मुुनीन्द्ररत्न बज्राचार्य
नेपाल बहुजातीय, बहुभाषिक, साँस्कृतिक र बहुधार्मिक विविधतापूर्ण मुलुक हो । यो प्राचीनकालदेखि नै प्रकृतिपूजकका रूपमा बसोवास रहँदै आएको पुण्य भूमि हो । बाह्रै महिना विभिन्न चाडपर्वहरू मनाउनेक्रममा मङ्सिर शुक्ल पूणर््िामाका दिन योमरी पुन्ही, थिंला पुन्ही, गैडु पूजा र धान्यपूर्णिमा भनेर विभिन्न किसिमले यो पर्व मनाउने चलन छ । यसै दिन उँभौली पर्व पनि पर्दछ ।
अधिकांश नेपालीको पेसा र जीविकोपार्जनको आधार नै कृषि रहेकाले कृषिको उपजलाई महŒवपूर्ण मानी तिनको पूजाआजा गर्ने चलन छ । त्यही कृषिबाट उपज भएका वस्तुहरूबाट बनाइने चीजबिजलाई सेवन गर्ने चलन छ । धान्यपूर्णिमा अर्थात् योमरी पूर्णिमाका सम्बन्धमा कुलायन तन्त्र ग्रन्थ, विष्णुपुराण आदिमा उल्लेख भएको पाइन्छ । यस दिन धान चामल राख्ने भकारीमा योमरीका कुवेर, लक्ष्मी र गणेश बनाई चार दिनसम्म दैनिक विधिपूर्वक पूजा गरी रोटी चढाई अरूलाई पनि दान गरी आफूहरूले खाएमा फलिफाप भई वर्ष दिनसम्मका लागि धन–सम्पत्ति, अन्न स्थिर रहने विष्णुपुराणमा उल्लेख छ । पूर्णिमाका दिन विशेषगरी भर्खर धान काटी भिœयाइएको धानबाली भण्डारणमा पूजा गरिने भएकाले यसलाई धान्य पूर्णिमा भन्ने गरिएको हो । नेवार जातिमा भने योमरी बनाई पूजा गरी र योमरी खाने चलन छ । यसैले यस पर्वलाई योेमरी पुन्ही भन्ने गरिएको हो ।
साँस्कृतिक रूपमा विशेषता रहेको विभिन्न कलात्मक रूपमा योमरी बनाउने गरिन्छ । चामलको पीठोबाट कलात्मक तथा आकर्षक रोटी ल्वहंचा (ढुङ्गे) मरी र योमरी बनाइन्छ । विभिन्न रोटी र योमरीको लक्ष्मी, कुमार, गणेश बनाई त्यसमा पूजा गर्ने गरिन्छ । योमरी अन्य रोटीहरूभन्दा भिन्नै तरिकाले बनाइएको हुँदा यसको स्वाद पनि अर्कै हुन्छ । मीठो परिकारका रूपमा खाने योमरी पनि बनाइन्छ । चामलको पीठोलाई भुटेको तिल मिसाइएको झोल राखी बफाएर तयार गरिन्छ । योमरी बनाउँदा यसमा खुवा, नरिवल, मासु मिसाउने चलन छ । बाफबाट पकाइने र स्वाद मीठो हुने भएकाले यसको नाम नै नेवारीमा योमरी अर्थात् मनपर्ने रोटी भन्ने गरिएको हो ।
साँस्कृतिक महŒव रहेको योमरीभित्र चाकु राखिएकोलाई बायो र मास राखिएकोलाई मायो भनिन्छ । बायोलाई नारायण र मायोलाई लक्ष्मीको प्रतीकका रूपमा मान्ने चलन छ । अर्थात् यो पुरुषको र स्त्री रूप मानिन्छ । यसको वैज्ञानिक तथा दार्शनिक महŒव पनि छ । योमरीको दार्शनिक पक्ष दान एवम् धर्मसँग सम्बन्धित छ । योमरी बनाउँंदा यसको बनोट बौद्ध स्तूप चैत्याकारको हुन्छ । देवीदेवताको पूजाआजामा चढाइने योमरी बनाउंँदा योमरीको गर्भमा तिल र चाकुको बदलामा पाँचवटा अछेता राख्ने चलन छ, जसलाई पञ्च तŒव तथा पञ्चबुद्धको प्रतीक मानिन्छ ।
