logo
२०८१ मंसिर ११ मंगलवार



सभ्य नागरिक, सुरक्षित सडक (सम्पादकीय)

विचार/दृष्टिकोण |





सडकको दुरवस्था, जीर्ण पर्खाललगायतका संरचना, अग्ला र सडक प्रतिकूल रुख, अव्यवस्थित बिजुली र फोनका तारले काठमाडौँ उपत्यकामा पटकपटक सर्वसाधारणको मृत्यु भएको छ । बर्सेनि करिब दुई हजार नेपालीको सडक दुर्घटनामा मृत्यु हुने गरेको नेपाल प्रहरीका पछिल्ला तथ्याङ्कले देखाउँछन् । सडक दुर्घटनाका विभिन्न कारणमध्ये जीर्ण सडक पनि एक कारण हो । एक त नेपालमा स्थानीय तहमार्फत बनाइएका वा बनाइने सडक प्राविधिक दृष्टिले कम महìवका आधारमा बन्ने गरेका गुनासा छन् । बनाइसकिएका सडक वर्षौं कच्ची रहने मात्र होइन राजधानीलगायतका मुख्य सहरमा व्यक्तिगत, संस्थागत रूपमै खाल्टा पार्ने वा पर्ने गरेका छन् । सडकमा परेका खाल्डाखुल्डी पुर्ने नियमित कार्य हो तर खाल्डाखुल्डी पुरेर मात्र सडक दुर्घटना न्यूनीकरण गर्न सकिन्छ भन्ने होइन । सडक अतिक्रमण, निर्माण तथा व्यापारका सामग्री सडकमा थुपार्नेजस्ता समस्या छँदै थिए, पछिल्ला दशकमा त सडक र पैदलपथ (फुटपाथ) मा हुने गरेका व्यापारले सडक दुर्घटना बढाएका छन् । यस्ता समस्याको दीर्घकालीन समाधान गरेर पैदल यात्रु र सवारी चालकले निर्बाध सडकको प्रयोग गर्न सक्ने वातावरण सिर्जना गर्नु सहरी यातायातको चुनौती भएको छ ।
दुई महिनाभित्र सक्नेगरी काठमाडौँभित्र सडकका खाल्डाखुल्डी पुर्ने कार्य सुरु भएको छ । यो अभियानअन्तर्गत मङ्गलबार कोटेश्वर–चाबहिल सडकखण्डमा खाल्डाखुल्डी पुर्ने काम सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०७६÷७७ को चौमासिक समीक्षा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले खाल्डाखुल्डी चाँडो पुर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएपछि तदारुकताका साथ काम भएको हो । सडकका खाल्डाखुल्डी नियमित समस्या भएकाले यसलाई नियमित रूपमा नै समाधान गर्नुपर्छ । सबै काममा प्रधानमन्त्रीले चासो दिन सम्भव हुँदैन । जिम्मेवारी पाएका निकाय र व्यक्तिले यस्ता काममा आफैँ जिम्मेवार हुनुपर्छ । प्रधानमन्त्रीले जनताले भोगेका दैनिक समस्यामा सूक्ष्म निगरानी राखेर जुन निर्देशन दिनुभएको छ त्यसलाई प्रतिबद्धताका साथ पूरा गर्नुपर्ने दायित्व सम्बन्धित पक्षमा पुगेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्बाङले दुई तीन महिनाभित्र काठमाडौँ उपत्यकाका सङ्घीय सडकहरूका खाल्डाखुल्डी पुरिसकिने बताउनुभएको छ । यो प्रतिबद्धता आफैँमा सराहनीय छ । साथै मुलुकभर सडक बनाउन जुन उत्साह र चाप देखिन्छ त्यसरी नै सडकको नियमित मर्मत सम्भारमा पनि ध्यान दिनु आवश्यक छ । सडकको परिणाम र गुणस्तरमा निरन्तर ध्यान दिइएन भने यस्ता समस्या दोहरिरहनेछन् ।
यसैगरी सडक निर्माण वा मर्मत गर्दा बिजुली र फोनका तार व्यवस्थापन, पानीका पाइप तथा ढल विस्तारलगायतका भौतिक पक्ष र व्यक्तिगत अतिक्रमण, व्यापारिक प्रयोजन, निर्माण सामग्री थुपार्नेजस्ता कारणलाई पनि निरुत्साहन गर्नुपर्ने हुन्छ । सडक राष्ट्रिय सम्पत्ति हो, यसको उपयोग कानुनको दायराभित्र रहेर मात्र गर्नुपर्छ भन्नेमा नागरिक पनि सचेत हुनैपर्छ । पाए आफैँ सडक खन्ने अथवा विभिन्न सामग्री सडकमा थुपार्ने अनि सडकमा जाम भयो भनेर सरकार र सरकारी निकायको आलोचना गरेर न समस्या समाधान हुन्छ न सभ्य नागरिक भइन्छ । नेपाल मात्र यस्तो मुलुक होला जहाँ सडक र पेटीमा व्यापार गर्न पाउनुपर्छ भनेर आन्दोलन गरिन्छ र यो वा त्यो शर्तमा सहमति गरिन्छ । सडक व्यापार गर्नका लागि बनाइएको स्थल होइन र सकारले व्यापार गर्न सबैलाई स्थान उपलब्धि गराउन सक्छ भन्ने पनि होइन । खाल्डाखुल्डी वा अन्य प्रयोजनले अस्तव्यस्त सडकमा गम्भीर बिरामी बोकेका एम्बुलेन्स वा आगलागी नियन्त्रणका दमकलले बाटो नपाउने परिस्थिति गम्भीर समस्या हो । यस्तो समस्या समाधानमा नागरिकको भूमिका हुँदैन भन्ने होइन । यद्यपि सरकार र स्थानीय तह बढी जिम्मेवार होलान् । नागरिकले पनि सडक र स्वयं आफू सुरक्षित तथा सभ्य हुन केही न केही योगदान गर्नैपर्छ । नागरिकले घर वा पसलबाट सडकमा फोहोर फाल्ने अनि नगरपालिकाहरूले ती बस्ती सफा गरिदिनुपर्ने मानसिकताको अन्त्य हुनुपर्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?