रामप्रसाद आचार्य
खाडी क्षेत्रको सबैभन्दा गरिब मुलुक कतार आज सबैभन्दा धनी मुलुक बनेको छ । छिमेकीहरूले नाकाबन्दी लगाए पनि डटेर सामना गरिरहेको छ । नाकाबन्दीबाट नझुकेपछि नाकाबन्दी लगाएका छिमेकीले समेत कतारमा भएको खाडी क्षेत्रको फुटबल प्रतियोगितामा भाग लिए । छिमेकी साउदी अरेबियाले कतारका अमिरलाई भ्रमणका लागि बोलाएको छ । कतार सन् २०२२ को विश्वकप फुटबल आयोजनाका लागि भव्य तयारी गर्दै छ । नाकाबन्दीबाट झुकाउन नसकेपछि नाकाबन्दी लगाएका छिमेकीहरू पछाडि हट्ने सङ्केत गरेका छन् ।
कतारमाथि नाकाबन्दी लगाएको दुई वर्षभन्दा बढी भयो । नाकाबन्दीको सामना गर्न कतारले तत्काल चालेका कदम र अवलम्बन गरेको नीति भरपर्दो बन्यो, जसले गर्दा नाकाबन्दीबाट जनजीवनमा गम्भीर असर परेको छैन ।
आतङ्कवादलाई सघाएको भन्दै साउदी अरब, संयुक्त अरब इमिरेट्स, इजिप्ट र बहरेनले कतारमाथि नाकाबन्दी गरे । सन् २०१७ को जुन महिनादेखि नाकाबन्दीमा रहेको कतारले आफूमाथि लगाइएको आरोपलाई सशक्त रूपमा अस्वीकार गर्दै आएको छ ।
चारवटा प्रभावशाली एवम् शक्तिशाली छिमेकी मुलुकले एकसाथ कतारमाथि नाकाबन्दी गरे पनि त्यसको खासै असर देखिएन । कतार आफ्नै पौरखमा जुटिरह्यो । नाकाबन्दी हुँदाहुँदै कतारी अर्थतन्त्र चलायमान हुनुका तीन कारण छन् । पहिलो, उसको आर्थिक सामथ्र्य । कतारको प्रमुख निर्यात नै प्राकृतिक ग्यास हो । प्राकृतिक ग्यासको स्वभाव नै के हुन्छ भने त्यसका क्रेताहरूसँग १०, १५, २० वर्षसम्मको सम्झौता हुन्छ । दीर्घकालीन सम्झौताका कारण कतारको आर्थिक सामथ्र्य दह्रो छ । आर्थिक बचत पनि धेरै छ । उसले निर्यात गर्ने चीजको संसारभरि बजार छ । कतार विश्वकै सबैभन्दा बढी एलपी ग्यास निर्यात गर्ने देश हो । सन् २०१७ मा मात्रै उसले आठ करोड १० लाख टन ग्यास निर्यात गरेको थियो, जुन विश्वको कुल आपूर्तिको झन्डै एकतिहाइ हो ।
लन्डनस्थित अनुसन्धान कम्पनी क्यापिटल इकनोमिक्सका मध्यपूर्व अर्थतन्त्र मामिलाका जानकार जेसन टुभीले भन्नुहुन्छ, ‘थप ग्यास निकालेरै पनि कतारीहरू बाँच्न सक्छन् ।’ कतारले लन्डन, न्युयोर्क सहरसहित पश्चिमा मुलुकहरूमा रणनीतिक लगानी पनि गरेको छ । ऊसँग ‘सोभरेन वेल्थ फन्ड’ भनिने रणनीतिक राष्ट्रिय बचत अर्बौँ डलर छ ।
नाकाबन्दीबाट कतार गल्न नसक्नुको दोस्रो कारण उसको भौगोलिक अवस्था हो । कतार भूपरिवेष्ठित देश होइन । समुद्रसम्म पहुँच भएकाले भूपरिवेष्ठित देशलाईजस्तो जोखिम छैन । केही मुलुकले गरेको सहयोगका कारण पनि नाकाबन्दीसँग जुझ्न कतारलाई सघाउ पुग्यो । समुद्रसँग पहुँच रहेको कतारलाई टर्की र मध्यपूर्वको एउटा शक्ति देश इरानले सहयोग गरेका छन् । दूधको मागलाई ध्यानमा राखी कतारले विमानमार्फत दसौँ हजार गाई इरानबाट आयात ग¥यो । यसले जुनसुकै अवस्थाको सामना गर्न कतार सक्षम रहेको सन्देश दियो ।
