logo
२०८१ मंसिर ११ मंगलवार



भ्रमण वर्षको उत्साह

विचार/दृष्टिकोण |




रितेश पन्थी

विश्वमा नेपाललाई मन्दिरै मन्दिरको देश, माउन्ट एभरेस्टको देश, विश्वशान्तिका अग्रदूत गौतम बुद्धको देशका रूपमा चिनिन्छ । भौगोलिक, सामाजिक र सांस्कृतिक विविधता भएको नेपालका मनमोहक दृश्य देखेर जोकोही पनि मन्त्रमुग्ध हुन्छन् । लुम्बिनी, पशुपतिनाथ, जनकपुरधाम, मुक्तिनाथलगायत महìवपूर्ण धार्मिक स्थल मात्र छैनन्, आठ हजार मिटरमाथिका हिमशृङ्खला पनि यहाँ छन् । नेपालको यही विविधतालाई देखेर विदेशी पर्यटम मन्त्रमुग्ध हुन्छन् । यसै सेरोफेरोमा सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाइँदैछ ।
भ्रमण वर्षको इतिहास
सरकारले मनाउन लागेको यो तेस्रो भ्रमण वर्ष हो । यसअघि सन् १९९८ मा पाँच लाख पर्यटक भिœयाउने लक्ष्यसहित ‘भिजिट नेपाल ९८’ मनाइएको थियो तर लक्ष्यभन्दा कम चार लाख ६३ हजार मात्र पर्यटक भित्राउन सफल भएको थियो । सन् २०११ लाई पनि भ्रमण वर्षका रूपमा मनाइएको थियो । जसको नारा ‘पर्यटनको लागि संगसगै’ भन्ने थियो । सो वर्ष १० लाख पर्यटक भिœयाउने लक्ष्य लिइए पनि राजनीतिक अस्थिरता, बन्द हड्तालका कारण सात लाख ३० हजार पर्यटक मात्र नेपाल आए ।
सरकारको तयारी
सरकारले सन २०२० जनवरी १ मा भिजिट नेपालको औपचारिक उद्घाटन काठमाडाँैमा र जनवरी ७ मा विदेशस्थित नेपाली कूटनीतिक नियोगमा गर्दैछ । उद्घाटनका क्रममा ४० भन्दा धेरै देशका पर्यटनमन्त्री, परराष्ट्रमन्त्री र सम्बन्धित देशका राजदूतलगायतलाई आमन्त्रण गरिएको छ । भ्रमण वर्ष सफल बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विभिन्न देशमा रहेको नेपाली राजदूतावास, अन्तर्राष्ट्रिय नियोग र निजीक्षेत्रले सक्रियता बढाएका छन् । नेपाल भ्रमण सफल गराउन होटेलहरूले भ्रमण वर्ष अवधिभर ३० प्रतिशतसम्म सहुलियत दिने घोषणा गरेका छन् । बाह्य र आन्तरिक पर्यटकलाई होम स्टे, खाना र आवासमा २० प्रतिशत छुटको घोषणा गरिएको छ । नेपाल एयरलाइन्सले आफ्ना अन्तर्राष्ट्रिय उडान विस्तार गरेको छ । त्यसैगरी नेपाली र चिनियाँको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङस्थित डाक्सिङ विमानस्थलमा व्यावसायिक उडान गर्न थालेको छ । जसबाट चिनियाँ पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ । हिमालयले साउनदेखि बङ्गलादेशको राजधानी ढाकामा पनि उडान गरिरहेको छ । सरकारले बन्द रहेका आन्तरिक विमानस्थल पनि सञ्चालन गर्न थालेको छ । ओमनको वायुसेवा प्रदायक कम्पनी सलाम एयरले हप्तामा तीन उडान गर्दै आएकोमा दैनिक एक उडान गरेको छ । कुबेतको जजिरा एयरवेज र भारतको भिस्तारा एयरले पनि नेपाल उडान गर्दैछन् ।
पर्यटक वृद्धिदरको अवस्था
