पुरु रिसाल
यतिखेर नेपाल नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा आइपुगेको छ । २० लाख पर्यटक भिœयाउने लक्ष्यसहित घोषणा गरिएको भ्रमण वर्षलाई चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण र दक्षिण एसियाली खेलकुद (साग) को सम्पन्नताको सन्दर्भमा भएका विश्वव्यापी प्रचारले नेपालले उल्लेख्य लाभ लिन सक्छ र लिन सक्नुपर्दछ पनि तर पूर्वाधार तयारीदेखि साँस्कृतिक, ऐतिहासिक धरोहरलाई दर्शनीय बनाउन सकेका छौँ त ?
प्राकृतिक, ऐतिहासिक, धार्मिक र साँस्कृतिक सम्पदाको वरदान पाएको तर वरदान ग्रहण र सदुपयोग गर्न नसकेको, नजानेको देश भएको छ नेपाल । विदेशी नेपालप्रति आकर्षित छन् तर नेपाली भने युरोप र अमेरिकालाई स्वप्न संसार मानेर त्यतै भुल्ने प्रयत्नमा छन् । प्रकृतिको वरदान ‘हरियो वन नेपालको धन’ अब लगभग किंवदन्ती भइसकेको छ । कृषिप्रधान देश खाद्यान्न आयात गर्नुपर्ने विवशताको सिकार भइसकेको छ । जलस्रोतको धनी देश नेपालका नदीहरूको उपयुक्त मात्रामा सदुपयोग हुनै पाएको छैन । त्यसैले नेपालसँग बाँकी भनेकै उपभोग गर्न बाँकी नदीनाला र पर्यटन व्यवसायमात्र हो । त्यही पर्यटन व्यवसायले पनि समुचित प्रोत्साहन र विस्तार हुने अवसर पाइरहेको छैन ।
युरोप र अमेरिकाका कतिपय स्थानहरू समुद्री सौन्दर्यका कारण आकर्षित छन् । ऐतिहासिक, धार्मिक, प्राकृतिक र साँस्कृतिक सम्पदा ती मुलुकहरूमा त्यति उल्लेखनीय मात्रामा छैनन् । त्यसैले त विश्वका कैयौँ मुलुकहरूमा उपनिवेश र नवउपनिवेश विस्तार गरेको अवस्थामा समेत बेलायतको आँखा नेपालमा नै परेको थियो । तेन्जिङ शेर्पाले एड्मन्ड हिलारीको पथप्रदर्शक भएर सगरमाथा समेतलाई विश्वमा चिनाए । त्यतिबेला देशमा पर्यटक भिœयाउन पर्यटन वर्ष मनाउनुपर्ने आवश्यकता नै थिएन । निश्चय नै पर्यटकीय स्थल र सम्पदा अनगिन्ती थिए तर पर्यटकको सङ्ख्या कम थियो । अहिले सन् २०२० लाई पर्यटक वर्ष मनाउने परिचर्चा खुब चलेको छ तर आँकलन गरिएजस्तो २० लाख पर्यटक भित्रिने हुन् कि होइनन् भन्ने शङ्का कायम नै छ ।
मुलुकमा भएको ऐतिहासिक र धार्मिक सम्पदाको समुचित संरक्षण छैन । कैयौँ स्थानहरू मानवीय अतिक्रमणमा परेर खुम्चिन पुगेका छन् । त्यसरी नै कतिपय धार्मिक र प्राकृतिक सम्पदा दैवी वा प्राकृतिक घटना–दुर्घटनाका कारण क्षतिग्रस्त हुन पुगेका छन् । २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएका ऐतिहासिक धार्मिक सम्पदाको पुनःनिर्माण २०७६ सालसम्म पनि पूरा हुन सकेका छैनन् । उदाहरणका लागि काष्ठमण्डप, वसन्तपुर दरबार र रानीपोखरीलाई नै लिन सकिन्छ । ‘भोलि मेला छ, आज सुँगुर मोटाऊ’ भने जस्तो पर्यटन वर्षको पूर्वसन्ध्यामा भ्याइनभ्याई भूकम्पले क्षतिग्रस्त बनाएका ती ऐतिहासिक र धार्मिक सम्पदाको पुनःनिर्माण कार्य जारी राख्नुपरेको छ । थाहा छैन, पर्यटन वर्षभरि पनि ती सम्पदाहरूको पुनःनिर्माणकार्य सम्पन्न भइसक्ने हो कि होइन । सम्भवतः अवस्था नियाल्दा पर्यटन वर्ष सकिँदा मात्र ती सम्पदाको पुनःनिर्माणकार्य सम्पन्न होला ।
शान्तिका अग्रदूत गौतमबुद्धको जन्मथलो लुम्बिनीको विकासका नाममा विनाशकार्य भइरहेको छ भन्ने गुनासा जानकारहरूबाट आइरहेका छन् । लुम्बिनीमा राजा शुद्धोधनको समयको पहिचान दिलाउनेखालका भौतिक सम्पदाका निर्माणभन्दा पनि बढी अत्याधुनिक विलासिताका भौतिक निर्माण गरिए । निश्चय नै अत्याधुनिक होटल र इँट्टाभट्टा बुद्धकालीन संरचना होइनन् । कुनै समयमा रोपिएका रूखबिरुवाहरू समेत अतिक्रमणकारीका कब्जामा गइसके भन्ने छ । बुद्धका नाममा व्यापार विस्तार गर्नेहरूको पो घुइँचो लागेको छ भन्ने प्रतिक्रिया आइरहेका छन् । निश्चय नै जमिन अतिक्रमण गर्नेहरूको नियत व्यापार विस्तार नै हुन सक्छ ।
