मीठाराम विश्वकर्मा
नेपाली काँग्रेसभित्र आ–आफैँमा कोखामा कोपाकोप गरेर आन्तरिक विवाद चर्किरहेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टीले एकताको सन्देश दियो । आन्तरिक मतभेद थिए होलान् तापनि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको सहमतिले नेपाली राजनीतिमा नयाँ सन्देश अवश्य दिएको छ र नयाँ आयाम थपेको छ ।
संसदीय पद्धतिलाई इन्कार गरेर युद्धमा होमिएको माओवादी आन्दोलन पछाडि विशाल जनआन्दोलनमा परिणाम भयो र अनवरत रूपमा दस वर्ष सशस्त्र युद्ध ग¥यो । अर्को संसदीय पद्धतिलाई स्वीकार गरेर बसेको नेपाल कम्युनिस्ट पार्टी एमालेले संसदीय गतिविधिबाटै आफ्नोे कुरा राख्दै आयो ।
नेपाली काँग्रेसले संसदीय पद्धतिलाई अगाडि बढाउँदै प्रजातन्त्रलाई स्थानीयत्व दिन बारम्बार सङ्घर्ष गर्दै आएको थियो । नेपाली काँग्रेसको आन्दोलन राजाबाट विघटन भएको संसद्को पुनर्बहाली गराउने कुरामा केन्द्रित थियो । यस आन्दोलनलाई युद्धरत माओवादीबाट सहयोग नभए तापनि नेकपा एमालेले सहयोगीको भूमिका खेलेको थियो । विघटित संसद्को पुनर्बहाली पनि भयो तर राजनीतिक सङ्कट टरेन । र, २०६३–०६४ को आन्दोलनमा देश होमियो । आन्दोलनले राजसंस्थालाई उखेलेर लोकतान्त्रिक गणतन्त्र स्थापना ग¥यो । युद्धलाई छाडेर संसदीय प्रक्रियाभित्र माओवादी आई शान्ति प्रक्रियाको टुङ्गो लाग्नु नेपाली राजनीतिको ठूलो उपलब्धि हो । शान्ति प्रक्रियाको मूलधारमा रहेको माओवादीलाई पन्छाएर संविधान ल्याउन सकिने थिएन । माओवादीका धेरै उपलब्धि समेटेर संविधान आयो र मुलुकमा सामाजिक रूपान्तरणको नयाँ युग सुरु भयो ।
संविधानमा खासगरी दलित र जनजातिका अधिकार समेट्ने कोसिस साथै देशलाई समाजवादी फड्कोमा रूपान्तरण गर्ने कामले प्राथमिकता पाएको छ । संविधानमै सबै किसिमका छुवाछूतलाई समुल रूपमा अन्त्य गर्ने कुरा लेखिनु ठूलो उपलब्धि थियो । किनभने त्यसभन्दा अगाडि प्रजातन्त्र आइसक्यो भनिएको अवस्थामा पनि दलितका विषयमा अधिकारहरू सुनिश्चित गर्ने काम भएका थिएनन् ।
नेपालको राजनीतिले धेरै घुमाउरो बाटोको यात्रा गर्दै जाँदा नेकपा एमाले र माओवादीको गठबन्धनले लामो राजनीति यात्रा गुजार्दै आएको नेपाली काँग्रेसलाई समेत मूलधारबाट पन्छाउँदै स्पष्ट दुईतिहाइ बहुमत लिएर सरकार बनाउन सफल भएको छ । नेकपा एमाले र माओवादी गठबन्धनमा मात्रै सीमित नभएर पार्टी एकता नै भयो । कम्युनिस्ट संसदीय धारमा आएर स्पष्ट बहुमत ल्याउनु संसारका लागि एउटा गतिलो सन्देश त थियोे । झन् क्षेत्रीय रूपमा महŒव राख्दै आएका दलहरूसमेत यसभित्र समेटिनुले थप आश्चर्य सिर्जना गरेको छ । किनभने प्रजातान्त्रिक समाजवादको आड लगाएर आएको नेपाली काँग्रेस एक्लिँदै जानु र वामपन्थी खेमा बलियो हुँदै जानु काँग्रेसका लागि थप चुनौती बन्न पुगेको छ । मुलुकका ठुल्ठूला चुनौतीहरू नेपाली काँग्रेसद्वारा समाधान त भए तर ऊ नेपाली जनताको जनजीविकासँग टाँसिन सकेन । अहिले नेपाली काँग्रेस मुखले जे बोले पनि प्रजातान्त्रिक समाजवादको मूलधारमा भएको देखिँदैन । त्यसैले नेपाली काँग्रेस खिइँदै गएको छ । वास्तवमा यतिबेला ऊ न प्रजातान्त्रिक समाजवादको धारमा छ न लोकतान्त्रिक प्रक्रियामा नै । नेपाली काँग्रेसभित्र के कुरामात्रै बुझियो भने बोल्न–चिल्लाउन पाउनुमात्रै प्रजातन्त्र हो । प्रजातन्त्रका आधारभूत कुरातिर ध्यानै पु¥याइएन । केवल चर्का भाषणलाई मात्र प्रजातन्त्र भनेर बुझिदिनुपरेको छ ।
