प्रदीप नेपाल
दक्षिण एसियामा निकट भविष्यमा केही न केही चाहिँ हुन्छ । यो कुनै भविष्यवाणी होइन, पछिल्लो समयमा विकसित केही घटनाको विश्लेषण गर्दाको निष्कर्ष हो । दिल्ली सरकार भारतलाई ‘हिन्दुस्तान’ बनाउन खोजिरहेछ भन्ने डरमा छन् भारतका गैर हिन्दुहरू । त्यहाँको पछिल्लो नागरिक संशोधन कानुनले यो चिन्तालाई झन् बढाएको छ । यो हाम्रो चिन्ताको विषय होइन भनेर चुप लागेर बस्दा पनि हुन्थ्यो । तर झण्डै दुई करोड भारतीय नेपालीको बसोबास भएको सन्दर्भमा यो हामी सबै नेपालीको चासोको विषय हुनुपर्र्दछ । भुटानी नेपालीलाई भुटानको सिमानामा बडेमानको ट्रक राखेर म¥याकमुरुक पार्दै मेची पुल कटाएर अलपत्र छाडिदिने देशको नाम भारत नै हो । ती अहिले शरणार्थी बनेर अलपत्रिएका एक लाखभन्दा बढी भुटानी नेपालीलाई मेची पुलको वल्लो छेउमा ल्याएर फ्याल्ने, अनि फर्किइस् भने मारिन्छस् भनेर धम्की दिने दिल्ली सरकार नै हो । भुटानी राजाको निवेदनमा यति ठूलो अपराध गर्ने दिल्लीले आफ्नो घरभित्र चाहिँ केही गर्दैन भनेर कसरी ढुक्क हुन सकिन्छ ?
पछिल्लो घटना अझै गम्भीर छ । बर्माबाट भारत नछोई नेपाल आउन सकिँदैन । भारतले आफ्नो सीमाक्षेत्रमा आइपुगेका रोहिंग्या मुसलमानलाई, बङ्गलादेशको सिमानाबाट टपक टपक टिपेर नेपालको सीमाभित्र ल्याएर फ्याँकिदिएको छ । मानौँ नेपाल, भारतको फोहोर फाल्ने ठाउँ हो– काठमाडौँको ओखरपौवाजस्तो ।
दिल्ली किन यस्तो नकाम गरिरहन्छ ? किनभने दिल्ली अझै बेलायती सिंहासनप्रति वफादार छ र दिल्ली सम्भ्रान्तहरूमा अहिले बेलायती उपनिवेशवादको टुप्पी ठडिइरहेको छ । १९४७ मा, हिन्दुस्तानका लागि एउटा अन्तरिम संविधानको खेस्रा बुझाएर फर्किएको भनेको बेलायती संसद्मात्र हो । बेलायतको राजसिंहासन भारत छोडेर गएको छैन । त्यो अहिले पनि, ‘जन गण, मन हे भारत भाग्य विधाता’ गाउँदै दिल्लीको कोरोनेशन पार्कमा बसिरहेकै छ । पाठकलाई थाहा छैन होला, ‘जन, गण मन’ शीर्षकको राष्ट्र वा राष्ट्रिय गान बेलायतका सम्राट् जर्ज पञ्चमको स्तुति हो– हाम्रो श्रीमान गम्भीर नेपाली, प्रचण्ड प्रतापी भूपतिजस्तै राजस्तुति । ‘वन्दे मातरम्’ शीर्षकको अर्को एउटा गीत पनि छ जन, गण, मन बराबर हैसियतको ।
दिल्लीले दुईटा ‘राष्ट्र राष्ट्रिय’ गानलाई मान्यता दिएजस्तै त्यो दुईटा भारतमाथि राज गर्छ । पहिलो, सम्भ्रान्त भारत । जो अङ्ग्रेजी बोल्नुलाई शरम होइन, गौरवको कुरो ठान्छ । बेलायतसँग निरन्तर सम्पर्क हुनाले सरकार बनाउने बहुमत त्यही सम्भ्रान्त भारतले पाउँछ । अर्को छ दीन, हीन भारत । आपूm गरिब भएको अनि मातृभाषामात्रै बुझ्ने र बोल्ने हुनाले त्यो कहिल्यै चुनाव जितेर दिल्लीमा सरकार बनाउन सक्दैन । हिजो पनि सकेन, भोलि पनि सक्दैन ।
