डा. घनश्याम न्यौपाने ‘परिश्रमी’
धर्म भनेको कुनै पनि व्यक्ति, जाति, वर्ग, सम्प्रदाय वा समुदायले मान्दै आएको धारणा, मत वा विचार हो । संस्कृतमा धार्यते यत् तत् धर्म भनिएको छ । यस उक्तिले धारणा गरिएको मत नै धर्म हो भन्ने कुरालाई इङ्गित गर्दछ । कालान्तरमा धर्म शब्द अध्यात्म तथा यज्ञ पूजापाठ, प्रार्थना, ज्ञान ध्यान, तपस्या योग तथा तन्त्रमन्त्रजन्य साधनाजस्ता विषयअन्तर्गत जोडिएको देखिन्छ । वस्तुतः धर्म शब्दलाई यसरी सङ्कुचित गरिएको छ । आध्यात्मिक चिन्तनसँग सम्बद्ध धारणामात्र धर्म हो भन्ने मान्यता ठीक होइन । अर्को शब्दमा भन्दा आस्तिकतामात्र धर्म होइन, नास्तिकता पनि धर्म हो । अझ यसो भनुँ, आध्यात्मिक सोच वा चिन्तनमात्र धर्म होइन, बरु भौतिकवादी सोच वा चिन्तन पनि धर्म हो । हरेक व्यक्ति वा वस्तुमा रहिरहने गुण वा मूलवृत्ति धारणा वा विचार उसका धर्म हुन् । ताप दिनु सूर्यको धर्म हो, पूर्णिमा पक्षका रात्रिमा उज्यालो प्रदान गर्नु चन्द्रको धर्म हो । बहनु हावाको धर्म हो, बग्नु पानीको धर्म हो । तर पनि आजको विश्वमा धर्म भन्नेबित्तिकै ईश्वर, आस्तिकता तथा अध्यात्मवादसँग जोडिएको छ ।
संसारमा अनेकानेक धर्महरू प्रचलनमा छन् । हिन्दु, क्रिश्चियन, इस्लाम, बौद्ध, जैनलगायतका दर्जनौँ धर्महरू संसारमा मानिन्छन् । यस्ता धर्महरूका पृथक्–पृथक् सम्प्रदायहरू पनि छन् । समय–समयमा एउटै धर्मका सम्प्रदायबीच वा भिन्न भिन्नधर्र्मीहरूबीच एक आपसमा झैझगडा र द्वन्द्वसमेत हुने गरेको पाइन्छ । कहिलेकाहीँ धार्मिक दङ्गाका घटनाहरू देख्न वा सुन्न पाइन्छन् । इस्लामधर्मीहरूको बाहुल्य रहेका धेरै देशहरूमा त्यहाँको कानुन धर्मबाट प्रभावित देखिन्छ । उनीहरूले आफ्नो राज्यलाई इस्लामिक गणतन्त्र भनेर उल्लेख गरेका हुन्छन्् । क्रिश्चियन धर्मावलम्बीहरूको बाहुल्य रहेका देशहरूमा धर्मलाई देखिनेगरी राजनीतिमा समावेश त गरिएको हँुदैन तर परोक्षतः उनीहरू सत्तामा क्रिश्चियनीकरण गरिरहेका हुन्छन् । इस्लामधर्मी मुलुकहरूमा सत्तामा सोही धर्मसँग सम्बद्ध व्यक्तिहरूको संलग्नता हुन्छ । बौद्ध धर्म प्रधान मुलुकहरूमा पनि यो अवस्था छ ।
पहिलोपटक राष्ट्रपतिको उम्मेदवार हुँदा अमेरिकाका पूर्वराष्ट्रपति ओबामालाई धर्मका दृष्टिले शङ्का गरिएको थियो । उहाँलाई इस्लाम भएको, क्रिश्चियन नभएको आरोपित गरिएको थियो र उहाँले आफूलाई म क्रिश्चियन हुँ भनेर प्रमाणित गर्नका लागि प्रमाणहरू पेस गर्नुपरेको थियो । बेलायतको राजपरिवार क्रिश्चियन धर्मावलम्बी हुनुपर्ने प्रावधान छ । यसरी नै जापानको सम्राट परिवार बौद्ध धर्मावलम्बी हुनुपर्दछ । हाम्रो मुलुकमा राजसंस्था रहँदासम्म सो संस्थामा हिन्दु धर्मावलम्बी राजा हुनुपर्ने र राजपरिवारको कुनै सदस्यले हिन्दु धर्म त्यागेमा राजपरिवारबाट पाउने सुविधा खोसिदिने नीति नै थियो । धीरेन्द्र शाहले क्रिश्चियन महिलासँग बिहे गरी धर्मपरिवर्तन गरेपछि तत्कालीन राजा वीरेन्द्रले उहाँलाई अधिराजकुमार पदसहित अन्य पदीय सुविधाबाट समेत वञ्चित गर्नुभएको थियो ।
