टीकाराम गौतम
आर्यभूमि नेपालमा ऋषिमुनिहरूका साथै आधुनिक महापुरुषहरूको पनि जन्म भएको पाइन्छ । बुद्ध, जनक, सीता, गार्गी, पृथ्वीनारायण, भृकुटी, विद्यापतिजस्ता महान् सपूतहरूले जन्म र कर्मका माध्यमबाट नेपाललाई विश्वमा चिनाए । यस्तै सपूतमध्ये एक हुनुहुन्छ– पण्डित अमृतनाथ मिश्र ।
पं. मिश्रले श्रीमद्भागवत कथा वाचन, शिक्षण एवम् समाजसेवाका माध्यमबाट नेपालको गरिमा उच्च बनाउन महŒवपूर्ण योगदान दिनुभएको छ । उहाँको जन्म महोत्तरी जिल्लाको बनौलीमा विक्रम संवत् १९७७ मङ्सिर २८ गते पिता विष्णुदेव र माता श्रीजनीदेवीका प्रथम पुत्रका रूपमा भएको थियो । बनौली (हाल पिपरा गाउँपालिका) बहुजाति, बहुधार्मिक एवम् बहुसंस्कृति भएको गाउँ हो । यहाँ ब्राह्मण र भूमिहार समुदायको बसोवास धेरै भए पनि तेली, तत्मा, मुसहर, धानुक, कुर्मी, चमार, धोबी, लोहार, केवट, मण्डल एवम् मुसलमान आदि जाति समुदायको पनि बसोवास छ ।
बनौली गाउँको मध्यमवर्गीय परिवारमा जन्मनुभएका मिश्रको प्रारम्भिक शिक्षा घरमै भएको थियो । जनकपुरधामका कुवा पाठशाला र दुर्गाचैतन्य ब्रह्मचारी आश्रमबाट शिक्षाले निरन्तरता पायो । ब्रह्मचारी आश्रमबाटै उहाँले वेदाध्ययन पूरा गर्नुभयो । जनकपुरमै पढे पनि प्रथमा (कक्षा ८) को परीक्षा भने उहाँले भारतको विहारको मधुवनीबाट दिनुभएको थियो । त्यसपछि मध्यमा (कक्षा ९–१२) र शास्त्री (स्नातक) तहको अध्ययन विहारकै मुजफ्फरपुरबाट पूरा भएको थियो । आचार्य (स्नातकोत्तर) तह प्रथम वर्षे वनारसमा गएर पूरा गर्नुभयो । पारिवारिक समस्याका कारण आर्चायको अध्ययन अधुरै छोडी उहाँ र घर फर्कनुभयो । केही समयपछि झाँसी गएर आयुर्वेदको छमहिने सामान्य चिकित्सा तालिम लिनुभयो । उहाँको अध्ययनको मूल विषय संस्कृत व्याकरण भए पनि वेद, धर्मशास्त्र, न्याय, वेदान्त, आयुर्वेदजस्ता विषयमा पनि उहाँ दक्ष हुनुहुन्थ्यो ।
विसं २००६ देखि गाउँमै वेद पाठशाला सञ्चालन गरी १२ जना विद्यार्थीलाई निःशुल्क वेदाध्यापन गराउन थाल्नुभयो । २०१३ सालमा अमेरिकी दूतावास र पुस्तकालयसँग समन्वय गरी सुधा पुस्तकालयको स्थापना गर्नुभयो । विसंं २०१२ मा तत्कालीन श्री ५ को सरकारद्वारा मीनभवन काठमाडौँमा सञ्चालित छमहिने आधार शिक्षा तालिम प्राप्त गरी हालको जनकपुर उपमहानगरपालिका (विन्धी)मा अवस्थित त्रिभुवन आदर्श उच्चमाविमा शिक्षकका रूपमा अध्यापन गर्न थाल्नुभयो । २०१७ सालदेखि २०२६ सम्म लक्ष्मीनियाँ जनता उमावि कुम्हरौडामा अध्यापन गर्नुभयो । उहाँले करिब १५ वर्ष शिक्षण गरेको देखिन्छ । उहाँले आफ्ना विद्यार्थीलाई एकपटक पढ, दुईपटक सोच र तीनपटक लेख भन्ने गुरूमन्त्र दिनुभएको थियो । पढाइभन्दा पढेको कुरालाई मनन गरी त्यसलाई लिपिबद्ध गर्न विद्यार्थीलाई प्रेरित गर्नुभयो । किताबको ज्ञानका साथै व्यावहारिक ज्ञान हुनुपर्ने र प्रमाणपत्रभन्दा योग्यतालाई बढी ध्यान दिनुपर्नेमा उहाँको विशेष जोड थियो ।
