नवीन सुवेदी
नेपालको आन्तरिक राजनीतिमा चीन र अमेरिकी सहयोगका योजनालाई लिएर विगत केही हप्ता यता गम्भीर बहस र टीकाटिप्पणी भएका छन् । दक्षिणी छिमेकी भारतपछि नेपालको वैदेशिक सम्बन्धमा धेरै महìवपूर्ण स्थान ओगट्ने मुलुक चीन र अमेरिका नै हुन् । नेपाल अमेरिकी सहयोगमा ‘मिलिनियम च्यालेन्ज एकाउण्ट’ (एमसीसी) मा सहभागी हुने भएको छ । यो सहयोग पत्रलाई नेपालको संसद्ले पारित गर्नुपर्नेछ । एमसीसीलाई नेपालमा कतिपयले अमेरिकाको चीनविरुद्धको ‘इन्डो प्यासेफिक’ नीतिको अङ्गका रुपमा बुझ्ने गरेका छन् । र, यो सहायता स्वीकार गर्न नहुने धारणा राख्छन् । यस्तै धारणा हाल सत्तासीन नेकपाको स्थायी समितिको बैठकमा पनि उठेको छ । यो बहसबाट यस्तो महसुस हुन्छ कि दुई शक्तिदेशको सम्बन्धको कारणले हामी आफूलाई असहज महसुस गर्दैछौँ । अमेरिका र चीनको सम्बन्धका बारेमा साँघुरो बुझाइ बनाएका छौँ । के हामीले कुनै एक मुलुकको पक्षधरता सावित गर्नुपर्ने अवस्था सिर्जना भएको हो ?
एमसीसीका सन्दर्भमा मुलुकभित्रको छलफल स्थापित र उदीयमान शक्ति क्रमशः अमेरिका र चीनका सम्बन्धबारेमा जारी विश्वव्यापी बहसको एउटा शृङ्खला मात्र हो ।
सन् २०१९ मा चीन र अमेरिकाबीचको दुईपक्षीय सम्बन्ध विश्वको सबैभन्दा बढी महìवपूर्ण र चर्चामा रहेको सम्बन्ध हो । प्रभाव र प्रभुत्व विस्तारका क्रममा यी दुवै मुलुकबीच प्रतिस्पर्धा र सहकार्य दुवै भए । कतिपय घटनाक्रमलाई लिएर स्थापित शक्ति अमेरिका चीनको तीव्र विकास र परिवर्तनको यात्रालाई रोक्न उद्यत भएको आरोप चिनियाँ पक्षले लगाउने गरेको छ । अमेरिकी उच्च प्रविधिका वस्तुमा चिनियाँ कम्पनीको पहुँचमा रोक लगाउने घोषणा अमेरिकाले गरेको छ । यसका साथै हङ्कङ र सिनजियाङमा मानव अधिकार हननको मुद्दा अमेरिकाले उठाउने गरेको छ । यी कार्यलाई अमेरिकाले आफूलाई घेरामा पार्ने रणनीतिको रुपमा चीनले बुझेको छ । अर्काेतर्फ अमेरिका चीनले विश्वयुद्धपछि आफ्नो नेतृत्वमा स्थापित ‘लिवर वल्र्ड अर्डर’ लाई चीनले चुनौती दिएको धारणा राख्छ ।
हार्वड विश्वविद्यालयका राजनीतिशास्त्री ग्राहम, एलिशन दुई ठूला शक्ति राष्ट्रबीचको यो टकरावलाई ‘थेसुडाइडिस् ट्र¥याप’ को संज्ञा दिनुहुन्छ । करिब दुई हजार पाँच सय वर्ष पूर्व थेसुडाइडिसले स्थापित र उदीयमान शक्तिको सम्बन्ध कसरी युद्धमा परिणत भयो भन्ने स्पार्टा र एथेन्स गणराज्यको सम्बन्धको इतिहास अध्ययनको निष्कर्षमा यो आधारित छ । चीन र अमेरिकाबीच जारी प्रतिस्पर्धा र तनावका बीचमा पनि दुवै देशबीचमा सम्बन्धको च्यानल बन्द भएको छैन । उच्च राजनीतिक नेतृत्वदेखि सरकारी विभिन्न तह र नागरिक स्तरको सम्बन्धमा व्यापक विस्तार भएको छ । यसरी फैलिएको र गहिरिँदै गएको बहुआयामी सम्बन्ध सूत्र नै दुवै मुलुकबीच सम्बन्धमा हुने गतिरोध वा तनावलाई तोड्ने बलियो माध्यम भएको छ ।