नेपालमा पर्यटक वृद्धिदर उत्साहजनक रूपले बढेको देखिन्छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसनले हालै सार्वजनिक गरेको अन्तर्राष्ट्रिय पर्यटक आगमनसम्बन्धी तथ्याङ्कअनुसार सन् २०१८ मा पर्यटन आगमन वृद्धिदरको हिसाबले नेपाल एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा परेको छ । तथ्याङ्कअनुसार सन् २०१८ मा नेपालको पर्यटन आगमन वृद्धिदर २४.८ प्रतिशत पुगेको छ । नेपालले सन् २०१८ मा ११ लाख ७३ हजार विदेशी पर्यटकको स्वागत गरेको थियो । सन २०१७ मा नेपाल भित्रिने पर्यटकको सङ्ख्या नौ लाख ४० हजार थियो भने सन् २०१६ मा सा लाख ५३ हजारले नेपाल भ्रमण गरेको पर्यटन बोर्डको तथ्याङ्कले देखाउँछ । सन् २०१६ र सन् २०१७ को तुलनात्मक पर्यटक सङ्ख्याको वृद्धिदर पनि करिब २५ प्रतिशत नै थियो । सन् २०१७ मा भारतबाट सबैभन्दा बढी दुई लाख पर्यटक आएका थिए भने चीनबाट आउने पर्यटकको सङ्ख्या एक लाख ५३ हजार छ । भारत र चीन पछि अमेरिका, श्रीलङ्का र बेलायतबाट नेपाल घुम्न आउने पर्यटक बढी छन् ।
नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा १३औँ दक्षिण एसियाली खेलकुद (साग)को आयोजनाले पनि भ्रमण वर्षमा सहयोग पुगेको छ । सागमा सहभागी खेलाडी र सञ्चारमाध्यममार्फत सार्क मुलुकका जनतासमक्ष नेपालको प्रचारप्रसार भएको छ । हालैमात्र नेपाल आउनुभएका भारतका विश्वप्रसिद्ध क्रिक्रेट खेलाडी सचिन तेन्दुलकरले आफ्नो फेसबुक पेजमा काठमाडौँलाई सुन्दर सहर भन्दै फोटो राख्नुले पनि पर्यटकको सङ्ख्या वृद्धि हुने विश्वास गर्न सकिन्छ । जसमा करिब डेढ लाख रियाक्ट भएको थियो । यसैगरी सरकारले चिनियाँ हलिउड अभिनेत्री सु छिङलाई नेपाल भ्रमण वर्षको सद्भावना दूत नियुक्ति गरेको छ । यसले चिनियाँ पर्यटक वृद्धि गराउन योगदान पुग्नेछ ।
भ्रमण वर्षको पूर्वसन्ध्यामा चीनका राष्ट्रपति सि चिनफिङको भ्रमणले नेपालमा चिनियाँलगायत अन्य देशका पर्यटकको वृद्धि हुने सम्भावना छ । भ्रमण वर्ष सुरु हुनु दुई महिना अघि ‘इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस (आईईपी)’ले १६३ देशको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । जसमा नेपाल १२ स्थान सुधार गर्दै सातौँ स्थानमा छ । यसले नेपाल भ्रमण सुरक्षित र भरपर्दो छ भन्ने सन्देश गएको छ । सम्बन्धित देशमा जारी घरेलु र अन्तर्राष्ट्रिय लडाइँ, सामाजिक सुरक्षाको अवस्था, आतङ्कवाद सैनिकीकरण लगायत विभिन्न २३ वटा आधारमा मुल्याङ्कन गरी आईईपीले सूची तयार गरेको थियो । हालै विश्व कला परिषद्ले नेपालको ललितपुरलाई ३५औँ कला नगरी घोषित गरेकाले पनि भ्रमण वर्षलाई टेवा पुग्ने देखिन्छ ।
चुनौती