हिन्दु धर्मावलम्बीहरूको बाहुल्य भए पनि भारतमात्र यस्तो मुलुक हो, जहाँ सत्तामा जुनसुकै धर्म वा सम्प्रदायको व्यक्ति पुग्न सक्छ । यो नै लोकतन्त्रको सौन्दर्य हो, वैशिष्ट्य पनि हो । हाम्रो मुलुकमा पनि नयाँ संविधान जारी भइसकेको छ । केही वर्ग, समुदाय र दलहरूका असन्तुष्टि सुनिए पनि यसको सफल कार्यान्वयन भइसकेको छ । सङ्घीय गणतान्त्रिक नेपालको नयाँ संविधान जारी हुनुपूर्व धर्मनिरपेक्षताका विषयमा धेरै विवाद र बहसहरू भए । संविधानमा धर्मका बारेमा के लेख्ने भन्ने विषयले चर्को रूप लिएको थियो । त्यतिबेला एकथरी धर्मनिरपेक्षताको पक्षमा दह्रोसँग उभिएका थिए भने अर्काथरीले हिन्दु राष्ट्र नेपाल उल्लेख गर्नुपर्छ भनेर माग गरिरहेका थिए । यसरी नै अर्का एकथरीले धार्मिक स्वतन्त्रता भन्ने शब्दावली प्रयोग गर्नुपर्छ भनेर दबाव दिँदै थिए । त्यस समयमा यस्ता विविध विचारहरू आउनु अवश्य पनि नराम्रो थिएन । ‘वादे वादे जायते तŒव बोध’ भनिन्छ । यस्ता विषयमा व्यापक रूपमा विचार–विमर्श गरेर एउटा निष्कर्षमा पुग्नुपर्ने आवश्यकता पनि थियो ।
वास्तवमा नेपाल हरेक दृष्टिले बहुलतासम्पन्न राष्ट्र हो । यहाँको भूगोल विविध प्रकृतिको छ । जाति, जनजाति र जातजातिहरूका रहन–सहन, संस्कार र परम्परामा विविधता छ । यसरी नै भाषा, संस्कृति आदि फरक–फरक छन् । धार्मिक दृष्टिले पनि यस देशमा विविधप्रकारका धर्मावलम्बीहरूको बसोवास छ । तर पनि वस्तुगत यथार्थ के हो भने नेपाल हिन्दु धर्मावलम्बीहरूको बहुलता रहेको देश हो, यसमा दुईमत हुनै सक्दैन । राजसंस्था रहँदासम्म हिन्दु धर्मलाई यस मुलुकमा राज्यको मूल धर्मका रूपमा मान्दै आएको तथ्य हो तर त्यो बेला पनि धार्मिक सहिष्णुता भने अवश्य नै थियो । नेपाली हिन्दु धर्मावलम्बीहरूको मूलभूत विशेषता भनेको धार्मिक सहिष्णुता हो । अन्य धर्मावलम्बीहरूलाई पनि सम्मान गर्ने हाम्रो संस्कार अतिप्राचीनकालदेखि परम्परित रूपमा कायमै छ । तर, मुलुक गणतन्त्रमा पुगिसकेको अवस्थामा राज्यको यही नै धर्म हुनुपर्छ भनेर दाबी वा किटान गर्नु युक्तिसङ्गत नहुने भएकाले त्यो बेला धर्मनिरपेक्षतालाई वैधानिक रूपमा मान्यता प्रदान गर्न प्रस्ताव अगाडि सारिएको थियो ।
हिन्दु राष्ट्र भन्ने शब्दावली संविधानमा उल्लेख नभएको भए पनि नेपालमा हिन्दुहरूको बाहुल्य वा वर्चस्व छ । राज्यले हरेक जाति, लिङ्ग, सम्प्रदाय र रङ्गका आधारमा भेदभाव नगरेजस्तै धर्मका आधारमा पनि भेदभाव गर्नु मिल्दैन । अझ गणतन्त्रात्मक मुलुकमा त यस्तो पटक्कै सुहाउँदैन । त्यसैले पनि नेपालको वर्तमान संविधानमा हिन्दु राष्ट्र लेखिहाल्नुपर्ने जरुरी थियो जस्तो लाग्दैन । यदि लेख्नैपर्ने थियोे भने पनि जनमतसङ्ग्रहबाट मात्र टुङ्गोमा पुग्न उचित हुन्थ्यो । भारत पनि हिन्दुधर्मी बहुल राष्ट्र हो । यसको अर्को नाम नै हिन्दुस्तान हो । तर, त्यहाँको संविधानमा पनि हिन्दु राष्ट्र भन्ने उल्लेख छैन तापनि हिन्दु धर्मका विभिन्न शाखा र सम्प्रदायका ठुल्ठूला अखडा त्यहाँ छन् र हिन्दुधर्मी क्रियाकलापहरू निर्वाध रूपमा भइरहेकै छन् ।
