logo
२०८१ मंसिर ११ मंगलवार



वित्तीय संस्थामा सुशासन

विचार/दृष्टिकोण |




दुर्गा कँडेल छत्कुली

बैंकिङ एउटा यस्तो व्यवसाय हो, जसले स्वपुँजीको कैयौँ गुणा बढी अर्काको रकम निक्षेपको रूपमा लिएको हुन्छ । यसर्थ यस्तो रकमको सदुपयोग शेयरधनी र निक्षेपकर्ता दुवैको उच्चतम हितलाई ध्यानमा राखी गर्नुपर्छ । बैङ्कका आधारशिला भनेका यिनै निक्षेपकर्ता हुन् । जो अति संवेदनशील हुन्छन् । यी लगायत बैंकिङ व्यवसायसँग सम्बन्धित सरोकारवालाहरूको बृहत् हितमा रही बैङ्क सञ्चालन गर्नु नै बैंकिङ सुशासन हो । विश्वमा जति पनि व्यवसाय छन् तीमध्ये बैंकिङ व्यवसाय बढी स्वअनुशासित र पारदर्शी हुने गर्दछ ।
बैंकिङ व्यवसायमा जोखिम बढ्दै जाँदा र बैङ्क व्यवस्थापनले पारदर्शितालाई साँघुरो पारिदिँदा आजसम्म वित्तीय अवस्था सबल र स्वस्थ देखिएको बैङ्क भोलिपल्ट नै धराशायी भई टाट पल्टिएका विश्वसामु धेरै उदाहरण छन् । विगतका यस्ता घटनालाई आधार बनाउँदै बैङ्क फर इन्टरनेशनल सेटलमेन्टमा रहेको बैङ्क सुपरिवेक्षणका लागि समिति (बीसीबीएस) ले सन् २०१० मार्चमा संस्थागत सुशासन अभिवृद्धिका लागि विभिन्न १३ वटा सिद्धान्त प्रकाशन गरेको छ ।
नेपालको बैंकिङ प्रणाली ४० को दशकपछि व्यापक रूपमा पैmलिन सुरु भएको हो । सर्वसाधारणको पुँजीबाट सञ्चालन भएका संस्थाहरूमा वित्तीय अनुशासन कायम गर्ने, कामकारबाहीमा पारदर्शिता, जवाफदेहिता, उत्तरदायित्व तथा विश्वास रहने सन्दर्भमा नेपालको वित्तीय क्षेत्रमा पनि सुशासनले उच्च प्राथमिकता पाएको देखिन्छ । देशको वित्तीय प्रणालीलाई निर्देशन तथा सुपरिवेक्षण गरी व्यवस्थित किसिमले सञ्चालन गराई सर्वसाधारण निक्षेपकर्ताको हित संरक्षण गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ ले नेपाल राष्ट्र बैङ्कलाई जिम्मेवारी प्रदान गरेको छ । कम्पनी ऐन, २०६३, बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ तथा एकीकृत निर्देशनअन्तर्गत गरिएका संस्थागत सुशासनका लागि विभिन्न किसिमका प्रावधान छन् ।
सञ्चालक समिति
बैङ्क तथा वित्तीय संस्थाको सञ्चालक समितिमा बढीमा नौ जना र कम्तीमा पाँचजना रहने व्यवस्था छ । जसमध्ये एकजना विशिष्टता हासिल गरेको व्यक्ति हुनुपर्ने नियम छ ।
आचारसंहिता