लामो समयसम्म शिक्षण सेवा गरे पनि उहाँ खास गरेर मैथिली भाषामा श्रीमद्भागवत कथावाचन गर्न थालेपछि चर्चामा आउनुभएको हो । उहाँले मैथिल महाकवि विद्यापति ठाकुरद्वारा मैथिली भाषामा अनुवाद गरिएको श्रीमद्भागवत महापुराणलाई आफ्नो पुराणवाचनको मुख्य स्रोत बनाई मैथिल समाजमा लामो समयसम्म कथावाचन गरेको देखिन्छ । २०१८ सालमा आफ्नै गाउँ बनौलीमा तत्कालीन जमिनदार जैसीलाल झाको आग्रहमा संस्कृत भाषामा वर्णित श्रीमद्भागवत महापुराणको कथालाई मैथिली भाषामा सरल एवम् सरस तरिकाले जनसमक्ष प्रस्तुत गरी उहाँले श्रीमद्भागवतकथा वाचनको श्रीगणेश गर्नुभएको थियो । त्यसपछि उहाँले निरन्तर रूपमा नेपालका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, मोरङ आदि जिल्लाका विभिन्न गाउँहरूका साथै विहारको सीतामढी, मधुवनी, दरभङ्गा आदि जिल्लाका विभिन्न गाउँहरूमा मैथिली भाषाका माध्यमबाट सरल, सरस एवम् आकर्षक शैलीमा श्रीमद्भागवत कथाको वाचन गर्नुभयो । मैथिली भाषा एवम् मैथिल–संस्कृतिको श्रीवृद्धि तथा हिन्दु धर्मको प्रचार–प्रसारमा अग्रणी भूमिका निर्वाह गर्नुभएको थियो ।
पं. मिश्र भागवत मर्मज्ञ हुनुहुन्थ्यो । फलस्वरूप उहाँ विद्यापति स्मृति दिवसका अवसरमा ग्राम सपूत उपाधिबाट विभूषित हुनुभयो । यसैगरी, मिथिलाञ्चलमा जनस्तरबाट श्रीमद्भागवतमर्मज्ञ एवम् अद्वितीय कथावाचक लोकोपाधिबाट समेत विभूषित हुनुभयो । मरणोपरान्त उहाँलाई सन् २०१६ मा देवघर झारखण्डमा सम्पन्न अन्तर्राष्ट्रिय मैथिली सम्मेलनले “मिथिलारत्न”, सन् २०१७ मा विद्यापति सेवा संस्थान दरभङ्गाले “मिथिलाविभूति” उपाधिद्वारा सम्मानित गरे । नेपाल सरकारले विसं २०७४ असार ३ गते उहाँको उहाँको सम्मानमा हुलाक टिकट जारी ग¥यो ।
मिश्र प्रजातन्त्रप्रेमी पनि हुनुहुन्थ्यो । विसं २००३ देखि नेपाली काँग्रेसको आह्वानमा सञ्चालित राणाविरोधी आन्दोलनमा पं. रमाकान्त झा, महेन्द्रनारायण निधि, रामनारायण मिश्र, भद्रकाली मिश्र एवम् रामानन्द झाजस्ता प्रजातन्त्र सेनानीहरूसँग सहकर्मीका रूपमा उहाँ सक्रिय हुनुुहुन्थ्यो । २०१७ सालमा तत्कालीन राजा महेन्द्रबाट प्रजातन्त्रको घाँटी निमोठिएपछि राजनीतिप्रति वितृष्णा जागी उहाँ भगवद्भक्तितर्फ लाग्नुभएको थियो । कथावाचक, शिक्षक, समाजसेवी एवम् धर्म–संस्कृति प्रचारक हुनुका साथै धार्मिक, साँस्कृतिक एवम् जातीय विभेदका विरोधी पनि हुनुहुन्थ्यो मिश्र । नारी र समाजमा पिछडिएको वर्गलाई शिक्षित बनाई माथि उठाउनुपर्नेमा उहाँको सदैव जोड रहन्थ्यो । उहाँ समानतावादी, मानवतावादी, शिक्षित, सहिष्णु एवम् उदारवादी हुनुहुन्थ्यो ।
पं. मिश्र कुशल लेखकका रूपमा पनि परिचित हुनुहुन्छ । रामभरोस कापरी भ्रमरद्वारा सम्पादित एवम् साझा प्रकाशनद्वारा प्रकाशित महाकवि विद्यापति र नेपाल नामक पुस्तकमा मैथिली भागवत पुस्तकद्वारा बाहिर आयो बनौली नामक लेख प्रकाशित गरी उहाँले आफ्नो लेखकीय व्यक्तित्व प्रस्तुत गर्नुभएको थियो । उहाँका प्रशस्त लेख, कविता एवम् गीतहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भएका छन् । साथै अमृतभावप्रवाह (२०७४) र अमृतविचार (२०७६) नामक दुई कृति निधनपश्चात् प्रकाशित भएका छन् ।
पान खानु, साइकल चढेर टाढा–टाढासम्म पुग्नु र चेस खेल्नु उहाँका सोख थिए । गाउँमा साइकल चढ्ने उहाँ पहिलो हुनुहुन्थ्यो । कुशल कर्मकाण्डी एवम् व्याकरण, वेद, न्यायका प्रकाण्ड विद्वान् मिश्रको निधन विसं २०७२ वैशाख १८ गते वीरगन्जमा भयो । देश तथा विशेषतः मैथिल समाजप्रति उहाँले गरेको योगदानको कदर गर्दै उहाँका बारेमा विशेष अध्ययन–अनुसन्धान गरी जनसमक्ष ल्याउनुपर्छ । उहाँका छोरा एक संस्कृतिकर्मी भगवान मिश्रले श्रीमद्भागवतमर्मज्ञ पण्डित अमृतनाथ मैथिली संस्कृति संरक्षण पुरस्कार कोष स्थापना गर्नुभएको छ ।
(लेखक नेपाल संस्कृत विश्वविद्यालय दाङका सहप्राध्यापक हुनुहुन्छ ।)