logo
२०८१ मंसिर ११ मंगलवार



विद्युतीय ऊर्जाको प्रयोग (सम्पादकीय)

विचार/दृष्टिकोण |






विज्ञानको विकाससँगै खाना पकाउने इन्धन र प्रविधिमा समेत रूपान्तरण हुँदै आएको छ । सुधारिँदै गएको प्रविधिले खाना पकाउने कार्य अझ सहज बन्दै गएको छ । विशेषगरी सहरी क्षेत्रमा खाना पकाउनका निम्ति मुख्य गरी दुई किसिमका ऊर्जा प्रयोग हुँदै आएको पाइन्छ– ग्यास र विद्युत् । पैसा र समय बचतको दृष्टिकोणमा यीमध्ये कुन ऊर्जाको उपयोग उपयुक्त हुन्छ भन्ने बहस, तर्क र दाबी लामै समयदेखि सुनिँदै आएको थियो । यही मङ्सिर ७ गते त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतको ऊर्जा अध्ययन केन्द्रले गरेको अनुसन्धानबाट तुलनात्मक रूपमा विद्युतीय ऊर्जाको प्रयोग नै सस्तो पर्ने प्रमाणित भएको छ । केन्द्रले समान प्रेसर कुकरमा समान परिमाणको चामललाई पकाउँदा ग्यास चुलोमा भन्दा विद्युतीय चुलो (इन्डक्सन) मा छिटो र कम खर्चमा पाक्न सकेको निचोड निकालेको छ । आधा किलोग्राम चामल ग्यास चुलोमा पकाउँदा ११ मिनेट ११ सेकेन्ड लागेको थियो भने इन्डक्सनमा पकाउँदा सात मिनेट ४९ सेकेन्ड समय लागेको थियो । त्यस्तै खपत भएको एलपी ग्यासको ऊर्जा र विद्युतीय ऊर्जाको हिसाब निकाल्दा ग्यासमा पकाउँदा दुई रुपियाँ ४६ पैसा खर्च भएको थियो भने इन्डक्सनमा एक रुपियाँ ४२ पैसा खर्च भएको पाइयो । प्रतिसिलिन्डर एक हजार चार सय रुपियाँको ग्यास र १५ एम्पियरको मिटर जडान गरिएका आधारमा सो खर्च निकालिएको थियो । केन्द्रका ऊर्जाविद्हरू यो अनुसन्धानबाट निकै प्रोत्साहित बनेका छन् । यस क्षेत्रमा एउटा प्रारम्भिक आधार तय हुन सक्नुले विशेष महŒव राखेको छ । ऊर्जाका क्षेत्रमा यो सुखद समाचारले हलचल मच्चाएको छ । नयाँ बहस सिर्जना भएको छ । सबैको चासोको विषय पक्कै हो । बिहान हतारिँदै भान्सा पस्ने र छिटोछिटो भान्साको काम सकेर कार्यालय जानुपर्ने वा पठाउनुपर्ने कुरा खाना पकाउने ऊर्जासँग प्रत्यक्ष जोडिन्छ । सहज उपलब्ध, छिटो र कम खर्चिलो प्रविधि हरेक नेपालीका भान्सालाई चाहिएको छ ।
नेपालीका भान्सामा एलपी ग्यास चुलो र इन्डक्सनमात्र छैन । गुइँठा, जैविक ग्यास, दाउरा, सौर्य ऊर्जा, मट्टीतेल, ब्रिकेट आदि विभिन्न ऊर्जाका माध्यम हाम्रा भान्सामा देख्न पाइन्छ । कुल ऊर्जा खपतको झन्डै ७० प्रतिशत भान्साका लागि हुने गरेको अध्ययनहरूले देखाएका छन् । यसको अर्थ सबैभन्दा बढी ऊर्जा खाना पकाउनका लागि आवश्यक पर्दै आएको छ । खाना पकाउने ऊर्जा आर्थिक रूपमा सस्तो हुन सकेमा दैनिक खर्चमा ठूलै कटौती हुन सक्ने प्रस्ट छ । नेपालमा दैनिक करिब ७२ हजार सिलिन्डर एलपी ग्यास खपत हुँदै आएको छ । प्रतिसिलिन्डर ग्यासलाई एक हजार चार सय रुपियाँका दरले गणना गर्दा दैनिक १० करोड आठ लाख रुपियाँबराबरको ग्यास नेपालीका चुलोमा बल्ने गर्दछ । बर्सेनि कम्तीमा ३६ अर्ब रुपियाँ ग्यासका लागि खर्च हुने गर्दछ । नेपालमा ग्यास उत्पादन नहुने हुँदा यो रकम सिधै विदेश जान्छ । जब कि विद्युत् स्वदेशमै उत्पादन हुन्छ । आर्थिक सर्वेक्षणले गत आर्थिक वर्ष २०७५।०७६ को मध्यसम्ममा चार हजार १०२ गिगावाट आवर विद्युतीय ऊर्जा उपयोग भएको थियो । एक गिगावाटबराबर एक अर्ब वाट हुन्छ ।
नयाँ जलविद्युत् आयोजना थपिँदै छन् । सुरु हुँदै पनि छन् । छिट्टै नै नेपालले विद्युत् आयात गर्नुपर्ने बाध्यताबाट मुक्त हुने अवस्था सिर्जना हुँदै छ । स्वदेशी विद्युत् बचत हुने कुरा अहिले नै विश्लेषण गरिसकिएको छ । हुन त हामी विद्युतीय चुलो चलाउन अभ्यस्त छैनौँ । भारतले नाकाबन्दी गरेका बखत विद्युतीय चुलोको माग र प्रयोग ह्वात्तै बढेको हो । त्यो बेला बाध्यताका रूपमा लिइयो । स्वदेशमै उत्पादन हुने विद्युत् सस्तो पर्ने र छिटो पाक्ने भएपछि विद्युतीय चुलोको विकल्प अरू पक्कै पनि हुन सक्दैन । यो ग्यासको तुलनामा सुरक्षित पनि छ । प्रयोग र अभ्याससँगै बानी परिवर्तन हुन समय लाग्दैन । २०७५÷२०८५ साललाई नेपाल सरकारले ऊर्जा दशकका रूपमा घोषणा गरेको छ । ‘हरेक घर ऊर्जा घर, हरेक घरमा एक विद्युतीय चुलो’ भनेर श्वेतपत्रमा उल्लेख गरिएको छ । खेर गएको ऊर्जालाई सस्तो दरमा प्राप्त गर्ने अवस्था सिर्जना हुन सके एलपी ग्यास विस्थापित हुन सक्नेछ र त्यसबाट ठूलो रकम विदेश जानबाट रोकिनेछ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?