भारत सबै हिसाबले दिल्ली अनुकूल भूगोलमा बसेको छ । उत्तरमा नेपाल छ, पूर्वमा बङ्गलादेश छ, दक्षिणमा श्रीलङ्का र मालद्वीप छन्, उत्तरतिर पाकिस्तान छ । यी कुनै मुलुकले दिल्लीलाई पराजित गर्न सक्दैनन् । आफैँमा जति मुर्मुरिए पनि भारतसँग लडेर यी कुनै मुलुकले आपूmलाई विजेता बनाउने सामथ्र्य राख्दैनन् ।
यो कुरो दिल्लीले बुझेको छ । अम्बानीको स्वप्न संसार पनि त्यहीँ छ, फोहोरमैलाको चाङमाथि सुतेर जीवन निर्वाह गर्नेहरू पनि त्यहीँ छन् । पारमाणविक शक्तिसम्पन्न भारतसँग हाम्रो गोर्खाली खुकुरीले लड्ने कुरै आउँदैन । संसारकोे सबैभन्दा शुरो जात भन्ने कुरालाई मैले तिरस्कार गर्न खोजेको होइन । त्यो हाम्रो गौरव हो । इतिहासको हिस्सा हो । वर्तमान भनेको ‘गो ब्याक इण्डिया’ को पोस्टर हो । ‘गो ब्याक’ सभ्यहरूका लागि हो । तर, भारत त्यस्तो सभ्य होइन । त्यसैले हामी अहिले युद्ध गरेर कालापानी ल्याउने उन्मादी सपना नदेखौँ । उसै पनि युद्धले समस्या समाधान गर्नै सक्दैन । युद्ध भनेको मृत्यु हो, मृत्युले जीवन दिने कुरो पटमूर्खले मात्र सोच्न सक्छ ।
हामी केही कुरामा सम्झौता गरौँ । सबभन्दा पहिले हामी धनी बनौँ । त्यसको पहिलो शर्त हो– आत्मनिर्भर अर्थतन्त्र । अल्छी नगर्ने हो भने हामीलाई नपुग्दो केही छैन । उत्पादन गर्ने र त्यसको व्यवस्थापन गर्ने हाम्रो राष्ट्रिय समस्या हो । नेपालका सबै उत्पादनहरू युरोपको बजारमा पुगेको पढिएकै छ । सरकार र सरोकारवालाले ध्यान दिने हो भने खाद्यान्न (भन्नाले गहुँ, धान, मकै, कोदो, फापर, जौ, चिनो आदि) मा हामी आत्मनिर्भर हुन सक्छौँ । मासुमा पनि नेपाल आत्मनिर्भर हुन्छ । दाल, तेलमा पनि नेपाल आपूmलाई चाहिने उत्पादन गर्छ, सक्छ । फलपूmलमा त हामी निर्यातकर्ता हुन सक्छौँ ।
तर यसका लागि सबै नेपालीले सुकुलगुण्डे जीवनशैली परित्याग गर्न सक्नुपर्छ । वैदेशिक रोजगारीमा गएर जीवनको अर्थ बुझेकाहरूले नेपाल फर्किएर अहिले जे जति गरेका छन्, त्यो वन्दनीय छ । काठमाडौँको विषाक्त वातावरणमा आराम गरेर बस्नेहरूले ‘कमाएरै खाने हो’ भनी आफ्नो पुरानो थलोलाई माया गर्न थाल्नुपर्छ । मागेर खानेको इज्जत हुँदैन भन्ने सत्य स्वीकार गरेर माथिदेखि तलसम्मका सबैले गच्छे अनुसारको काम ग¥यौँ भने हामी आफ्नो देशका जनतालाई सुखी र समृद्ध बनाउन सक्छौँ ।