के हो त धर्मनिरपेक्षता ? अनि के हो धार्मिक स्वतन्त्रता ? यस विषयमा अलि बढी गम्भीरतापूर्वक सोच्नु र बुझ्नु आवश्यक हुन्छ । यस विषयमा व्यापक रूपमा बहस हुन सकेको छैन । धर्मनिरपेक्ष शब्दको अर्थ नै नबुझी यसको विरोध गर्नेहरू एकातिर छन् भने राज्यको खास धर्म हुनुपर्छ भनेर यसको विरोध गर्नेहरू पनि छन् । वस्तुतः धर्मनिरपेक्षता भन्नाले धर्मका बारेमा तटस्थ बस्नु भन्ने बुझिन्छ । प्रायः गणतन्त्रमा राज्यहरूले धर्मनिरपेक्षतालाई अवलम्बन गरेका हुन्छन् । धर्मनिरपेक्ष राज्य त्यस्तो राज्यलाई भनिन्छ जुन धर्मका सन्दर्भमा निरपेक्ष वा तटस्थ रहन्छ । अर्थात् त्यो राज्य जसको कुनै एकमात्र राष्ट्रिय धर्म हँुदैन । राज्यले मुलुकभित्रका सबै धर्मलाई समान व्यवहार गरेको हुन्छ । त्यसैले धर्मनिरपेक्ष राज्यमा कुनै एउटा धर्मावलम्बी वा धार्मिक सम्प्रदायको मात्र अस्तित्व रहँदैन । त्यहाँ सबैको उचित स्थान र सम्मान हुन्छ । सबैले आफ्नो धर्म र त्यससँग सम्बन्धित धार्मिक एवम् साँस्कृतिक क्रियाकलापहरू गर्न पाउँछन्, त्यहाँ राज्यले कुनै प्रकारको हस्तक्षेप गर्न सक्दैन । धर्मनिरपेक्षता एकप्रकारले धार्मिक सहिष्णुताको निकट रहेको हुन्छ । यसमा राज्यभित्र हरेक धर्मावलम्बीहरूले आ–आफ्नो धर्म निर्वाध वा निर्भयतापूर्वक मान्न र त्यसको संरक्षण, सम्बद्र्धन गर्न पाउँछन् । कसैलाई पनि अर्काको धर्ममाथि प्रहार गर्ने अधिकार हुँदैन ।
धार्मिक स्वतन्त्रतालाई धेरैले सामान्य रूपमा लिएको देखिन्छ । वस्तुतः हिन्दु धर्मावलम्बी नेपालीमध्ये धर्मनिरपेक्षतासँग डराउने र बरु धार्मिक स्वतन्त्रता शब्दावलीमा रमाउनेहरू बढी देखिएको पाइन्छ । वास्तवमा धर्मनिरपेक्षताभन्दा धार्मिक स्वतन्त्रता बढी खतरनाक हुन्छ । धार्मिक स्वतन्त्रताको व्याख्या गर्दा यसले कस्तो असर पार्छ भन्ने बुझ्नु जरुरी छ । धार्मिक स्वतन्त्रता यदि राज्यमा छ भने त्यहाँका नागरिकले धर्म परिवर्तन गर्ने छुट पनि सिर्जना हुन सक्छ । एउटा धर्मावलम्बीले आफ्नो सनातन धर्म त्यागेर अर्को धर्म ग्रहण गर्ने स्वतन्त्रता धार्मिक स्वतन्त्रता भएको मुलुकमा पाउन सक्छ । स्वतन्त्रता भनिसकेपछि त्यहाँ बन्देज लगाउन कानुनले सक्दैन ।
नेपाल अवश्य पनि हिन्दुधर्मी बहुल राष्ट्र हो । नेपालका हिन्दुहरू धर्मनिरपेक्षतासँग डराउनुपर्दैन, बरु अहिले नेपालमा प्रलोभन देखाएर वा दबाबमा अलि बढी सोझासिधा र विपन्न वर्गका नेपालीलाई गैरकानुनी रूपमा क्रिश्चियन बनाउने काम जुन ढङ्गले भइरहेको छ, त्यसको रोकथामका लागि हिन्दु धर्मावलम्बीहरूले आवाज उठाउनुपर्ने आवश्यकता छ । यस विषयमा सरकारको पनि गम्भीर दृष्टि पुग्नु उत्तिकै जरुरी छ ।
(लेखक साहित्यकार हुनुहुन्छ ।)