कृष्णमणि पराजुली
बा मलाई असाध्यै मन पर्ने शब्द हो, आमाजस्तै । सानो छँदा मलाई यी शब्दप्रति त्यति ध्यान जाँदैनथ्यो । खायो, खेल्यो, दगु¥यो– यति नै मज्जा थियो मेरा लागि । विद्यालय जाने, पढ्ने वातावरण थिएन । गाउँका साक्षर व्यक्तिले साधारण अक्षर सिकाउँथे । पछि यसको स्तर वृद्धि हुँंदै गयो । गाउँलेले विद्यालय स्थापना गरे । थोरै पढेका शिक्षकबाट निजी रूपबाट विद्यालय सञ्चालन भयो । विद्यार्थीको बढ्दै जान थाल्यो । छात्राहरू थोरै हुन्थे । पछि तिनीहरूले निरन्तरता पाउन सकेनन् । तिनीहरूको पढाइ छुट्यो । अहिले भने छात्रछात्रा बराबरीको हाराहारीमा अध्ययन गरिरहेका छन् । यसरी मेरो गाउँमा शिक्षाको क्रमिक रूपमा विकास भएको हो । मैले कखरा चिनेको पाठशाला हाल माध्यमिक विद्यालयमा परिणत भएको छ ।
९–१० वर्षको हुँदा मलाई बा भन्ने शब्दले पिरोल्दै आयो । त्यसभन्दा अघि बा मलाई थाहा थिएन । थाहा भए पनि अर्थ थाहा थिएन । अरू साथीका बाहरू बेलाबेलामा विद्यालयमा आउँथे । बाहरूले आ–आफ्ना छोराछोरीहरूलाई हातमा समातेर ल्याउँथे । छोराछोरीहरूलाई माया गरेर बोलाउँथे । लुगाहरू पनि सफासुग्घर हुन्थे । राम्रा पनि हुन्थे । गोडामा जुत्ता हुन्थे । झोलामा किताब हुन्थे । साथीहरूले झोलामा किताब, कापी राखेर हिँडेको देख्दा मलाई पनि रहर लाग्थ्यो । मेरा बा भएका भए मेरा पनि झोला र किताब हुन्थे होलाजस्तो लाग्थ्यो । यस्ता अप्राप्त वस्तुहरूले मेरो मनमा सधैँ चोट पु¥याएका हुन्थे ।
विद्यालय बन्द हुने समयमा बाहरू लिन आएका हुन्थे । माया गरेर लिएर गएको देख्दा मलाई ईष्र्या लाएर आउँथ्यो, अनि डाहा पनि । तर पनि मलाई लागिरहने त्यो ईष्र्या र डाहाको मेरा लागि केही अर्थ हुँदैनथ्यो । त्यसलाई मलजल गर्ने मेरो कुनै पनि क्षमता थिएन । म आफैँभित्र खोत्लिनुसिवाय केही उपाय थिएन ।
बा हुनेहरूका बाहरू विद्यालयको समयमा पनि आउँथे । बेलाबेलामा छोराछोरीहरूको पढाइको विषयमा बाहरूले गुरुसँग कुरा गरेका हुन्थे । के के सोधेका हुन्थे मलाई त्यति याद छैन । नबुझे पनि बाहरू र गुरुहरूबीचको कुराकानी भने मैले सुनिरहेको हुन्थेँ । मलाई कुरा सुन्न अति नै चाख लागेर आउँथ्यो । मेरा बा भएको भए यसरी नै आएर कुरा गर्थें होलान्जस्तो लाग्थ्यो । अरू साथीहरूलाई बाहरूले लगेको देख्दा मनभित्र धेरै कुरा गुजुल्टिएका हुन्थे । ती गाँठा फुकाउने हैसियत ममा थिएन । मनभित्र जति प्रश्नहरू प्रकट हुन्थे, ती सबै अनुत्तरित नै हुन्थे । जिज्ञासाका चाङ आइरहन्थे । तर, जिज्ञासा मेटिन्नथे । यसरी मेरा मनभित्र प्रश्न र जिज्ञासाहरूले ठूलै बस्ती नै बसाएका हुन्थे । म अलि ठूलो हुँदै गएँ । उमेर बढ्दै गयो । मेरा आफ्ना प्रश्नहरूको जवाफ म आफैँले प्राप्त गर्न थालेँ । जिज्ञासा मेटिँदै गए । अनि म आफैँ परिवर्तित हुन थालेँ ।
म निकै सानो हुँदा अरूका बाहरूले आऊ बाबु आऊ, बुई आऊ भनेर घोडाको पिठ्ँयूजस्तो शरीर बनाएर भनेका शब्दहरू पनि मेरा मानसपटलमा अहिले पनि ताजै छन् । हट्हट् भनेका शब्दहरू पनि याद भइरहेका छन् । पिँढीको ओल्लो छेउबाट पल्लो छेउमा बाको ढाडमा घोडा चढेर रमाएको दृश्य देख्दा मलाई असाध्यै रहर जाग्थ्यो । मलाई पनि त्यसरी नै बाको घोडा चढ्न मन लागेको हुन्थ्यो । तर, म भने त्यस्ता अवसरबाट वञ्चित थिएँ ।