हामी आत्मनिर्भर मात्र भयौँ भने पनि कुनै राष्ट्रले हामीलाई भाइ भन्न सक्दैन । क्वीजलिङ र लेण्डुप दोर्जेहरूसँग त कसैको केही लाग्दैन । तर जहिले पनि तिनीहरूकोे सङ्ख्या सानो हुन्छ ।
नेपालमा भारतीय सी.आइ.डी. हरू छ्यापछ्याप्ती छन् । यो मनोआतङ्कको गन्ध पनि मैले पाएको छु । यस्तो आतङ्कित हुनुपर्ने अवस्था म चाहिँ देख्दिनँ । होलान् आमालाई बेचेर डान्सबारमा नाच्नेहरू थोरथार । यति हदसम्मको अपराध गर्नेको सङ्ख्या २५ हजारभन्दा माथि होला भन्ने मलाई लाग्दैन । त्यसमा पनि आधा जति उतैबाट यता पठाएका ठालुहरू होलान् । तर सिमानामै बसेर भारतको दादागिरीविरुद्ध लडिरहेका नेपाली पनि हाम्रा सामु छन् । सप्तरी, सुस्ता र कञ्चनपुर यो उदाहरणका जीवित सत्य हुन् ।
नेपालीले जे गर्ने हो आफैँ गर्ने हो । उत्तरको नाका खुल्नु नेपालको राष्ट्रिय हितका लागि सबैभन्दा ठूलो कुरो हो । योभन्दा ठूलो उपलब्धि हुन्छ, सबैभन्दा नजिकको महासागरसँग जोडिन कुनै अवरोध नहुने अधिकार ।
पहिलेको समयमा हामी धेरै बोल्थ्यौँ तर काम चाहिँ चौथाइ पनि गर्दैनथ्यौँ । ७५ प्रतिशत पहुँचवाला ठेकेदार सरकारलाई खल्तीमा हालेर हिँड्थे । अहिले त्यसमा सुधार त आएको छ नि ! काम नगर्ने ठेकेदारहरू कारबाहीमा परेका छन् । म भ्रष्टाचारलाई पुँजीवाद भन्छु । भ्रष्टाचार हुँदैनथ्यो भने पुँजीवाद पनि आउँदैनथ्यो । यसो भनेर मैले भ्रष्टाचारलाई छुट दिइयोस् भन्न खोजेको होइन, पुँजीवाद कुन हदसम्मको अपराधी प्रणाली रहेछ भनेर अथ्र्याउन खोेजेको मात्र हो । भ्रष्टाचार अन्त्य भएको दिन पुँजीवाद पनि मर्छ ।
केही दिन अघि नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भन्नुभयो– स्थानीय सरकारमा भ्रष्टाचार धेरै बढेको छ । यो निकै चिन्ताको कुरा हो । तर सङ्घीयता सुन्दर र जनपक्षीय कुरो पनि यही हो । दुई वर्षमै स्थानीय कार्यकर्ताहरू भ्रष्ट भए भने तिनलाई ठेगान लगाउने क्षमता पनि पार्टीमा विकास गरिनुपर्छ । टाउकाको भ्रष्टाचारमाथि बञ्चरो प्रहार गर्न नसकिने भए पनि तल त हिर्काउन सकिन्छ । जहाँसम्म अख्तियारले कारबाही नसक्ने दादा नेताहरूको कुरो छ, तिनले गरेको भ्रष्टाचारजन्य कामलाई चुनावको तीन महिना अघिदेखि उनको चुनाव क्षेत्रमा सलह लागे जसरी फैलाइदिनु पर्छ । किनभने सङ्घीय लोकतन्त्रमा नागरिकको सार्वभौम अधिकार भनेको यही हो ।
पुछारमा मेरो परिचय दिँँदा लेखक नेकपाका नेता हुनुहुन्छ भनी लेखिन्छ । त्यसैले स्थानीय तहमा निर्वाचित साथीहरूलाई अनुरोध हो– तपाईं अपराधी भएर बाहिर निस्कनु नपरोस् । तपाईंका कामहरूले नेकपाको नाम पाटीमा कालो नपोतियोस् ।
(लेखक नेकपाका नेता हुनुहुन्छ ।)