logo
२०८१ मंसिर ११ मंगलवार



सीमा सुरक्षाका लागि एकता

विचार/दृष्टिकोण |





आरसी न्यौपाने

राष्ट्रको स्थापना गरेपछि राष्ट्र धर्म निर्वाह गर्नुपर्नेमा हाम्रा पौरश्य विद्वान्ले जनतालाई जागरुक गराउँदै राष्ट्रप्रति आमनागरिकको दायित्वबोध तथा धर्मबोध गराउने मन्त्रहरू प्रतिपादन गरेर राष्ट्रियताको वकालत गरेका छन् । ‘उप सर्प मतर्र भुमिम’ (ऋग्वेद १०÷१८÷१०) अर्थात् मातृभूमिको सेवा गर । यति महि स्वराज्य (ऋगवेद ५÷६६÷६) अर्थात् स्वराज्यका लागि सधैँ प्रयत्न गरौँ । वयं राष्ट्रे जागृयाम पुरोहिता (शुक्ल यर्जुवेद ९÷२३) अर्थात् समाज र चिन्ताशील बनेर देशप्रति वफादार भई राष्ट्रको रक्षा र अग्रगामी विकासका लागि जागौँ उठौँ । राष्ट्रियता राष्ट्रसँग अभिन्न ढङ्गले जोडिएको हुन्छ ।
विश्वमा राष्ट्रवाद तथा राष्ट्रियताको बहसको आरम्भ सन् १६१८–१६४८ सम्म चलेको युरोपियन युद्धको अन्त्यपश्चात् वेस्टफालिया सन्धिपछि सुरु भएको हो । नेपालको सन्दर्भमा राष्ट्रियताको पृष्ठभूमि राष्ट्रको उदयसँगै जोडिन्छ । सन् १८१६ को अङ्ग्रेज–नेपालबीचको कथित सुगौली सन्धिपश्चात् नेपालले दुईतिहाइ भू–भाग गुमाउनुप¥यो । षड्यन्त्रपूर्ण ढङ्गले नेपाललाई फसाइएको सुगौली सन्धि पीडाको आलो घाउबाटै नेपाली राष्ट्रियता रक्षाको अभियानले उचाइ लिँदै आएको इतिहास हाम्रो हो ।
मानव सभ्यता र आदर्शको द्योतक नेपाल राष्ट्र पछिल्लो समय छिमेकी देश भारतको असहिष्णु, हेपाहा प्रवृत्ति, सीमा अतिक्रमणको चपेटामा गुज्रिरहेको छ । सन् २०१९ नोभेम्बर १ अथवा २०७६ कात्तिक १५ गते भारत सरकारका गृह मन्त्रालय र नापी विभागले जारी गरेको भारतको राजनीतिक नक्सामा दार्चुलामा पर्ने नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा राखेर सार्वजनिक गरेको विषय नेपाली राष्ट्रियतामाथिको ठाडो हस्तक्षेप हो । ४ मार्च १८१६ को सुगौली सन्धिको धारा ५ ले नेपालको पश्चिमी सिमाना महाकाली नदी मानिएको छ । त्यस्तै १९६१ अक्टोबर ५ मा नेपाल–चीन सीमा सन्धिको धारा १ (१) मा नेपाल र चीनको सीमारेखा काली नदी र टिङ्कर नदीको पानीढलोबाट प्रारम्भ हुने भनेर स्पष्ट भनिएको छ ।
यी दुवै सन्धि, सम्झौताबाट नेपालको पश्चिमी सिमाना महाकाली नदी र महाकाली नदीको मुहान पनि लिम्पियाधुरा नै हो । भारतीय शासक वर्ग नेपाल, भारत सम्बन्धलाई प्रगाढ बनाउनुको अलावा साम्राज्यवादी बुई चढेर नेपालविरूद्ध ब्रिटिस साम्राज्यवादले सुगौली सन्धिमार्फत हडपेको भूमि चर्चेर नपुगी कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका दर्जनौँ क्षेत्रमा नेपाली भूमि अतिक्रमण गर्न आइपुग्नुबाट भारतको असली अनुहार उदाङ्गो भएको छ ।
नेपालको उषाकालदेखिको ज्युँदो इतिहास वैदिक सभ्यताको शाश्वत दस्तावेजीकरणको मानकबाटै पुष्टि हुँदै आएको छ । वैदिक संस्कृतिको वृहतम् अध्ययनबाट के बुझ्न सकिन्छ भने नेपाल राष्ट्रको परिचय वैदिककालीन सभ्यतासँग अभिन्न ढङ्गले जोडिएको छ । नेपालले आफ्नो चौकिल्ला, सिमाना ऐतिहासिक, धार्मिक, साँस्कृतिक, पुराताŒिवक सत्यतथ्यपूर्ण आधारमा हेर्दा नदीलाई मुख्य आधार बनाइएको छ । यसरी हेर्दा नेपालको पश्चिम सिमाना जमुना नदीलाई आधार बनाएर कस्मिरसँग सीमा बाँधेको र कस्मिरले सालाना नेपाललाई उपहार दिएको घटनाबाट स्पष्ट भएको छ । त्यस्तै, नेपालको पूर्वी सिमाना ब्र्रह्मपुत्र नदी र त्यसवरिपरि नेपालीभाषी आवादी रहेको दार्जिलिङ, सिक्किम, भुटान, नागाल्यान्ड, मणिपुर, मेघालय, मिजोरम, आसाम क्षेत्रमा विद्यमान नेपाली जाति र तिनको धार्मिक, साँस्कृतिक मूल्यबोधबाट पनि नेपालको पूर्वोत्तर सिमाना जगजाहेर छ ।