भारतीय मूलका पत्रकार फरिद जकारिया अमेरिकी संस्थापन पक्षका नजिक व्यक्ति मानिनुहुन्छ । न्युजविक र सीएनएनजस्ता प्रभावशाली सञ्चारमाध्यमबाट उहाँको विचारलाई अमेरिकी संस्थापन पक्ष र अनुदारवादी खेमाले महìवपूर्ण स्थान दिन्छ । जकारियाले अमेरिका चीनको सम्बन्ध र अझ अमेरिकी प्रभुत्व कसरी बलियो बनाउने भन्ने विषयमा धेरे लेख्नुभएको छ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर विरोधी जकारियाको डिसेम्बर २०१९ मा प्रभावशाली पत्रिका ‘फरेन अफेयर्स’ मा प्रकाशित अमेरिका चीन सम्बन्धको आलेख चर्चामा छ ।
जकारिया चीनको उदयले अमेरिकी प्रभाव र प्रभुत्वलाई टक्कर दिएको मात अमेरिकामा स्थापित हुँदै गएको ठान्नुहुन्छ । चीनको उदयले अमेरिका त्रस्त हुनुपर्ने मत अमेरिकी विश्लेषकहरूमाझ आमसहमति बन्न पुगेको बताउनुहुन्छ । ‘द न्यू चाइना स्क्यर’ भन्ने शीर्षकको उक्त लेखमा जकारियाले चीन–अमेरिका सम्बन्धका बारेमा धेरै कोणबाट विश्लेषण गर्नुभएको छ । उहाँका यस अघिका लेखहरूभन्दा फरेन एफेयर्समा प्रकाशित यस आलेखमा उहाँले अमेरिका र चीनले एक अर्कालाई अझै नजिकबाटै बुझ्नुपर्ने र एकले अर्काे देशको मुख्य चासोलाई सम्मान गर्नुपर्ने बताउनुभएको छ । अनुदारवादी खेमाका विश्लेषकहरूले प्रकट गर्न आम धारणाभन्दा जकारियाको विचार बढी सन्तुलित पनि छ ।
चीनको आर्थिक विकास र त्यसले सिर्जना गरेको सांस्कृतिक र सामाजिक परिवर्तनमा तीन दशकदेखिको अमेरिकी सदाशयता नै प्रमुख कारणमध्ये एक हो । यो विषयमा चिनियाँ विश्लेषकहरू पनि सहमत छन् तर पनि चीनको उदय अमेरिकालाई पनि अनौठो लाग्ने घटना भएको उल्लेख गर्नुभएको छ जकारियाले । सन् १८ औँ शताब्दीयता आर्थिक विकास र प्रविधिको शिखरमा क्रिस्चियन धर्मालवम्बी र ककेशियन जातको बाहुल्य देशहरूको बोलवाला छ । यसको अपवाद भनेको दोस्रो विश्वयुद्धपछि अमेरिकी सुरक्षा संरक्षकत्वमा विकसित भएका जापान र दक्षिण पूर्व एसियाका मुलुक हुन् । चीन किप्ट्रिमन, ककेशियन र अमेरिका सुरक्षा संरक्षकत्व – तीनै मापदण्डमा पर्दैन । त्यसैले पनि चीनको विकासले अमेरिकामा आश्चर्य र त्रासको माहौल पैदा गर्ने जकारियाको मत छ ।
ठूलो भूगोल र जनसङ्ख्या भएको चीनको उदयले विश्व व्यवस्थामा उसलाई समाहित गर्नुपर्ने अवस्था सिर्जना गरेको छ । चीनलाई विश्व व्यवस्थामा समाहित गर्दा दक्षिण कोरिया जस्ता नव–विकसित मुलुकलाई समाहित गरेजस्तो पक्कै सजिलो छैन । चीनले अन्तर्राष्ट्रिय संरचनामा उपयुक्त भूमिका पाउनुपर्छ भन्ने जकारियाको धारणाको तथ्यगत आधार छन् । चीनले अन्तर्राष्ट्रिय संरचनाजस्तै संयुक्त राष्ट्रसङ्घ, विश्व बैङ्क, एसियाली विकास बैङ्क, अन्तर्राष्ट्रिय मुद्राकोषमा चीनले गरेको लगानी र खेलेको भूमिकाका आधारमा जकारियाले यस्तो धारणा बनाउनुभएको हो । त्यसैले चीन वर्तमान अन्तर्राष्ट्रिय वित्त व्यवस्थाको प्रतिस्थापन गर्न लागिपरेको तर्क निराधार भएको विश्लेषण जकारियाको छ । सन् २०१६ मा ‘साउथ चाइना मर्निङ पोष्ट’ मा प्रकाशित आलेखमा चर्चित अमेरिकी लेखक फ्रान्सिस् फुकुयामाले चीनको बीआरआईले अमेरिकी आर्थिक प्रभुत्वलाई चुनौती दिने र यसको विकल्पमा अमेरिकाले उपयुक्त नीति अपनाउनुपर्ने मत राख्नुभएको थियो । उहाँको यो अवधारणा निकै चर्चित भएको थियो । अर्का प्रभावशाली विश्लेषक फ्रान्सका सेसिलेको गत हप्ता एसिया टाइम्समा प्रकाशित आलेखमा पनि चीन छुट्टै प्रकारको व्यापारिक शर्तनामा विकासमा लागेको बताइएको छ । र, विश्व व्यापार सङ्गठन जस्ता अमेरिकी नेतृत्वमा बनेको संरचनामा चीन नअटाउने विचार उहाँको छ ।