तेस्रो कारण हो, कतारीको जनसङ्ख्या । कतारी जनसङ्ख्याको आकार सानो छ । वास्तविक कतारीलाई त्यहाँ समस्या हुने स्थिति नै छैन । नाकाबन्दीसँग जुध्न कतारले विशेषगरी दुईवटा आर्थिक रणनीति अपनायो । पहिलो, बजारमा खाद्य पदार्थ तथा अरू सामानको अभाव हुन नदिन तत्कालका लागि पर्याप्त आयात ग¥यो । इरान, टर्की आदि सम्बन्ध राम्रो भएका देशबाट पर्याप्त आयात गरेकाले सामानको अभाव भएन । अनि आफ्नो आन्तरिक उत्पादन क्षमता बढाउन लगानी पनि बढायो ।
दोस्रो, निजी लगानी बढाएर कतारले आर्थिक वृद्धि गर्न निजीकरणका साथै अरू आर्थिक उदारीकरणमा जोड दिएको छ । उत्पादन बढाउँदै आत्मनिर्भर हुने, आयात प्रतिस्थापन गर्ने र आफ्नो उत्पादन निर्यात पनि गर्नेखालको रणनीति लियो र धेरै हदसम्म यो सफल पनि भएको छ ।
एउटा सानो खाडी मुलुक भएर पनि कतारले नाकाबन्दीको दृढतापूर्वक सामना गरिरहेको छ । खाद्यसामग्री सुनिश्चित गर्न अरू देशका कृषि उत्पादन र प्रशोधन गर्ने कम्पनीमा कतारले लगानी गरेको थियो, जसले आत्मनिर्भर हुन महŒवपूर्ण भूमिका खेल्यो । कतारी लगानी कोष अल स्यानका वरिष्ठ निर्देशक अकबर खान भन्नुहुन्छ, ‘नाकाबन्दीले हाम्रो भावनामा त असर पारेको छ तर हाम्रो व्यापार गर्ने क्षमतामा चाहिँ होइन ।
छिमेकीहरूले नाकाबन्दी लगाएसँगै कतारको कूटनीतिक सम्बन्ध भने तनावपूर्ण छ । दोहास्थित सरकारलाई दबाब दिने उद्देश्यले चालिएको कदममा कतारका ती छिमेकीहरूले ऊसँगको कूटनीतिक सम्बन्धविच्छेद गर्नुका साथै सिमाना पनि बन्द गरेर कतारलाई झुकाउने प्रयास गरेका छन् । तर, कतार झुकेको छैन ।
कतार र उसका गल्फ कोअपरेसन काउन्सिलका सदस्य छिमेकीहरूले ‘अरब क्रान्ति’ भनिएको त्यस क्षेत्रमा फैलिएको आन्दोलनको लहरपछिका राजनीतिक परिवर्तनका बेला परस्पर विरोधी पक्षलाई समर्थन गरेका थिए । दोहाले केही राष्ट्रहरूमा राजनीतिक फाइदा लिएका इस्लामवादीहरूलाई समर्थन गरेको थियो । इजिप्टमा मुस्लिम ब्रदरहुडका नेता तथा भूतपूर्व राष्ट्रपति मोहमद मोर्सीलाई सन् २०१३ मा पदच्यूत गरिएपछि सो समूहका सदस्यहरूलाई एउटा मञ्च उपलब्ध गराएको आरोप कतारमाथि लगाइएको छ । सो समूह हाल इजिप्टमा प्रतिबन्धित छ । साउदी अरेबिया र यूएईले मुस्लिम ब्रदरहुडलाई ‘आतङ्कवादी’ सङ्गठन मान्ने गर्छन् ।
कतारले सो क्षेत्रलाई अस्थिर तुल्याउने उद्देश्यले मुस्लिम ब्रदरहुड, आईएस स्टेट र अलकायदाजस्ता विभिन्न आतङ्कवादी र साम्प्रदायिक समूहहरूलाई सहयोग गरेको आरोप साउदी अरबले लगाउँदै आएको छ । तर, कतारको विदेश मन्त्रालयले रियाद, अबुधाबी र मानमाले चालेका कदम ‘औचित्यहीन र आधारहीन तथा अप्रमाणित आरोपहरूमा आधारित’ भन्दै आफ्नो बचाउ गर्दै आएको छ । कतारले आतङ्कवाद तथा अतिवादविरुद्धको सङ्घर्षमा आफ्नो कर्तव्यको पालना गरिरहेकोमा जोड दिएको छ ।