नेवार जातिमध्येमा पनि योमरी पूर्णिमालाई खेतमा काम गर्ने किसान ज्यापू जातिले विशेष महŒव दिई भव्यताका साथ पञ्चतŒवको प्रतीक स्वरूप जल, सिन्दुर, अछेता, वस्त्रालङ्कार (जजङ्का), फूल, धुप र फलफूल आदिले पूजाआजा गरी अनिवार्य रूपले मनाउने गर्छन् । नेवार ज्यापू यस पर्वलाई कुपूजा भन्ने गर्छन् । तर, सहरीकरणकोे दु्रत विकाससँगै उपत्यकामा खेतीयोग्य जमिन घट्दै छ, जसकारण कृषि पेसा पनि विस्थापन हुनेक्रममा छ । यतिमात्र होइन, राज्यमा साँस्कृतिक परम्परा र विभिन्न रीतिरिवाज चाडपर्व मनाउन नै निकै कठिन भएको छ । नेवार जातिमा हरेक पर्वमा दान, धर्म गर्ने चलन भएकाले आफूमात्र नखाई अरूलाई पनि खुवाउने चलन छ । योमरी पूर्णिमा दिन युवकयुवती तथा केटाकेटीहरू समूहमा विशेष गीत गाई योमरी माग्ने जाने चलन छ । यसरी माग्न आएको बेलामा यथाशक्य चामल वा योमरी तथा पैसा दिएर पठाउने चलन छ । तर, अचेल यस्तो माग्न जाने चलन हराइसकेको छ । जसले गर्दा नयाँ पिँढीमा आफ्नो सँस्कृतिप्रति चेतना घट्दै गइरहेको देखिन्छ । उनीहरू पाश्चात्य सँस्कृतिमा भुल्दै गएको देख्न सकिन्छ ।
देशको सँस्कृति र परिस्थितिलाई अङ्गीकार गर्दै काठमाडौँका नेवार समुदायबीचमा मात्र नभई, देशभरि छरिएर रहेका नेवार समुदायबीच सौहार्द्र वातावरण कायम गरी आपसमा ऐक्यबद्धता कायम गर्न र सुशासनका लागि विक्रम संवत् २०६७ देखि ज्यापू जातिमा राष्ट्रिय ज्यापू दिवस समारोह समिति स्थापना गरी ज्यापू दिवस मनाउने कार्यक्रम सुरुवात गरिएको छ । ज्यापू दिवसले विभिन्न जातजातिका परम्परागत, धार्मिक र साँस्कृतिक समूहरूलाई संलग्न गराई देशको संस्कृतिलाई पहिचान गराउँदै आएको छ । युवाले आफ्नो सँस्कृतिलाई बिस्तारै छोड््दै गएको अवस्थामा यसले शिक्षामूलक र रचनात्मक कार्यक्रमको आयोजना गरी परम्परागत चाडपर्वबारे जानकारी दिनुका साथै यसमा सरिक गराउन सहयोग पुग्नेछ । ज्यापू दिवसको अवसरमा ज्यापू प्रतिभा सम्मान पुरस्कार दिई, यसले प्रेरणादायक भूमिका निर्वाह गरेको छ ।
ज्यापू दिवस काठमाडौँ उपत्यकाको ६३ टोलका ज्यापूहरू संलग्न भई बर्सेनि पालैपालो मनाइँदै आएको छ । सो दिन नेवार जातिको पहिचान हुने भेषभूषासहित जस्तै तपाःलँ (भोटो), हाकुपटासी (कालो रङको सारी), गरगहना र विभिन्न बाजागाजाहरूमा धिमे, बाँसुरी बाजा धुन बजाएर, धुँन्यामुन्या घुमाई काठमाडौँका मुख्य सहरहरू परिक्रमा गरिन्छ । ज्यापू दिवसले केही हदसम्म आफ्नै देशमा रहेको पर्वलाई परिचित बनाउने काम गरेको छ । यस्ता उत्सवले अनेकतामा एकता ल्याई नेपालको मौलिक सँस्कृतिलाई विश्वमा पहिचान गराउन सहयोग गर्ने कुरामा दुईमत छैन ।
(लेखक त्रिविका अवकाशप्राप्त सहप्राध्यापक हुनुहुन्छ ।)