धेरै बाहरूले आफ्ना साना छोराहरूलाई बुईमा बोकेर हिँडेको देख्दा पनि मेरो मन भने खिन्न हुन्थ्यो । आफूले बाको बुई चढ्न र बालाई घोडा बनाएर दगुर्न नपाएको म । विद्यालयबाट धेरै साथीहरू बाको बुई चढेर घर आउने र विद्यालय जाने गरेका हुन्थे । कतिले बाको हात समात्दै बाहरूसँग हिँडेका हुन्थे । म भने मनभित्र अनेक बिलौनामा रुमल्लिँदै तिनै बाहरूको पछिपछि लुरुलुरु हिँडेको हुन्थेँ ।
मानिसलाई सबै कुरा भए पनि सायद बाआमा भएनन् भने धेरै कुरा नपुगेको हुन्छ । बाआमाको विकल्प अरू केही हुन सक्दैनन् । बाआमाको माया, स्नेह र प्रेमले गर्दा नै कुनै पनि बच्चाको भविष्य निर्देशित हुन्छ । आफ्नो बच्चालाई असल बनाउनका लागि नै बाहरूले ललाइफकाइ गरी बुईमा बोकीबोकी असल शिक्षा दिलाउन लागिपरेका हुन्छन् । यसरी बाहरूले आफ्ना सन्ततिहरूलाई काँध र बुईमा बोकेर शिक्षा आर्जन गर्नेतर्फ उत्प्रेरित गरेका हुन्छन् । आफ्ना सन्ततिहरूलाई असल बनाउन अनेक दुःख गरेर भए पनि बाहरू लागिपरेकै हुन्छन् ।
आफ्ना छोराछोरीलाई असल मार्गमा लगाउने दिशामा बाको भन्दा आमाको भूमिका कम आँकलन गर्न सकिन्न । बाहिरी व्यवस्थापन बाले गरे पनि आमाले घरेलु व्यवस्थापन गरेर आफ्ना नानी बच्चाहरूको भविष्य निर्माण गर्न ठूलो योगदान पु्¥याएकी हुन्छिन् । मेरा बा नभए पनि मेरी आमाले मलाई बाको अभाव हुन दिनुभएन । उहाँकै योगदानबाट मैले आफ्नो अध्ययन अघि बढाउन सकेँ र दैनिक गुजारा चलाउन समर्थ पनि भएँ ।
आमाको विषयलाई लिएर गोरखापत्रले ०७६ मङ्सिर २९ गते एउटा ज्यादै मार्मिक आलेख प्रकाशित गरेको थियो । शीर्षक थियो ‘ओढारमा दसवटा भैँसी पालेँ, दुई छोरालाई मास्टर डिग्री पढाएँ’ । धेरैजसो मानिसलाई यो भनाइले मन छुन्छ होला । यो आलेख पढ्दा मेरो मनलाई त्यत्तिकै छोयो जति ती आमाका छोराहरूलाई छोयो होला । पढ्दै जाँदा मलाई थाहा भयो कि ती सङ्घर्षशील आमाका कान्छा छोरा खडक बोहोरा केही वर्ष मेरै घरमा बसेका रहेछन् । त्यसबेला उनी त्रिभुवन विश्वविद्यालयमा अङ्ग्रेजी विषय लिएर स्नातकोत्तर अध्ययन गरिरहेका थिए । हाल उनी माध्यमिक विद्यालयमा अङ्गे्रजी विषयका विषय शिक्षक छन् । मकहाँ बस्दा उनी ज्यादै मेहनती र भद्र थिए । यसरी परिश्रम गर्दै अध्ययन गर्ने ती छोरा र सङ्घर्षशील ती आमालाई हृदयदेखि नै सम्मान छ ।
मेरा बा नभएको हुँदा मैले बाबाट पाउने माया, स्नेह पाउन सकिनँ । त्यसैले बाको खट्को मलाई सधैं नै लागिरह्यो । पछि ठूलो हुँदै आएपछि मलाई थाहा भयो, मेरा बा त म जन्मिनु छ–सात महिनाअघि नै बित्नुभएको रहेछ । बाको मृत्युपछि जन्मेको बच्चालाई गर्भेटुहुरो भन्दारहेछन् । तर, मलाई भने कसैले पनि त्यसरी सम्बोधन गरेनन् । मैले बा देख्ने अवसर र बाको कस्तो माया हुन्छ भन्ने अनुभव गर्न पाइनँ । अहिले केवल बासम्बन्धी अनेक अनुमानमात्र गरिरहेको हुन्छु ।
बच्चाहरूको लालनपालन गर्ने, स्याहारसुसार गर्ने, हुर्काउने काम आमाबाटै हुने गर्दछ । यस आधारमा बाभन्दा आमा कम हुनै सक्दिनन् । मेरो भने आमा हुनुभएको, बा नभएको हुनाले बाप्रतिका जिज्ञासाहरू रही नै रहे । बाआमालाई भने आफ्ना सन्तानहरूप्रति समान मायाममता हुने तर एउटै कोखबाट जन्मिएका सन्तानहरूबीच भने फरक फरक हुँदा रहेछन् । एक आपसमा लोभ, पाप, ईष्र्या र डाहले पिरोलिइरहेका हुँदारहेछन् ।
(लेखक नेपाल सरकारका पूर्वउपसचिव हुनुहुन्छ । )