कतारको वर्तमान सङ्कट त्यहाँका अमिर शेख तामिम बिन हमाद अल थानीले इरानप्रति अमेरिकी शत्रुताको आलोचना गर्दै टिप्पणी गर्नुभएको विवादास्पद प्रतिवेदन सार्वजनिक भएपछि सुरु भएको हो । कतारका अनुसार ह्याकरहरूले त्यस्ता झुटा टिप्पणीहरू देशको सरकारी समाचार एजेन्सीमा प्रकाशित गरिदिएका थिए ।
कतारको प्रमुख प्रतिद्वन्द्वी साउदी अरेबियाले लामो समयदेखि नै त्यस क्षेत्रमा तेहरानको उद्देश्यहरूप्रति चिन्ता व्यक्त गर्दै आएको छ । साउदी सरकारले दोहालाई ‘कतिपय क्षेत्रमा सक्रिय इरान समर्थित आतङ्कवादी समूहका गतिविधिलाई सघाएको’ आरोप पनि लगाएको छ । यमनका हुथी विद्रोहीहरूलाई पनि समर्थन गरेको आरोप कतारमाथि छ । यमनमा भएको साउदी नेतृत्वको कारबाहीमा सहभागिता जनाएको दोहाले भनेको छ, ‘उसले अन्य देशका सार्वभौमसत्ताको सम्मान गर्छ र तिनीहरूको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन ।’
सानो इस्लामिक मुलुक कतार ११ हजार ४३७ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । अरबी भाषा बोल्ने कतारीको प्रतिव्यक्ति औसत आय अहिले ८५ हजार डलर पुगेको छ भने औसत आयु ७८ वर्ष रहेको छ । २७ लाखमात्र जनसङ्ख्या रहेको कतार सोही सङ्ख्याभन्दा बढी विदेशी कामदार त्यहाँ कार्यरत छन् । कामका लागि कतार जानेको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । मुलुकका मौलिक कला र संस्कृति तथा सम्पदाको संरक्षणमा विशेष ध्यान दिएको कतारले पर्यटन प्रवद्र्धनलाई पनि उच्च प्राथमिकतामा राखेको छ ।
सत्रौँ शताब्दीमा अस्तित्व आएको कतारले सन् १८६७ मा छिमेकी बहराइनसँग सीमाको विषयमा युद्ध गर्दा नराम्रो क्षति भोगेको थियो । युद्धमा दोहा ध्वस्त भएको थियो । बेलायतको मध्यस्थतामा युद्ध रोकिएपछि बेलायतको संरक्षणमा रहेको कतार सन् १९७१ मा मात्र स्वतन्त्र बन्यो । सन् १९३९ देखि सीमितमात्रमा तेल उत्खनन गरी गर्जो टार्दै आएको खाडी क्षेत्रकै गरिब मुलुक कतारको नेतृत्व सन् १९९५ मा हमदले लिएलगत्तै नाटकीय ढङ्गले प्रगतिपथमा लम्केको हो । एक समय दुईछाक पेटभरि खान नपाउने अवस्थाका कतारीहरू अहिले विश्वकै अब्बल दर्जाको सुखसुविधा भोग गरिरहेका छन् । शान्तिपूर्ण ढङ्गले आर्थिक प्रगति र समृद्धिमा लागेको कतारलाई कुनै निहुँ बनाएर छिमेकीहरूले एक्ल्याउने र कमजोर बनाउने प्र्रयास गरेका छन् । तर, कतारले कुनै हालतमा नझुक्ने अडान लिएको छ । अहिले देखिएको नाकाबन्दी विवाद वार्ताद्वारा नै समाधान गर्नुपर्छ । कतारलाई एक्ल्याएर समस्या समाधान हुँदैन ।
(लेखक गोरखापत्रका नायव कार्यकारी सम्पादक हुनुहुन्छ ।)