logo
२०८१ मंसिर ११ मंगलवार



चासोक तङ्नामको सार्र्थकता

विचार/दृष्टिकोण |




नारायण तुम्बापो

प्रकृतिपूजक पूर्वका बहुल लिम्बू जातिको प्रकृति नै पुज्ने संस्कृति हो– चासोक तङ्नाम । यो संस्कृति लिम्बू समुदायले अपनाएको खेती प्रणालीको विकासदेखि मनाउँदै आएका हुन् । धान पाक्न थालेसँगै थक्याउने समयभरि यो चाड मनाइन्छ । मङ्सिर पूर्णिमाको दिन यसलाई सामूहिक रूपमा मनाउने चलन छ । यो समय पूर्वेली लिम्बू बस्ती चासोक तङ्नाममय बन्छ ।
पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, धनकुटा, झापा, मोरङ, सुनसरी चासोक तङ्नामको थातथलो हो । यो धेरै विज्ञानसम्मत पनि छ । चासोक तङ्नामका बेला थान थापेर प्रकृतिदेवीलाई पुकार्दै नयाँ अन्नबाली पुजिन्छ । सारमा, बाली उब्जाइदिने प्रकृति– जल, जमिन, वायु, अग्नि (सूर्य) लाई विशेषले पुजिन्छ । चासोक तङ्नाम अन्नप्रति सम्मान व्यक्त गर्ने परम्परा पनि हो । लिम्बू जातिले अन्नलाई एकप्रकारले माङ् (देवता) नै मान्छन् । त्यसैले यी जाति अन्नमा प्रेम प्रकट गर्न पुज्छन् । यो पनि चासोक तङ्नाम हो ।
चासोक तङ्नाम पैयुँ फुल्नुका साथै माछा, चरा दक्षिणतिर लागेको उँधौली याम (दक्षिणायण­) को न्वागी पर्व पनि हो । लिम्बू भाषामा ‘चासोक’को अर्थ नया“ पाकेको शुद्ध अन्न पवित्र मनले पुजेर तागेरानिङ्वाभुमाङ (प्रकृतिदेवी) लाई अर्पण गर्नु भन्ने हुन्छ । तागेरानिङ्वाभुमाङ जल, जमिन, वायु, अग्नि वा सूर्यका जन्मदाता मानिन्छ । ‘तङ्नाम’ले पर्व÷चाड अर्थात् उत्सव जनाउँछ ।
लिम्बू मुन्धुम (शास्त्र) अनुसार आदिम लिम्बू पुर्खा सावा येत्हाङहरूले का“चो कन्दमुल खान्थे । यसबाट उन्मुक्ति पाउन पुर्खाले तपस्या गरे । यसको सुनुवाइ गर्दै तागेरानिङ्वाभुमाङले मानिसलाई आगोसहित पारामा (कोदो जातको पाङ्दुर), क्यावो (फापर), फामु (कागुनी) लगायत विज दिए । प्राप्त बिज सावा येत्हाङका चेली सिबेरा याक्थुङमा (लिम्बू महिला) ले संरक्षण गरेर कृषि युगको सुरुवात गरिन् । आगोले मानिस खाद्यान्न पकाएर खान अभ्यस्त भए । यसपछि मानिसले स्वास्थ्यवद्र्धक खाद्यान्न पाउन थाले । यसपछि प्रकृतिसहित खाद्यान्नको बीउ दिने ‘तागरेनिङ्वाभुमाङ’लाई सधन्यवाद आफूले नखाई चोखो अन्न अर्पण गर्न थालियो । यसैको निरन्तरता ‘चासोक तङ्नाम’ अहिले पनि कायम रहेको हो । चासोक तङ्नामले लिम्बू समुदायको परम्परागत जीविकोपार्जनको पेसागत मुख्य आधार कृषि हो भन्ने पनि जनाउँछ ।
धान र कोदो पाकेपछि लिम्बू जातिले चासोक गर्नैपर्ने चलन छ । चासोक पूजा आ–आफ्नो घरमा फेदाङ्मा (लिम्बू पुरेत) बोलाई गरिन्छ । फेदाङ्माले तागेर निङ्वाभुमाङलाई पुगार्दै नयाँ अन्न खान पाउने अनुमतिको माग गर्छन् । खाँदा, रोग व्याध नलागोस्, स्वस्थ जीवन जिउन पाइयोस् भन्ने कामना पनि गरिन्छ । फेरि पनि धेरै अन्न फलाउनमा सहयोगको याचनासमेत गरिन्छ ।
चासोकका बेला कलात्मक रूपमा चिटिक्कको पुतली झलक दिने धानका बाला बुनिन्छ । यसलाई घरको पनि शोभा बढ्नेगरी ढोकाछेउमा झुन्ड्याइन्छ । यसरी आफूहरूको पहिचानसहितको सभ्यता बोक्ने चासोक तङ्नाम लिम्बू जातिले आफ्नो मौलिकताको मुख्य चाड मान्छन् ।
‘चासोक तङ्नाम’ विभिन्न धार्मिक, ऐतिहासिक, साँस्कृतिक स्थलमा आयोजना गरिन्छ । पछिल्लो समय लिम्बू जातिको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङले संस्थागत रूपमा मनाउन थालेको छ । यो चाड बिर्संदै गएका विभिन्न देशमा रहेका लिम्बूले चुम्लुङको प्रोत्साहनमा मनाउन थालेका छन् । संस्थागतको चासोक तङ्नाम मनाउनेक्रममा यसलाई साँस्कृतिक पर्यटनसँग पनि जोड्न थालिएको छ । चासोक पर्यटन प्रवद्र्धन गर्न लिम्बुवान क्षेत्रका विभिन्न ठाउँमा, मेलासमेत लाग्न लगाइन थालेको छ । जहाँ लिम्बूजन्य अन्य संस्कृति पनि प्रवद्र्धन गरिन्छन् । यसबाट लिम्बू समुदायबाट हुने विभिन्न उत्पादित वस्तुको बजारीकरण पनि हुन्छ नै ।
चासोक तङ्नाम चाडले लिम्बू समुदायलाई कृषिको उत्पादन, उपभोग र आर्थिक उपार्जनमा प्रोत्साहन गरिरहेको देखिन्छ । तर, युवाको विदेश पलायनसँगै कृषि श्रमिक अभावले चासोक तङ्नामको थातथलो क्षेत्रका जमिन बाँझिनेक्रम बढ्दो छ । खेतबारीमा डोजर लगाएर अन्न मासेर गाडी कुदाउने होडबाजी बढ्दो छ । माटोले किसानी माया पाउन छोड्दै गएको छ । यसले खेती प्रणालीको पुस्तान्तरणमा क्रमभङ्गता ल्याइरहेको छ । खेती नै नगरेर अन्नै नफलेपछि चासोक तङ्नामको औचित्य नै कहाँ रहने भो र ! यस विषयमा चुम्लुङजस्तो संस्थाको ध्यान जान आवश्यक छ । मौलिकतामा चासोक तङ्नाम संस्कृति बचाउन कृषिको पूर्ववत् अवस्था कायम राख्नमा जोड दिन जरुरी छ । त्यहाँबाट मात्रै चासोक तङ्नामको सार्थकता र साख बाँच्छ ।

(लेखक पत्रकार हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?