पेसा तथा व्यवसायमा रहने व्यक्ति संयमित, अनुशासित हुन जरुरी हुन्छ । यस्ता व्यक्तिहरूलाई एउटा नियमको अधीन राख्न सकेमात्र वित्तीय सुशासन कायम हुन सक्ने मानिन्छ । वित्तीय संस्थामा लेखा परीक्षण समिति हुनुपर्ने प्रावधान छ । यो समितिमा कम्तीमा तीनजना सदस्य रहने व्यवस्था रहेको छ । वित्तीय संस्थामा तेस्रो घेरामा रहेको आन्तरिक लेखा परीक्षण समितिको संयोजक उक्त समितिको सदस्यसचिव रहने व्यवस्था छ । वित्तीय संस्थामा स्वतन्त्र जोखिम व्यवस्थापन समिति रहनुपर्ने साथै जोखिम व्यवस्थापन समितिले वित्तीय संस्थामा रहेको जोखिमहरूका बारेमा सञ्चालकहरूलाई जानकारी गराउने प्रावधान छ । संस्थाको आकार, कामको प्रकृति, जोखिमको गोपनीयता आदिका आधारमा आवश्यकताअनुसार अन्य समिति गठन गरी वित्तीय संस्थामा सुशासन कायम गर्न विभिन्न किसिमका समिति गठन गरी क्रियाकलाप अगाडि बढाउन सकिन्छ । वित्तीय संस्थामा विशेष योग्यता, क्षमता र अनुभव भएका व्यक्तिलाई कार्यकारी प्रमुखको रूपमा नियुक्त गरिन्छ र उसको कार्यकाल चार वर्षको रहने व्यवस्था छ । सञ्चालक समितिको मातहतमा रहने गरी एकजना कम्पनी सचिव नियुक्त हुने व्यवस्था गरेको हुन्छ । वित्तीय संस्थाको अवस्था र आवश्यकतालाई हेरी विभिन्न किसिमका क्रियाकलाप सञ्चालन गर्न सकिन्छ, जसबाट वित्तीय क्षेत्रको सुशासन कायमलाई सहयोग पुग्छ ।
असल शासनका विशेषता
बैङ्क तथा वित्तीय संस्थाहरू सर्वसाधारणप्रति जवाफदेही हुनुपर्छ भने सर्वसाधारणले वित्तीय संस्थाप्रति कर्तव्यनिष्ठ हुनुपर्छ । वित्तीय संस्थाहरूले जारी गरेका कागजातहरूले वैधानिकता पाउने, कानुनी मान्यता पाउने हुनाले सर्वसाधारण र वित्तीय संस्थाबीच विश्वासको वातावरण सिर्जना भएको हुन्छ । अर्को अनिवार्य विशेषता पारदर्शिता हो । जहाँ वित्तीय संस्थाले आफ्ना वित्तीय कारोबारहरू तीन÷तीन महिनामा सर्वसाधारणका लागि पत्रपत्रिकामा प्रकाशित गर्नुपर्छ । जसले गर्दा वित्तीय संस्थाको अवस्था बुझ्न सहज हुन्छ । वित्तीय संस्थामा स्वच्छ वा विश्वसनीय न्याय प्रणालीको अवधारणामा रही कार्य गर्नुपर्छ । वित्तीय संस्थाले गर्ने क्रियाकलापहरू देशमा विद्यमान कानुनविपरीत हुने खालका नभई अधीनमा रही सञ्चालन हुने किसिमका हुनुपर्छ । मानिसको मौलिक हकको रूपमा रहेको सूचना र अभिव्यक्तिको स्वतन्त्रतालाई हनन नहुने खालका क्रियाकलाप वित्तीय संस्थामा हुनुपर्छ । व्यक्तिले निजी कुरा सूचनाको रूपमा पाउनुपर्ने पक्षहरूलाई वित्तीय संस्थाले सही ढङ्गबाट व्यवहारमा लागू गर्नुपर्ने हुन्छ । सार्वजनिक क्षेत्र राज्य संयन्त्रको एउटा अभिन्न अङ्ग रहेको कुरा बिर्सनुहुँदैन ।
यसको उचित व्यवस्थापनमा ध्यान पु¥याउनुपर्छ । वित्तीय संस्था समाजमा स्थापना हुन्छन् र तिनको विकास पनि समाजमा नै हुन्छ । समाजमा सञ्चालन भएसँगै ती संस्थाहरूको समाजप्रतिको दायित्व वहन गर्दै प्रभावकारी व्यवस्थापन गर्न सक्नुपर्छ । नागरिक समाजसँग हातेमालो गर्दै आफ्ना गतिविधि सञ्चालन गर्नुपर्ने हुन्छ । समाजमा वित्तीय संस्थाले नागरिक समाजबाट र नागरिक समाजले वित्तीय संस्थाद्वारा सेवाको साटासाट गर्नुपर्छ ।