पर्यटन वर्ष २०२० मनाउन गठित समितिका पदाधिकारीहरू पर्यटक भिœयाउनभन्दा पनि स्वयम् पर्यटक बनेर विदेश भ्रमणमा जानेक्रम बढाउँदै छन् । उदाहरणका लागि नेपाल भ्रमण वर्ष संयोजकको नेतृत्वमा डेढ दर्जन व्यक्तिहरूको इटाली भ्रमणलाई नै लिन सकिन्छ । यस्तो प्रवृत्ति नियाल्दा पर्यटन वर्ष सन् २०२० नेपालमा मनाउने हो कि विदेशमा मनाउने हो भन्ने द्विविधा उत्पन्न हुन थालेको छ । यदि नेपालमै पर्यटन वर्ष मनाउने हो भने आयोजक समितिका पदाधिकारीहरू पर्यटक भिœयाउने गतिविधिमा देशभित्रै सक्रिय हुनुपर्ने हो । विदेशमा त त्यहीँ रहेका नियोगहरूलाई सक्रिय बनाउन सकिन्छ । पर्यटन वर्ष मनाउने व्यवस्थापन गर्नुपर्नेहरूका बीचकै मनमुटावका कारण कर्मचारीहरू नै छाडेर जान थालेका समाचारहरू पनि आइरहेकै छन् । कतै पर्यटन वर्ष सन् २०२० पनि लथालिङ्ग देशको भताभुङ्ग चाला, जसले सक्छ उसले खाला भनेजस्तो हुने त होइन ?
रासन र भाषणमा सक्रियता छ, व्यवस्थापनतर्फ कसैको ध्यान छैन । गाउँ–गाउँमा आन्तरिक र बाह्य पर्यटक वृद्धि गर्न होमस्टे (घरबास) को व्यवस्था हुन थालिसकेको अवस्थामा सरकार कता अल्मलिएको छ कुन्नि ? विकसित सहरका सडकहरू समेत धूलो, हिलो र फोहोरमैलाले पो भरिएका छन् । सडक सवारी जामबाट ढाकिएका छन् । आकाशमा समेत जामको अवस्था छ । आवश्यक सुविधा देशभित्र आउने पर्यटकहरूलाई कसरी उपलब्ध गराउने भन्ने सोच्नुपर्ने अवस्थामा असुविधा थोपर्ने प्रवृत्ति पो बढेर गइरहेको छ । लोभीपापीका कारण आएका पर्यटकहरू त सन्त्रस्त भएर फर्किनुपर्ने अवस्था भएपछि थप पर्यटक आएर २० लाख पुग्ने भन्ने अभिलाषा निराशामा नबदलिएला भन्न सकिँदैन ।
विसं १९९० मा भूकम्प जाँदा क्षतिग्रस्त घरहरू र ऐतिहासिक सम्पदा निर्माण गर्ने काम जुद्धशमशेरले सोचेभन्दा निकै छिटो सम्पन्न गरेका थिए । यतिबेला बरु सामाजिक संस्था र कतिपय व्यक्तिहरूले पुनःनिर्माण उल्लेखनीय काम गरेका छन् । तर, सरकार भने अलमलिएको देखियो । जो पदमा पुगेका छन्, तिनीहरू मौका यही हो भनेर आफ्नै निहित स्वार्थपूर्ति गर्ने ध्याउन्नमा छन् । जो पुगेका छैनन्, तिनीहरू कसरी अवसर छोप्ने भनेर चाकडी चाप्लुसीमै व्यस्त छन् । तसर्थ नेपाल भ्रमण वर्ष २०२० व्यवहारमा होइन, नारामा अल्मलिन पुग्छ कि भन्ने शङ्का बढ्दो छ ।
हुन त नेपालमा हर उत्सव औपचारिकतामा सीमित हुन्छन् । सम्भवतः पर्यटन वर्ष २०२० पनि औपचारिकतामै समापन हुन सक्छ । अन्य थप नयाँ व्यवस्था गर्ने त परै छाडौँ भएकै पुराना संरचनाहरूको पुनःनिर्माण गर्नेतर्फ समेत जिम्मेवार व्यक्तिहरूको यथोचित ध्यान गएको र सक्रिय भएको महसुस भएको छैन । जो बने र बन्दै छन् ती पनि विश्व सम्पदाको मान्यताविपरीत बने भन्ने सिकायत छ । त्यसो भए पर्यटकहरू सरकार र आयोजक समितिमा बसेकाहरूको मुख हेर्न आउने कि प्राकृतिक, धार्मिक र ऐतिहासिक सम्पदा हेर्न आउने हुन् ? थाहा छैन । यस्तै रवैया हो भने पर्यटन वर्ष २०२० पनि हात्ती आयो हात्ती आयो फुस्सा हुन सक्छ ।
त्यसैले सम्बन्धित निकाय व्यावहारिक बाटोबाट अघि बढ्नु आवश्यक छ । हो, यतिखेर पर्यटनमन्त्रीको सक्रियतामा केही काम हुन थालेका छन् र नेतृत्वले इच्छाशक्ति देखाएर अरूलाई मार्गनिर्देशन गरेमा, आस र त्रास प्रयोग गरेमा असम्भव छैन, २०२० मा २० लाख पर्यटक पुग्न ।
(लेखक पत्रकार हुनुहुन्छ ।)