नेपालको उत्तरी सिमाना मानसरोवर उद्गमस्थल बनाई प्रवाहित ब्रह्मपुत्र नदी तथा हिमालपारिका मनाङ, मुस्ताङ, माथिल्लो डोल्पामा बसोवास गर्ने नेपाली जाति तिब्बती पठार क्षेत्रमा विद्यमान नेपाली बस्तीबाट पनि नेपालको उत्तरी सीमा छर्लङ्ग हुन्छ । नेपालको दक्षिणी सिमाना गङ्गाको मैदानमा नेपाल पुनः एकीकरणका अभियन्ताहरूले खुँडा पखालेर साँध बसालेको दृष्टान्तबाट पुष्टि हुन्छ । नेपालको वास्तविक ऐतिहासिक सिमानाका मुख्य आधारगङ्गा, ब्र्रह्मपुत्र र जमुना नदीहरू नै हुन् । यी ऐतिहासिक सिमाना सुगौली सन्धिजस्तो कीर्ते सन्धिका कारण खुम्चिन पुगेको दुर्भाग्यबाट अहिले नेपालको पूर्व–पश्चिम सिमाना मेची–महाकाली नदी नै मूल सिमानाका रूपमा रहिआएको छ ।
साम्राज्यवादी षड्यन्त्रबाट जबर्जस्त थोपरिएका कृत्रिम सीमाहरू कर्कलाको पानीझैँ समयक्रममा अवश्य विलीन हुनेछ । सुझबुझसाथ काम गर्दा अजङ्गको घमन्डी ढुङ्गाको अस्तित्वलाई नदीले समयक्रममा नामेट पारेजस्तै हाम्रा राजनीतिक दल र सरकार जिम्मेवार बने राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, अखण्डतामाथि चुनौतीका पहाड बनेका प्रभुत्ववादी शक्तिको घमण्ड समाप्त भएर जानेमा कुनै शङ्का गर्नुपर्दैन । यति हो कि, नेपाली जनता र राष्ट्रको नेतृत्व गर्ने दलहरू र सरकारले नदी र ढुङ्गाको कहानीबाट पाठ सिक्दै देश र जनताप्रति साँच्चै जिम्मेवार बनी सुझबुझपूर्ण वैज्ञानिक र आधुनिक तवरले काम गर्नुपर्छ ।
नेपाल–भारतबीच देखिएको सीमा विवादमा १८१६ को सन्धि प्रमाणहरूले दिशानिर्देश गरेको आधारमा पुनः नेपाल–भारत सीमा नियन्त्रण र व्यवस्थित गर्न आवश्यक छ । आशा छ, नेपालले पनि एक दिन आफ्नो ऐतिहासिक विरासत बोकेको इतिहासको युगीन सीमा पुरानै अवस्थामा फर्काउन सफल हुनेछ । यस्ता उदाहरण खण्डित राष्ट्रहरूको हुन गएको पुनः एकीकरणका परिघटनाबाट पुष्टि हुँदै आएको छ । छिमेकी चीन, जर्मनी तथा भियतनाम यसका पछिल्ला उदाहरण हुन् । मूलधारका राजनीतिक पार्टीहरू लाचार छायाँको भूमिका परित्याग गरी संवेदनशील एवम् जिम्मेवार बन्न आवश्यक छ । राष्ट्रिय एकता समयको माग हो । राष्ट्रियतामाथि आइलागेका बाह्य आन्तरिक सबैखालका चुनौतीको यथाशीघ्र चिरफार एवम् प्रतिरोध गर्दै नयाँ आधारमा राष्ट्रियता बलियो बनाउन भारतसँग भएका असमान सन्धि–सम्झौताहरू पुनरावलोकन गरी समानताका आधारमा पुनः सम्झौता गर्नु अहिलेको आवश्यकता हो ।
नेपाल–भारतबीचको असल सम्बन्धबाट मात्र भारतवर्ष र हिमवत् खण्डको उचित मूल्य स्थापित हुनेछ । नेपाल पशुपतिनाथ, मुक्तिनाथ, स्वयम्भूनाथ र सीतामाताको, व्यास, बुद्ध, वाल्मीकि, पाणिनी, याज्ञवल्क्य आदि विद्वान्–विदुषीहरूको जन्मभूमिको कौमर्यस्थलका रूपमा स्थापित भूमि हो । यस्तो ऐतिहासिक महŒवको नेपाली भूमि भारत सरकारले मिच्नुबाट पूर्वीय सभ्यता, संस्कृति, एक्काइसौँ शताब्दीको मानवको ज्ञान र चेतनाको युगलाई पछाडि धकेल्न खोजेको देखिन्छ । भारतले आफ्नो कमजोरीमा आत्मालोचना गरी अतिक्रमित भूमि छोडेर महानता प्रदर्शित गर्न सक्नुपर्दछ । यसो हुन सकेमा नेपाल–भारत सम्बन्धमा नयाँ आयाम प्रारम्भ हुनेछ । नेपाल–भारतबीचको सम्बन्धमा सुधार आई बन्धुत्वको भावना जागी जागरण र जागृतिको नयाँ बिहानी सँगै उदाउनेछ ।

(लेखक प्रगतिशील लेखक सङ्घसँग आबद्ध हुनुहुन्छ)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?