्याम्प फायरमार्फत लोकल रातो चामलको (मार्सी) भात, आलु, कुखुरा, स्याउको रक्सी वा बाहिरबाट झिकाइएको ब्रोइलर कुखुराको मासु, लोकल (जौ÷चामलको) रक्सी वा च्याङ्ग्रा, भेडाको मासु र मुगुको राज्मा, सिमीको दाल, भात, हरियो अर्गानिक सागसब्जी आदिबाट दुई हजार ९८० मिटर उचाइको मौसम, हरियो सुन्दर तालको किनार (लेकसाइड) मा आनन्द लिनुहोस् ।
फोटो खिच्न, क्षणिक घोडचढी र निकुञ्ज कार्यालयको भ्यु टावर, नेपाली सेनाको क्यान्टिनको सस्तो तर मीठो चिया चमेना खान नभुल्नुहोस् । मुर्मागाउँ भएर वा होटलबाट करिब १५० मिटरको दूरीबाट केही उकालो माथि रहेको शिव मन्दिरमा दर्शन गरी उत्तर पश्चिम तीन हजार ४८० मिटर अग्लो मुर्माटपको पैदल यात्रा गर्नुहोस् ।
मुर्माटपको भ्यु टावरबाट चौतर्फी, उत्तरतर्फ कान्जीरोवा, पञ्च चुली, अपी, सैपाल हिमाल शृङ्खलाहरू, दक्षिणतर्फको हरियाली पहाडको शृङ्खलाबद्ध दृश्यावलोकन गर्नुहोस् । रारातालको ‘फुलस्केल’का फोटाहरू, उत्तर पूर्वतर्फका हिमाल र हरिया डाँडा पहाडको तालमा परेको प्रतिविम्ब र मौका परे हिमाल वा डाँडाहरूमाथिको बादलका प्रतिविम्ब तालमा परेको हुुन्छ, मौका छोप्नुहोस् । फोटो खिच्न र भ्यु टावरबाट अवलोकनपछि ५० मिटर परको दूरीमा रेडियो नेपालको रिपिटर टावरको चौकीदारको चिया नास्ता पसलमा रातो÷सेतो चिया, बिस्कुट, चाउचाउ खाएर एक÷दुई घण्टाको विश्राम पछि पुनः होटल (रिसोर्ट) तर्फ झण्डै एक घण्टाको ओरालो झरी बास बस्नुहोस् ।
कुनै पनि यात्रा दोहोरिन सक्छ, सक्दैन पनि । त्यसैले रारा यात्रा गर्ने व्यक्तिले माथि उल्लेख गरिएका गन्तव्य÷वस्तुहरू र खानपान, अवलोकन गर्न हेलचेक्रयाइँ गर्नु भनेको भ्रमण अवलोकनलाई अधुरो राख्नु, पछुताउनु हो । म नेपाली र नेपाललाई माया गर्छु वा नेपालको सुन्दरता, अलौकिकता वा धेरै नजिकबाट हेर्छु, बुझ्छु भन्ने सच्चा नागरिकले पहिले स्वदेशका अपार सम्पदासँग परिचित हुनुहोस्, बुझ्नुहोस् र अरूलाई चिनाउनुहोस् । विश्वमा नभेटिने दुर्लभ वस्तुहरू नेपालका ६० मिटरदेखि आठ हजार ८४८ मिटरभित्र भेटिन्छन् । स्वदेशको माया कतै भाँैतारिँदैमा भेटिँदैन । नेपालभन्दा सुन्दर देश कतै छैन ।
(लेखक ग्रामिण पर्यटनविद् हुनुहुन्छ ।)