माधव शर्मा
नेपालको संविधानले नेपाली भाषालाई सरकारी कामकाजी भाषा परिभाषित गरेकाले पनि नेपाली भाषा राष्ट्रभाषा बनेका अन्य भाषाभन्दा अझ बढी महìवपूर्ण बनेको छ । भाषा एकअर्काबीच सहज संवाद स्थापित गराउने माध्यम हो । संवाद स्थापित गराउन नसक्ने भाषाले दुवै पक्षलाई असहज बनाउँछ । कहिलेकाहीँ त त्यसले ठूलो दुर्घटनासमेत निम्त्याएका उदाहरणहरू छन् ।
त्यस्तै एउटा घटना काठमाडौँमा भयो । केही वर्ष पहिले रोजगारीमा खाडी मुलुक गएका १२ जना निर्दोष नेपालीलाई इस्लामिक आतङ्कवादीहरूले क्रूरतापूर्वक मारे । घाँटी रेटेर मारेको सजीव दृश्य अलजजिरा टेलिभिजनमार्फत सार्वजनिक भएपछि काठमाडौँका सर्वसाधारण उत्तेजित बन्न पुगे । ती १२ जनालाई ‘मेनपावर’ कम्पनीहरूले अवैधरूपमा खाडी मुलुक पठाएका कारण त्यसरी बीभत्स हत्या भएको हो भन्ने पनि अफवाह फैलिएको थियो । जसले गर्दा उत्तेजित सर्वसाधारणले काठमाडौँका भ्याएसम्मका ‘मेनपावर’ कम्पनीका साइनबोर्डदेखि पूरै कार्यालयका कुर्सी, टेबल, पङ्खा र कम्प्युटरहरू सडकमा फाले । उपत्यका बन्दको आह्वान पनि तिनले गरेका थिए । ‘मेनपावर’ को साइनबोर्ड देख्नै नहुने भएको थियो । त्यही मेसोमा एकाध ठाउँमा रहेको ‘सोलर पावर’ को अफिस पनि ‘पावर’ भनी लेखिएको ‘साइनबोर्ड’ का कारण तोडफोडमा प¥यो । तिनले पनि क्षति ब्यहोर्नुप¥यो । त्यो ‘सोलर पावर’ को सट्टामा नेपालीमा ‘सौर्य शक्ति’ भनी लेखिएको भए त्यो पक्कै तोडफोडमा पर्दैनथ्यो होला भनी अनुमान गर्न सकिन्छ ।
यसमा मिल्दोजुल्दो अर्को एउटा रोचक तर दुःखान्त घटना पनि भएको छ । केही दशक अगाडि चितवन राष्ट्रिय निकुञ्ज, सौराहामा रहेको एउटा होटलले पैदल घुमाउन एक जोडी विदेशी पर्यटकलाई आफ्नो गाइड (पथप्रदर्शक) का साथ जङ्गलमा पठायो । नयाँ भर्ना भएका ती गाइड कनिकुथी अङ्ग्रेजी बोल्ने भए पनि अङ्ग्रेजी भाषामा निपुण भने रहेनछन् । जङ्गलमा पैदल यात्राको क्रममा तिनीहरूको अगाडि एक्कासि एउटा गैँडा देखियो । अप्रत्याशितरूपमा धेरै नजिक गैँडा देखेपछि पथप्रर्दशक बेस्सरी अत्तालिए ।
उनले आफ्नो साथमा रहेको पर्यटकलाई अत्तालिँदै, चिच्याएर ‘लुक लुक’ भने । उनको भनाइको अर्थ सुरक्षितसाथ ओझेलमा पर भन्ने थियो । ती अङ्ग्रेजी पर्यटकले ‘लुक लुक’ भनेको आफ्नै भाषामा ‘हेर हेर’ भनेको बुझ्यो । अझ गाइडले अत्तालिएर बोलेकोमा पर्यटक जोडीले गैँडा सम्मुख आएको कारण रोमाञ्चित भएको भन्ठाने र झन्झन् अगाडि गएर हेर्न तम्सिए । परिणाम, गैँडाले हानेर ती जोडी घाइते हुन पुगे ।
भाषाको फरक बुझाइ हुँदा कसरी गलत संवाद स्थापित हुन्छ र त्यसले भयंकर दुर्घटना निम्त्याउँछ भन्ने अर्को उदाहरण पनि छ । अङ्गे्रजी भाषामै संवाद भए पनि मापदण्डलाई गलत तरिकाको बुझाइका कारण नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल नजिक आकाशमा उडिरहेका दुई विमान एक आपसमा ठोक्किएर विमानका सम्पूर्ण यात्रुको दुःखद निधन भयो । हवाई दुर्घटनाको इतिहासमा, आकाशमा उडिरहेका दुई जहाज एक आपसमा ठोक्किएर हुने दुर्घटना विरलै हुने ठानिन्छ । तर भाषाको अबुझाइले गलत संवाद हुँदा त्यस्तो दुर्लभ दुर्घटना पनि भयो दिल्लीको आकाशमा । यो सन् १९९६ को कुरा हो । भएछ के भने दिल्ली विमानस्थलमा अवतरण गर्ने सुरसारमा रहेको विमानमा रुसी चालक दल रहेछन् भने विमानस्थलबाट उडेको जहाजका चालक अङ्ग्रेजी भाषी थिए । विमानस्थलको ट्राफिक कन्ट्रोलले रुसी चालक दललाई ‘तिमी अहिले कति उचाइमा कति टाढा छौ’ भन्दा उसले किलोमिटरको हिसाबले आफ्नो स्थिति बतायो भने अङ्ग्रेजी भाषी पाइलटले माइल मिटरमा आफ्नो स्थिति बताउँदा गलत संवाद स्थापित भई दुघर्टना भएको हो भन्ने जाँच आयोगको प्रतिवेदन आएको थियो ।