काँग्रेसका चर्का भाषणले मात्रै नेपाली जनताको भोको पेट भरिएन फलतः जनताले पाखा लगाइदिए । हामीबाहेक अरू कोही पनि प्रजातन्त्रवादी होइनन् भन्ने भ्रमले पनि ऊ पछाडि पर्न गयो । बीपी कोइरालाले दिएको प्रजातान्त्रिक समाजवादको खोलले टिकिरहन सकेन । कुरा र भाषणबाहेक व्यवहारमा प्रजातान्त्रिक समाजवादको पद्धतिबाट एउटा सिन्को भाँच्ने काम भएन । बरु काँग्रेसको आड लगाएर अवसरवादीहरू फस्टाउने मौका पाए र पुँजीवादी दलालले टाउको उठाए ।
नेपाली काँग्रेसले आफ्नो पार्टीभित्र सङ्कट आफैँले निम्त्याएको हो, अझै सङ्कट निम्त्याउँदै छ । उसले प्रजातान्त्रिक समाजवादको धारबाट टाढा रहेर पार्टी सङ्गठन गर्न कुनै पनि हालतमा सक्दैन । अहिले पार्टीभित्र उब्जिएका सङ्कटहरू पार्टीको स्पष्ट धारणा नहुनुको परिणाम हो । साथै, नेताहरू उदार र स्पष्ट नभई आफूलाई सामन्तवादको अगुवा ठान्नु नेतृत्वको क्षय हो । थप, एकले अर्काको खुट्टा तानेर म बलियो बन्छु भन्ने धारणाको विकास भयो । यस्ता कुरा पार्टी सङ्गठनका लागि दुर्भाग्य साबित हुन सक्छ । पार्टीका कार्यकर्ताबीच भाइचाराको सम्बन्ध रहेन, बोलीमा मात्रै दाज्युभाइ सीमित रह्यो । एकले अर्काको खुट्टा तानेर पछार्ने, एकले अर्काको कोखा घोचेर प्वाल पार्ने, विरासतको अंश खोज्ने, पैसा र मसल हाबी हुने र त्याग गरेकालाई किनारा लगाउने प्रवृत्तिले नेपाली काँग्रेसको टाउको उठ्न सक्दैन । नेपाली काँग्रेसभित्रको घेरा फरक हुन जरुरी छ । राजनीति निष्ठाले काम गरेन भने निश्चित रूपमा काँग्रेस अझै कमजोर भएर जान सक्छ । एकातिर बाहिरबाट काँग्रेसलाई कमजोर बनाउने खेल, आफूभित्रै विश्वासको सङ्कट र सैद्धान्तिक विचलनजस्ता कुराले काँग्रेसभित्र निराशा जाग्न दिनुहुँदैनथ्यो तर त्यही भयो ।
यसै सन्दर्भमा नेकपाको एकीकरणले शासकीय स्थायित्व त कायम हुन्छ नै, यो नेपाली काँग्रेसका लागि गतिलो सवक पनि हो । नेकपाभित्र पनि सहमति असहमति थिए तर दुई ध्रुवबीचको सहमतिको सङ्केत हो– नेपालमा वामपन्थी शक्ति अझै बलियो बन्दै छ । अझ नेकपाभित्र तराईको ठूलो राजनीति हिस्सा जोडिनुले नेकपाको आन्तरिक शक्ति बलियो बन्दै छ । परम्परागत कम्युनिस्ट सिद्धान्तको धारबाट अलिकता पर पन्छिएर संसदीय धारबाट नेकपा अगाडि आउनु जुनसुकै प्रजातन्त्र मान्छु भन्नेहरूका लागि चुनौती हो । कम्युनिस्टहरू संसदीय पद्धतिमा आएर स्पष्ट बहुमत ल्याएका उदाहरण ज्यादै कम पाइन्छ तापनि नेपालमा यो सम्भव भयो । हामीले जिब्रोको स्वाद फेर्न नेकपाको सरकार अधिनायकवादी हुन थाल्यो भने पनि विश्वले पत्याउनेवाला छैन । किनभने नेपालका वामपन्थी पूर्ण रूपमा संसदीय पद्धतिभित्र छिरेर बहुमत लिई सत्तामा पुगेका छन् । यिनलाई कसरी अधिनायकवादी भन्ने ?
