सफल भट्टराई
बजार पुँजीकरण र कुल गार्हस्थ उत्पादन (जीडीपी) बीचको अनुपातलाई अर्थतन्त्रको एक प्रमुख सूचकका रूपमा लिइन्छ । दीर्घकालीन लगानीकर्ताहरूले यो अनुपातलाई आफ्नो लगानीको औजारका रूपमा लिने गर्दछन् । सेयर मार्केटका वादशाह वारेन बफेट, पिटर लिन्च आदि व्यक्तिहरूले यो अनुपातलाई प्रयोग गर्ने गर्छन् । यसलाई वारेन बफेटको सूचक पनि भन्ने गरिन्छ ।
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएका सम्पूर्ण कम्पनीको बजार मूल्यको जोडफललाई कुल गार्हस्थ उत्पादनले भाग गरी १०० ले गुणन गर्दा बजार पुँँजीकरण र कुल गार्हस्थ उत्पादनबीचको अनुपात (पीई) प्राप्त हुन्छ । बजार पुँजीकरणले कम्पनीको अनुमानित आम्दानीका बारेमा देखाउँछ भने देशको कुल गार्हस्थ उत्पादनले अर्थतन्त्रको आम्दानीका बारेमा बताउँछ । अर्थशास्त्रीका अनुसार बजार पुँजीकरण र कुल गार्हस्थ उत्पादनबीच सकारात्मक सम्बन्ध हुन्छ । यदि कम्पनीहरूको आम्दानीमा वृद्धि भयो भने देशको कुल गार्हस्थ उत्पादन पनि बढ्छ । त्यसैगरी, देशको कुल गार्हस्थ उत्पादन बढ्दा कम्पनीहरूको आम्दानीका साथै बजार पुँजीकरण पनि बढ्ने गर्दछ ।
पीई अनुपातले कम्पनीको सेयरको मूल्य अवमूल्यन वा अधिमूल्यनको सङ्केत दिएजस्तै यो अनुपातले सम्पूर्ण सेयर बजारको स्थितिका बारेमा जानकारी दिन्छ । कम्पनीको आम्दानी र देशको जीडीपी एउटै दिशामा गएको छ कि छैन भन्ने विश्लेषण यो अनुपातले देखाउँछ । यदि कम्पनीको आम्दानी जीडीपीभन्दा बढी छ भने यो अनुपात १०० प्रतिशतभन्दा बढी हुन्छ, जसलाई ‘ओभरभ्यालुड’ बजार भनिन्छ । त्यसैगरी ५० प्रतिशतभन्दा कम हुन्छ भने कम्पनीको आम्दानीले जीडीपीको वृद्धिदरलाई सही मूल्याङ्कन गरेको हँुदैन र यसलाई ‘अन्डरभ्यालुड’ बजार भनिन्छ । यो अनुपात ५० देखि ७५ प्रतिशतसम्मलाई ‘मोडस्ट्ली अन्डरभ्यालुड, ७५ देखि ९० प्रतिशतलाई ‘फेयर्ली भ्यालुड’ र ९० देखि १०० प्रतिशतसम्मलाई मोडस्ट्ली ओभरभ्यालुड बजार भनिन्छ ।
नेपालको सन्दर्भमा यो अनुपात करिब ४१ प्रतिशतको हाराहारीमा रहेको छ । बजार पुँजीकरण घटेर १४ खर्बमा पुगेको छ भने जीडीपी करिब ३५ खर्बमा रहेको छ । नेपालमा जीडीपी बढे पनि बजार पुँजीकरण भने घट्दो छ । त्यसैले यो अनुपात पनि घटेको हो र बजारलाई अन्डरभ्यालुड मान्न सकिन्छ ।
विभिन्न वित्तीय विश्लेषकका अनुसार विकसित मुलुकहरू अमेरिका, बेलायत आदि देशहरूमा यो अनुपातको महŒवपूर्ण भूमिका रहे पनि विकासोन्मुख नेपाल, भारत आदि देशहरूमा यो अनुपातको वास्तविक आधारहरू देखिँदैन । यो हुनुको मुख्य तीन कारण छन् ।
पहिलो कारण, नेपालमा कृषि र सेवा क्षेत्रले जीडीपीमा ८० प्रतिशतभन्दा बढी योगदान दिएको छ । जसमा सेवा क्षेत्रको योगदान ५७ प्रतिशत छ भने कृषि क्षेत्रको योगदान २८ प्रतिशत छ । तर, बजार पुँजीकरणमा यी दुई क्षेत्रको योगदान ८० प्रतिशत रहेको छैन । जीडीपीमा योगदान दिएको क्षेत्र र बजार पुँजीकरणमा योगदान दिएको क्षेत्रको अनुपात एउटै नभएकाले बजार ओभरभ्यालु हो कि अन्डरभ्यालु हो भन्ने सङ्केत बजार पुँजीकरण र जीडीपीको अनुपातले देखाउन सक्दैन ।
दोस्रो कारण, यो अनुपात विशेषगरी अमेरिकामा प्रयोग गरिन्छ, जहाँ ५२ प्रतिशतभन्दा बढी जनसङ्ख्याले सेयर बजारमा लगानी गर्छन् । साथै अमेरिकाको घरपरिवार क्षेत्रमा बचतको एकतिहाइ हिस्सा स्टक मार्केटमा लगानी हुन्छ । भारतमा बचतको छ प्रतिशतमात्र यो बजारमा लगानी भएको पाइन्छ, जहाँ बचतको दर ३० प्रतिशत रहेको छ । तर, नेपालमा करिब चार प्रतिशत जनसङ्ख्याले निवेश गरेको देखिन्छ । रिटेल इन्भेस्टरको निवेश स्टक बजारमा अन्य देशको तुलनामा धेरै नै कम रहेको छ । घरपरिवार क्षेत्रले जीडीपीमा योगदान गरे पनि बजार पुँजीकरणमा योगदान गरेको देखिँदैन । त्यसैले जीडीपीलाई बजार पुँजीकरणसँग तुलना गर्न मिल्दैन ।
तेस्रो कारण, नेपालमा धेरै ठूला कर्पोरेट, नाफायुक्त कम्पनी, बहुराष्ट्रिय उद्योगहरू रहेका छन्, जस्तै चौधरी ग्रुपको वाइवाइ चाउचाउ, सूर्य कम्पनी, एनसेल आदि । यी सबै कम्पनीहरू पुँजीबजारमा सूचीकृत छैनन् । जबसम्म यस्ता ठूला कम्पनीहरू पुँजीबजारमा सूचीकृत हुँदैनन् तबसम्म पुँजीबजार अर्थतन्त्रको विम्ब हुन सक्दैन । त्यसैले बजार र अर्थतन्त्रलाई मूल्याङ्कन गर्नका लागि यो अनुपात विकसित मुलुकको जस्तो विकासोन्मुख देशहरूमा उपयुक्त छैन ।
(लेखक अध्यापनमा संलग्न हुनुहुन्छ ।)