logo
२०८१ मंसिर ११ मंगलवार



ऐतिहासिक सफलता (सम्पादकीय)

विचार/दृष्टिकोण |




नेपालमा आयोजित १३औँ दक्षिण एसियाली खेलकुद (साग) को १० दिने प्रतियोगिता ऐतिहासिक उपलब्धिका साथ सम्पन्न भएको छ । भूकम्पले ध्वस्त संरचनाको पुनःनिर्माण गर्नु नेपालका लागि चुनौती नै थियो, त्यसमाथि सागको आयोजनाका लागि पूर्वाधार तयारी, खेलकुदको प्रशिक्षणजस्ता कार्य गर्नु सहज थिएन । नेपालले उच्च साहसका साथ प्रतियोगिता आयोजना गर्ने निर्णय गरेदेखि निर्धारित समयमा नै प्रतियोगिता हुन्छ कि हुँदैन भन्ने संशय पनि व्यक्त भएका थिए तर अत्यन्त उल्लास र निर्विवादरूपमा प्रतियोगिता सम्पन्न गरेर नेपालले ऐतिहासिक दायित्व निर्वाह गरेको छ । सागमा आवद्ध राष्ट्रका सरकार, नेपालका सम्बद्ध निकाय, खेलाडी, प्रशिक्षक तथा कर्मचारीको विशिष्ट योगदानले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सम्पन्न हुन सम्भव भएको छ । नेपालले साफको स्थापनादेखि खेलकुद प्रतियोगिता मात्र नभएर यस क्षेत्रका राष्ट्र, खेलाडी र आमनागरिकमा सद्भाव अभिवृद्धि गर्ने सुअवसरका रूपमा लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभएजस्तै नेपालमा सम्पन्न यस प्रतियोगिताले दक्षिण एसियाको एकता अभिवृद्धि गरेको छ । दक्षिण एसियाली खेलकुदलाई क्षेत्रीय प्रतिश्पर्धामार्फत विश्वप्रतिश्पर्धामा उक्लन सक्ने अवसर बनाउन यस क्षेत्रका राष्ट्रले अझै थप गहन सहकार्य गर्नुपर्ने पुष्टि पनि यो प्रतियोगिताले गरेको छ । हर्ष उल्लासका साथ प्रतियोगिता सम्पन्न हुनु सागआवद्ध दक्षिण एसियाली मुलुकको साझा सफलता हो ।
प्रतियोगिता भन्ने बित्तिकै खेल जित्नैपर्ने मनोविज्ञानसँग जोडिन्छ तर नेपालले सागको आयोजनालाई यस क्षेत्रको खेलकुद विकासमा दिनुपर्ने आफ्नो दायित्व सम्झेको छ । कस्तो परिणाम आउँछ भन्नुभन्दा पनि सागको नियमितता नेपालको प्राथमिकता भए पनि नेपालले अपेक्षाकृत सफलता प्राप्त गरेको छ । प्रतियोगिता जित्नुलाई नेपाल, नेपाली खेलाडी र सम्पूर्ण नेपालीको विजयका रूपमा लिइएको छ । यो राष्ट्रिय गौरवका लागि नेपाल गर्व गर्दछ र प्रतियोगितामा संलग्न ५९९ नेपाली खेलाडीलाई हृदयतः सम्मान गर्दछ । साथै, सातै देशका दुईहजार ९१० जना खेलाडीले यस क्षेत्रको खेल संस्कृतिलाई थप उज्ज्वल बनाउन दिनुभएको विशेष योगदानको पनि नेपालले उच्च सम्मान गरेको छ । यसअघि विसं. २०४१ र २०५६ मा सागको आयोजना गरेको नेपाल निरन्तर यसका प्रतियोगितामा सहभागी हुँदै आएको छ । यसपटक नेपालमा तेस्रोपटक आयोजित प्रतियोगिता नेपालीका लागि अत्यन्त सुखद् रह्यो । १३औँ संस्करणमा नेपालले ऐतिहासिक नतिजा प्राप्त गर्दै ५१ स्वर्ण, ६० रजत र ९६ कांस्य पदक जितेको छ । राष्ट्रिय खेलकुद परिषद्ले विभिन्न खेलमा नेपालले ५० स्वर्ण पदक हासिल गर्ने लक्ष्य बनाएकोमा ५१ वटा जितेर सुखद् लक्ष्य चुमेको छ । यो प्रतियोगिताका कारण नेपाल खेलकुदमा नयाँ संरचना निर्माण र विशिष्ट प्रतिभा प्रष्फुटन गराउन सफल भएको छ । आगामी दिनमा यस क्षेत्रमा गरिने निरन्तरको पहल र लगानीले नेपालको खेलकुललाई थप परिणाममुखी बनाउने देखिएको छ । निरन्तर स्रोत, साधन, प्रशिक्षण र घरेलु प्रतियोगिताको वातावरण प्रदान गर्नसक्दा केही खेलमा विश्वस्तरीय सम्भावना पनि देखिएको छ । साग सफलतापूर्वक सम्पन्न हुनुले नेपालमा दक्षिण एसियाली क्षेत्रीय पर्यटकको आगमनमा थप टेवा पु¥याउन उत्तोलकको रुपमा काम गर्ने आशा गर्न सकिन्छ ।
नेपाली दर्शकले अतिथि खेलाडीहरूलाई सद्भाव प्रदर्शन गरेर असल चरित्र प्रदर्शन गरेका छन् । काठमाडौँ, पोखरा र जनकपुरमा आयोजित प्रतियोगितामा कुनै पनि अवाञ्छित घटना नभई हार्दिकताका साथ खेल सम्पन्न भएकाले नेपालको विश्वसनीयता बढेको छ । खेलाडीलाई नभएर उसको खेलको प्रसंशा गर्ने नेपाली दर्शकको उदारतालाई सहभागी मुलुकका खेलाडीले उच्च सम्मान गरेका हुनुपर्छ । यस क्षेत्रका राष्ट्रले सागको नियमिततामा प्रतिवद्धता जनाउनु आवश्यक देखिएको छ । यस्तो नियमितताले खेलाडीलाई उत्प्रेरित मात्र गर्ने छैन, आयोजक राष्ट्रलाई पूर्व तयारीको सहजता मिल्नेछ । साफ हुँदै साग प्रतियोगिता हुँदासम्म निर्धारित समयमा नै प्रतियोगिता हुन नसकेकाले नेपालमा प्रतियोगिता हुने नहुनेमा धेरै वहस भएका थिए । यस क्षेत्रको ओलम्पिक गेम सरह महत्व राख्ने सागलाई हरेक दुई–दुई वर्षमा नियमित गर्दै यहाँका खेलाडीलाई विश्वस्तरीय बनाउनुपर्ने आवश्यकता बढ्दै गएको छ । खेलकुदले गर्ने राष्ट्रियताको प्रवद्र्धनलाई उच्च महत्व दिँदै सागआबद्ध मुलुकले यहाँका खेलाडीलाई आर्थिक तथा सामाजिक सुरक्षा प्रदान गरेर दक्षिण एसियालाई खेलकुदको केन्द्रविन्दु बनाउन सक्छन् र आपसी भाइचारालाई थप उचाइमा पु¥याउन सक्नेछन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?