तुलसीहरि कोइराला
नेपालको विभिन्न प्रजातान्त्रिक आन्दोलनको सन्दर्भलाई केलाउने हो भने केही महŒवपूर्ण घटनाक्रमलाई भुल्न सकिँदैन । राणा शासनको अन्त्यदेखि प्रजातन्त्रको पुनर्बहालीसम्मका आन्दोलन हुन् अथवा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाको ऐतिहासिक जनआन्दोलन होस्, आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरूको सम्झना गर्न कसैले पनि कञ्जुस्याइँ गर्न हुँदैन । माघ १६ गते एक दिन सहिद दिवसका रूपमा सम्झना गरेर अरू दिन पूर्ण रूपमा बेवास्ता गरिनु सहिदहरूको अपमान गर्नु हो । यसै सन्दर्भमा विक्रम संवत् २०३१ को मङ्सिर मसान्तको कालरात्रिलाई सिङ्गो देशवासीले सम्झना गर्नुपर्ने हो भने नेपाली काँग्रेसले त यो दिनलाई कसरी भुल्न हुन्छ र ! अर्थात् नेपाली काँग्रेसले आह्वान गरेको सशस्त्र आन्दोलनको महŒवपूर्ण र सबैभन्दा धेरै क्षति बेहोरेको टिम्बुरबोटे काण्ड । यसै सन्दर्भलाई यहाँ स्मरण गरिएको हो ।
प्रजातन्त्र पुनःस्थापनापश्चात् सबैभन्दा लामो समयसम्म सत्तामा बसेको नेपाली काँग्रेस यतिबेला प्रतिपक्षमा खुम्चिन बाध्य भएको छ । सत्ताधारी हुनका लागि उतिबेला पनि अनेक खेल खेलिएका विदितै छन् । पार्टीको महाधिवेशनद्वारा निर्वाचित नेतृत्वले भ्रातृ सङ्गठनको नेतृत्व र विभागहरू गठन नगरी नै आफ्नो कार्यकाल पूरा गर्न लाग्दै छ । यो अवस्थामा पुगेर पनि फेरि यही नेतृत्वले अर्को कार्यकाल पनि हत्याउने प्रयासमा लागिपरेको देखिन्छ । यतिबेला केन्द्रीय समितिको बैठक बस्ने र कोरम नपुग्ने, बहिष्कार गर्नेलगायतका लज्जास्पद समाचारहरू आइरहेका छन् । वास्तवमा कार्यसमितिको मात्रै नभएर, महासमितिको भेला गरिनुपर्ने हो । अझ भनौँ, विशेष महाधिवेशनको आह्वान गरिनुपर्ने हो । केन्द्रीय समितिले टिम्बुरबोटे काण्डको स्मरण गर्दै घटनास्थलमै नेतृत्वपङ्ति पुगेर स्मृति सभाको आयोजना गर्नुपर्ने हो तर पार्टी कार्यालयमासम्म पनि स्मृतिसभाको आयोजना गरिएन । पार्टीका होनहार युवाको रातको समयमा छलकपटपूर्ण तरिकाले हेलिकोप्टरबाट बमगोला वर्षाएर गरिएको हत्यालाई सिङ्गो प्रजातान्त्रिक आन्दोलनले त भुल्नहुँदैन भने नेपाली काँग्रेसले बेवास्ता गर्न कसरी हुन्छ ?