सम्पत्ति शुद्धीकरण
भ्रष्टाचारबाट आएको रकम बैङ्क तथा वित्तीय संस्थामा राखी वैधानिकता दिने क्रियाकलाप रोक्नका लागि विभिन्न किसिमका नीतिनियम बनाएर कार्यान्वयन गरिएको छ । वित्तीय संस्थालाई विभिन्न किसिमका सीमा तोकिएको छ । सो सीमाभन्दा बढी रकम झिक्न वा राख्न स्रोत खुलाउनुपर्ने, ग्राहकको पहिचान गर्नुपर्ने, शङ्कास्पद कारोबारबारे रिपोर्टिङ गर्नुपर्ने जस्ता क्रियालकलाप भ्रष्टाचार नियन्त्रण गर्ने कार्यहरूभित्र पर्छन् । राज्यको नीति नियमको पालना गर्ने गरी खुलेका बैङ्क तथा वित्तीय संस्थाहरूले राज्यले लिएका तथा प्राथमिकतामा पारेका क्षेत्रहरूमा लगानी गरी सहभागिता देखाउनुपर्छ । सरकारले लिएका उद्देश्यहरू पूरा गर्न सहभागिता जनाउनु वित्तीय संस्थाको विशेषता हो ।
असल शासनको सान्दर्भिकता
असल शासनको सान्दर्भिकतालाई हेर्ने हो भने पछिल्लो चार÷पाँच वर्षमा बैंकिङ व्यवसायले ऐतिहासिक फड्को मारेको छ । नेपालको आठ दशकको बैंकिङ इतिहासमा पछिल्लो चार÷पाँच वर्षको पुँजीवृद्धि, व्यापार वृद्धि, शाखा वृद्धि, ग्राहक वृद्धि, नाफा वृृद्धि सबैमा निकै प्रगति भएको देखिन्छ । बैंकिङ व्यवसाय यस्तो व्यवसाय हो जहाँ जोखिम तत्व सँगसँगै रहन्छ । त्यसैले जोखिमको मात्रा पनि त्योभन्दा कम दरमा वृद्धि भएको छ भनेर आँकलन नै गर्न मिल्दैन र सकिँदैन पनि । तर विडम्बना यस्ता खतरनाक इण्डिकेटरलाई देखाइँदैन, लुकाइन्छ । लुकाउन नसकी छरपस्ट भएपछि मात्र बाहिर आउँछ । आजका दिनसम्म आउँदा बैङ्क तथा वित्तीय संस्था बिग्रनुमा अधिकांश संस्थामा संस्थागत सुशासन कमजोर हुनु हो । वित्तीय संस्थामा संस्थागतलाई बलियो बनाउन संस्थागत सुशासनको साङ्लो अझ्mै बलियो बनाउन आवश्यक छ । संस्थागत सुशासनले समाजमा शान्ति, सुव्यवस्था, अमनचैन कायम गराउँछ । जसका कारण राज्यका सम्पूर्ण अङ्गहरू स्वस्फूर्त रूपमा चलेका छन् भन्ने बुझिन्छ । असल शासनले समाजलाई अग्रगामी दिशातिर पथप्रदर्शन गरिरहेको हुन्छ । असल शासन अवलम्वन गर्न नसक्ने देशहरूले आफूलाई आत्मनिर्भरताबाट परनिर्भरतातिर धकेलिरहेका हुन्छन् । असल शासनका मुख्य खेलाडीका रूपमा रहेका राज्य, निजी क्षेत्र र नागरिक समाजले प्रभावकारी भूमिका प्रदर्शन गर्नु र बैंकिङ संस्थाहरूले पनि आफ्नो कर्तव्य पालनालाई आत्मसात् गर्नसके असल शासनको अनुभूत गर्नसक्ने वातावरण
सिर्जना हुन्छ ।

(लेखक राष्ट्रिय वाणिज्य बैङ्क विशालबजारका मुख्य प्रबन्धक हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?