यी माथिका सबै उदाहरणबाट भाषाले दोहोरो संवाद स्थापित गर्न नसक्ने हो भने भयंकर दुर्घटना पनि गराउँछ भन्ने देखाउँछ । यस्तो स्थितिमा हाम्रो सहर, बजार, नगर र गाउँघरमा समेत सामान्य नेपाली लेखपढ गर्न जान्ने सर्वसाधारणले बुझ्ने भाषा नेपालीमा कुनै ‘सङ्केत पाटी’ (साइनबोर्र्ड) हरू देखिँदैनन् । अहिले गलत चलन कस्तोसम्म आएको छ भने विद्यालय र विश्वविद्यालयका नामसमेत अमेरिकाको सैनिक मुख्यालय, ‘पेन्टागन’ र बेलायतको ‘जोसेफ’ सम्म जुराएर राखिने गरेका छन् । ती नामहरूका सङ्केतपाटीहरू त नेपालीमा लेख्ने कुरै भएन । अब एउटा सामान्य नेपाली नागरिकले त्यो अङ्ग्रेजी सङ्केतमा लेखिएको पेन्टागनलाई उसले शिक्षालय भनेर कसरी बुझ्ने ? कसरी थाहा पाउने ? त्यो शिक्षालय हो कि चप्पल कारखाना ? आम नेपालीभाषीले थाहा पाउन सक्दैन । अङ्ग्रेजीको नाम राख्ने र साइनबोर्ड पनि अङ्ग्रेजीमा लेख्ने मोहभङ्ग नभए पनि त्यो कलेजको नाम नेपालीमा समेत लेखिएको भए सर्वसाधारण यथार्थ जानकारी पाउनबाट वञ्चित हुने थिएनन् ।
केही वर्ष यता नेपालमा सूचनाको हकबारे ठूलो खैलाबैला चलिरहेको छ । सूचना आयोगले धेरै महìवपूर्ण काम पनि गरेको छ । परीक्षा दिएको विद्यार्थीले उत्तरपुस्तिका हेर्न पाउने अधिकार स्थापित छ । सरकारी सूचना अधिकारीहरू त आयोगबाट त्यसै पनि भयभीत झैँ बनेका छन् । तर सूचना आयोगले सर्वसाधारण नेपाली जनताले एउटा तारबार, पर्खालभित्र रहेको कुनै स्थान पठनपाठन गराउने विद्यालय हो वा कुनै बारुद कारखाना हो भन्ने सूचना पाउने अधिकार राख्छन्, राख्दैनन् भन्ने अहिलेसम्म किन नसोचेको होला ?
हामीकहाँ मानव अधिकारका ठूलाठूला व्याख्या गरिन्छ र धेरै प्रावधानबारे चर्चा गर्छन् विद्वानहरू तर एउटा सामान्य नेपाली मात्र बुझ्ने नेपालीले आफ्नो वरपरको क्षेत्रमा के छ भन्नेसम्म जानकारी राख्ने अधिकार राख्न पाउने कि नपाउने ? किन मुख खोल्दैनन् अधिकारवादीहरू ?
यहाँ अन्तर्राष्ट्रिय सम्पर्क भाषाका रूपमा विकसित हुन पुगेको अङ्ग्रेजी भाषाको विरोध गरेको होइन । प्रत्येक कालो बादल वरपर चाँदीको घेरा हुन्छ भने जस्तो कहिले सूर्यास्त नहुने ठानिएको, ठूलो साम्राज्य बनेको बेलायतले इतिहासमा उपनिवेशहरूको धेरै शोषण गरे पनि विश्वभरि बेलायती साम्राज्य स्थापित भएका कारण आज अन्तर्राष्ट्रिय सम्पर्क भाषाका रूपमा अङ्ग्रेजी भाषालाई पाएका छौँ । यो वरदानको रुपमा हामीले सम्मान गर्नुपर्दछ । यो बेग्लै प्रसङ्ग हो । तर यसो भनेर आफ्नो सबैले बुझ्ने, बोल्ने र जान्ने भाषालाई अवहेलना गर्न सुहाउने कुरा हुँदै होइन ।
आज नेपाली जनताले पढ्नसक्ने गरी हाम्रा सरकारी, निजी र कर्पोरेट– सबै व्यवसायका सङ्केतपाटी (साइनबोर्ड) नेपाली भाषामा समेत लेख्न केले छेक्यो, केले रोक्यो ? के यसमा हाम्रो सूचना आयोगले केही पहल गर्ला ? सूचना आयोगमा देखिएको विगतको जोश जाँगर देख्दा त यसले केही गर्नुपर्ने हो ।
हाम्रो संविधानले समेत देवनागरी लिपिमा लेखिने नेपाली भाषालाई सरकारी कामकाजको भाषा भनी एउटा सहज संवाद स्थापित गर्ने भाषा बनाएको छ । त्यसैगरी संविधानले सबै मातृभाषालाई राष्ट्र भाषा बनाएको परिप्रेक्ष्यमा सर्वसाधारणले बोल्ने र बुझ्ने मातृभाषामा समेत सूचना दिनुपर्ने अवस्थामा सरकारी कामकाजको रूपमा स्वीकार गरिएको नेपाली भाषालाई तिरस्कार गर्नु कति जायज होला ? के यसमा सरोकारवाला सबैको ध्यान जाला ?
(लेखक वरिष्ठ पत्रकार हुनुहुन्छ ।)