नेपाल भ्रमण वर्ष २०२० को विधिवत् उद्घाटन हुनु दुई हप्ता पूर्व फोब्र्स इन्कर्पोरेसनद्वारा प्रकाशित फोब्र्स पाक्षिक पत्रिकाले नेपाललाई विश्वकै उत्कृष्ट भ्रमणयोग्य पहिलो देशका रूपमा सूचीकृत गरेको छ । नेपाल र पर्यटन व्यवसायमा संलग्न व्यवसायीलाई यस्तो समाचार निकै सुखद बनेको छ । निजी स्वामित्वको प्रकाशन कम्पनीले गरेको यस्तो सूचीकरणलाई यसकारण महìव दिइन्छ कि यसले जारी गर्ने विश्वका धनी व्यक्तिको सूचीले विश्वभर नै चर्चा बनाउँछ । अमेरिकाको न्युयोर्कमा मुख्य कार्यालय रहेको यस कम्पनीद्वारा प्रकाशित अर्को प्रकाशन फोब्र्स युमन पत्रिकालगायत प्रविधि, सञ्चार, विश्व अर्थतन्त्र, व्यवसाय र पुँजीवादका विविध पक्षमा यसले गर्ने वकालतले विश्व सञ्चारलाई प्रभाव पार्ने गरेको छ । यसर्थ उक्त प्रकाशनले नेपाललाई विभिन्न मापदण्डका आधारमा अध्ययन गरी यो वर्षका लागि भ्रमण गर्न उपयुक्त प्रथम मुलुकका रूपमा गरेको सूचीकरणलाई विश्वमा महìव दिइने निश्चित छ । पत्रिकाले नेपालमा उपलब्ध पर्यटकीय स्वादलाई आफ्नै शब्द र शैलीमा व्याख्या गरेको छ । सगरमाथा, जनावर, प्राकृतिक विविधता, सुन्दर मौसम, आतिथ्य प्रदान गर्ने विशिष्ट नेपाली शैली तथा साहसिक यात्राका उपयुक्त स्थलबारे पत्रिकाले गरेको वर्णनले नेपाल आउन चाहने पर्यटकका लागि थप आकर्षित गर्नेछ । विश्वकै चर्चित ‘एड्भेञ्चर’ गन्तव्य सगरमाथाको देश भएर मात्र होइन सुविधायुक्त होटल, रिसोर्टलगायतका स्थानलाई पत्रिकाले चरितार्थ गरेकाले भ्रमणका लागि विशेष महìव राख्नेछन् । फोब्र्सले नयाँ दशकका लागि घुम्नुपर्ने दश देशका सूची (बकेट लिस्ट) मा नेपाललाई प्रस्तुत गरेकाले आगामी वर्षहरूका लागि पनि यस्तो घोषणा र सूची महìवपूर्ण हुने देखिन्छ । ‘एड्भेन्चर’देखि गुणस्तरीय पर्यटन सेवा, अवसर र मनोरञ्जनसँग सम्बन्धित रहेर फोब्र्सले विश्वका छ महादेशका दश देशको सूचीमा नेपाल परेकाले यहाँको पर्यटनमा थप सम्भावना बढाएको छ ।
नेपाल भ्रमण गरेर फर्केका पर्यटकले तयार गरेका यात्रा वृत्तान्त वा यात्रा साहित्यमा नेपाललाई उत्कृष्ट देशका रूपमा वर्णन गरेका छन् । यस्तो वर्णन गरिनुमा नेपालका प्राकृतिक सम्पदा प्रमुख कारण छन् । जसलाई प्राकृतिक उपहारका रूपमा नेपाल र नेपालीले पाएका छन् । यसैगरी प्राचीन भौतिक तथा अमूर्त संस्कृतिले पनि नेपाललाई उत्कृष्ट भ्रमणयोग्य मुलुक बनाउन योगदान दिइरहेका छन् । ‘बाघका पाइला खोज्दै दिनभरि चितवनका
जङ्गल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो’ भनेर फोब्र्सले उल्लेख गर्नुका पछाडि नेपाल भ्रमणयोग्य पहिलो देश बन्नुमा पर्यटन व्यवसायभन्दा यहाँका प्राकृतिक सम्पदाको योगदान महìवपूर्ण रहेको देखिन्छ । यस्तो भनाइबाट पर्यटनका लागि नेपालको संस्कृति र प्राकृतिक विविधता अनुपम उपहार हुन् भन्ने पुष्टि हुन्छ । नेपालमा पाइलैपिच्छे अनुभव गर्न सकिने भौगोलिक, प्राकृतिक, सामाजिक तथा सांस्कृतिक विविधतालाई पर्यटनका निर्णायक सम्भावनामा राखिएको छ । उक्त पत्रिकाले पर्यटनका लागि जेजस्ता अनुभव र स्थान उल्लेख गरेको छ तीभन्दा विशिष्ट र सम्भावनायुक्त स्थान नेपालमा भए पनि तिनको प्रचारप्रसार र उपयोग गर्न सकिएको छैन । उत्तरतिर रहेका हिमशृङ्खला, अन्नपूर्ण पदमार्ग तथा बर्दिया राष्ट्रिय निकुञ्ज, खप्तड पनि फोब्र्सले वर्णन गरेका स्थान र विशेषताभन्दा कम छैनन् । फोब्र्सको सूचीमा नेपालपछि दक्षिण अमेरिकी मुलुक इक्वेडर, न्युजिल्यान्ड, पेरु, अलास्का, ब्राजिल, मोरक्को, चीन, फिनल्यान्ड, केन्या परेकाले आगामी दिन नेपालले यस्तो सूचीमा परिरहन थप चुस्त हुन आवश्यक छ ।
फोब्र्समा उल्लेखित प्राकृतिक, भौगोलिक, सामाजिक–सांस्कृतिक सम्पदा यसअघि पनि नेपालमा थिए तर कुनैबेला नेपाल भ्रमण गर्न खतराको सूचीमा पनि परेको थियो । यहाँ जस्तो विविधता र मनोरञ्जनका अवसर अन्य मुलुकमा पनि पाउन सकिएला तर मूल्याङ्कनकर्तालाई प्रभावित गर्दै भ्रमणयोग्य मुलुकको पहिलो स्थानमा नेपाल पर्नुमा यहाँ विकसित पर्यटकीय पूर्वाधार, स्थिर राजनीति, शान्तिसुरक्षा, पर्यटकप्रति हामीले गर्ने सद्भाव पनि त्यत्तिकै महìवपूर्ण छन् । आगामी दिनमा पनि पर्यटकलाई सुरक्षा, सौन्दर्य र सद्भावले लठ्ठ पार्न सकिए नेपाल यस्तो सूचीमा रहिरहन सक्छ । नेपालको आर्थिक वृद्धिमा पछिल्ला वर्ष पर्यटन क्षेत्रको योगदान बढ्दै गएकाले यसलाई अर्थतन्त्रको एक खम्बाका रूपमा अगाडि बढाउनु
आवश्यक देखिन्छ ।