फरिद जकारिया भने यी दुवै प्रभावशाली विश्लेषकहरूभन्दा फरक मत राख्नुहुन्छ । बीआरआई वा अन्य चिनियाँ लगानीका योजना चीनजस्तो विशाल अर्थतन्त्र भएकालाई स्वाभाविक ठान्नुहुन्छ । र, विश्वव्यापार सङ्गठनको खेलको नियम चीनले नमिचेको उहाँ बताउनुहुन्छ । अर्काेतर्फ चीनले अमेरिकी बौद्धिक अधिकार चोरी गर्ने गरेको आरोपका विषयमा पनि जकारिया फरक मत राख्नुहुन्छ । बौद्धिक सम्पत्तिको अधिकार रक्षा गर्नु चीनको आन्तरिक बाध्यता छ । विकसित हुँदै गएको चीनमा बौद्धिक सम्पत्तिको ठूलो महìव हुने र आफ्ना कम्पनीको व्यापार वृद्धिका लागि पनि आवश्यक छ । जकारियाको विचारमा अमेरिकाले चीनलाई आर्थिक, वित्तीय र व्यापार संरचनामा उपयुक्त स्थान दिनुपर्छ । अर्कातर्फ हङ्कङ र सिनजियाङ लगायतका विषयमा चीनले अमेरिकी तर्क र चासोको सुनुवाइ गर्नुपर्छ । यो अवधारणा दुईपक्षीय सम्बन्ध विस्तारमा मध्यमार्गी पनि हो ।
यसरी अमेरिकी संस्थापन पक्ष चीनको उदयलाई आत्मसात् गर्न र त्यस प्रक्रियामा अमेरिकी सामरिक र आर्थिक चासोको सम्बोधन चीनबाट गराउने पक्षमा छ । चिनियाँ त्रास विशेषता सैन्य बजेट बढाउन र अमेरिकी अर्थतन्त्रको सैनिकीकरणको दिशामा अग्रसर भएको बुझाइ जकारियाको छ । अमेरिका र चीनको सम्बन्धका बारेमा बदलिँदो संकथन दुवै मुलुकले एक अर्काको चासोलाई महìव दिनका लागि पर्दा पछाडि जारी तीव्र जोडघटाउतर्फ पनि इङ्गित छ । मिडियाले यी दुवै देशको सम्बन्धलाई जत्ति नै सनसनीखोजपूर्ण बनाए पनि नीति निर्माता धैर्यपूर्वक सम्बन्धलाई ‘थेसुडाइडिस ट्र¥याप’ मा नपरोस् भन्नेतर्फ सतर्क पनि रहेको देखिन्छ । विश्वका लागि यो साँँच्चै नै सुखद समाचार हो ।
नेपाली राजनीतिक वर्गले पनि चीन वा अमेरिकापरस्त भन्ने मान्यताबाट प्रेरित भएर ती मुलुकले नेपाललाई गर्ने सहयोगका बारेमा धारणा बनाउनु असान्दर्भिक छ । दुवै देशको सम्बन्धका बारेमा हामीले विकसित घटनाक्रमलाई नियाल्न र मुलुकको पक्षमा निर्णय लिनुपर्छ नै । बीआरआई र एमसीसी दुवै हाम्रा लागि महìवपूर्ण छन् । यी दुवै सहयोग हाम्रो आर्थिक विकासका लागि परिपूरक हुन्, प्रतिस्पर्धी होइन । फरिद जकारियाको आलेख पद्दा लाग्छ, चीन र अमेरिका उच्च राजनीतिक तहमा यो विषयमा स्पष्ट छन् । नेपालले पनि चीन वा अमेरिकासँग सम्बन्ध विस्तार गर्दा अर्काे विरुद्ध मोर्चाबन्दी गरेको भन्ने लघुताभाषबाट मुक्त हुनैपर्छ ।
परराष्ट्र अध्ययन प्रतिष्ठानले फरिद जकारियाको डिसेम्बर २०१९ फरेन अफेयर्समा प्रकाशित आलेखलाई नेपालीमा अनुवाद गरेमा नेपाली राजनीतिक नेतृत्व र विचार निर्माताले पनि अमेरिकी संस्थापन नजिकका विश्लेषक अमेरिका चीन सम्बन्धका बारेमा के सोच्छन् भन्ने कुरा बुझ्न पाउने थिए । साथै एमसीसी जस्ता महìवपूर्ण सहयोगका बारेमा निर्णय लिँदा यथार्थपरक हुन सघाउ पनि पु¥याउने थियो ।
(लेखक अर्थ राजनीतिक विश्लेषक हुनुहुन्छ ।)