जननायक बीपी कोइरालाको नेतृत्वमा विसं २०२८÷३१ मा नेपाली काँग्रेसले पञ्चायती व्यवस्थाविरुद्धमा सशस्त्र क्रान्ति गरेको थियो । यो क्रान्तिको कमान्डरका रूपमा गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो । यसै क्रान्तिका लागि हतियार खरिद तथा खर्चपानी जुटाउनका लागि नै विमान अपहरणसमेत गरिएको थियो । सशस्त्र क्रान्तिविना खोसिएको प्रजातन्त्रको पुनप्र्राप्ति नहुने निष्कर्षसहित थालिएको दोस्रो चरणको सशस्त्र आन्दोलनका क्रममा भएको टिम्बुरबोटे काण्डको असफलताले नेपाली काँग्रेसको विद्रोहलाई ठूलो धक्का पुगेको थियो । कप्तान यज्ञबहादुर थापाको नेतृत्वमा भूतपूर्व सैनिकलगायत पार्टीका समर्पित जोशिला युवालाई सम्मिलित गराएर भारतको फारविसगन्ज, बरथवा, वीरपुर र वनारसमा सामान्य सैन्य तालिम दिएर लडाकुदस्ता तयार पारिएको थियो । यो लडाकु डफ्फाले पूर्वी पहाडी जिल्लाहरू कब्जा गर्दै स्थानीय सरकार गठन गर्दै अघि बढ्ने योजना बनाएको थियो । करिब ४० जनाको यो डफ्फा मङ्सिरको पहिलो साता वनारसबाट मधुवनी हुँदै नेपाल भित्रिएको थियो । कमला नदीको किनारैकिनार अघि बढेको कप्तान यज्ञबहादुर थापाको कमान्डरीको यो सैन्यदस्तामा होनहार जुम्ल्याहा क्रान्तिकारी युवा राम–लक्ष्मण उपाध्याय, महेश कोइराला, महेश कोर्मोचा, चन्द्रमान तामाङ, माइला राई, पद्मप्रकाश पुरी, मानबहादुर मगर, एल्बी गुरुङलगायतका लडाकुहरू थिए । सिन्धुली, उदयपुर हुँदै ओखलढुङ्गा पुगेको दस्ताको रासनपानीको व्यवस्थाका लागि अर्को छुट्टै टोली खटिएको थियो । तर, रासनपानीको व्यवस्था गर्न खटिएको टोलीले राम्रोसँग जिम्मेवारी वहन नगरिदिँदा सैन्यटोलीले हैरानी बेहोर्नुपरेको थियो । प्रशासनको निगरानी, धरपकड, अभाव, जाडो, ओढारको बास, अनेक प्रतिकूल बाधाबीच पनि यो दस्ताले ओखलढुङ्गा कब्जा गर्ने योजना बनाएको थियो । प्रशासनले यसको सुइँको पहिले नै पाइसकेको जानकारी प्राप्त भएपछि सुरक्षित स्थानको खोजी गर्दै टोली सोलुखुम्बु जिल्लाको तिङ्ला गाउँको सिरानमा रहेको घनाजङ्गलबीचको ओढारलाई सेल्टर बनाएर बसेको थियो ।
यो दस्तालार्ई सुरक्षित रूपमा बसेर योजना बनाउन र रासनपानीको सामान्य व्यवस्था गर्न केही तिङ्लावासीले सघाएका पनि थिए । प्रशासनले ओखलढुङ्गा र सोलुखुम्बुको प्रशासनिक सुरक्षाका लागि थप सैन्यबल पठाइसकेको थियो । गाउँ–गाउँमा छापा मार्ने र धरपकड गर्ने काम भइरहेको थियो । सबै सुराकी पाएपछि सेनाले टिम्बुरबोटे क्षेत्रलाई कब्जामा लिएर घेराउ ग¥यो । कोही पनि भाग्न नसक्ने अवस्था बनाइसकेपछि मङ्सिर मसान्तको राति हेलिकोप्टरबाट ओढारमा ग्रिनेड प्रहार गरियो । मेसिनगनबाट अन्धाधुन्द गोली वर्षाइयो । हतियार उठाउन पाएकाहरूले दोहोरो फायरिङ गरे । कतिले हतियार समाउनै पाएनन् । यसरी ओढारभित्रै प्रजातान्त्रिक योद्धाहरूको ज्यान लिइयो । ओढारभित्रै मारिनेहरूमा– राम–लक्ष्मण उपाध्याय, श्यामकुमार गुरुङ, पद्मप्रकाश पुरी, नेत्रबहादुर कार्की, मानबहादुर मगर, चन्द्रमान तामाङ, माइला राई, प्रजालाल राईलगायतका हुनुहुन्थ्यो । कमान्डर क्याप्टेन थापा, महेश कोइराला, एल्बी गुरुङलगायतका केही योद्धा गोली र विस्फोटमा पर्नबाट जोगिनुभएको थियो । रूखमा छेलिएर फायरिङ गर्दै प्रतिकार गर्नेक्रममा कोइरालालाई पनि गोली लाग्यो । कालको मुखबाट त्योबेला उम्किन सफल हुनुभएका