निश्चित रूपमा शासकीय कमजोरी छन्, नेपाली काँग्रेस सत्तामा पुग्दा पनि शासकीय कमजोरी भएका हुन् । निजीकरण गरिँदा मुलुकमा चलेका उद्योगधन्दाहरू पूर्ण रूपान्तरित हुनुभन्दा धराशयी भएका हुन् । यही नै नेपाली काँग्रेस सत्तासीन हुँदा गरिएको ठूलो गल्ती थियो, साथै प्रजातान्त्रिक समाजवादको सैद्धान्तिक धारमा दाग लागेको थियो । तर, यो गल्ती स्वीकार गर्न नेपाली काँग्रेस अझै तयार छैन । ऊ आफूबाट भएका त्रुटि सच्चाउन जनतासँग माफ माग्न जानेको पार्टी रहेनछ । बरु बहादुरी गरेको पुष्टि दिँदै आएको छ, जुन कुरा जनताले पत्याउन तयार छैनन् । बीपी कोइरालाको प्रजातान्त्रिक समाजवाद र मदन भण्डारीको बहुदलीय जनवादबीच त्यस्तो ताŒिवक भिन्नता पाइँदैन । मदन भण्डारीको भनाइमा वामपन्थी पनि बहुदलीय पद्धतिमार्फत सत्तामा पुग्न सक्छन् भन्ने थियो । यो सम्भावना आज आएर पुष्टि पनि भयो । बहुलवादमा वामपन्थी शक्ति अटाउने रहेछ भन्ने उदाहरण हामीकहाँ देखियो त ! हामीलाई पटक्कै विश्वास छैन, स्पष्ट बहुमत लिएर सत्तामा पुगेका वामपन्थीले बहुदलीय पद्धतिलाई अपदस्थ गरेर कम्युनिस्ट शाही लागू गर्ने बेइमानी गर्नेछन् भन्ने ।
कुनै एक भाषणको क्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बीपी कोइरालाको सक्कली विचारको प्रतिनिधित्व हामीले गरेका छौँ भन्नुभएको छ । परिस्थिति पनि त्यस्तै देखिँदै छ । प्रजातान्त्रिक समाजवाद (जनवाद) को अनुकरण गर्छौं भन्ने शक्ति यस सैद्धान्तिक पृष्ठभूमिबाट भाग्दै हिँड्ने र हामीले कम्युनिस्ट भन्दै गाली गरेर नथाक्ने शक्ति समाजवादी देखिने ! नेपाली काँग्रेस कमजोर हुनुमा खास तीन कारण छन्– नेतृत्वमा अहङ्कारिता, मूल सैद्धान्तिक विश्वासमा विचलन र देशी–विदेशी एजेन्टबाट घेराबन्दी हुनु र उनीहरूकै इसारामा चल्नु । यी कुराहरूले नेपाली काँग्रेस अझै पर धकेलिँदै छ । यसप्रति नेपाली काँग्रेस सजग छैन, बरु आन्तरिक कलहमा व्यस्त देखिन्छ । तर, वामपन्थीमा आन्तरिक असहमति रहँदारहँदै पनि एकताको सन्देश दिए । यसले कार्यकर्ताबीचको अन्योल चिर्दै कार्यकर्तालाई थप ऊर्जा मिल्यो ।
नेपालमा हामीले नेपाली कम्युनिस्टलाई वामपन्थी भनेर गाली गरेर नथाक्दै नेपाली वामपन्थी प्रजातन्त्रवादी बन्दै छन् र कुनै बेला सबै वाम शक्ति एक हुन सक्छन् । वामपन्थीको ठूलो हिस्सा संसदीय पद्धतिमा आइसकेपछि साना वामपन्थी हिस्साहरू धेरै समय टिकिरहने छैनन् । उनीहरू ठूलो वाम शक्तिमै विलय हुनेछन् । यतिबेला नेपाली काँग्रेसले अझ कठिन यात्रा तय गर्नुपर्ने हुन सक्छ । नेपाली काँग्रेसले राप्रपाजस्ता पार्टीसँग गठबन्धन गर्न खोज्नुको कुनै तुक रहने छैन ।
(लेखक नेपाली काँग्रेसका पूर्वसांसद हुनुहुन्छ ।)