यस वर्षको दशैँ लाग्दैगर्दा ट्राफिक प्रहरीको विशेष योजनामा ठूला सडक दुर्घटना नियन्त्रण भएकाले त्यस्ता उपाय र उपचारको आवश्यकता देखिएका बेला दशैँपछि केही कहालीलाग्दा दुर्घटना भएका छन् । आइतबार बिहान सिन्धुपाल्चोकमा मिनीबस दुर्घटना हँुदा १५ जनाको निधन भएको छ । मुडेबाट भक्तपुर आउँदै गरेको तीव्र गतिको बसको स्टेरिङ र बे्रकमा समस्या आएकाले दुर्घटना भएको प्रहरीले पुष्टि गरेको छ । यसै महिनाको दोस्रो हप्ता मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डमा भएको जीप दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो । गुल्मीको इस्मा गाउँपालिका ४ पैँयुपाटाबाट बागलुङको निसीखोला जाँदै गरेको बस सडकबाट तल खस्दा उक्त दुर्घटना भएको थियो । एक महिनाअघि कात्तिक १७ गते पनि सिन्धुपाल्चोककै सुकुटेमा १७ जनाको मृत्यु हुने गरी बस दुर्घटना भएको थियो । यस्ता नियमित दुर्घटनाले नेपालको सडक यातायात यमलोकको यात्रा बन्दै गरेका टिप्पणी हुने गरेका छन् । दुर्घटनाका विविध कारण हुने गर्छन् तर एउटै कारण, एउटै प्रकृति र उस्तै अवस्थामा पनिठूला दुर्घटना दोहोरिनुको प्रमुख कारण चालकको लापरवाही नै हो भन्ने पुष्टि भएको छ ।
दुर्घटनाका विविध कारणमध्ये प्राविधिक, प्रशासनिक र मानवीय कारण प्रमुख मानिन्छन् । पटक पटकका दुर्घटनापछि केही प्रश्न उब्जेका छन् । पाँचजना बोकेर उड्ने हेलिकप्टरको चालक हुन कति योग्यता र दक्षता आवश्यक हुन्छ ? तर ५० जना व्यक्ति चढ्ने बसको चालक हुन यति सजिला प्रावधान छन् कि कतिपय अवस्थामा चालक अनुमति प्रमाणपत्रको अवैध सुक्रीबिक्री हुने गरेका समाचार प्रकाशित हुनेगरेका छन् । मानिसको मूल्य हेलिकप्टर र बसको लागतले निर्धारण गर्ने हो र ? आ–आफ्नो ठाउँमा चालक र पाइलटलाई उत्तिकै जिम्मेवार र दक्ष बनाउन नसक्दासम्म यस्ता दुःखद घटना निरन्तर भइरहनेछन् । सवारीचालक वा मानवीय कमजोरीले मात्र सडक दुर्घटना हुने गर्दैनन् तर चालक मात्र जिम्मेवार र होसियार भइदिए मानवीय तथा मेसेनरी कमजोरीले हुने दुर्घटनामात्र होइन सडकको दुरवस्थाबाट हुने क्षति कम र शून्य गर्न सकिन्छ तर चालकलाई जिम्मेबार बनाउन सकिएको छैन ।
दशैँताका जस्तो गाडीको परीक्षण, गतिको रेकर्ड (टाइमिङ) निश्चित स्थानमा ‘नो ओभरटेक’, यात्रुसङ्ख्या निर्धारणमा निगरानीलाई नियमित गर्नु आवश्यक देखिएको छ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा दैनिक सातजनाको सडक दुर्घटनाबाट निधन हुने गरेको छ । यस्तो भयावह स्थिति रोक्न तत्कालीन र दीर्घकालीन प्रभावकारी नीतिगत सुधारको अपेक्षा गरिएको छ । सडक दुर्घटनामा युवा र आर्थिकरूपले सक्रिय पुस्ताको बढी सङ्ख्यामा मृत्यु हुने गरेका पाइएकाले दुर्घटनाको अर्थशास्त्र भयावह देखिन्छ । अर्कोतिर गम्भीर घाइतेको अङ्गभङ्का कारण अपाङ्गता हुने र उनीहरूको आर्थिक परनिर्भरता बढ्दो छ । नेपाल प्रहरीका अनुसार आ.व. ०६९÷७० र ०७४÷७५ मा भएका ४० हजार ७७७ दुर्घटनामा आठ हजार ९८२ जनाको मृत्यु भएको थियो । यसरी हेर्दा त्यस अवधिमा वार्षिक करिब दुईहजार र दैनिक पाँचजना सडक दुर्घटनामा मृत्यु हुने गरेको थियो । प्रहरीको तथ्याङ्कअनुसार हाल दुर्घटना र मृतकको सङ्ख्या बढेको छ ।
यात्रुदेखि चालक, सडक, सवारी साधनको आयु, नेतादेखि नीतिसम्म सडक दुर्घटनाका कारणमा पर्छन् । आ–आफ्ना ठाउँमा उनीहरू सबै धेरथोर जिम्मेबार भएकाले आफ्नो जिम्मेवारी निर्वाहमा सबै इमानदार हुनु आवश्यक छ । राज्यले उनीहरूलाई जिम्मेवार र सुरक्षित सडक यातायातमैत्री बनाउन विभिन्न प्रावधान लागू गर्नसक्छ । गाडीमा गतिको अभिलेखीकरण राख्ने तथा त्यस्तो अनियन्त्रित गति स्वचालित रूपमा नियन्त्रण गर्ने प्रविधि र यन्त्रको प्रयोग अत्यावश्यक भइसकेको छ । गाडीको अवाञ्छित तीव्रगतिको सङ्केत यात्रुले थाहा पाउने गरी साइरन बज्ने अवस्था सिर्जना गरेर गतिप्रति यात्रुलाई जानकार र प्रतिरोध गर्नसक्ने बनाउन सकिनेछ । यसैगरी गाडीको अवस्थिति र अन्य प्राविधिक सूचनाको जानकारी दिने सम्बन्धित निकायमा आउने वैज्ञानिक व्यवस्था गरेर पनि चालकलाई जिम्मेवार बनाउन सकिन्छ । यसका साथै कुन स्तरका सडकमा यात्रुवाहक बस चलाउन पाइने अर्थात् बस चलाउन कस्तो सडक बनाइनुपर्छ भन्नेमा पनि राज्य स्पष्ट हुनपर्छ । दुर्घटनाको कारण र परिणामले सडक यातायातमा देखिएको घट्दो जनविश्वास पुनःस्थापना गर्न तत्कालै प्रभावकारी पहल गर्नुपर्ने देखिएको छ ।