थापालाई केहीपछि आफ्नै गाउँ खानीभञ्ज्याङछेउको पुरोहितको परालको माचमा लुकेको अवस्थामा सेनाले पक्राउ गरेको थियो । ज्वरो र खोकीले थलिनुभएका क्याप्टेनलाई सेनाले हेलिकोप्टरमार्फत काठमाडौँ ल्याई जेल हालेको थियो । उहाँ र विराटनगर बमकाण्डमा समातिनुभएका भीमनारायण श्रेष्ठलाई विसं २०३५ मङ्सिर २६ गते कमला नदीकिनारमा गोली हानी हत्या गरिएको थियो । त्यहाँबाट उम्किन सफल भएकाहरूलाई गाउँगाउँबाट समातेर यातना दिइयो । कतिलाई सोलुखोला र सल्लेरीको वनमा लगेर मारियो । केहीलाई ओखलढुङ्गाको ठाडेको जङ्गलमा त केहीलाई भने ओखलढुङ्गाको सुनकोसीघाट, टोक्सेलमा ल्याएर मारियो । उक्त डफ्फामा कति जना संलग्न थिए र कति जना मारिए भन्नेसम्मको स्पष्ट आँकडासमेत पनि नेपाली काँग्रेससँग छैन भन्नुपर्दा लाजमर्दो अवस्था हुन सक्छ ।
घटनास्थलबाट उम्किन सफल हुनुभएका एल्बी गुरुङ र जसधन राईका भनाइका आधारमा यी नामहरू सङ्कलित भएका हुन् । यसरी ठाउँठाउँमा मारिएकाहरूमा– अगममणि राई, शिवकुमार राई खर्तम्छा खोटाङ, मानबहादुर लिम्बू, कृष्णबहादुर लिम्बू सुनसरी, शमशेरबहादुर कार्की, अम्बरबहादुर खड्का, रामकुमार सुनुवार, हर्कबहादुर कार्की, भीमबहादुर कटुवाल, अगमसेर राई, होमसेर राई, टीकाराम राई,लगायतका हुनुहुन्थ्यो ।
ओढारमा मारिएकाहरूको शवसमेत उठाउन परिवारलाई दिइएन । तीन वर्षपछि महेश कोइरालाका बुवा पण्डित तेजप्रसाद कोइरालाले ओढारमा गएर भेटिएका केही हाडखोरको सद्गत गरी सात दिनसम्म त्यहीँ बसेर श्रीमद्भागवत पाठ गरेर आउनुभएको थियो । यसै काण्डको सेरोफेरोमा विसं २०३०÷३१ मा ओखलढुङ्गाका धेरै युवाको हत्या भएको थियो । महोत्तरीको मटिहानीमा केशव कोइरालालाई थाना कब्जा गर्नेक्रममा मारिएको थियो । लीला, ठगी, खगेन्द्र दाहाल र गोकर्ण कार्कीलाई जेल सार्ने बहानामा नख्खुमा मारिएको थियो । पेसल दाहाललाई उहाँको आफ्नै गाउँमा मारिएको थियो । ओखलढुङ्गामा जन्मिएका ५७ जनाले प्रजातन्त्रका लागि विभिन्न समयमा प्राणको आहूति दिनुभएको इतिहासले ओखलढुङ्गालाई चिनाएको छ ।
नेपाली काँग्रेसको सशस्त्र क्रान्ति असफल हुनका पछाडि पार्टीका आफ्नै आन्तरिक कारणहरू पनि नभएका होइनन् । सत्तापक्षले त स्वभाविक रूपमा सत्ता विद्रोहलाई दबाउने हरप्रयत्न त गर्छ नै । तर, बन्दोबस्तीका लागि खटिएका आफ्नै साथीहरूले पनि त्यहाँ जिम्मेवारी वहन गरेका थिएनन् । बीपी कोइराला स्वयम्ले उक्त घटनालाई नेपाली काँग्रेसको भुल थियो भन्नुभएको थियो । त्यो बेलाका कमान्डर गिरिजाप्रसाद कोइराला धेरैपटक मुलुकको प्रधानमन्त्री बन्नुभयो तर त्यो भुललाई स्वीकार गरेर यथार्थ जानकारी त्यो समयमा पनि बाहिर ल्याउने काम भएन । उहाँकै प्रधानमन्त्रित्वकालमा केही अगुवाहरूको सक्रियतामा ‘टिम्बुरबोटे स्मृति प्रतिष्ठान’सम्म बनाइएको थियो । यस संस्थाका नाममा करोडौँको बजेट विनियोजन गरिएको सार्वजनिक भएकोथ्यो तर उक्त करोडौँको बजेटले टिम्बुरबोटेमा पचास–सयवटा ढुङ्गा थुपारेर चौतारोजस्तो बनाउनेभन्दा अर्को कुनै काम भएको देखिएन । बजेट हिनामिना भएको भन्दै अख्तियारमा उजुरी परेको भए पनि त्यसलाई त्यत्तिकै सामसुम पारेर ‘भागशान्ति जयनेपाल’ पार्ने काम भयो । यस्तो कार्यले लज्जाबोध हुनुपर्नेहरूलाई नभएपछि सहिद परिवारको त के लाग्छ र !
(लेखक गोरखापत्रका नायव कार्यकारी सम्पादक हुनुहुन्छ ।)