भ्रमण वर्ष २०२० का चुनौती पनि धेरै छन् । नेपालमा बर्सेनि बढ्दै गएको सवारी दुर्घटनामा कमी हुन नसक्नु, काठमाडौँ, लुम्बिनी, नगरकोटलगायत अन्य पर्यटकीय स्थलमा जाने सडक कालोपत्रे नहुनु, धुलोधुवाँ हुनु, पर्यटकलाई सुरक्षाको प्रत्याभूति गराउन नसक्नु, ट्रेकिङमा गएका पर्यटकको तत्काल उद्धार गर्न समयमै कर्मचारी नआउनु नहुनु लगायतका चुनौती छन् । सन् २०१९ को अक्टोबरसम्मको तथ्याङ्क हेर्दा पर्यटक आगमन दर सन्तोषजनक छैन । सरकारले लिएको लक्ष्य अनुसार २०१८ को तुलनामा २०१९ मा ३१ प्रतिशतले पर्यटन आगमन बढ्नुपर्ने हुन्छ । तर अक्टोबर महिनासम्म जम्मा आठ प्रतिशतले वृद्धि भएको छ । लक्ष्य पूरा हुन २०१९ मा १५ लाख ३६ हजार पर्यटकले नेपाल घुम्नुपर्छ । तर अक्टोबरसम्म नौ लाख ७५ हजार ५५७ पर्यटक मात्र नेपाल आएका छन् । सरकारले लिएको लक्ष्यभन्दा वृद्धिदर करिब चार गुणाले कम छ ।
तत्काल चाल्नुपर्ने कदम
भ्रमण वर्ष सुरु हुनै लाग्दा सरकार र सम्बन्धित निकायले पर्यटकीय नगरसम्म पुग्ने बाटो धुलोधुवाँमुक्त बनाउनुपर्छ । प्रदेश ५ सरकारले २०७६ साललाई लुम्बिनी भ्रमण वर्ष भनेर त मनायो तर लुम्बिनी जाने बाटो देख्दा जो कोहीको मन खिन्न हुन्छ । हामीले सडक, विद्युत्, पानी, यातायातलगायत अन्य भौतिक पूर्वाधारमा सुधार गर्न‘ जरुरी छ । हाल सामाजिक सञ्जालले विश्वका अर्बौं मानिसलाई जोडेको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र पेजहरूलाई नेपालबारे कम्तीमा दुई मिनेटको भिडियो बनाई पर्यटकको अनुभव पनि राख्नुपर्छ । पर्यटकले मुगुको रारा ताल,जुम्लाको सिन्जा, डोल्पाको शे फोक्सुन्डोबारे थाहा पाएपछि मात्र पर्यटक बढ्ने हुन् । हामीले पहिलोमा एट्रयाक्सन र दोस्रोमा विज्ञापनमा जोड दिनुपर्छ । तेस्रो पक्ष एक्सेस हो । पर्यटकको आवागमन हुने एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घन्टौँ हवाईजहाज होल्ड गर्न‘पर्ने समस्या छ । यो समस्याको समाधान गरी अन्य विमानस्थलको विकल्प नखोजे पर्यटकले अन्य विकल्प खोज्न सक्छन् । कुल गार्हस्थ उत्पादनमा तीन प्रतिशत योगदान पु¥याउने पर्यटन क्षेत्रलाई नजरअन्दाज गर्न सकिँदैन । त्यसैले सङ्ख्यात्मक रूपले पर्यटक वृद्धिभन्दा पनि गतिलो आय भएका पर्यटक भिœयाउन सक्नुपर्छ । पर्यटकहरूले बढीमा ११ दिन मात्र बिताएको पाइने गरिएको छ, जसमा पनि बढी खर्च गर्न खोज्ने चिनियाँ पर्यटक पाइन्छ । त्यसैले चिनियाँलगायत अमेरिकी र युरोपेली देशका पर्यटक बढी भिœयाउन सके मुलुकलाई फाइदा देखिन्छ । करिब एक अर्ब ३३ करोड जनसङ्ख्या भएको छिमेकी भारतमा ८२ करोड हिन्दु र झन्डै एक अर्ब ४३ करोड जनसङ्ख्या भएको अर्को छिमेकी चीनमा बुद्ध धर्म मान्ने मानिस अत्यधिक छन् । चीन विश्वभर धेरै पर्यटक पठाउने मुलुकमा पर्छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ मा १४९ मिलियन चिनियाँ पर्यटन विश्व भ्रमणमा निस्किएका छन् । चीनबाट मात्रै भ्रमणमा निस्किने पर्यटक वार्षिक १५ प्रतिशतले बढेको छ । नेपालमा त्यसको सानो हिस्सा ल्याउन सके मात्र भ्रमण वर्ष सफल हुने कुरामा शङ्का छैन ।
(लेखक कानुनका विद्यार्थी हुनुहुन्छ ।)  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?