अशोक सोकी
मानिसको विचारले आवश्यकता पैदा गर्छ । आवश्यकताले पनि विचार पैदा गर्छ । मानिसको जीवनमा सबैभन्दा ठूलो आश्चर्य हो, व्यर्थको आवश्यकतालाई जरूरी सम्झनु र त्यही आवश्यकतालाई जीवनमा महŒवपूर्ण ठानी स्थान दिनु । शारीरिक, सुरक्षा, सामाजिक, आत्मसम्मानको आवश्यकता आदि मानिसका प्रमुख आवश्यकता हुन् । सबैभन्दा पूर्ण आवश्यकता भनेको आवश्यकताले आत्मसन्तुष्टिको आवश्यकतालाई पूर्ति गर्नु हो । तर, आवश्यकताले अर्को आवश्यकता थप्दै जान्छ ।
सबै जीवात्माको आत्मामा हुने एउटा भयावह सरूवा रोग हो आवश्यकता । यो रोग निवारण गर्न सक्ने महापुरूषले सिधै स्वर्गलोकको वास पाउन सक्छ भन्दा फरक पर्दैन । विचारले आवश्यकता पूर्ति गर्न अत्यन्तै कठिन छ । जीवात्माको आत्माले देखेर, सुनेर, भोगेर अनि चेतनाले चाल पाउँछ । त्यहीअनुसार माग गर्दछ । आवश्यकताको महसुसबाट चेतनाले निर्देशन गर्दछ । जसरी ठोस पदार्थमा बाहेक जुनसुकै स्थानमा हावाले स्थान लिएको हुन्छ, त्यसरी नै मनमा पनि चेतनाले एकपछि अर्को कुरा राखेको हुन्छ, कहिले खुसीको कुरा त कहिले दुःखको, कहिले समस्या त कहिले योजनाको । यो सबैको केन्द्रबिन्दु आवश्यकता नै हो । त्यसैले आवश्यकताबाट जोकोही मुक्त हुन सक्दैन । सबैभन्दा बढी माया हामी आफ्नो कायालाई गर्छौं । लगाउने, खानेकुरालगायत वासस्थानको सरसफाइमा समेत हामी बढी नै ध्यान दिन्छौँ । यो स्वास्थ्यको मायाले हो । स्वास्थ्यपछि सुन्दरताको आवश्यकता महसुस गरिन्छ । कुन पहिरन वा गहना लगाउँदा सुहाउँछ, चिटिक्क परिन्छ भन्नेतिर हाम्रो ध्यान जाने गर्छ । नुन किन्न नसके पनि ऋण लिएर सुन किन्नैपर्ने ! समाजमा प्रदर्शनका लागि यो अपरिहार्य भएको देखिन्छ । सुनको रवाफ गर्नेलाई जवाफ छैन तर पनि यो न्यूनतम चेतनाले अनावश्यक सुन्दरता प्रदर्शन गर्न आवश्यकता ठानिरहेका हुन्छन् मानिस । सुन्दर भएपछि असुरक्षा महसुस हुन्छ । त्यसपछि सुरक्षाको आवश्यकता पर्छ । द्रौपदीको सुन्दरतामा आँखा गाडेर जयद्रथ (दुर्योधनको बहिनीज्वाईं) ले उनलाई अपहरण गरेको थियो । भीम र अर्जुनले पक्रेर उसलाई युधिष्ठिरसामु लगे । सजायस्वरूप उसलाई पिटपाट गरी मुण्डन गरेर छोडिदिएको कुरा महाभारतमा उल्लेख छ । यस पौराणिक कहानीबाट पनि सुन्दरताले सुरक्षाको आवश्यकता गराउँछ भन्ने स्पष्ट हुन्छ ।
यसरी जीवनको वरिपरि आवश्यकताले घेरिरहेको हुन्छ । आवश्यकताको तीव्रताले व्यक्तिलाई यसको पूर्तिका लागि सक्रिय एवम् लगनशील हुन विवश बनाउँछ । यसबाट लक्ष्य प्राप्त गरेमा प्रगतिको निर्माण हुन्छ । मनभित्रबाट उब्जेको तीव्र चाहना पूरा भयो भने अति खुसी भइन्छ । तृष्णाले चाहना हुन्छ, प्यासविना पानी पिउने चाहना हुँदैन । चाहनाविनाको आवश्यकता पूर्ति भइहाल्यो भने पनि खुसी हुँदैन । चाहना पूर्ति गर्ने अवस्थाले कल्पना र योजनाको बाटो बनाउँछ । ज्ञड ÷अन्तर्मनको दृष्टि विचारले यात्रा गर्छ । लगनशीलतालाई कामनाले साथ दिइरहेको हुन्छ । आवश्यकताले नै अनुचित कार्य गर्न प्रेरित गरेको हुन्छ, जसबाट लाज, डर–त्रास, दुःख जे पनि हुन सक्छ ।
मानिसले चाहनाबेगर एक पाइला पनि सारेको हुँदैन । तर, कहिलेकाहीँ चाहनाबेगर पनि बाध्यतावश आवश्यकता पूर्ति गर्नुपर्ने हुन्छ । आवश्यकता पूर्ति गर्नका लागि काम गर्नुपर्ने हुन्छ । मुख्यतः काम तीन कुराका लागि गरिन्छ ।
पैसैपैसाका लागि गरिने काम
जीवन निर्वाहका लागि पैसा कमाउन वा सम्पत्ति जोड्न गरिने काम यसअन्तर्गत पर्दछ । बाध्यता र लोभले पनि यस्तो काम गर्न उक्साउँछ । जस्तै– मजदुरी गर्नु, जागिर खानु, व्यापार–व्यवसाय गर्नु ।
इज्जत जोगेगाउनका लागि गरिने काम
कसैको धम्की वा डर–त्रासले काम गर्न बाध्य बनाउँछ । साथै इज्जत, प्रतिष्ठा जोगाउन पनि काम गर्नुपर्ने हुन्छ । जस्तै– आफ्नो दराजबाट अमूल्य वस्तु झिकेर लुटेरालाई दिने काम डर–त्रासले गरिन्छ भने पाहुना आउँदा सत्कार गर्ने काम इज्जत–प्रतिष्ठाका लागि गरिन्छ । डर–त्रासले नराम्रामात्रै नभएर राम्रा काम पनि गरिन्छ ।
मायाले गरिने काम
आफ्ना बच्चालाई ख्वाउने, बिरामीले पानी माग्यो भने दिनेजस्ता निःस्वार्थी भावनाले गरिने काम यसअन्तर्गत पर्दछन् । यसरी जुन काम गरे पनि समस्या समाधानका लागि गरिने हो । तर, माया र चाहनाले समस्या समाधान हुनुमा जति खुसी प्राप्त हुन्छ, त्यति बाध्यतावश गरिँदा हुँदैन । जस्तै– लुटेरालाई दराजबाट आफैँले सामान झिकेर दिँदा बाध्यतावश समस्या समाधान त हुन्छ, यसबाट मन खुसी भने हुँदैन । त्यसैले सकेसम्म आवश्यकता नै सिर्जना नहोस्, यसले समस्या उत्पन्न गर्छ । समस्याको पूर्ति गर्न खोज्दा अरू समस्या उत्पन्न हुन्छ ।
(लेखक धार्मिक अध्येता हुनुहुन्छ ।)